भर्खरै :

“जनताको समस्यामा ध्यान दिनु नै राजनीतिको उद्देश्य हो”

“जनताको समस्यामा ध्यान दिनु नै राजनीतिको उद्देश्य हो”

सन्दर्भ : जयराम बासुकलाको २२ औँ स्मृति दिवस

जनताको सेवा नै सर्वोपरि ठान्ने शिक्षाप्रेमी, न्यायप्रेमी, विकासप्रेमी र प्रेरक व्यक्तित्व जयराम बासुकलाको जन्म वि.सं. २००९ असार ३ गते भक्तपुरको ताथलीस्थित सौडोलमा भएको थियो । जयराम बासुकलाको शिक्षारम्भ गणेश प्रावि (हाल गणेश मावि) ताथलीबाट भयो । शारदा मावि, भक्तपुरबाट मावि शिक्षा पूरा गरी उहाँले महेन्द्ररत्न क्याम्पस, ताहाचल काठमाडौँबाट आई.एड. उत्तीर्ण गर्नुभयो । उहाँले नियमित स्वअध्ययनलाई निरन्तरता दिनुभयो ।
उहाँ वि.सं. २०२२ देखि कम्युनिस्ट आन्दोलनका विभिन्न चरणहरूमा सक्रिय हुँदै आउनुभयो । वि.सं. २०२७ सालदेखि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा आबद्ध भई वि.सं. २०३१ सालदेखि नेमकिपा (तत्कालीन नेपाल मजदुर किसान सङ्गठन) ताथलीको अध्यक्ष रही सक्रियतापूर्वक अगाडि बढ्नुभयो ।
‘सादा जीवन, उच्च विचार’ का मृदुभाषी बासुकला सबैसँग सरल र प्रेमपूर्ण व्यवहार गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “समाजको विकास र जनताको समस्यामा ध्यान दिनु नै राजनीतिको उद्देश्य हो ।” बालकदेखि वृद्धसम्म सबै उहाँका साथी र सहयोगी हुन्थे । यस्ता अनुकरणीय मानवीय गुणका धनी बासुकला गरिब जनताको शिक्षा र जीवनस्तर उठाउन लागिपर्नुहुन्थ्यो । निरन्तर गरिबवर्गको उत्थान, आफ्नो क्षेत्रभित्रको भौतिक विकास, शिक्षण सङ्घ–संस्थाको स्थापना, ताथली खानेपानीको स्थापना, गाविसको सिँचाइ योजना निर्माणजस्ता महत्वपूर्ण पक्षमा नेतृत्व गरेका बासुकलाले ताथलीमा नेमकिपाको विस्तार गर्नुभयो । कम्युनिस्टहरू भौतिक लोभलालचमा फस्नु हुन्न भन्ने मान्यता राख्ने उहाँ घरमा पशुपालन, कृषि आदि काममा लगनशील हुनुहुन्थ्यो ।
शिक्षा विकासको पूर्वाधार र जीवनको आधारशीला हो भन्ने बासुकलाले वडा नं. ७ मा रहेको भूत मन्छिने डाँडालाई पन्छाएर स्कूल स्थापना गर्ने भनी टोलका गुठियारहरू सबैलाई प्रेरित गरी डाँडा पन्छाएर वि.सं. २०२५ मङ्सिर १९ गते देवी माईको नामकरणबाट देवी राष्ट्रिय प्राइमरी स्कूलको स्थापना गर्ने काममा सफलता हासिल गर्नुभयो । वि.सं. २०२५ सालदेखि सोही विद्यालयमा उहाँ स्वयम्सेवक शिक्षकको रूपमा काम गर्नुभयो । नयाँ शिक्षा योजना (रा.शि.प.यो.) २०२८ को सिलसिलामा वि.सं. २०३० मा स्थायी प्राथमिक शिक्षकको रूपमा नियुक्ति पाई २०३८ चैत मसान्तसम्म शिक्षक रहनुभएका बासुकला सामाजिक र राजनीतिक कार्यमा पनि उत्तिकै ध्यानपूर्वक लाग्नुभएको थियो । झूटो आश्वासन र मीठो सपना नबाँड्ने अनि आफ्नै खुट्टामा उभिन र निराश नहुन प्रेरित गर्ने उहाँको बानी थियो ।
वि.सं. २०४३ सालदेखि नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य बासुकला वि.सं. २०५२ मङ्सिर ७ गते नेमकिपा भजिसका संयोजक रहनुभयो । वि.सं. २०५५ भदौ २४ गते भएको दोस्रो भक्तपुर जिल्ला सम्मेलनबाट उहाँ कोषाध्यक्षमा निर्वाचित हुनुभयो । वि.स. २०५८ को तेस्रो जिल्ला सम्मेलन र वि.स. २०६१ को चौथो जिल्ला सम्मेलनबाट उहाँ सदस्यमा निर्वाचित हुनुभयो । वि.सं. २०५५ मा नेक्राकिसङ्घको प्रथम जिल्ला सम्मेलनबाट अध्यक्ष र वि.सं. २०५९ मा सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित हुनुभयो । पछिल्लो समय उहाँ नेमकिपा भक्तपुर जिल्ला समितिका कोषाध्यक्ष, नेमकिपा ताथली गाउँ एकाइ समितिका सल्लाहकार हुनुहुन्थ्यो ।
वि.सं. २०३९ सालमा स्थायी शिक्षक पदबाट राजीनामा दिई ‘प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र रहेर पनि देश र जनताको सेवा गर्नुपर्छ’ भन्ने लेनिनवादी सिद्धान्त र पार्टीको नीतिअनुरूप उहाँ ताथली गाउँ पञ्चायतमा प्रधानपञ्च चुनिनुभयो ।
वि.सं. २०४६ सालसम्म निरन्तर गाउँ पञ्चायतका प्रधानपञ्च र वि.सं. २०४६ सालपछि बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा वि.सं. २०५४ सालसम्म निरन्तर ताथली गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसैगरी वि.सं. २०४९ सालमा जिल्ला विकास समितिमा इलाका नं. ५ का इलाका सदस्यको रूपमा निर्वाचित हुनुभयो । वि.सं. २०५२ सालमा राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनेका बासुकला आफ्नो गाउँ र जिल्लाका जनताको हृदयमा रहन सफल हुनुभयो ।
उहाँ एक सङ्घर्षशील, उत्तरदायी, कर्तव्यपरायण, सहनशील, मेहनती, सिद्धान्तनिष्ठ व्यक्ति हुनुहुन्थ्यो । उहाँमा साँच्चै एउटा असल कार्यकर्तामा हुनुपर्ने गुण थियो । जनताको समस्या समाधान गर्न उहाँ जहिल्यै अगाडि रहनुहुन्थ्यो । सामाजिक कार्य (बाटोघाटो, खानेपानी, इनार, कुवा, सिँचाइ, नहर, विद्युत्, टेलिफोन, कृषि, हुलाक आदिको विकास निर्माण) ले गर्दा आफ्नो आलोचना र विरोधबाट कहिल्यै नरिसाउने अनुकरणीय स्वभावको र कसैले पनि बिर्सन नसक्ने गुण उहाँमा थियो । कुनै पनि सामाजिक कार्य गर्दा विपक्षीहरूले आलोचना गरे तापनि सबैलाई चित्त बुझाएर काम गर्ने, व्यक्तिगत स्वार्थ, पद र प्रशंसाप्रति कहिले पनि लालायित नहुने, कुनै समस्याबाट नआत्तिने, धैर्यवान, सरल र मिजासिलो स्वभावका त्यागी, जनताका सहयोगी, निश्चल, लगनशील, विकास निर्माण कार्यमा जोड दिने, सामाजिक चेतना र जागरणमा निरन्तर लाग्नु आफ्नो प्रमुख काम ठान्ने उहाँको अविस्मरणीय कार्यलाई कसैले भुल्न सक्दैन ।
वि.सं. २०३२ सालमा स्थानीय जालीफटाहाविरुद्धको सङ्घर्षको क्रममा चार दिन हिरासतमा बिताएका उहाँ पार्टीको निर्देशनानुसार बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, सुस्तामाथि भारतीय हस्तक्षेपविरुद्धको सङ्घर्ष, भियतनाममाथि अमेरिकी आक्रमणविरुद्धको सङ्घर्ष, भूमिकरविरुद्धको सङ्घर्षमा सक्रिय हुनुभयो । नेमकिपालाई वि.सं. २०४५ सालमा भक्तपुर काण्ड रची तहसनहस गर्ने राज्यस्तरको षड्यन्त्रमा १५ महिना जेल जीवन बिताइरहेको समयमा उहाँलाई भेट्न जाने आफ्ना कार्यकर्ता साथीहरूलाई विचलित नहुन र पार्टीको नीतिअनुरूप गतिविधि चलाउन सल्लाह र सुझाव दिनुहुन्थ्यो । वि.सं. २०४६ सालमा पनि पटकपटक उहाँ जेल पर्नुभएको थियो । प्रतिगमनविरोधी विभिन्न संयुक्त कार्यक्रममा उहाँ अग्रपङ्क्तिमा हुनुहुन्थ्यो ।
वि.सं. २०५५ देखि वि.सं. २०५९ सम्म र वि.सं. २०६१ मा देवी माविको व्यवस्थापन समितिका अध्यक्ष जयराम बासुकला देवी माविलाई उच्च मावि बनाउने लक्ष्य लिई अघि बढिरहनुभएको थियो । शिक्षाप्रेमी जयराम बासुकला डाँडापाटी प्रावि, दक्षिणकाली प्रावि, फैढोका प्राविका संस्थापक, हिमालयन ग्लोरी ई. स्कूलका संस्थापक सदस्य, शारदा क्याम्पसका संस्थापक सदस्य एवं व्यवस्थापन समितिका आजीवन सदस्य, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज व्यवस्थापन समितिका सदस्य हुनुहुन्थ्यो । अनौपचारिक शिक्षालाई समेत विशेष प्राथमिकता दिने जयराम बासुकला ताथली गाविसलाई पहिलो पूर्ण साक्षर गाविस बनाउन दत्तचित्त भई निरक्षरता उन्मूलन कार्यक्रममा सक्रियतापूर्वक लाग्नुभयो । उहाँको पहलमा सो कार्यक्रमका लागि स्व. सानुमाया बासुकला स्मृति अक्षयकोषको व्यवस्था गरिएको थियो । देवी माविको भवन विस्तार गर्ने क्रममा डाँडो पन्छाउने कार्यमा वि.सं. २०४९ भदौ २० गते अकस्मात् माटोको ढिस्कोले पुरिएर दिवङ्गत भएका शिक्षक कृष्ण बासुकला र छात्र सङ्घर्ष बासुकलाको स्मृति दिवस मनाउन अक्षयकोषको लागि चन्दा सङ्कलन गर्न र विद्यालय हातामा सालिक स्थापना गर्न उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभयो ।
बहुआयामिक व्यक्तित्व बासुकला नेपालभाषा साहित्य तःमुंज्याका सदस्य, विविध भाषा साहित्य सम्मेलनका सहयोगी, देवी महिला बचत तथा ऋण सहकारी संस्था, देवी युवा क्लव र कँडेलापाखा वन उपभोक्ता समितिका सल्लाहकार, ताथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षको रूपमा सेवारत हुनुहुन्थ्यो । परम्परागत कृषि प्रणालीमा सुधार गरी तन्तु (टिस्यु कल्चर) प्रविधिको प्रचारप्रसारमा (तत्कालीन रोनास्ट) नास्टसँग उहाँले सहकार्य गर्नुभयो । भक्तपुर नाला सडक सुधार समितिका सदस्य रहेका जयराम बासुकलाले भक्तपुर नाला सडकलाई अरनिको राजमार्गको सहायक राजमार्गको रूपमा स्थापनाको लागि क्रियाशील रहनुभयो ।
वि.सं. २०६२ साउन २१ गते मृत्युको दुई दिनअघि उहाँ आफू खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष भएर पनि मुहान र पाइप मर्मत गर्न आफै लाग्नुभएको थियो । पद र नामभन्दा काम प्रमुख हो भन्ने कुरामा उहाँ विश्वास गर्नुहुन्थ्यो । वि.सं. २०६२ साउन २४ गते बिहान हामी सबैलाई स्तब्ध तुल्याउँदै सदाको लागि उहाँ बित्नुभयो ।
विश्व कम्युनिस्ट सिद्धान्तका प्रतिपादक कार्ल माक्र्सले अरूको प्रशंसा गरेर समय खेर फाल्नुभन्दा उसका गुण अनुसरण गर भन्नु भएजस्तै जयराम बासुकलाबाट धेरै सिक्नु छ । मिलनसार भई सबैलाई समेटी काम गर्ने सिद्धान्तप्रति दृढ रहने, सामाजिक कार्यमा निरन्तर अग्रसरता देखाउने, शिक्षा क्षेत्रलाई अगाडि बढाउन तल्लीन रहने र विकास निर्माणमा लगनशील भई लाग्ने उहाँका गुणहरूको अनुसरण गरी उहाँका अधुरा सपना साकार पार्न अग्रसर भएर लाग्नु नै हाम्रो कर्तव्य हो । यही नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
स्रोत : जयराम स्मृति अक्षयकोष, ताथली

Leave a Reply

Your email address will not be published. Required fields are marked *