भर्खरै :

भक्तपुर जेसिसका पदाधिकारी युवाहरूबिच अन्तरक्रिया कार्यक्रम

भक्तपुर जेसिसका पदाधिकारी युवाहरूबिच अन्तरक्रिया कार्यक्रम

भक्तपुर, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार भक्तपुर नगरपालिका वडा नं. ९ कार्यालयमा वडाध्यक्ष रवीन्द्र ज्याख्वसँग भक्तपुर जेसिसका पदाधिकारी युवाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
युवाको अवसर, चुनौती र सम्भावना विषयमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष ज्याख्वले युवा उमेरभन्दा विचारले हुने चर्चा गर्दै वैज्ञानिक उपलब्धि तथा आधुनिक सूचना प्रविधिको विकासले युवाहरूमा प्राविधिक ज्ञान र सृजनशीलता बढेको बताउनुभयो । अघिल्लो पुस्ताभन्दा युवाहरू जानकार र प्रविधिमैत्री भएकोले आफ्नो सीप, योग्यता र ज्ञानलाई समाज र देशको प्रगतिमा सदुपयोग गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
सामाजिक सञ्जालको कारण युवाहरूमा एकोहोरोपना र नकारात्मक दृष्टिकोण विकास भइरहेकोमा सचेत हुन आग्रह गर्दै उहाँले अधिकारसँगै कर्तव्यबोध पनि हुनुपर्ने र देश निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाको तर्फबाट भइरहेका युवालक्षित गतिविधिहरूको विषयमा चर्चा गर्दै उहाँले हरेक युवालाई शिक्षा र संस्कारसँगै हातमा सीप दिएर स्वावलम्बी र स्वरोजगार बनाउने तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अघि बढ्न नगरपालिकाले उत्साहित गरिरहेको जानकारी दिनुभयो ।
भक्तपुर जेसिसका अध्यक्ष दिलरेमण कोजूले भक्तपुर नगरपालिकाले युवाहरूलाई लक्षित गरेका गतिविधिहरूबारे जानकारी पाइरहेको उल्लेख गर्दै युवाहरूलाई पूर्ण आत्मनिर्भर बनाउने सीप हस्तान्तरणमा नगरपालिकाले जोड दिने विश्वास व्यक्त गर्नुभयो । युवाहरूमा सूचना प्रविधिको नवीनतम् ज्ञानको उपयोग गर्ने दक्षता हुने प्रस्ट पार्दै उहाँले नगरवासीहरूको समग्र आर्थिक र सामाजिक विकासका लागि नगरपालिकाका योजनाहरू कार्यान्वयन गर्ने क्रममा युवा परिचालनलाई जोड दिन पाए थप सकारात्मक परिणाम आउने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरूले नगरपालिकाको आधिकारिक डिजिटल प्लेटफर्ममार्फत जनताबिच आधिकारिक दृष्टिकोण प्रवाह गर्ने, जनगुनासो तथा सुझाव सङ्कलन र विश्लेषण गर्ने, छापा प्रकाशनलाई डिजिटल मेडियामार्फत सार्वजनिक गर्ने, युवाहरूको सहभागितामा योजना कार्यान्वयनमा सहजीकरण गर्ने, नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा निर्माणलगायतका गतिविधिहरूको विवरणसँगै ती उत्कृष्ट अभ्यासबाट जनतामा परेको सकारात्मक प्रभावको मूल्याङ्कन गर्ने विधि अपनाउनुपर्नेजस्ता रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *