भर्खरै :

मोह र मुक्तिको विडम्बना

मोह र मुक्तिको विडम्बना

समाजको बन्द घेरा र सत्ताको रापमा
टुहुरी बनेकी छ आज यो दुःखी धर्ती पनि ।
रित्तो छ खल्ती, पेट खाली छ गरिब र मजदुरको
अभावको कालो छायामा बिलीन छ कलिलो भविष्य पनि ।
बेरोजगारीको पीडाले खाडीमा पसिना बेच्दै छन् युवाहरू
आफन्त पर्खंदै घरमा रित्ता छन् आँखा, सुक्दैछन् आँसुहरू ।
उता सिंहदरबारको बन्द कोठाभित्र कुर्सीको लुछाचुँडी छ
जनताको रगत र पसिनामाथि स्वार्थको पैशाचिक नरुरु छ ।

सास छ शरीरमा तर भित्रैदेखि मरिसक्यो मान्छे,
मोहको एउटा जिउँदो लास बनेर बाँचिरहेछ मान्छे ।
लोभी र पापी मोहले विवेक बन्धक बनिसक्यो,
आफ्नै लालचको सिक्रीले यो मन कसिलो कसिसक्यो ।
देख्दा यो समसामयिक पीडा, छाती पोलेर आउँछ
जिउँदो मान्छे लासजस्तै बग्दै गरेको देख्दा रुवावासी हुन्छ ।

सडकमा गरिने क्रान्ति त केवल रमिता र बहाना हो
असली क्रान्ति त आफ्नै मनभित्र जगाउनु पर्ने ज्वाला हो ।
अरुलाई दोष दिनुअघि आफ्नै विचारलाई तिखार्नु छ
यो मस्तिष्कमा जमेको स्वार्थको मैलो पखालेर फाल्नु छ ।
बन्दुक र ढुङ्गा बोक्नुभन्दा पहिले आत्मा जलाउनु पर्छ
जबसम्म आफ्नै मनको अन्धो मोह जल्थ्यो,
तबसम्म केही बदलिन्न यो जहानमा ।

जुन दिन यो समाज अन्धमोहबाट बाहिर आउनेछ
जुन दिन मान्छेले आफ्नै भित्रको लोभ मेटाउनेछ
प्राण हुँदाहुँदै ती मोहहरू जब सधैँका लागि टुट्नेछन्
त्यही दिन यो देश र जनताले सच्चा मुक्ति पाउनेछन् ।
किनकि, मोह हुँदाहुँदै प्राण जानु ‘मृत्यु’ हो भने,
प्राण हुँदाहुँदै ‘मोह’ जानु नै वास्तविक ‘मुक्ति’ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *