भर्खरै :

कम शुल्कमा इन्जिनियरिङ पढाउन नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेज

  • भाद्र ५, २०८३
  • सञ्जिता देवकोटा
  • विचार
कम शुल्कमा इन्जिनियरिङ पढाउन नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेज

२०५४ सालको स्थानीय चुनावमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट भक्तपुर नगरपालिकाको मेयर पदका उम्मेदवार प्रेम सुवालले आफ्नो घोषणापत्रमा लेखे, “नगरवासीले विश्वास गरेर नेतृत्व सुम्पिए, कम शुल्कमा नगरभित्रै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराइनेछ ।”
यो चुनावमा अहिलेका मेयर सुनिल प्रजापति वडाध्यक्षका उम्मेदवार थिए । नगरवासीले त्यो प्रतिबद्धतामा भरोसा गरे । तत्कालीन १७ वडामध्ये १५ वडामा नेमकिपाका उम्मेदवार विजयी भए र प्रेम सुवालको नेतृत्वमा नगरपालिका सञ्चालन गर्ने जिम्मेवारी नयाँ टीमले पायो ।
आफ्नो नेतृत्व आएपछि उनीहरूले घोषणापत्रमार्फत जनतासँग गरेको त्यो प्रतिबद्धता कागजमै सीमित राखेनन् । आफूहरूले गरेको वाचा पूरा गर्दै सबैभन्दा पहिला नगरपालिकाको लगानीमा २०५६ सालमा ख्वप माध्यमिक विद्यालयको स्थापना गरे ।
त्यसपछि नगरपालिकाले आफ्नो शैक्षिक यात्रालाई अझ फराकिलो बनाउँदै जनताको मागअनुसार इन्जिनियरिङ शिक्षासम्म विस्तार ग¥यो ।
जनप्रतिनिधिले चुनावका बेला गरेको प्रतिबद्धता समयसँगै संस्थागत हुँदै गयो । नगरभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने एउटा चुनावी घोषणापत्र सशक्त शैक्षिक संरचनामा रूपान्तरण भयो ।
आज ख्वप इन्जिनियरिङ र ख्वप कलेज अफ इन्जिनियरिङमा भक्तपुरका मात्र होइन, देशका ७७ वटै जिल्लाका विद्यार्थीले निकै कम शुल्कमा गुणस्तरीय शिक्षा पाइरहेका छन् । कुनै समय उच्च शिक्षाका लागि काठमाडौँ धाउनुपर्ने भक्तपुर नगर अहिले देशका कुना कन्दराका विद्यार्थीको रोजाइको गन्तव्य भएको छ ।
नाफामुखी सोचभन्दा सार्वजनिक उत्तरदायित्वलाई केन्द्रमा राखेर नगरपालिकाले सञ्चालन गरेको यो शैक्षिक मोडल आज देशभरका स्थानीय तहका लागि अध्ययन र अनुकरणको विषय बनेको छ ।

किसानका छोराछोरीले छात्रवृत्तिमै गुणस्तरीय शिक्षा पाए
२०५४ सालअघिसम्म भक्तपुरमा उच्च शिक्षाको अवसर सीमित थियो । गुणस्तरीय शिक्षाको खोजीमा हुनेखाने परिवारका छोराछोरी काठमाडौँ पुग्थे । तर, धेरैजसो किसानका छोराछोरीको शैक्षिक यात्रा एसएलसीपछि टुङ्गिन्थ्यो । पढाइमा उत्कृष्टहरू पनि आर्थिक कारणले एसएलसीमै सीमित हुन बाध्य थिए ।
यही बाध्यतालाई बुझेका नेमकिपाका उम्मेदवारले १३ जेठ २०५४ मा भएको स्थानीय निकायको चुनावमा भक्तपुर नगरपालिकाभित्रै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिए । १५ वडामा नेमकिपाका उम्मेदवार विजयी भएपछि आफ्नो वाचा पूरा गर्न नगरपालिकाकै लगानीमा शैक्षिक यात्राको सुरुआत गरे ।
२०५६ सालमा ख्वप उच्च माविको स्थापनापछि काठमाडौँ जान नसकेकै कारण उच्च शिक्षाको अवसरबाट वञ्चित हुनुपर्ने बाध्यताको अन्त्य भयो । धेरै किसान परिवारका छोराछोरीले छात्रवृत्तिमै अध्ययन गर्न पाए । तर, प्लस टुपछि कहाँ पढ्ने त ? यही प्रश्न बोकेर विद्यार्थी र अभिभावक फेरि नगरपालिका पुगे र आफ्ना जनप्रतिनिधिसँग गुनासो राखे । स्थानीयवासीको माग र सल्लाहअनुसार नै २०५८ सालमा एकसाथ दुई कलेज स्थापना भए ।
पहिलो ख्वप कलेज र दोस्रो ख्वप इन्जिनियरिङ कलेज ।
कलेजका प्राचार्य सुजन माकका अनुसार, पहिले त ख्वप इन्जिनियरिङ कलेजले पनि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर इन्जिनियरिङको कक्षा सञ्चालन गर्न खोजेको थियो ।
तर, २०५८ सालतिर त्रिविले सम्बन्धन रोकेका कारण ख्वप इन्जिनियरिङ कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै २०५८ सालदेखि नै सिभिल इन्जिनियरिङ र आर्किटेक्चर गरी २ वटा कार्यक्रमबाट आफ्नो यात्राको सुरुआत ग¥यो । पहिलो ब्याचमै सिभिलमा ४० र आर्किटेक्चरमा ४० जना विद्यार्थी भर्ना भए ।
२०५९ सालमा यस कलेजले कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु ग¥यो भने २०६० सालदेखि इलेक्ट्रिकल इन्जिनियरिङ विषयको पनि अध्यापन गराउँदै स्नातक तहमा ख्वप इन्जिनियरिङ कलेजले ४ विषय पढाउन थाल्यो ।
यति मात्रै होइन, २०६१ सालमा ख्वप पोलिटेक्निकको स्थापना गरी नगरपालिकाले ओभरसियर र पीसीएल नर्सिङको कार्यक्रम पनि सुरुआत ग¥यो ।

पहिलोपटक मास्टर्समा भूकम्प अध्ययनको सुरुआत
स्नातक तहसम्म इन्जिनियरिङ विषय अध्यापन गराउँदै आएको ख्वप इन्जिनियरिङ कलेजमा स्नातकोत्तरको विषय पनि अध्यापन हुनुपर्छ भन्ने माग बढ्दै गयो ।
स्थानीयको माग र विज्ञहरूको सुझावअनुसार २०६२ सालमा नेपालमै पहिलोपटक स्नातकोत्तर तहमा इन्जिनियरिङ इन अर्थक्वेक र अर्बन डिजाइन एन्ड कन्जर्भेसनको पढाइ सुरुआत भयो ।
प्राचार्य सुजन माक भन्छन्, “पुल्चोक क्याम्पसका प्राज्ञ र यस क्षेत्रका विज्ञहरूले समेत नेपालमा अहिलेसम्म भूकम्पको पढाइ कतै पनि नभएकोले भूकम्पको पढाइ होस् भन्ने सुझाव त्यो बेलामा आएको थियो । अर्बन प्लानिङ पुल्चोकमा पढाइ भइरहेको थियो तर अर्बन प्लानिङमा पनि बाटो र घर मात्रै होइन, सम्पदा पनि जोगाउनुपर्छ, हाम्रोमा यति धेरै सम्पदा छन् भन्ने भएपछि अर्बन डिजाइन एन्ड कन्जर्भेसन भन्ने युनिक कार्यक्रम त्यो बेलामा नेपालमै पहिलो सुरुआत ख्वपले ग¥यो ।”

सम्पदाजस्तै छ संरचना
२५ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको ख्वप कलेज परिसर पुग्दा यो एउटा शैक्षिक संस्था मात्रै नभएर कुनै पुरानो सम्पदा क्षेत्रमा पुगेजस्तो लाग्छ । कलेजका भवन, बनावट, झ्याल ढोका र वास्तुशैलीमा भक्तपुरको मौलिक पहिचान झल्किन्छ । यहाँका प्रत्येक संरचनाले आधुनिक शिक्षाको आवश्यकतालाई पूरा गर्दै नेपाली मौलिक वास्तुकलासँगको सम्बन्ध पनि जोगाएका छन् ।
भवनहरूबिचको खुला क्षेत्र, परम्परागत शैलीका संरचना र वरिपरिको वातावरणले कलेजलाई अन्य शैक्षिक संस्थाभन्दा फरक पहिचान दिएको छ ।
कतिपय विदेशी प्रोफेसरहरूले त कलेजको संरचना हेरेपछि बुटिक कलेज नाम राख्नसमेत सुझाउने गरेका उदाहरण छन् ।
२५ रोपनीभन्दा बढी जग्गा भक्तपुर नगरपालिकाकै हो । २०६४ सालसम्म भवन निर्माणका लागि नगरपालिकाले लगानी ग¥यो । त्यसपछि भने कलेजले नै भएको आम्दानीबाट अलिअलि जोगाउँदै थप्दै गइरहेको छ । अहिले पनि नगरपालिकाले आवश्यक पर्दा सहयोग गरिरहेको छ ।
ख्वप भनेबित्तिकै यसको छाताभित्र सातवटा संस्थाहरू रहेका छन् । ख्वप सर्कलमा जोडिएका झण्डै ५० हजार विद्यार्थी जहाँ पुगे पनि ‘ख्वप’ शब्दसँगै एउटा साझा अपनत्व महसुस गर्छन् । संयोगले होस् वा यात्राको क्रममा कतै न कतै ख्वपसँग जोडिएका विद्यार्थीहरू भेटिने गरेको प्राचार्य सुजन माक बताउँछन् ।

निजी कलेजभन्दा झण्डै आधा शुल्कमा पढाइन्छ इन्जिनियरिङ
ख्वप इन्जिनियरिङ कलेजमा अहिले इन्जिनियरिङतर्फ बीई इलेक्ट्रिोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ, बीई सिभिल, बीई कम्प्युटर र बी आर्किटेक्चर गरी चार विषयको अध्यापन हुन्छ ।
संरचनामा नगरपालिकाले लगानी गर्ने र सञ्चालन खर्च विद्यार्थीको शुल्कबाट चल्छ । कलेजको उद्देश्य नाफा कमाउनु नभएकोले पनि शुल्कमा विद्यार्थीलाई ठुलो भार थोपरिएको छैन ।
इन्जिनियरिङ पढाउने अन्य निजी कलेजको तुलनामा ख्वप इन्जिनियरिङ कलेजले तोकेको शुल्क झण्डै आधा रहेको छ । कलेजका अनुसार ४ वर्षे बीई इलेक्ट्रिोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङको शुल्क ४ लाख ९६ हजार रहेको छ । त्यसैगरी, बीई सिभिलको ६ लाख ९६ हजार, बीई कम्प्युटरको ६ लाख ९६ हजार रहेको छ भने पाँचवर्षे बीई आर्किटेक्चरको शुल्क ८ लाख ७० हजार रहेको छ ।
स्नातकोत्तर तहको भने एमई अर्थक्वेकको ३ लाख ९२ हजार र एमएस्सी अर्बन डिजाइन एन्ड कन्जर्भेसनको पनि ३ लाख ९२ हजार नै रहेको छ ।
इन्जिनियरिङबाहेक कलेजमा ब्याचलर्स अफ कम्प्युटर एप्लिकेसन इन इन्फर्मेसन टेक्नोलोजी
(बीसीए – आईटी) र ब्याचलर्स अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) को समेत पढाइ हुन्छ । बीसीए – आईटीको चारवर्षे शुल्क ३ लाख ६० हजार तोकिएको छ भने बीआईटीको ४ लाख ४० हजार रहेको छ ।

इन्जिनियरिङ पढ्ने झण्डै ४० प्रतिशत छात्रा
इन्जिनियरिङ काउन्सिलको तथ्याङ्कअनुसार नेपालमा झन्डै साढे १२ प्रतिशत लाइसेन्स प्राप्त महिला इन्जिनियरहरू छन् । ख्वप इन्जिनियरिङ कलेजको सुन्दर पक्ष भनेको यहाँ जम्मा विद्यार्थी सङ्ख्याको झण्डै ४० प्रतिशत त छात्रा नै रहेका छन्, जसमा पनि उत्कृष्ट ५ मध्ये ३ जना छात्रा रहेको कलेजका प्राचार्य सुजन माक बताउँछन् ।
विद्यार्थी मात्रै होइन, महिला अध्यापकहरूको सङ्ख्या पनि उल्लेख्य रहेको छ । कतिपय विभागहरू महिला अध्यापकले नै नेतृत्व गरिरहेका छन् ।
५४ जनाभन्दा बढी पूर्णकालीन अध्यापकहरू छन्, जसमध्ये ५० भन्दा बढी स्थायी छन् भने कतिपयसँग त दुई दशकभन्दा लामो शिक्षण अनुभव छ । नगरपालिकाले सञ्चालन गर्दाको अर्को फाइदा भनेको यहाँ स्थायित्वका साथै सेवा–सुविधाको समेत सुनिश्चितता छ, जसले अनुभवी जनशक्तिलाई लामो समयसम्म संस्थासँग जोडिराख्न सहयोग पु¥याएको छ । उद्योग तथा कार्यक्षेत्रसँग प्रत्यक्ष जोडिएका व्यक्तिहरूलाई कलेजले इन्डस्ट्री फ्याकल्टीका रूपमा कक्षाकोठासम्म ल्याइरहेको छ ।
शैक्षिक उपलब्धिका हिसाबमा पनि ख्वप इन्जिनियरिङ कलेजले आफूलाई प्रत्येक वर्ष अब्बल साबित गर्दै आइरहेको छ । विशेष गरी कम्प्युटर इन्जिनियरिङ र आर्किटेक्चरमा करिब ९० प्रतिशतको हाराहारीमा नतिजा छ ।
प्राचार्य सुजन माकका अनुसार, सबै विषयको औसत उत्तीर्ण दर करिब ६५ प्रतिशत हाराहारी छ । कलेजमा भर्ना भएका विद्यार्थीमध्ये करिब ८१ प्रतिशतले ट्रान्सक्रिप्ट लिने गरेको कलेजको तथ्याङ्कले देखाउँछ । यस कलेजलाई पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन प्राप्त कलेजहरूमध्ये उत्कृष्ट कलेजका रूपमा समेत सम्मान गरेको छ ।

सुविधासम्पन्न ल्याब
ख्वप इन्जिनियरिङ कलेजको अर्को विशेषता भनेको कक्षाकोठाको ज्ञानलाई प्रयोग र अनुभवसँग जोड्नु हो । यहाँ इन्टर्नसिप अनिवार्य छ, विद्यार्थीका लागि परियोजना कार्य, अनुभव आदानप्रदान, प्रदर्शनी, अन्तक्र्रिया, फिल्ड भिजिट नियमित हुन्छन् ।
पछिल्लो समय कलेजले ‘आउटकम बेस्ड लर्निङ’ लाई प्राथमिकतामा राखेको छ । इन्जिनियरिङ आफैँमा एप्लाइड साइन्स भएकाले विद्यार्थीले पढेका अवधारणालाई वास्तविक जीवनका समस्यामा प्रयोग गर्न सक्ने गरी सिकाइ अघि बढाइएको छ ।
कलेजमा प्रत्येक विषयका छुट्टाछुट्टै ल्याब छन् । ल्याबमा ड्रोन, जीपीएसदेखि लेजर स्क्यानरजस्ता अनेकौँ आधुनिक प्रविधिसमेत रहेका छन् । पाठ्यक्रममै ड्रोन सर्भे समेटिएकाले सिभिल इन्जिनियरिङका विद्यार्थीले ड्रोनमार्फत म्याप तयार गर्ने अभ्यास गर्छन् ।
जापानको एक विश्वविद्यालयको सहयोगमा स्थापना गरिएको भूकम्पसम्बन्धी ल्याब र मापन प्रणालीले त कलेजलाई अनुसन्धानसँगै सार्वजनिक उपयोगको भूमिकामा उभ्याएको छ । सानो भूकम्प जाँदासमेत त्यससम्बन्धी सूचना कलेजले सार्वजनिक गर्दै आएको छ ।
प्रत्येक विभागको विषयअनुसार कम्तीमा पनि २० देखि २५ वटा उद्योग व्यवसायसँग सहकार्य रहेको छ, जसमार्फत विद्यार्थीले इन्टर्नसिपका साथै रोजगारीका अवसर पाइरहेका छन् ।
अनुसन्धानतर्फ पनि कलेजले विद्यार्थी र शिक्षकलाई समान रूपमा प्रोत्साहन गरिरहेको छ । अध्यापकहरूलाई अनुसन्धानका लागि कलेजले नै अनुदान दिने गरेको छ भने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय जर्नलमा शोधपत्र प्रकाशन भएमा प्रोत्साहन रकमको व्यवस्थासमेत कलेजले गरेको छ ।

अध्ययन सकेपछि विद्यार्थीलाई कलेजले पनि दिन्छ अवसर
ख्वप कलेज अफ इन्जिनियरिङले आफ्ना उत्कृष्ट विद्यार्थीहरूलाई अध्ययन पूरा गरेपछि रोजगारीको अर्को अवसर नपाउँदासम्मका लागि ‘टिचिङ असिस्टेन्ट’ का रूपमा संस्थामै काम गर्ने अवसर प्रदान गर्दै आएको छ । यसले विद्यार्थीहरूलाई रोजगारीको अनुभव र आम्दानीसँगै आफ्नो आगामी यात्राको तयारी गर्न समय दिने गरेको प्राचार्य सुजन माकले बताए ।
उनले भने, “उत्कृष्ट विद्यार्थीहरू जता पायो त्यतै नजाने र आफूले भनेजस्तो ठाउँमा काम भन्नासाथ नपाउने अवस्था भएमा हामीले यहाँ ‘टिचिङ असिस्टेन्ट’ का रूपमा अवसर दिने गरेका छौँ । यहाँ काम गर्दै उनीहरूले लोकसेवाको तयारी गर्न, काउन्सिलको परीक्षा दिन वा छात्रवृत्तिमा अध्ययनका लागि विदेश जाने तयारी पनि गर्न सक्छन् ।”
इन्जिनियरिङ काउन्सिलको परीक्षा पास भएपछि भने उनीहरूलाई कलेजले अधिकृतसरहको सुविधा उपलब्ध गराउने गरेको छ । अन्यत्र काम पाएमा विद्यार्थीले तत्काल जागिर छोड्न पनि सक्छन् ।
केही समय यसरी काम गरेर अनुभव बटुलेपछि कोही सार्वजनिक सेवातर्फ गइरहेका छन् त कोही विद्यार्थी अन्य शैक्षिक संस्थामा अध्यापककै रूपमा गएका पनि कैयौँ उदाहरण छन् । कतिपयले विदेशी विश्वविद्यालयमा एकदमै राम्रो अवसर पाएका छन् ।

वार्षिक २ करोड छात्रवृत्ति
ख्वप इन्जिनियरिङ कलेजले मात्रै वार्षिक रूपमा झण्डै २ करोड रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको छ । तर, छात्रवृत्तिलाई छुटका रूपमा मात्रै नभई आर्थिक अवस्था, क्षमता, मिहिनेत र विशेष उपलब्धिलाई समेत सम्मान गर्दै शिक्षामा पहुँच विस्तार गर्ने माध्यमका रूपमा अघि बढाएको छ ।
कलेजका प्राचार्य सुजन माकका अनुसार विश्वविद्यालयको नियमसँगै राम्रो शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीले सेमेस्टरको नतिजाका आधारमा छात्रवृत्ति पाउँछन् भने अपाङ्गता भएका विद्यार्थी तथा महिला, दलित, जेहेनदार विद्यार्थीका लागि पनि विशेष छात्रवृत्तिको व्यवस्था छ ।
परिवारमा गम्भीर प्रकृतिको रोग, उपचारमा ठुलो खर्च लाग्ने अवस्था वा आर्थिक सङ्कट भएका विद्यार्थीलाई पनि आवश्यकताको मूल्याङ्कन गरी कलेजले छात्रवृत्ति प्रदान गर्दै आएको छ । खेलकुदमा विशेष उपलब्धि हासिल गरेकालाई कलेजले छात्रवृत्ति दिने गरेको छ ।
०००
यस यात्राका कल्पनाकार नारायणमान बिजुक्छेँदेखि प्रेम सुवाल र अहिलेका मेयर सुनिल प्रजापतिसम्म नेतृत्वकर्ताका छोराछोरीले यहीँ अध्ययन गर्दै अध्ययनपश्चात् कामसमेत गरे ।
नेतृत्वले आफ्नै सन्तानलाई यहीँ पढाउनु र संस्थामै जोडिनु आफैँमा ख्वपप्रतिको विश्वासको एउटा बलियो प्रमाण बन्न सफल भएको प्राचार्य माकको भनाइ छ ।
यति मात्रै होइन, ७७ जिल्लाबाट आएका विद्यार्थी भक्तपुरमा कोठा लिएर बस्न थालेसँगै यसको प्रभाव कलेजको पर्खालबाहिर स्थानीयका घरदेखि बजार र सामाजिक जीवनसम्ममा कुनै न कुनै रूपले पर्दै गयो ।
कुनै समय आफ्नै समुदायमा सीमित देखिने भक्तपुरको सामाजिक परिवेशमा देशका विभिन्न भूगोलबाट आएका विद्यार्थीको उपस्थितिले नयाँ अन्तरसम्बन्ध पनि निर्माण गरिदिएको छ ।
यसरी ख्वप इन्जिनियरिङ कलेजले आफ्नो २५ वर्षे यात्रामा देशकै उदाहरणीय एउटा शैक्षिक संस्कार निर्माण गर्न सफल भएको छ । संस्थापनकालका नेतृत्वले देखेको सपनाजस्तै आज भक्तपुर नगरका घरघरमा इन्जिनियर भेटिन्छन् ।
ख्वपका उत्पादनहरू देशभित्र मात्र होइन, विदेशसम्म पुगेर नेतृत्वदायी भूमिकामा काम गरिरहेका छन् । तर, ख्वपको यात्रा यतिमै रोकिएको छैन । अब अर्को सपना ख्वप विश्वविद्यालय हो । इन्जिनियरिङ शिक्षामा जस्तै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै किसान, मजदुर र सामान्य परिवारका छोराछोरीलाई चिकित्सा शिक्षाको पहुँचमा ल्याउने महत्वाकाङ्क्षा नगरपालिका र ख्वप सर्कलले बोकेको कलेजका प्राचार्य माक बताउँछन् ।
भन्छन्, “हामीलाई हेरेर अहिले धेरै नगरपालिकामा इन्जिनियरिङ कलेज स्थापना भएका छन्, चिकित्सा शिक्षामा पनि हामी त्यो उदाहरण बन्न सक्छौँ भन्ने आत्म विश्वास छ ।”
उनले भनेजस्तै सम्बन्धन बाँड्नेभन्दा पनि आफ्नै शैक्षिक दर्शन र संरचनामा उभिएको विश्वविद्यालयको परिकल्पना साकार भयो भने त्यसले ख्वपको अर्को अध्याय मात्र लेख्ने छैन, स्थानीय तहले उच्च शिक्षामा निर्वाह गर्न सक्ने भूमिकाको नयाँ मानक पनि स्थापित गर्न सक्नेछ ।
साभार : शिलापत्र डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *