भर्खरै :

बालेन सरकारलाई खुला पत्र

बालेन सरकारलाई खुला पत्र

आज पुनः अर्को समाचार तीन वर्षीय बालिकाको बलात्कारपछि विभत्स हत्या भएको खबरले मेरो ध्यानाकर्षण भएको छ । बाराको जीतपुर सिमरा–१ भक्तिनगरमा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शिशु, बालिका, किशोरी, महिला, ज्येष्ठ नागरिकको शरिरमाथिको भोकपछि निमोठिने आवाज र नारीको क्रुरतापूर्ण, विभत्स हत्या कतिञ्जेलसम्म हेर्ने, सुन्ने हो हामीले ?, परिवार, समाज र सिङ्गो राष्ट्रको सामाजिक, कानुनी व्यवस्था, सरकार कति कुम्भकर्णजस्तै सुत्न सकेको ? छोरी चेलीको आहुती पर्खिन्छौ ? सुुरक्षाको कदम चाल्न ढिलो भयो सरकार । न्याय चाहियो सरकार । हत्यारा अपराधी १८ वर्षभन्दा माथि होस् वा मुनि । तर, न्यायको बहस गर्दा अपराधीको उमेर मात्र होइन, पीडितको उमेर, अवस्था र उसमाथि भएको अमानवीय अत्याचारको गम्भीरता पनि हेरिनुपर्छ, निर्दोष बालबालिकामाथि हुने बलात्कार र निर्मम हत्याजस्तो जघन्य अपराधमा राज्य कुनै पनि हालतमा उदार बन्नु हुँदैन । यस्ता अपराधमा कठोरतम कानुनी कारबाही र प्रभावकारी न्याय सुनिश्चित हुनुपर्छ । यस्ता जघन्य अपराधमा अपराधीको सर्वस्वहरणसहित फाँसीको व्यवस्था हुनैपर्छ, ताकि पीडितले न्याय पाऊन् र अपराधीलाई कानुनको भय होस् ।
अब त यस्ता घटनाले पराकाष्ठा नाघिसकेको छ । भारत पाकिस्तानमा यस्ता घटनाहरू धेरै घटेको सुनिन्थ्यो । आजकाल नेपालमा पनि यस्तै घटनाहरू धेरै घट्न थाले; आफ्ना छरछिमेक वोल्लो घर पल्लो घर त्यो केटाकेटीहरू गएर खेल्छन्, बस्छन् तर समाजमा यस्ता आपराधिक मानसिकता बोकेका नरपिसाच राक्षसहरू भएपछि कहाँ सुरक्षित हुन्छन् ? कोही आफ्नै बाबु बलात्कारी, कोही आफ्नै हजुरबाबु बलात्कारी, कोही आफ्नै मामा बलात्कारी, कोही काका बलात्कारी, कोही आफ्नै सहोदर दाजु । पीडितको नाम सबैले लिन्छन् तर, अपराधीलाई समातिँदैन, समाती हाले पनि माक्स्क लगाएर आधा अनुहार मात्र देखाइन्छ, नाबालिक बालिकाको ह्त्यारा पनि नारीबाटै जन्म भएको भन्ने विचार किन आएन, नरपिशाचलाई ?
कि त छोरी मान्छेको जन्मै हुन भएन, यस्तो सबै सहनका लागि किन छोरी मान्छेको जन्म हुनु नि ! अबका दिनमा लिङ्गको पहिचानपछि नै भु्रण हत्या हुन बेर छैन । दुई रथमा एक रथको कमी भए संसार कसरी चल्छ ? छोरीकी आमाबुबा डर त्रासमा बाँच्नुपर्ने भएको छ, स्कूल, कलेज, अफिस, वैदेशिक रोजगारमा गएकी छोरी घर फर्कने हो या होइन चिन्ताको विषय छ ।
बलात्कारीलाई फाँसीको सजाय दियो भने यस्ता घटनाहरू कम हुँदै बन्द हुनेछन् । निर्मला पन्तको बलात्कारीलाई फाँसीको सजाय दिएको भए आज यति बच्चाहरू बलात्कार हुने नै थिएनन् । मिडिया र NGO मा यही बलात्कृत बालिका, किशोरीका नाम प्रचार भइरहनु इज्जतको धज्जी उदाएको देखिन्छ । अबको दिनमा बलात्कारीको नाम र फोटो सार्वजनिक हुनुप¥यो । पीडितलाई न्यायको लागि कडाभन्दा कडा सजाय सम्बन्धित निकायले यथाशीघ्र गर्नैपर्ने देखिन्छ ।
पद्मा खयरगोली, सामाजिक अभियन्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *