भर्खरै :

तेल र राजनीति : भेनेजुयलाका लागि ट्रम्पको ‘ऐतिहासिक’ सम्झौताले के अर्थ राख्छ ?

  • भाद्र २३, २०८३
  • कार्लोस एडुवार्डाे पिना
  • विचार
तेल र राजनीति : भेनेजुयलाका लागि ट्रम्पको ‘ऐतिहासिक’ सम्झौताले के अर्थ राख्छ ?

(भेनेजुयालीहरू स्वतन्त्र र निष्पक्ष चुनावको आशामा छन् तर अमेरिकाले तेल उत्पादनलाई मात्र प्राथमिकता दिन सक्छ ।)
पछिल्लो शताब्दीदेखि नै भेनेजुयलाको राजनीति देशको तेल उद्योगको व्यवस्थापनसँग घनिष्ठ रूपमा जोडिएको छ ।
नीतिनिर्माताहरूबिचको बहस तेल क्षेत्रलाई उदारीकरण गर्ने वा राष्ट्रियकरण गर्ने भन्ने विषयमा केन्द्रित रह्यो, जसमा पछिल्लो २७ वर्षदेखि राष्ट्रियकरण नै रुचाइएको विकल्प रहँदै आएको छ ।
समयसँगै, सत्तारूढ दलले ‘स्रोतराष्ट्रवाद’ भन्ने धारणा राष्ट्रिय मानसिकतामा रोपे, जसको उद्देश्य आफ्नो शक्ति मजबुत पार्नु र त्यस्तो शासनको हित अघि बढाउनु हो, जसले तेल आम्दानी प्रयोग गरेर विशेषतः क्यारिबियाली क्षेत्रमा आफ्नो राजनीतिक प्रभाव विस्तार गरेको थियो ।
यो सबै अचानक अन्त्य भयो ३ जनवरी २०२६ मा, जब अमेरिकी विशेष सेनाले काराकसमा गरेको एक चत्याङ्जस्तो छिटो सैन्य कारबाहीमा राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गरेर अमेरिकामा ल्याए । त्यहाँ उनलाई हतियार र लागूऔषधसम्बन्धी मुद्दामा अदालतमा उभ्याइयो ।
त्यसबेलादेखि, मादुरोका उपराष्ट्रपति तथा हाल अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी सरकारको हितलाई प्राथमिकता दिँदै तेल उद्योगको निजीकरणतर्फ ध्यान केन्द्रित गरेकी छिन् ।
गत आठ महिनामा हासिल भएका उपलब्धिहरूमा ‘सामान्य हाइड्रोकार्बन कानुन’ मा सुधार, ऊर्जा उत्पादन केन्द्रहरूलाई स्वतन्त्र बनाउने र अमेरिकी पूर्व (अनुमतिसहित अमेरिकी तथा विदेशी तेल कम्पनीहरूलाई भेनेजुयलाको विशाल तेल क्षेत्र विकासमा सहभागी हुने अनुमति दिने कुरा समावेश छन् । तर चीन, रूस, इरान वा उत्तर कोरियाका कम्पनीहरूलाई यसमा सहभागी हुन दिइएको छैन ।
सबैभन्दा महत्वपूर्ण विकास गत हप्तामा भयो, जब दुई देशले सम्झौता गरेको घोषणा गरे जसअनुसार अमेरिकी कम्पनीहरूले आगामी १०० वर्षसम्म ६५ अर्ब ब्यारेल कच्चा तेल भण्डारमा पहँुच पाउनेछन् ।
राष्ट्रपति ट्रम्पले ‘विश्व इतिहासको सबैभन्दा ठुलो तेल सम्झौता’ भनेर वर्णन गरेका छन् । यो सम्झौताले सत्तारूढ दलको स्रोत – राष्ट्रवाद नीतिमा मात्र मोड ल्याएको छैन, यसले अमेरिकी सरकारको प्रभुत्व रणनीति मजबुत पार्ने र भेनेजुयलाको तेल तथा ग्यास स्रोत नियन्त्रण गर्ने प्रयासको पराकाष्ठा पनि देखाएको छ ।
यसबाहेक, यो सम्झौताले भेनेजुयलाको राजनीतिक सङ्क्रमणमा निर्णायक भूमिका खेल्ने तय भएको छ ।
मादुरोलाई सत्ताबाट हटाएपछि अमेरिकाले स्थिरता, पुनःउत्थान र राजनीतिक सुधारलाई अघि बढाउन तीन चरणको योजना तयार गरेको छ । अब सबै पक्षहरूले सम्झौता कार्यान्वयन गर्न मार्गचित्र बनाउनुका साथै देशमा राष्ट्रपति चुनाव सुनिश्चित गर्नुपर्नेछ । तेल सम्झौताको हस्ताक्षर नै यो जटिल प्रक्रियाको सुरुवात हो ।
अमेरिकाको लागि ठुलो जीत, भेनेजुयलाका लागि कम लाभदायी
यस तेल सम्झौताका सटीक सर्तहरूबारे पछिल्लो हप्ताभर पश्चिमी गोलाद्र्धका विशेष समाचार माध्यमहरूमा व्यापक छलफलको विषय बनेका छन् । तर, अमेरिकी र भेनेजुयाली अधिकारीहरूले दिएको विरोधाभासी र कहिलेकाहीँ बेमेल विवरणका कारण सम्झौताको अन्तिम अवस्था अझै अस्पष्ट छ ।
ट्रम्प प्रशासनले सबैभन्दा विस्तृत जानकारी सार्वजनिक गर्दै, भेनेजुयलाको प्रमाणित ३०३ अर्ब ब्यारेल तेलमध्ये ६५ अर्ब ब्यारेल (२० प्रतिशत) तेललाई १०० वर्षका लागि अमेरिकी नियन्त्रणमा हस्तान्तरण गरिएको पुस्टि गरेको छ ।
यी तेल भण्डारहरू १७ वटा प्रमुख तेल क्षेत्रहरूमा फैलिएका छन्, जसमध्ये केही क्षेत्र पहिले चिनियाँ र रूसी कम्पनीहरूलाई सहुलियतमा दिइएका थिए । अब यी क्षेत्रहरूलाई नर्थ अमेरिकन ब्लु एनर्जी पार्टनर्स (NABEP), नाबेप नामक निजी कम्पनीले सञ्चालन गर्नेछ, जसले अमेरिकी रक्षा विभागको अफिस अफ स्ट्राटेजिक क्यापिटल (OSC) ओएससीसँग सहकार्य गर्नेछ । (OSC) ओएससीले (NABEP) नाबेपमा ३५ प्रतिशत हिस्सा निःशुल्क प्राप्त गर्नेछ । ट्रम्पले यसलाई अमेरिकी करदाताको पैसा प्रयोग नहुने प्रमाणका रूपमा प्रस्तुत गरेका छन् ।
यसका साथै, अमेरिकी सरकारको जानकारीअनुसार अमेरिकाले (NABEP) नाबेप–नियन्त्रित तेल क्षेत्रहरूबाट हाल र भविष्यमा उत्पादन हुने कच्चा तेलको २० प्रतिशत हिस्सा उत्पादन लागतमै खरिद गर्ने अधिकार पनि सुरक्षित गरेको छ । यसको अर्थ उत्पादनमा भेनेजुयलाको कर लाग्ने छैन, जसले गर्दा भेनेजुयलाले पाउने राजस्व घट्नेछ ।
ओएससीलाई बाँकी ८० प्रतिशत तेल उत्पादन खरिद गर्ने पहिलो अधिकार दिइएको छ वा आवश्यक परे राष्ट्रिय सुरक्षाका कारण उत्पादन रोक्ने अधिकार पनि छ । यी प्रावधानहरूले अमेरिकालाई भेनेजुयलाको तेल भण्डारमा पहँुच सुनिश्चित गर्ने र ‘स्ट्राटेजिक पेट्रोलियम रिजर्भ’ (SPR) को आवश्यकता पूरा गर्ने प्राथमिकता दिएका छन् । यी कदमहरू स्पष्ट रूपमा अमेरिकाले आफ्नो राष्ट्रिय ऊर्जा सुरक्षा लक्ष्य हासिल गर्नका लागि उठाइएका हुन् ।
ह्वाइट हाउसले पनि पुष्टि गरेको छ कि (NABEP)नाबेप अमेरिकी नागरिकहरूको नियन्त्रणमा छ । यो अधिकार अमेरिकी सरकारले विदेशी कम्पनीहरूले यसलाई सञ्चालन गर्न नपाउने सुनिश्चित गर्न राखेको हो । व्यवहारमा यसको अर्थ, नाबेप केवल नियन्त्रणको साधनको रूपमा प्रयोग हुनेछ, जबकि वास्तविक सञ्चालन अमेरिकाले नै नियन्त्रण गर्नेछ ।
नाबेपले भेनेजुयाली अधिकारीहरूलाई तिर्नुपर्ने रोयल्टी तथा करसम्बन्धी अर्को विषय पनि उठाइएको छ । दुबै देशका उच्च अधिकारीहरूले भनेका छन् कि १७ वटा तेल क्षेत्रको दोहनबाट करस्वरूप करिब २०० अर्ब अमेरिकी डलर सङ्कलन हुनेछ, जसको आधारभूत लगानी करिब १०० अर्ब डलर हुने अपेक्षा गरिएको छ । यो रकम लामो आर्थिक सङ्कटपछि पुनर्निर्माणका चुनौतीहरू सामना गर्न वर्तमान अन्तरिम प्रशासनले व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ ।
तर, यो रकम निर्धारण गर्न प्रयोग गरिएको विधि अस्पष्ट छ किनभने अमेरिकी सरकारलाई दिइएका विवेकाधिकार प्रावधानहरूले तिर्नुपर्ने करको ठ्याक्कै परिमाण गणना गर्न असम्भव बनाएको छ ।
यसबाहेक, भेनेजुयला सरकारले घोषणा गरेको छ कि नाबेपलाई दिइएको अनुमति केवल २५ वर्षका लागि मान्य हुनेछ; जुन अमेरिकी सरकारले दाबी गरेको १०० वर्षभन्दा निकै कम हो । उल्लेखनीय कुरा यो हो कि यस्तो प्रकारको सम्झौता भेनेजुयलाको हाइड्रोकार्बन कानुनमा आधा शताब्दीदेखि समावेश भएको छैन ।
द्विपक्षीय सम्झौता भेनेजुयलाको तेल क्षेत्रमा लगानी आकर्षित गर्ने राम्रो उपाय हुन सक्छ, तर यसको सफल कार्यान्वयनमा अझै पनि आन्तरिक र बाह्य राजनीतिक, कानुनी र आर्थिक अवरोधहरू विद्यमान छन् ।
पहिलो कुरा, राष्ट्रपति ट्रम्पले हालसम्म शेभ्रोन (Chevron) बाहेक अन्य प्रमुख अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुयलाको तेल उद्योगमा प्रवेश गर्न प्रोत्साहित गर्न असफल भएका छन् । यसको कारण, भेनेजुयलामा विश्वसनीय र वैध संस्थाहरूको अभाव छ, जसले दीर्घकालीन उत्पादन योजनाको लागि स्थिर कानुनी संरचनाको अभावलाई सङ्केत गर्दछ ।
एक्सनमोबिल (ExxonMobil), शेभ्रोन र कोनोकोफिलिप्स (ConocoPhilips) जस्ता ठुला तेल कम्पनीहरूलाई अलग राख्दा, १७ वटा तेल क्षेत्रका सम्भावित साझेदारका रूपमा देखिएका कम्पनीहरू साना स्वतन्त्र सञ्चालकहरू मात्र हुन् । यसले सञ्चालनमा अवरोध ल्याउन सक्छ, किनकि ठुला कम्पनीहरूसँग मात्र दीर्घकालीन तथा ठुलो लगानी गर्न पर्याप्त वित्तीय र प्रविधिक क्षमता हुन्छ ।
ठुला तेल कम्पनीहरूको आत्मविश्वासको कमी पनि भेनेजुयलामा वैध सरकारको अभाव र सत्तारूढ दलको देशका मुख्य शक्तिहरूमाथि निरन्तर प्रभुत्वसँग सम्बन्धित छ ।
तेल सम्झौतासँग जोडिएको सबैभन्दा ठुलो चिन्ताजनक पक्षमध्ये एक भनेको भविष्यमा स्वतन्त्र चुनावमार्फत बनेको सरकारले यी कानुनी सम्झौता असंवैधानिक भएको आधारमा यसको वैधता अस्वीकार गर्ने वा मान्यता नदिने सम्भावना हो । त्यसैगरी, भेनेजुयलाको वर्तमान सत्तारूढ दलले पनि यदि आफूलाई पुनः अमेरिकाको प्रभुत्वलाई चुनौती दिन पर्याप्त बलियो ठाने भने, यस सम्झौताका सर्तहरू अस्वीकार गर्न सक्छ ।
कानुनी शासनसम्बन्धी चिन्ताहरू बाहेक, अर्को महत्वपूर्ण विषय पनि NABEP को सञ्चालन अध्यक्षका रूपमा आलेहान्द्रो बेटानकोर्टको संलग्नता हो ।
राज्य विभागले उनको विगतलाई सफा गर्ने प्रयास गरे पनि, बेटानकोर्टको रेकर्ड अनिश्चित छ । उनीमाथि विगतमा घूस, लागत बढाउने र राज्य (स्वामित्वको कम्पनी PDVSA द्वारा सञ्चालन गरिएका विद्युत् परियोजनामा प्रभाव प्रयोग गर्ने जस्ता अनेक भ्रष्टाचार मुद्दा लगाइएका थिए ।
त्यसैगरी, भेनेजुयलाको तेल उत्पादनमा वास्तविक र व्यवहारिक वृद्धि सम्भव भए पनि, यो प्रक्रिया उत्कृष्ट अवस्थामा पनि केही वर्ष लाग्नेछ । यसले ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूले प्रयोग गरेको आशावादी भाषणलाई खण्डन गर्छ, जसले सम्झौताले तत्काल उत्पादन बढाउने दाबी गरेका थिए । यति छिटो प्रगति गर्न ठुलो लगानी आवश्यक पर्छ, जुन अहिले सुनिश्चित छैन ।
एक ‘अर्धगोलार्धीय’ रणनीति
तेल सम्झौताको अनुमोदन अमेरिकी सरकारद्वारा अपनाएको (Hemispheric) ‘अर्धगोलार्धी’ रणनीतिको हिस्सा हो, जसको उद्देश्य यस क्षेत्रमा हराएको प्रभाव पुनः प्राप्त गर्नु हो । यो रणनीति ट्रम्प प्रशासनको सन् २०२५ को राष्ट्रिय सुरक्षा रणनीति र त्यसपछिका विदेश नीति दस्ताबेजहरूमा उल्लेख गरिएको छ, जसले पश्चिमी गोलाद्र्धलाई अमेरिकाकोे रणनीतिक प्रभाव क्षेत्रको रूपमा परिभाषित गरेको छ । यस सन्दर्भमा, अमेरिकी सरकारले भेनेजुयलालाई उसका ऊर्जा स्रोतहरू ः विशेषगरी विशाल प्रमाणित तेल भण्डार र आफ्नो भूभागसँगको निकटताका कारण एउटा रणनीतिक भूराजनीतिक केन्द्रबिन्दुको रूपमा हेर्छ ।
यस आधारमा, अमेरिकी सरकारले भेनेजुयलाको तेल भण्डार नियन्त्रणलाई राष्ट्रिय सुरक्षासँगको प्रत्यक्ष सम्बन्धित विषय मानेको छ, जुन यसको (SPR) ‘स्ट्राटेजिक पेट्रोलियम रिजर्भ’ कायम राख्न जोडिएको छ । यो दृष्टिकोण विशेष गरी सान्दर्भिक छ, किनकि वासिङगटनले चीन, रूस, इरान र उत्तर कोरियाजस्ता आफ्ना शत्रु मानिएका देशहरूलाई भेनेजुयलाको तेल उद्योगमा सहभागी हुन रोकिरहेको छ ।
अमेरिकी सरकारले अमेरिका महादेशभर आफ्नो प्रभुत्व सुरक्षित गर्न उपलब्ध राष्ट्रिय उपकरण (कुनै पनि चालबाजी) प्रयोग गर्न हिच्किचाएको छैन । वास्तवमा, अमेरिकाले आर्थिक कदमहरू चालिरहेको छ, साथै सैन्य कारबाही र राजनीतिक प्रभाव प्रयोग गर्दै अन्य देशहरूलाई आफ्ना घोषित शत्रुहरू† विशेष गरी चीनसँग व्यापार नगर्न र अझ बढी महत्वपूर्ण रूपमा उनीहरूलाई यस क्षेत्रभरका महत्वपूर्ण पूर्वाधार परियोजनामा सहभागी हुन नदिन दबाब दिइरहेको छ ।
भेनेजुयलाको राजनीतिक सङ्क्रमण
जनवरीमा मादुरोलाई सत्ताबाट हटाएपछि, अमेरिकी सरकारले भेनेजुयलामा स्थिरता, आर्थिक पुर्नउत्थान र राजनीतिक सुधारलाई प्रवद्र्धन गर्न तीन चरणको योजना सुरु गरेको छ । यस योजनाको अन्तिम उद्देश्य स्वतन्त्र र लोकतान्त्रिक चुनाव गराउनु हो, जसले देशको प्रशासन÷प्राधिकरणहरूलाई (आधिकारिक) वैध बनाउने र अन्तर्राष्ट्रिय क्षेत्रमा पुनः समावेश गर्ने मार्ग खोल्नेछ ।
यस साताको तेल सम्झौताको घोषणा हुनुअघिदेखि विभिन्न विपक्षी नेताहरूले आगामी राष्ट्रपति चुनावमा सहभागी हुने रणनीति बनाइरहेका छन् । उनीहरूले निर्वाचन प्रक्रियालाई सार्वभौमिकता पुनः प्राप्त गर्ने पहिलो कदम तथा तेल व्यवसायमा आधारित दीर्घकालीन साझेदारी अमेरिकासँग स्थापना गर्ने अवसरको रूपमा हेरेका थिए ।
तर, ट्रम्प प्रशासनको योजना फरक दिशामा र आफ्नै गतिमा अघि बढेको छ । वाशिङटनका लागि भेनेजुयलाको तेल भण्डारमा पहँुच र नियन्त्रण सुनिश्चित गर्नु लोकतान्त्रिक सङ्क्रमणलाई प्रोत्साहन गर्नुभन्दा पहिलो प्राथमिकता थियो ।
विदेशमन्त्री मार्को रुबियोसहितका शीर्ष अमेरिकी अधिकारीहरूले हालै तेल सम्झौता आफ्नै तीन चरणको योजनासम्म सीमित रहेको बताएका छन् । तर, वास्तविकता भनेको अमेरिकाले भविष्यमा कुनै पनि सरकारले यसको सर्त र अवस्थालाई परिवर्तन गर्न नपाउने स्पष्ट गरेको छ ।
वर्तमान परिस्थितिमा, भेनेजुयलाको राजनीतिमा संलग्न प्रायः सबै पक्षहरूले अमेरिकाको सहभातिमा प्राथमिकता दिने तेल सम्झौतामा समर्थन जनाएका छन् । तर विपक्षी नेताहरूमध्येमा एक, हाल देशकी सबैभन्दा लोकप्रिय राजनीतिज्ञ मारिया कोरिना माचाडोले भने वैधता नभएकी अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले यो सम्झौता हस्ताक्षर गरेकोमा चिन्ता व्यक्त गरेकी छिन् ।
यद्यपि माचाडोले भविष्यमा लोकतान्त्रिक सरकार बनेपछि सम्झौताका सर्तहरू अस्वीकार गर्ने ग्यारेन्टी दिएकी छैनन् । उनको धारणा ट्रम्पको उद्देश्य स्वतन्त्र चुनावलाई प्रोत्साहन गर्नुको सट्टा डेल्सी रोड्रिगेजलाई सत्तामा कायम राख्न प्रेरित भएको भन्ने विचारलाई बल दिन सक्छ ।
यी चिन्ताहरू हालै बढेका छन्, किनकि अमेरिकी राष्ट्रपति स्वयम्ले सार्वजनिक रूपमा भेनेजुयला छोटो अवधिमा चुनावका लागि तयार नभएको बताएका छन् ।
अन्ततः, तेल सम्झौताको प्रभावकारिता र भेनेजुयलाको राजनीतिक सङ्क्रमणमा यसको असर विभिन्न आन्तरिक तथा बाह्य राजनीतिक, कानुनी र आर्थिक कारकहरूको मेलमिलापमा निर्भर रहनेछ ।
हालका लागि, अमेरिकी सरकारले नै देशको भविष्य निर्धारण गर्ने अन्तिम अधिकार राखेको छ, जसले भेनेजुयलाको जनतालाई आफ्नो आत्मनिर्णयको अधिकार गुमाउन बाध्य बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *