अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– सरोजराज गोसाई
आज हामी कोरिया प्रायःद्वीपको शान्तिको बारे चर्चा गर्दैछौं । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र संयुक्त राज्य अमेरिकाबीच १२ जूनको दिन सिङ्गापुरमा ऐतिहासिक वार्ता भएपछि कोरिया प्रायःद्वीपमा शान्तिको आशा पलाएको छ ।
हामीबीच केही जिज्ञासा छन्, संरा अमेरिका चारबुँदे सहमतिमा हस्ताक्षर गर्न तयार हुनुको अर्थ के होला ? के अमेरिकी साम्राज्यवादले हार खाएकै हो ? के साम्राज्यवादी अमेरिकाको चरित्र बदलिएको हो ? यसबारे गम्भीर चिन्तनको आवश्यकता छ ।
यहाँनिर नेमकिपाका अध्यक्ष रोहितको विश्लेषण राख्नु सान्दर्भिक लागेको छ । संरा अमेरिका सैनिक र राजनीतिक रूपले बद्नाम हुँदैछ । युरोपेली युनियन र नाटो देशको माझमा समेत संरा अमेरिका एक्लिएको छ । कोरियाली जनता पनि शान्ति चाहन्छन् । अध्यक्ष रोहितको विचारको सार यही हो ।
पक्कै पनि अमेरिकी साम्राज्यवाद सङ्कटको अवस्थामा छ । युद्धै युद्धमा फसेको अमेरिका बुढो बाघमा परिणत भएको छ । प्रथम विश्वयुद्धमा अमेरिका प्रायः युद्धमा अल्झिएन । दोस्रो विश्वयुद्धपछि उसले अनेक देशमा युद्ध थोपर्न थाल्यो । संरा अमेरिका खासगरी सन् १९९० पछि निरन्तर युद्धमा छ । दोस्रो विश्वयुद्धदेखि हालसम्म अमेरिकाले कोरिया, ग्वाटेमाला, इन्डोनेसिया, क्युवा, कंगो, लाओस, भियतनाम, कम्बोडिया, ग्रेनेडा, लेबनान, लिबिया, एलसाल्भाडोर, निकारागुवा, पानामा, इराक, सोमालिया, बोस्निया, सुडान, अफगानिस्तान, युगोस्लाभिया, यमन, पाकिस्तान, सिरिया आदि मुलुकहरूमा आक्रमण गरेको छ । बुश र ओबामाको कार्यकालमा सैन्य कारबाही नभएको कुनै दिन हुँदैनथ्यो । तर संरा अमेरिकाले सोचेजस्तो सफलता पाएन ।
सन् २००१ को सेप्टेम्वर ११ मा ट्वीन टावरमाथिको हमला भयो । त्यही निहुँमा भएको अफगानिस्तान र इराक युद्धमा संरा अमेरिकाले १८ खरब डलर खर्च ग¥यो । युद्धकै कारण २ सय खरब डलर ऋणको भार अमेरिकी जनतामा छ । विश्वका १७७ देशमा अमेरिकाका एक हजारभन्दा बढी सैन्य अखडा छन् । आफ्नो सैनिक साम्राज्य धान्न सन् २०१९ को निम्ति अमेरिकालाई ४४ खरब डलर चाहिन्छ । हाल अमेरिकाको बजेट घाटा ७० खरब डलर छ । विश्व जनसङ्ख्याको ५ प्रतिशत रहेको अमेरिकाले विश्वको कूल सैन्य खर्चको ५० प्रतिशत व्यय गर्छ । संरा अमेरिकाको कूल सङ्घीय बजेटको १६ प्रतिशत सैन्य खर्चमा पर्दछ ।
वास्तवमा संरा अमेरिका युद्धको क्रेता र बिक्रेता दुवै हो । संरा अमेरिका युद्धको बोक्सी र धामी दुवै हो । आखिर संरा अमेरिका युद्धको भोको किन छ ? युद्धबाट साम्राज्यवादी देशले कसरी फाइदा उठाउँछ ? यसबारे स्पष्ट हुन युद्धको सैद्धान्तिक पक्ष केलाउनुपर्ने हुन्छ ।
साम्राज्यवादसम्बन्धी लेनिनको भनाइ यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ । लेनिनले पुँजीवादको चरम अवस्थालाई साम्राज्यवाद भनेका छन् । अर्को शब्दमा पुँजीवादको एकाधिकारी अवस्था नै साम्राज्यवाद हो । शक्ति र हिंसाको बलमा विश्वलाई आफ्नो अधीनमा राख्नु नै साम्राज्यवादी देशको विशेषता हो । विश्वको प्राकृतिक स्रोत र साधनमाथि आफ्नो आधिपत्य कायम गर्नु र पुँजीपति वर्गको बजार कायम गर्नु साम्राज्यवादी युद्धको मुख्य कारण हो ।
संरा अमेरिका युद्धको व्यापार गर्छ । उसको निम्ति युद्ध नभई हुन्न । किनभने ऊ हतियारको व्यापार गर्छ । संरा अमेरिका संसारकै सबभन्दा ठूलो हतियार उत्पादक देश हो । युद्ध भएन भने उसको हतियार बिक्दैन । विकसित पँुजीवादी मुलुकमा हरेक १०–२० वर्षमा आउने आर्थिक सङ्कटबाट मुक्त हुन युद्ध अनिवार्य हुन्छ । किनभने साम्राज्यवादी मुलुकहरूमा अति उत्पादन भएर थन्किएको हतियारको गोदाम खाली गर्न युद्ध चाहिन्छ । हतियारको पुनः उत्पादन सुचारु गर्न युद्ध अनिवार्य हुन्छ । त्यसैले साम्राज्यवादीहरूको निम्ति युद्ध अपरिहार्य छ ।
इराक र इरानको युद्ध हुँदा सद्दाम हुसेनलाई संरा अमेरिकाको साथ थियो । अमेरिकी स्वार्थविपरीत भएपछि सद्दामलाई सिध्याउने उही अमेरिका भयो । बिन लादेन अर्को सद्दाम भए । लादेनको जन्मदाता र संहारकर्ता उही संरा अमेरिका हो । आज आतङ्कवादको नाममा युद्ध चर्किंदै छ । अफगानिस्तान, सिरिया तथा इराकमा युद्धमा संलग्न पक्षहरूलाई अमेरिका अर्बौं डलरको हातहतियार बेच्दैछ ।
स्वयम् अमेरिकी जनता युद्धका विरोधी छन् । युद्धबाट सम्भ्रान्त वर्गले फाइदा उठाएका छन् । जनता भने करको भारमा पिल्सिएका छन् । आर्थिक असमानता बढ्दै छ । गरिबका सन्तान नै युद्धमा मारिन्छन् । यसमानेमा संरा अमेरिकामा वर्गीय द्वन्द्व चर्किंदैछ । जसरी बेलायती साम्राज्यवाद खुम्चिन बाध्य भयो, त्यसरी नै अमेरिका विस्तारै कुँजिदै छ ।
यहाँ एक रोचक घटना राख्छु । दोस्रो विश्वयुद्ध सकिएलगत्तै अमेरिकी जनरलहरूले जापानी जेनरलहरूसँग आफूहरूले एटम बम प्रहार गरेकोमा क्षमाप्रार्थी छौं भन्न पुगेका थिए । प्रत्युत्तरमा जापानी जनरलहरूले भनेका थिए, ‘वाहियात कुरा नगर, हामीसँग यदि एटम बम भएको भए हामी पनि तिमीहरूमाथि खसाल्थ्यौं ।’ साम्राज्यवादीहरूको घाँटी रेट्ने प्रतिस्पर्धाको यो भन्दा निर्लज्ज उदाहरण के होला ?
अब भने विश्वको परिवेश बदलिएको छ । अक्टोबर क्रान्तिले साम्राज्यवादको पतनको मार्ग खोल्यो, आज त्यो गोरेटो राजमार्गमा परिणत हुँदैछ । सन् १९७० को दशकसम्ममा अधिकांश उपनिवेश देशहरू मुक्त भए । संसारभर मुक्तियुद्ध जारी छ । लाखौं मानिसको उपस्थितिमा युद्धविरोधी प्रदर्शन ठाउँ ठाउँमा भइरहेका छन् । यसरी साम्राज्यवादी युद्धविरुद्ध विश्वजनमत तयार हुँदैछ ।
भनिन्छ घिउ काट्ने खुकुरीले ढुङ्गा काट्न सक्दैन । अमेरिकी साम्राज्यवादलाई कागजी बाघको संज्ञा दिनुको कारण पनि त्यही हो । कमजोर देशमाथिको अमेरिकी साम्राज्यवादको थिचोमिचो जिउँदो मानिसको फेला नपर्दाको परिणाममात्र भएकोे कोरिया र भियतनाम युद्धले पुष्टि गरेको थियो । त्यसैले अमेरिकी साम्राज्यवादरूपी ‘यमराज’ ले चट्टानी साहस बोकेको कोरियाली जनतासामु शान्तिको हात फैलाउनुमा कुनै आश्चर्य छैन । आइलाग्नेसामु जाइलाग्ने कोरियाली इतिहास हो । प्रजग कोरियाको वर्तमान क्षमताबारे अमेरिकी साम्राज्यवादी नेता ट्रम्प भालिभाँति जानकार छन् । हिरालाई काट्न प्रजग कोरियाले हिराकै प्रयोग गरेको छ । आणविक बमको धमास दिने अमेरिकी साम्राज्यवादविरुद्ध प्रजग कोरियाले आणविक बम बनाएपछि वार्ताको टेबुलमा बस्ने वातावरण बनेको यथार्थ घामजत्तिकै छर्लङ्ग छ । यसमानेमा युद्धको ललकार गर्नेलाई युद्धले नै तह लगाउने कोरियाली नीतिले विजय पाएको छ ।
प्रजग कोरियासँग आणविक हतियारमात्र होइन, त्यो भन्दा बलियो सैद्धान्तिक हतियारमा उसले पर्याप्त साँध लगाएको छ । प्रजग कोरियाले अपनाएको सिद्धान्त हो, माक्र्सवाद । माक्र्सवादको गतिशीलतामा आत्मसात गरिएको जुछे विचार र सोन्गुन नीतिले नै प्रजग कोरियालाई स्वतन्त्रतामात्र दिएको छैन समृद्धि पनि दिएको छ । संरा अमेरिका र प्रजग कोरियाबीचको भर्खर सम्पन्न सिंगापुर ऐतिहासिक सहमतिलाई यसै प्रकाशमा पनि हेर्नु आवश्यक छ ।
प्रजग कोरियाले सोन्गुन राजनीतिलाई आधारभूत राजनैतिक प्रणालीको रुपमा विकास गरेको छ । साम्राज्यवादी आक्रमणको खतरा उत्कर्षमा पुगेको बेला समाजवादको रक्षा र देशको स्वतन्त्रता रक्षा गर्न सोन्गुन नीतिले ढालको रूपमा काम ग¥यो । साम्राज्यवादीहरूले ‘समाजवाद अन्त भयो’ भनी हल्ला पिटिरहेको समयमा कोरियाली जनताले प्राप्त गरेको विजयको मुख्य कारण सोन्गुन नीति हो । सैनिक शक्ति कमजोर भएकै कारण केही कमजोर देशहरूको सार्वभौमसत्तामाथि ठूला र शक्तिशाली देशले बलात आक्रमण गरेको हामीले देखिरहेका छौं । प्रजग कोरियाले राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्न सफलता पाउनुमा एउटैमात्र कारण कोरियाली जनसेनालाई हरेक पक्षमा सक्षम बनाउने सोन्गुन नीति हो । ‘शीत युद्धको विजेता’ र ‘संसारको एउटैमात्र महाशक्ति’ दाबी गर्ने संरा अमेरिकासामु नझुकी प्रजग कोरियाले राख्दै आएको अडानले प्रजग कोरियालाई आजको सफलता मिलेको हो । सैन्य रूपमा शक्तिशाली बन्ने प्रजग कोरियाको नीतिकै कारण आजसम्म कोरियाली प्रायः द्वीपमा युद्ध सुरु गर्ने संरा अमेरिका र दक्षिण कोरियाको प्रयास असफल हुँदै आएको हो ।
अन्तमा, प्रजग कोरिया र संरा अमेरिकाबीचको जून १२ को ऐतिहासिक सहमतिले कोरिया प्रायः द्वीपलाई अणुमुक्त बनाउने र दुई कोरियाबीच शान्तिपूर्ण एकीककरणको निम्ति ढोका खुलेको छ । दुई कोरियाको पुनःएकीकरण कोरियाली जनताको सपना हो । विना कुनै बाहिरी हस्तक्षेप दुई कोरियाबीच एकता होस् । त्यसको निम्ति प्रजग कोरियाविरुद्धको नाकाबन्दी हटाउनु आवश्यक छ । दक्षिण कोरियामा तैनाथ ३० हजार अमेरिकी सेना र अमेरिकी युद्ध सामग्री अविलम्ब हटाउनुपर्छ ।
कोरिया प्रायद्वीपको शान्ति नेपाल र नेपाली जनताको पनि सरोकारको विषय हो । हामी नेपाली जनता शुभकामना व्यक्त गर्दछौं ।
(नेपाल मजदुर किसान पार्टी अन्तर्राष्ट्रिय सम्बन्ध विभागको आयोजना मङ्गलबार आयोजित कोरियाली प्रायःद्वीपको वर्तमान अवस्था विषयक प्रवचन कार्यक्रममा व्यक्त मन्तव्य)
२०७५ असार ५

Leave a Reply