भर्खरै :

अङ्ग्रेजी साहित्यको इतिहास

  • भाद्र २१, २०८३
  • न्हुछेरत्न वुद्धाचार्य
  • विचार
अङ्ग्रेजी साहित्यको इतिहास

“जो मानिस आफ्नो जीवन र समयको बारेमा लेख्दछ त्यही मानिस सबै कालका निमित्त लेख्दछ ।”
– जर्ज बर्नार्ड सा
अङ्ग्रेजी साहित्यको इतिहास चौधौँ शताब्दीको सँगसँगै सुरु भएको छ ।
Chaucer लाई अङ्ग्रेजी साहित्यका पहिला स्थापित लेखक मानिन्छ ।
‘Canterbury Tales’ उनको विश्व प्रसिद्ध रचना हो । यसमा बेलायतका तत्कालीन समाजको यथार्थ चित्रण गरिएको छ ।
Chaucer को युगमा बेलायतमा व्यापारको अद्भूत विकास भएको थियो । जनता जुर्मराएर उठेका थिए । समाज पुरुषप्रधान थियो । बालविवाहको प्रचलन आफ्नो चरम सीमामा पुगेको थियो । धार्मिक क्षेत्रमा पनि विभिन्न किसिमका जटिलताहरू विद्यमान थिए ।
Chaucer ले आफ्ना रचनाहरूका माध्यमबाट समकालीन समाजको अत्यन्त नै यथार्थवादी चित्रण प्रस्तुत गरेका छन् ।
यिनी पछिका दोस्रा प्रमुख लेखक William Langland हुन् । Langland अङ्ग्रेजी साहित्यका महान् व्यङ्ग्यकार थिए । आफ्ना व्यङ्ग्यपूर्ण रचनाहरूका माध्यमबाट उनले जनतालाई थुप्रै नैतिक सन्देश दिए । एउटा व्यङ्ग्य लेखकका रूपमा उनले समाजमा मौलिक परिवर्तन ल्याउने आवश्यकताबारे जोड दिए । समाजका सबै वर्ग नैतिकताको बाटोमा अग्रसर होऊन् – यो नै उनको हार्दिक अभिलाषा रहेको थियो ।
Renaissance Age लाई बेलायतमा पुनर्जागरणको काल मानिन्छ । यस युगमा लेखकहरूले मध्य युगका मूल्य र सिद्धान्तहरूप्रति आफ्ना अनिच्छाको प्रदर्शन गरे । पुराना मान्यताहरूप्रति विरोधका स्वरहरू चर्केर एउटा नवीन साहित्यधाराको निर्माण हुन गयो ।
Renaissance कालको साहित्य संवेदनशील साहित्य मानिन्छ । यसै युगमा नौला विचारधाराको जन्म भयो । नयाँ–नयाँ सम्भावनाहरूले आ–आफ्ना परिचय दिए ।
Renaissance Age पछिको महत्वपूर्ण काल Metaphysical Age ब्नभ हो । John Donne यस युगका महान् कवि थिए । उनका कविताहरूले एउटा नव्य युगको परिचय दिएका थिए । यस युगमा आध्यात्मक प्रभाव बढ्यो । मानिसहरू रहस्योन्मुख हुन लागे । ‘मरण’ लेखकहरूको प्रिय विषयवस्तु बन्यो । जीवन के हो ? र मरेपछि मानवको के हुन्छ ? जस्ता प्रश्नहरूका उत्तर पत्ता लगाउने प्रयास कविहरूले आ–आफ्ना रचनाहरूमा गरे । यस युगमा भावनाहरूलाई एउटा नयाँ रूप दिइयो । तार्किक पृष्ठभूमिको महत्व बढ्न गयो । जीवनका रहस्यहरूलाई जान्ने प्रयत्नहरू गरिए ।
Metaphysocal Age को समाप्तपछि Classical Age प्रकाशमा आयो । अठारौँ शताब्दीलाई Classical Age को नामले अङ्ग्रेजी साहित्यमा उल्लेख गरिने गर्दछ । यस युगमा भावनात्मक साहित्य मूल्यहीन भएर गयो, भावनाहरूलाई मानवीय दुर्वलताको दर्जा दिइयो । लेखकहरूका लागि केही नियमहरू निर्धारित भयो । कुनै पनि लेखकलाई तिनै नियमहरूका अन्तर्गत लेख्ने गर्नुपर्दथ्यो । स्वेच्छाले उसले कुनै शैलीको प्रतिपादन गर्न सक्दैनथ्यो । लेख्नका लागि विषयवस्तु, शैली, शब्द चयन, काव्यात्मक रूपरेखा जम्मै कठिन नियमहरूले घेरिन गए । यस युगमा व्यङ्ग्यपूर्ण र आलोचनात्मक साहित्यको प्रस्तुतीकरण प्रचुर मात्रामा हुन गयो । Pope, Johnson आदि यस युगका विख्यात लेखकहरू हुन् । Pope १८ औँ शताब्दीका ख्याती प्राप्त कवि हुन् । यस युगका लेखकहरूले प्रकृतिबाट आफ्ना नाताहरू तोडिदिएका थिए । यिनका रचनाहरूमा प्राकृतिक चित्रणको सट्टा सहरी परिवेशकै चित्रण गरियो । भावनाहरूको साटो तर्कलाई सम्मानको दर्जा दिइयो । कठोर सामाजिक रीतिरिवाज वा चालचलनमाथि जोड दिइयो । अठारौँ शताब्दीको अङ्ग्रेजी साहित्यले स्वतन्त्र लेखनमा पावन्दीहरू लगाइदियो र लेखकवर्ग एउटा विशेष सीमाभित्र रही लेख्नलाई बाध्य हुन गए ।
उन्नाइसौँ शताब्दीको अङ्ग्रेजी साहित्यको इतिहासमा विद्रोहको स्वर मुख्य रहेको छ । यस युगलाई स्वच्छन्द युगको नामले पनि बुझ्ने गरिन्छ । यस युगमा तर्कपूर्ण तथ्यहरूको उपेक्षा गरियो ।
Classical Age मा बौद्धिकताको प्रकाश गरिएको थियो । तर, त्यस तथाकथित बौद्धिकताविरुद्धमा विद्रोहका स्वर स्वच्छन्द युगका लेखकहरूले मुखरित गरे ।
Romantic Revival  स्वच्छन्द कल्पनाहरूको युग थियो । लेखकहरूलाई प्राचीन बन्धन र नियमहरूबाट मुक्ति मिल्यो । साहित्यका परिवेशमा आमूल परिवर्तन भयो । सहरी पृष्ठभूमिका बदलामा ग्रामीण पृष्ठभूमिमाथि आधारित साहित्यको रचना हुन थाल्यो । तथ्यहरूका स्थान कल्पनाहरूले लिए । प्रेम, सुख, दुःख, रहस्य आदि भावनाहरूलाई आ–आफ्नो रूप देखाउने पूरा अवसर प्राप्त भयो ।
William Wordsworth उन्नाइसौँ शताब्दीका महान् साहित्यकार थिए । मुख्य रूपले उनी आफ्ना प्राकृतिक कविताहरूका निम्ति अमर छन् । Coleridge, Shelley, Byron, आदि अन्य प्रमुख कविका च्यmबलतष्अ रचनाहरूबाट पनि आ–आफ्ना विषयवस्तु एवम् शैलीका निम्ति प्रख्यात छन् ।
John Keats (ई.सं. १७९५–१८२१) बेलायतको एक सामान्य परिवारमा जन्मेका अङ्ग्रेज महाकवि थिए ।
Romantic Age पछि ६० वर्षको समयलाई अङ्ग्रेजी साहित्यको इतिहासमा Victorian Period का नामले जानिन्छ । Victorian Period विज्ञान, धर्म र राजनीतिका नयाँ नौला विचारहरूबाट धेरै नै प्रभावित रहेको छ । यस युगका प्रमुख कवि Tennyson थिए । उनले आफ्ना रचनाहरूमा आफ्नो समकालीन समाजको यथार्थ चित्रण प्रस्तुत गरेका छन् । सन्देहवाद यस युगका मुख्य विशेषता थियो ।
Modern Age मा आजका जीवनका विभिन्न जटिलताहरूमाथि प्रशस्त साहित्यको सिर्जना भएको छ ।
आधुनिक युगमा अनेक मोडहरू छन् । अधिकांश लेखकहरूले अति भौतिकता, नैतिक मूल्यहरूको पतन, युद्धका विभीषिका आदिको चित्रण गरेका छन् ।
T.S. Eliot आधुनिक अङ्ग्रेजी साहित्यका अति महत्वपूर्ण लेखक कवि हुन् । आधुनिक युगका जटिलताहरूलाई उनले आफ्ना रचनाहरूमा स्पष्टरूपले चित्रण गरेका छन् ।
सन्दर्भ सामग्री
१. English Literature – R.J. Rees
२. A handbook of the study of literature – Malindra Nath Sinha
(लेखक निवृत्त अङ्ग्रेजी शिक्षक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *