भर्खरै :

लाञ्छित देवकोटा, पुँजीवादी दोष

– मोतीलाल
वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर म·लबार सेलाएको छ । तर देवकोटाको चर्चा सेलाएको छैन । परम्परावादी हिन्दू संस्कारविपरीत देवकोटाको पार्थिव शरीरलाई छोरीहरूले बोकेर आर्यघाट पु¥याएको र दागबत्ती दिएको कारण पनि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यापक चर्चा भयो । देवकोटाले हजारौंलाई नयाँ जीवन दिएको र ज्यान जोगाएर पनि आफू बच्न नसकेको भावनात्मक टिप्पणीहरू पनि सामाजिक सञ्जालमा ‘भाइरल’ नै भए । जन्मपछि मृत्यु अवश्यम्भावी छ । मृत्युपछि व्यक्तिको महिमा गाउने परम्परा छ । यो एक प्रकारको शिष्टाचार पनि हो ।
देवकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्ने हजारौंले उनकोे योेगदानको उच्च मूल्याड्ढन गरे । नेपालको स्वास्थ्य क्षेत्रमा उनले गरेको योेगदान स्मरण गरे । मस्तिक नशाको शल्यक्रिया गर्नेजस्तो जटिल विषयमा देवकोेटाले पु¥याएको सेवालाई स्मरण गरे ।
तर देवकोटाप्रतिको भावपूर्ण श्रद्धाञ्जली गर्ने बेलामा केही नकारात्मक टिप्पणीहरूले पनि स्थान पाए । नेपालको नशारोग क्षेत्रमा उनले गरेकोे सेवालाई पैसासँग पनि जोडेर हेरियो । देवकोटाले गरिब नशारोगीहरूलाई सेवा नगरेको र जति गरे पैसाकै लागि गरेको आक्रोेश पनि छताछुल्ल भयो ।
देवकोटालाई पैसा नभएका नशारोगी बिरामीहरूलाई मर्न दिने ‘कसाही’ भन्न पनि छोडेनन् । देवकोेटाप्रति सामाजिक सञ्जालमा देखिएका यस्ता निर्मम धारणाहरू सही हुन् या गलत ? कोही कसैलाई कुनैै घटना विशेषले त्यस्तो धारणा निर्माण गरिदिएको यथार्थ हो भने पनि त्यसमा विशेषज्ञ डा. देवकोटा दोषी हुन् वा यो सामन्तवादी, पुँजीवादी र शोषणमा आधारित राज्य व्यवस्था हो ? अहिले छलफलकोे विषय बनेको छ । यसबारे गम्भीरतापूर्वक चिन्तन गर्नु परेको छ । होेइन भने व्यक्तिले हासिल गरेको विशेषज्ञता आफैमा अभिसाप हुनेछ । डा. देवकोेटा वा उनीजस्तै अरु कुनै विशेषज्ञले आफूले चाहेर पनि यो पुँजीपति वर्गले चलाएको नवउदारवादी राज्यव्यवस्थामा सबै गरिब बिरामीहरूको उपचार गर्न सम्भव छ ? त्यसो त मृत्यको शोकमा डुबेको बेला निन्दा गर्ने सामाजिक संस्कार होइन । सामाजिक सञ्जालमा देवकोटाप्रतिको निर्मम टिप्पणीहरू देखिनु नेपाली समाज व्यक्तिवादी र क्रुर बनिरहेको एउटा उदाहरण पनि हो ।
देवकोटाले २०३१ सालदेखि नै सरकारी स्वामित्वको वीर अस्पतालमा सेवा गरेका थिए । सरकारी अस्पतालमा सेवा गरेको भए पनि पञ्चायती सामन्ती व्यवस्थामा नेपालका दुर्गम क्षेत्रका गरिब जनताले मात्र होइन, स्वयं काठमाडांैका रैथाने गरिबहरूले पनि स्वास्थ्य सेवा सुलभ रुपमा पाउने अवस्था थिएन । शासकहरूबाट शिक्षा र चेतनाको साँघुरो गल्लीमा थुनिएका जनताले सुलभ स्वास्थ्य सेवा अधिकार हो भन्ने सम्म पनि बुझ्ने अवस्था थिएन । बुझेका केही जागरुक विरामीहरूलाई पहुँचबिना उपचार पाउने अवस्था थिएन । विशेषज्ञ चिकित्सकहरूले अस्पतालमा आइपुगेका बिरामीहरूको मात्र न उपचार गर्ने हो ।
अस्पतालसम्म पुग्न कति कठिन छ भन्ने साहित्यकार पारिजात एक आफैमा उदाहरण बनेका छन् । पञ्चायतसँग झुक्न नचाहने पारिजातलाई जबरजस्ती दरबारको सहयोगमा वीर अस्पतालमा उपचार गर्ने बन्दोबस्त मिलाइएको हुन्छ । पहिलोपटक जाँदा उनलाई मान–सम्मानपूर्वक चिकित्सकहरूले भेटे । उपचारको बन्दोबस्त भयो । तर पछि–पछि कुँजिएको पारिजातको शरीरले पनि अपमानपूर्वक बिरामीको लाइनमा उभिन प¥यो र पारिजातलाई वास्तै गरिएन । आखिरमा पारिजातको उपचार नै भएन । यो पञ्चायती राजनीतिको तस्वीर थियो । यसकारण सरकारी वीरमा सेवा गरेर पनि त्यतिबेलामा पनि गरिब जनतालाई डा. देवकोटाहरूले सेवा गर्न नपाएको हुनुपर्छ । यसमा दोष डा. देवकोटाहरूको होइन, तत्कालीन शासकहरूको हो र विभेदकारी सामन्ती राज्यव्यवस्थाको हो । देवकोटाले त बरू नशारोग क्षेत्रमा विशेषज्ञता हासिल गरेर आफ्नो विशिष्ट योगदान दिए । नेपालमा पहिलो पटक नशारोगको विभाग स्थापना गर्ने र नेपालमै नशाको शल्यक्रिया गर्ने वातावरण बनाए । यसले नै देवकोटालाई अरु सामान्य चिकित्सकभन्दा उचाइमा पु¥यायो ।
पञ्चायती व्यवस्था ढालेपछि आएको प्रजातन्त्र पनि जनताको प्रजातन्त्र हुन सकेन । यसकारण यो पुँजीवादी व्यवस्थामा सरकारीभन्दा पनि निजी अस्पतालहरू खुले । भएका सरकारी अस्पतालमा बिरामीको उपचार नहुने गरी भद्रगोल बनाइए । निजी खुलेका अस्पताल गरिब जनताको सेवा गर्नको लागि होइन, नाफाका लागि खुलेका थिए भन्ने कुनै लुकाउनुपर्ने विषय भएन । ती अस्पतालका मालिकहरूले हाकाहाकी गरिबको उपचारको लागि नभई विदेशिने पैसा जोगाउन विदेशमा उपचार गराउन पठाउनुभन्दा नेपालमै सुविधा दिने भनेर अस्पताल खोलेको बताउने गरेका छन् । यसकारण ती महँगा अस्पताल गरिब जनताको स्वास्थ्य सेवाको पहुँचभित्र पर्ने अवस्था रहेन । डा. देवकोटाले पनि निजी अस्पतालमा अभ्यास गरे । आफ्नै पहलमा नशारोगको महँगो अस्पताल खोले । यसकारण डा. देवकोटालाई धनीहरूको मात्र डाक्टर भन्ने आरोप लाग्नु अन्यथा होइन ।
डा. देवकोटा आफै पनि विद्यमान पुँजीवादी पञ्जाबाट एक्लै उम्कन सक्ने होइनन् । उनले जानेको विषयमा निःशुल्क स्वास्थ्य सेवा दिन सक्ने अवस्था हुने कुरै भएन  । बरु शिक्षा र स्वास्थ्यमा राज्यलाई उत्तरदायी बनाई निःशुल्क स्वास्थ्य सुविधा दिने राज्यव्यवस्था स्थापना गर्ने सङ्घर्षमा सहभागी हुन सक्थ्यो । जुन बाटोमा देवकोटाले उल्लेखनीय अगुवाइ गरेको देखिएन । आज पुँजीवादप्रतिको आक्रोशको तारो स्वयं देवकोटा पनि बन्नुप¥यो । डा. देवकोटा पनि अपमानित हुनुप¥यो । लाञ्छित हुनुप¥यो ।
एक्सपेरिमेन्टल उपचार नगर्ने भनेर नेपाली माटोमै देहत्याग गर्ने भावनाका साथ नेपाल फर्केपछि देवकोटाले धेरै शुभचिन्तक भेट्न पाए । हेलिकप्टरमा बसेर आफ्नो जन्मस्थल गोरखाको आँपपिपलमा गएर मूलको पानी पनि खाए । मृत्यु अघि यस्तो संयोग धेरैलाई नमिल्ला । बिरामी देवकोटाले नेपाल आएको झण्डै दुई महिनामा धेरै सञ्चारमाध्यममा पनि आफ्नो भावना पोखे । देवकोटाका संस्मरणहरू धेरै पाठकहरूले पढ्न पाए । देवकोटाले दरबार हत्याकाण्डको बेलामा आफूलाई कसरी सैनिक अस्पतालमा पु¥याइएका ती दिनहरू स्मरण गरे । त्यो संस्मरणमा देवकोटाले गरिब बिरामीहरूको सेवा विस्तार गर्नकै लागि वीर अस्पतालमा दुई दिनको ठाउँमा तीन दिन नशाको शल्यक्रिया गर्ने बन्दोबस्त गरेको चर्चा गरेका छन् । हप्तामा एक दिन सेवा थपेर देवकोटाले केही थप गरिब बिरामीलाई उपचार गर्ने प्रयास त गरे तर राज्य नै उत्तरदायी नभएको ठाउँका व्यक्तिको सुधारले खासै अर्थ राख्ने गर्दैन । व्यक्तिको पवित्र सद्भावले खासै परिवर्तन ल्याउँदैन । व्यापक कामदार वर्गका बिरामीहरूले त्यतिकै सुलभ रुपमा स्वास्थ्य सेवा पाउँदैन ।
स्वास्थ्य उपचार र शिक्षा नागरिकको आधारभूत आवश्यकताहरू हुन् । सम्पूर्ण नागरिकलाई इच्छाअनुसार उच्च शिक्षासम्म अध्ययन गर्न र बिना उपचार कोही पनि मर्न नपरोस् भनेर राज्य उत्तरदायी हुनु पर्ने हो । यी सम्पूर्ण व्यवस्था समाजवादी राज्यव्यवस्था भएका देशहरूमा लागू भएका छन् । नेपालमा पुँजीवादी व्यवस्था छ । त्यो पनि दलाल पुँजीवादी व्यवस्था । विदेशीको कमिशनको भरमा बाँचेको पुँजीवादी व्यवस्था । बल्लबल्ल २०७२ को संविधानमा स्वास्थ्य तथा शिक्षाको आधारभूत बन्दोबस्त राज्यले गर्ने भने पनि व्यवहारमा आइसकेको छैन ।
डा. देवकोटाजस्ता विशेषज्ञ चिकित्सकहरूको सम्पुर्ण ज्ञान र क्षमताको उपयोग गर्न र त्यो कामदार जनता हितमा पनि लागु गर्न त समाजवादी व्यवस्था नै जरुरी हुन्छ । आफ्नो उच्च ज्ञान र सीप निसङ्कोच, बिना भेदभाव, सम्पूर्ण मानव जातिको निम्ति उपयोग गर्न त कामदार वर्गकै हुकुम हुने जनताको प्रजातन्त्र नै चाहिन्छ । समाजवादी व्यवस्था नै स्थापना गर्नुपर्छ ।
होइन भने, पवित्र मानवताको सेवा गर्न लालायित विशेषज्ञ चिकित्सकहरू पनि मृत्युपर्यन्त यो स्वार्थी पुँजीवादी समाजमा लाञ्छित हुनुपर्छ । अपमानित हुनुपर्छ । व्यक्तिको इज्जतको लागि पनि समाजवादी व्यवस्था चाहिन्छ भन्ने यो एउटा ज्वलन्त ऐना हो । समाजवादी व्यवस्थामा मात्र एक सबैको लागि र सबै एकको लागि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *