शाङ्घाई सहयोग सङ्गठनको २५ औँ सम्मेलन साझा, समानता र पारिपाटीयुक्त विश्व धु्रवीकरणको अपिल
- भाद्र १६, २०८३
भक्तपुर, १७ भदौ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिसँग मिस युनिभर्स नेपाल २०२६ का सहभागीहरूले भेटघाट तथा साक्षात्कार गरे । नगर प्रमुख प्रजापतिले ‘जीवित सङ्ग्रहालय’ तथा ‘नाचगानको राजधानी’ का रूपमा परिचित सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै बाहिरी झिलिमिलीभन्दा पनि भित्री गुणलाई सुन्दरता मान्नुपर्ने बताउनुभयो ।
उहाँले जनताको सेवा गर्ने भावना, राजनीतिक र सांस्कृतिक चेतनास्तर उठनु नै सुन्दर व्यक्तित्वको परिचय हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरमा जति मानिस छन्, सबै कलाकार छन् । क्षेत्रफलका हिसाबले सानो भए पनि पुरातात्विक तथा सांस्कृतिक दृष्टिले भक्तपुर अत्यन्तै समृद्ध नगर हो ।”
भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूलाई मौलिक स्वरूपमै संरक्षण गर्दै आएको जानकारी दिँदै नगर प्रमुख प्रजापतिले पुराना सम्पदाको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो ।
उहाँका अनुसार कला सङ्ग्रहालयको भवनसँगैको लाल बैठकलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने योजना रहे पनि युनेस्कोबाट स्वीकृति नपाएपछि रेट्रोफिटिङमार्फत मर्मत तथा संरक्षणको काम गरिएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पर्यटन शुल्कलाई नगरको शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक विकासका क्षेत्रमा सदुपयोग गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाले समानताको आधारमा व्यवहार गर्दै निजी तथा सरकारी क्षेत्रलाई समान महत्व दिएर काम गरिरहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाले नागरिकको जन्मदेखि अन्तिम संस्कारसम्म आवश्यक सेवा उपलब्ध गराउन प्रयास गर्दै आएको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, संस्कृति, सम्पदा संरक्षणलगायतका क्षेत्रमा नगरपालिकाले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाले ख्वप कलेज तथा ख्वप अस्पताल सञ्चालन गरी जनतालाई गुणस्तरीय र सुलभ शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिँदै जनताबाट उठेको कर तथा पर्यटकबाट प्राप्त पर्यटन शुल्कलाई जनताकै हितमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा लगानी गर्दै आएको बताउनुभयो ।
साक्षात्कारका क्रममा मिस युनिभर्स नेपाल २०२६ का सहभागीहरूले भक्तपुर नगरपालिकाको शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा नगर प्रमुख प्रजापतिसँग जिज्ञासा राखेका थिए ।
सहभागीहरूले नगरबासीलाई निःशुल्क अक्सिजन र रगतको व्यवस्था गर्न आर्थिक स्रोतको व्यवस्थापन कसरी भइरहेको छ भन्ने विषयमा प्रश्न गरेका थिए । त्यस्तै, नगरको सरसफाइ व्यवस्थापन, भूकम्प प्रतिरोधी घर तथा सम्पदा पुनर्निर्माणको अवस्था तथा ऐतिहासिक सम्पदा संरक्षणका क्षेत्रमा नगरपालिकाले गरिरहेका कामबारे पनि जिज्ञासा राखेका थिए । उनीहरूले भक्तपुरलाई ‘ड्रिम सिटी’ का रूपमा अझ व्यवस्थित, सुन्दर र आकर्षक बनाउन नगरपालिकाका आगामी योजना के–कस्ता छन् भन्नेबारे समेत प्रश्न गरेका थिए ।
भक्तपुरमा रहेका वातावरण संरक्षणका लागि अपनाइएका उपाय तथा विदेशी सहयोग नलिई नगरपालिकाले आफ्नै स्रोत र साधनबाट विकासका काम अघि बढाउनुको कारणबारे पनि सहभागीहरूले जिज्ञासा राखेका थिए ।
सहभागीहरूले राखेका विभिन्न जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख प्रजापतिले आगामी १०० वर्षपछि भक्तपुर कस्तो बनाउने भन्ने दीर्घकालीन उद्देश्यका साथ नगरको विकास योजना अघि बढाइरहेको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रको विकासलाई नगरपालिकाले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै ‘एक घर, एक स्नातक’को अवधारणालाई अघि बढाइएको बताउनुभयो । यही उद्देश्यअनुरूप नगरपालिकाले ख्वप सर्कलअन्तर्गतका कलेज तथा शैक्षिक संस्थाहरू स्थापना गरी गुणस्तरीय तथा सुलभ उच्च शिक्षा उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।
भेटघाटका क्रममा भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिनिधित्व गर्ने क्रममा सम्भव भएसम्म नेपालको इतिहास, राजनीतिक तथा भौगोलिक अवस्था, मौलिकता, कला–संस्कृति र विविध पक्षबारे अध्ययन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले मानिस सफल हुँदै जाँदा आफ्नो पहिचान र मौलिकताको खोजी हुने बताउँदै आफ्नो पहिचान जोगाउने विषयमा सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गो लोकलका दिपेशराज शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
सहभागीहरूले भक्तपुरको च्याम्हासिंह, दत्तात्रय, टौमढी, तालाक्व हुँदै दरबार क्षेत्रका सम्पदाहरूको स्थलगत अवलोकन गरेका थिए ।
Leave a Reply