भर्खरै :

संरा अमेरिकी गृहमन्त्रालय पेन्टागन र वातावरणीय परिवर्तन

संरा अमेरिकी गृहमन्त्रालय पेन्टागन र वातावरणीय परिवर्तन

पीटर स्वार्ज र डग रान्डलले लेखेको ‘अनपेक्षित वातावरणीय परिवर्तन र संरा अमेरिकाको राष्ट्रिय सुरक्षामा यसको प्रभाव’ मा सुरुमै वातावरणीय परिवर्तनप्रतिको दृष्टिकोणलाई चुनौती दिइएको छ ।
सो लेखमा उल्लेख छ – “वातावरणीय परिवर्तनको विषयमा सोच्दा सबैले तापक्रममा विस्तारै हुने वृद्धि र अन्य वातावरणीय परिस्थितिमा आउने थोरै परिवर्तन, यस्तो परिवर्तनको निरन्तरता र भविष्यमा शान्त हुने सोच्छन् । आधुनिक सभ्यताले जस्तोसुकै मौसमी अवस्थामा पनि आफूलाई त्यसै अनुरूप ढाल्नेछ तथा वातावरण परिवर्तनको गतिले समाजको अनुकूल क्षमतालाई नाघ्न सक्दैन । क्योटो सम्झौताजस्ता हाम्रा प्रयासहरू ती असरहरूलाई साम्य पार्न पर्याप्त हुनेछ भन्ने विश्वास छ । IPCC को दस्ताबेजहरूमा उल्लेख भएजस्तै वातावरणीय परिवर्तन, खाद्यान्न आपूर्ति र मानवको लागि महत्वपूर्ण अन्य स्रोतहरूमा यसले पार्ने प्रभाव खतराको अवस्थासम्म पुग्ने छैन । विभिन्न प्राविधिक अनुसन्धान र आविष्कारले वातावरणीय परिवर्तनको नकारात्मक असरलाई साम्य पार्नेछ भन्ने आशा राख्नेहरू पनि छन् ।
वातावरणीय रूपमा भविष्यमा कृषि उत्पादनमा नकारात्मक प्रभाव पर्नेछ । उत्तरी युरोप, रुस र उत्तर अमेरिकामा कृषि उत्पादनमा वृद्धि हुनेछ । जबकि दक्षिणी युरोप, अफ्रिका, मध्य र दक्षिण अमेरिकामा खडेरी, पानीको कमी, उत्पादनमा कमीजस्ता समस्या आउनेछ । समग्रमा अप्ठेरा वातावरणहरूमा पनि खाद्यान्न उत्पादन बढ्नेछ ।”
यसरी स्वार्ज र रान्डल तापक्रम वृद्धिको दृष्टिकोणविरुद्ध तर्क गर्छन् तथा तापक्रम वृद्धिबाट हुने वातावरणीय अस्तव्यस्तताबारे धेरै ध्यान दिन चाहँदैनन् । तापक्रम वृद्धिको कारण खडेरीले विनाशकारी र चरम दीर्घकालीन असर पार्नसक्छ । यस्तो तापक्रम वृद्धिबाट हुने खराब परिणामहरूले सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्पादन गर्ने उत्तरी विश्वभन्दा दक्षिणी विश्वका गरीब देशहरूलाई असर पारेको छ । तर, स्वार्ज र रान्डालको लेखले उत्तरी शक्तिकेन्द्र देशहरूलाई वातावरण सुधारका निम्ति ‘केही नगर्न’ वा थोरै मात्र गर्न प्रोत्साहित गर्छ ।
अनपेक्षित वातावरणीय परिवर्तनले यो दृश्यलाई नाटकीय रूपमा परिवर्तन गर्छ । यस्तो परिवर्तनले मानव समाजलाई विनाशकारी परिस्थिति सृजना गर्नेछ, थर्मोहलाइन बहाव बन्द भएपछि यसको पहिलो असर दक्षिणी विश्वमा नभई उत्तरी विश्व र विशेष गरी उत्तरी आन्ध्र महासागरीय क्षेत्रमा रहेका देशहरूलाई असर पार्नेछ । स्वार्ज र रान्डल निकट भविष्यमै यस्तो परिवर्तन नहुने कुरामा प्रस्ट छन् । यसको विपरीत तिनीहरू संरा अमेरिकाको राष्ट्रिय सुरक्षामा पर्ने सम्भावित असर खोज्ने क्रममा छन् । तिनीहरूले एड्गर ड्रायसभन्दा ८ हजार २ सय वर्ष लामो घटनालाई महत्व दिएका छन् । उनीहरूका अनुसार थर्मोहलाइन संवाहक हावाले उत्तरी युरोपमा ३.३ डिग्री सेन्टीग्रेडले तापक्रम घट्नेछ तथा उत्तरी आन्ध्र क्षेत्रमा एक शताब्दीसम्म तापक्रम घट्नेक्रम जारी रहनेछ । उत्तरी विश्वमा चिसोपना, हावाहुरी र सुख्खापन सँगसँगै बाँकी विश्वमा तापक्रम वृद्धि र खडेरी आउनेछ ।
तिनीहरूले कोरेको एउटा दृश्य कृषिमा ¥हास र विषम हावापानी हो, जसमा ऊर्जा स्रोतको अभाव पनि सामेल छ । प्राकृतिक स्रोत सम्पन्न र खाद्यान्न उत्पादन गर्ने क्षमता भएका संरा अमेरिका र अस्ट्रेलियाले आफ्नो देशमा आउने प्रवासीहरूको सम्भावित चापलाई रोक्न ‘रक्षात्मक किल्ला’ बनाउनेछ भने अन्य धेरैजसो देशहरू युद्धमा अल्झिनेछन् । वातावरणीय परिवर्तनबाट उब्जने तनावबाट उत्पन्न हुने हिंसा र अस्तव्यस्तताले राष्ट्रिय सुरक्षामा अर्कै किसिमको खतरा पार्नेछ । आदर्श, धर्म वा राष्ट्रिय सम्मानको सट्टा ऊर्जा, खाद्यान्न र पानीजस्ता प्राकृतिक स्रोतको आवश्यकताको कारण सैनिक भिडन्त हुनेछ । भिडन्तको कारण धेरै देशमा राष्ट्रिय सुरक्षामा खतरा आउनेछ । कठिन परिस्थितिको कारण विश्वको धारण क्षमता (Carrying Capacity) घट्नेछ र संसारभरि युद्ध फैलिनेछ साथै ताप–आणविक युद्ध (Thermo Nuclear War) को खतरा बढ्नेछ ।
स्वार्ज र रान्डल स्पष्ट छन् – अनपेक्षित वातावरणीय परिवर्तनबाट आउने अपरिहार्य असरको लागि मानव समाज तयार हुनुपर्दछ । तिनीहरूले सो स्थिति छ भने त्यसलाई रोक्न ढीलो भइसकेको छ, यस्तो परिस्थितिमा सामाजिक अस्थिरताबाट आउने विनाशकारी परिणामलाई रोक्न आवश्यक सुरक्षा उपाय अपनाउन तयारी गर्नुपर्छ । यो प्रतिवेदन पेन्टागनले तयार पार्न लगाएको हुनाले पर्यावरणीय, आर्थिक र सामाजिक रूपमा सबैभन्दा बढी असर पर्ने ती देशहरू पत्ता लगाएर पेन्टागनले युद्धतर्फ धकेल्न खोजेको छ । यस्तो सूचनाले संरा अमेरिकालाई आफ्नो सुरक्षाहितको पक्षमा काम गर्न सम्भव बनाउनेछ । यसरी तिनीहरूको उद्देश्य अमेरिकालाई हरेक अवस्थामा रक्षा गर्नु हो ।
वास्तवमा पर्यावरणीय प्रभावले उत्तरी विश्वलाई बढी प्रभाव पार्ने सम्भावना देखिन्छ । तर, पेन्टागनले प्रस्तुत गरेको प्रतिवेदनले परम्परागत वैचारिक बाटो अपनाउँदै दक्षिणी विश्वमा अस्थिरता र युद्ध बढ्न सक्ने सङ्केत गरेको छ । यस्तो अवस्थामा संरा अमेरिका आफैले विश्व तेल आपूर्ति र अन्य प्राकृतिक स्रोतमा कब्जा गर्न प्रयास गर्ने सम्भावनालाई प्रतिवेदनमा उल्लेख गरिएको छैन । संरा अमेरिकाले यस विषयमा रक्षात्मक नीति अपनाएको छ । सम्भावित आप्रवासीहरूको आगमनलाई रोक्ने र कठोर परिस्थितिमा शान्ति र स्थिरताको वातावरण सृजना गर्नेतर्फ लक्षित छ ।
सन् २००४ को फेब्रुअरीमा प्रथमपटक सार्वजनिक हुँदा प्रतिवेदनमा संलग्न कुराहरूले अन्योल र त्रास निम्त्याए । त्यसबेला पेन्टागनले त्यो प्रतिवेदनले ल्याएको त्रासलाई साम्य पार्न तत्काल कदमहरू चाल्यो । मार्शलले एक वक्तव्य प्रकाशित गर्दै तापक्रम वृद्धिको असरको अनुमान गर्ने क्रममा पेन्टागन अध्ययनले वैज्ञानिक सूचनाको आधार लिएको तर धेरैजसो अनुमान अझै कल्पनामा आधारित भएको बताए । अनपेक्षित वातावरणीय परिवर्तनसम्बन्धी प्रतिवेदन रक्षा विभाग र बुश प्रशासनसामु पेस नभएको पेन्टागन अधिकारीहरूले बताए ।
अनपेक्षित वातावरणीय परिवर्तनको वास्तविक प्रभाव पेन्टागनको उच्च तहमा र ह्वाइट हाउसका अधिकारीमाझ पर्दैन । यसको ऐतिहासिक महत्व प्रतिवदेनको सुरुआतमा उल्लेखित भनाइ हो । त्यहाँ भनिएको छ– सम्भावित भयानक परिणामहरूको कारण अनपेक्षित वातावरणीय परिवर्तनको खतरा अनिश्चित भए तापनि संरा अमेरिकी राष्ट्रिय सुरक्षा चासोको कारण वैज्ञानिक बहसभन्दा पनि पर लानुपर्दछ ।
बढ्दो वातावरणीय परिवर्तन
वैज्ञानिकहरूले भनेजस्तै अनपेक्षित वातावरणीय परिवर्तन नाटकीय भए तापनि तापक्रम वृद्धिको सम्भावित परिणाममात्र होइन भन्ने कुरा थाहा पाउनु महत्वपूर्ण छ । तापक्रम वृद्धिलाई अझै बढाउने घटनाहरू र यसको तीव्रताप्रति वैज्ञानिकहरू झन् चिन्तित छन् । IPCC को सन् २००१ मा प्रकाशित वातावरणीय परिवर्तनसम्बन्धी प्रतिवेदनअनुसार वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढेपछि समुद्र र जमीनले सोस्ने कार्बन डाइअक्साइडको मात्रा घट्छ । यसले गर्दा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा झन् बढाउँछ । तापक्रम वृद्धिको कारण जलचक्र (Hydrological Cycle) (वाष्पीकरण, वर्षा, बहाव आदि प्रक्रिया) मा वृद्धि हुनसक्छ । प्राकृतिक हरितगृह प्रभाव बढाउने सबैभन्दा बढी सम्भावित तत्व ग्यास, पानीको वाफले अतिरिक्त ताप सोसेर सतहको तापक्रम बढाउन मद्दत गर्नेछ । बरफ र हिउँ पग्लेर थप सूर्यको ताप सोस्नेछ र तापक्रम बढाउनेछ । समुद्र र जङ्गल दुवैको कार्बन डाइअक्साइड सोस्ने क्षमता घट्नेछ, जसबाट वातावरणीय परिवर्तनलाई सघाउ पुग्नेछ । क्ष्एऋऋ को प्रतिवेदनमा यी सबै घटनामाथि सोचविचार गरिएको छ । तर, अनिश्चितताको कारण यस्ता परिस्थितिहरूमा आश्चर्यजनक रूपमा विभिन्न घटनाक्रम विकसित हुने सम्भावना धेरै छ ।
तथ्याङ्कहरू आउने क्रम जारी रहेदेखि तापक्रम वृद्धिबाट हुनसक्ने खतरनाक परिणामहरू अवश्यम्भावी हुँदै गइरहेको कुरा यथार्थ हो । गएको वर्षको तुलनामा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा तीव्र रूपमा बढेको छ । विगतको दशकमा भएको औसत वृद्धि प्रति १० लाखमा १.८ भागको तुलनामा गएको वर्ष प्रतिदस लाखमा ३ भागको दरले बढ्नु निकै ठुलो मात्रा हो । वायुमण्डलमा कार्बन डाइअक्साइडको वृद्धिदर ५० वर्ष अगाडिको भन्दा प्रतिवर्ष ३ गुणाले बढेको छ । यसले केही असर पार्छ वा पार्नेछैन भनी निष्कर्षमा पुग्नु अहिले धेरै चाँडो हुने भए तापनि अबका दिनमा चुनौती झन् बढिरहेकोमा वैज्ञानिकहरू चिन्तित छन् ।
पुँजीवाद र कार्बन डाइअक्साइड
पुँजीवादी अर्थतन्त्र र विश्व वातावरण दुवै गम्भीर र गतिशील प्रणाली हुन् । वातावरणीय परिवर्तन र यसको आर्थिक असरबारेको अनिश्चितता यी दुई प्रणालीको अन्तरक्रियासँग सम्बन्धित छ । समस्यालाई झन् खराब बनाउने क्रममा वातावरणीय प्रणाली र मानव समाज दुवै जैविक जीवनको दुई भाग हुन् । जैविक–भू रसायनिक प्रक्रिया (Biogeochemical Process) सँग यिनीहरूको अभिन्न सम्बन्ध छ । मानवीय क्रियाकलापको असर अन्य जैविक प्रक्रियाहरूमा पनि परेको छ ।
वातावरणीय परिवर्तनबाट हुनसक्ने व्यवधानहरू नभएको भए विश्व अर्थतन्त्र मजाले अघि बढ्छ । तथापि, यसमा त्रुटिपूर्ण छ । यसले जनसङ्ख्या र सम्पूर्ण समाजको आर्थिक अस्तव्यस्तालाई उपेक्षा गरेको छ । केही महिनाअगाडि मात्र बताइएअनुसार विश्वको आधा जनसङ्ख्या दैनिक दुई डलरभन्दा कम आम्दानीमा बाँच्छन्, तिनीहरूमध्ये धेरैजसो कुपोषण वा एक छाक खाए अर्को छाक कहाँबाट जुट्ने भन्ने समस्याबाट पीडित छन् । झन्डै १ अरब जनता स्वच्छ पानी पिउनबाट वञ्चित छन्, २ अरब जनता विद्युतबाट वञ्चित छन् र २ अरब ५० करोड जनताले सरसफाइ सुविधा पाएका छैनन् । आर्थिक वृद्धि सुस्तगतिमा छ तथा जनताको आर्थिक सङ्कट झन् गहिरिएको छ । यसका साथै पृथ्वीमा रहेको जैविक विविधताको दृष्टिकोणबाट ‘प्राकृतिक अर्थतन्त्र’ पनि खतरामा परेको छ । आर्थिक र पर्यावरणीय अस्तव्यस्तता चारैतिर छ ।
पेन्टागनको लागि यी सबै खतराहरूको उत्तर सरल छ– धेरै हातहतियार जम्मा गर्नु ताप–आणविक युद्धबाट हुने खतराहरूको लागि तयार हुनु र आप्रवासीहरू ओइरिने डरले संरा अमेरिका वरपर अभेद्य पर्खाल बनाउनु । स्वार्ज र रान्डलले यही वर्णन गरेका छन् । तथापि धेरै असर पार्ने वातावरणीय घटनाहरूप्रतिको उसको जिम्मेवारी समाजको पुनःसङ्गठन र प्राकृतिक वातावरणको शोषण र क्षयीकरण रोक्न नखोज्नु हो । पेन्टागन धेरैजसो विश्वव्यापी समस्याहरूको सन्दर्भमा पनि आफूबाहेक सबै डुबोस् भन्ने चाहन्छ ।
तापक्रम वृद्धिको खतरालाई उल्लेख्य रूपमा सम्बोधन गर्नु भनेको पुँजीवादी प्रणालीको आधारलाई तोड्नु हो । यो शताब्दीको अन्त्यसम्ममा विनाशकारी वातावरणीय असरलाई पन्छाउनु छ भने हरितगृह ग्यासको उत्सर्जन दरमा सन् १९९० को भन्दा ६०–८० प्रतिशतले घटाउन आवश्यक भएकोमा विश्व वैज्ञानिक समुदाय एकमत छ । पुँजीवादी अर्थतन्त्रको लागि यस्तो कटौतीले पु¥याउने खतरा क्योटो सन्धिको निरर्थक अवस्थाबाट प्रस्ट बनेको छ । क्योटो सन्धिअनुसार औद्योगिक धनी देशहरूले सन् २००८–२०१२ सम्म औसत हरितगृह ग्यास उत्सर्जन प्रक्रियामा सन् १९९० को दरभन्दा ५.२ प्रतिशतले कममा झार्नु आवश्यक छ । सन् १९९० यता आफ्नो कार्बन डाइअक्साइड उत्सर्जनको मात्रालाई निरन्तर बढाएको संरा अमेरिकाले यो मात्रालाई कम गर्ने वाचा गरे तापनि धेरै महँगो भएको भन्दै सन् २००१ मा क्योटो सम्झौताबाट हात झिक्यो । तथापि, क्योटो सन्धि वर्तमान समस्यालाई रोक्ने एउटा सानो अपर्याप्त कदम हो । ठुलो मात्रामा कटौती गर्न अझै बाँकी छ ।
क्योटो सन्धि लागू भए तापनि (रुसले यसमा सहमति जनाउने वा नजनाउने कुरामा यसको भविष्य धेरै हदसम्म निर्भर छ तर रुसले सहमति जनाइसकेको छ) यसले ठुलठुला प्रश्नहरूलाई मात्रै जन्माउने छ । आवश्यक हदसम्म कार्बन उत्सर्जन घटाउन के उत्तरी विश्वका धनी देशहरू सहमत हुनेछन् ? वातावरण बचाउने कार्यमा दक्षिणी विश्वका गरीब देशहरू कसरी सामेल हुनेछन् ? साम्राज्यवादको शिकार बनेका यी गरीब देशहरूले आफ्नो हरितगृह ग्यास उत्सर्जन प्रक्रियामा अहिले रोक लगाएमा आर्थिक रूपमा विकास गर्ने अवसर थोरैमात्र हुनेछ । वायुमण्डलले कार्बन डाइअक्साइडको बढ्दो मात्रा धान्न नसक्ने हुनाले तथा वायुमण्डलले धान्ने क्षमतालाई पहिल्यै धनी देशहरूले अन्त्य गरिदिएको कारण ती देशहरूले आफ्नो ग्यास उत्सर्जन ८०–९० प्रतिशतले कटौती नगरेसम्म छेउछाउका देशहरू जीवाश्म इन्धनको प्रयोगमा कमी ल्याउन बाध्य हुनेछन् ।
पर्यावरणीय साम्राज्यवादको लामो इतिहासले गर्दा उत्तरी विश्वले दक्षिणी विश्वलाई पर्यावरणीय ऋण तिनुपर्नेमा तेस्रो विश्वका देशहरूले जोड दिएका छन् । उचित तथा दिगो वातावरण सृजना गर्ने एउटैमात्र बाटो कुनै पनि समाधानलाई प्रतिव्यक्ति ग्यास उत्सर्जनमा आधारित गर्नु हो । यसको आधारमा हेर्दा संरा अमेरिकाले प्रतिव्यक्ति प्रतिवर्ष ५.६ मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ जबकि जी–७ राष्ट्रहरू (संरा अमेरिका, क्यानाडा, जर्मनी, बेलायत, जापान, इटाली र फ्रान्स) बाहेक विश्वका सबै देशहरूले प्रतिव्यक्ति वार्षिक रूपमा ०.७ टन कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ । यस प्रकारको असमानता वातावरणीय सुधारको बाटोमा सबैभन्दा ठुलो अवरोध हो । क्रान्तिकारी परिवर्तन हुनु आवश्यक छ । विश्वव्यापी रूपमा धान्न सकिने तहमा प्रतिव्यक्तिले कार्बन डाइअक्साइड उत्सर्जन गरेपछि तथा धनी र गरिब दुवै देशको ग्यास उत्सर्जनमा समानता रहे मात्र उचित र दिगो वातावरण कायम रहन सक्छ । यस्तो सुरक्षित प्रतिव्यक्ति ग्यास उत्सर्जन दर हाल उत्तरी विश्वले प्रतिव्यक्ति उत्सर्जन गरिरहेको दरको दस भागमध्ये एक भागभन्दा पनि कम हुनेछ । एउटा अनुमानअनुसार वातावरणीय स्थिरताको लागि विश्वका हरेक व्यक्तिले प्रतिवर्ष ०.४ टन ग्यासमात्र उत्सर्जन गर्नुपर्दछ ।
सबै देशहरूले प्रतिव्यक्ति ग्यास उत्सर्जन दर बराबरी तहमा न्यून राख्नु संरा अमेरिका र अन्य प्रमुख राष्ट्रहरूले तत्काल स्वीकार्न नसक्ने प्रस्ट छ । तथापि, विकासको आवश्यकता रहेको तेस्रो विश्वका देशहरूले प्रतिव्यक्ति उत्सर्जनमा समानता हुनुपर्ने अधिकारलाई धनी देशले त्यत्तिकै छाड्ने अनुमान गर्न सक्दैनन् । विगतको साम्राज्यवादी परम्पराअनुसार तापक्रम वृद्धिको मुख्य भार अविकसित देशहरूमाथि लाने प्रयास असफल हुनेछ ।
संरा अमेरिका र अन्य विकसित पुँजीवादी राष्ट्रहरूले यस्तो रणनीति अगाडि सारे तिनीहरूले विश्वलाई असभ्यताको स्तरमा पु¥याउनेछन् र जैविक वातावरणसँग मानवीय सम्बन्धलाई उपेक्षा गर्नेछन् ।
इस्टर टापु र पृथ्वी
वातावरणविद्हरूको लागि पर्यावरणको विनाश र सन् १४००–१६०० सम्ममा इस्टर टापुको सभ्यता लामो समयदेखि रहस्य र प्रतीक रहिआएको छ । ठुलठुला ढुङ्गे मूर्तिको स्थापना सो टापुको जङ्गल र त्यसको पर्यावरण र सभ्यताको विनाशको कारण बन्नु प्रतिस्पर्धी गुटहरूबिचको सत्ता र सम्मानको सङ्घर्षको प्रतीक थियो । जेर्ड डायमन्ड (Jared Diamond) का अनुसार रुखहरू काट्न र आफ्नो प्रतिमा बनाउन नसक्ने नेता असफल मानिन्थ्यो । यही साँघुरो तर्कको कारण इस्टर टापुवासीहरूले आफ्नो पर्यावरण र समाजलाई विनाशको सङ्घारमा पु¥याए ।
के हामी यस्तै त्रासदीतर्फ अगाडि बढिरहेका छौँ ? डायमन्ड भन्छन् – विश्वव्यापीकरण, अन्तर्राष्ट्रिय व्यापार, जेट विमान र इन्टरनेटको कारण पृथ्वीका सबै देशहरूले स्रोत बाँडफाँट गरेका छन् र इस्टरका ११ वटा गोत्रहरूले जस्तै एक अर्कालाई असर पारेका छन् । प्रशान्त महासागरमा इस्टर टापु पृथक रहेजस्तै आज अन्तरिक्षमा पृथ्वी पृथक रहेको छ । इस्टर टापुवासीहरूमाझ कुनै कठिनाइ आए अन्त्यत्र कहीँ भाग्ने वा मद्दतको लागि गुहार्ने ठाउँ थिएन, त्यस्तै गरी हाम्रो समस्या बढे हामी पृथ्वी छाडेर अन्यत्र कहीँ जाने ठाउँ छैन । त्यही कारणले गर्दा जनताले इस्टर टापु समाजको पतनलाई हाम्रो भविष्यमा घट्न सक्ने घटनाको प्रतीकको रूपमा लिएको छ ।
इस्टर टापुको समाज सत्ता स्वार्थ र आफ्नो मान प्रतिष्ठाको कारण समस्यामा प¥यो । पर्यावरणीय समस्यासँगै टापुका नेता र पुजारीहरूलाई सैनिक नेताहरूले विस्थापित गरे, असभ्य गृहयुद्ध चर्कियो र अन्तमा समाजको पतन भयो । यहाँ पनि यस्तै पाठ छ – हामीले सत्ता स्वार्थको सामना गर्नुपर्दछ तथा असभ्यता आउनुपूर्व सबै बासिन्दाको आवश्यकताअनुसार समाजलाई पुनः सङ्गठन गर्नुपर्दछ ।
पेन्टागन प्रतिवेदन आफैले पनि छुट्टै अर्थ बोकेको छ । यसले अनपेक्षित वातावरणीय परिवर्तन र यसबाट हुने आन्तरिक युद्धको वर्णन गरेको छ । यो ‘अन्तर्राष्ट्रिय उग्रधारणा’ (Internationally Extreme) हो तर इस्टर टापुको नियतिले यस्तो उग्र अवस्थामा पुग्ने सम्भावनालाई नकारेको छ ।
Monthly Review
May
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *