भर्खरै :

द्वन्द्वात्मक भौतिकवाद के हो ?

द्वन्द्वात्मक भौतिकवाद के हो ?

वर्गीय समाजमा सिद्धान्त र विचार पनि वर्गीय हुन्छ । वर्गीय समाजमा वर्ग सङ्घर्ष स्वाभाविक छ । वर्गसङ्घर्षबिना श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने सरकार सम्भव छैन । कथंकदाचित सम्भव भए पनि त्यो स्थायी हुने छैन या टिक्ने छैन । द्वन्द्वात्मक भौतिकवाद सर्वहारावर्गको मुक्तिको दर्शन हो । यसले संसारका श्रमजीवीहरूको पक्षमा वकालत गर्छ, भलो गर्छ र ऐन कानुन बनाउँछ । कुनै पनि वस्तुको अस्तित्व दुई विरोधी पक्षबिचको लडाइँमा आधारित हुन्छ । यस लडाइँबाट नयाँ वस्तु जन्मिन्छ । यसरी अन्तरविरोधको अध्ययन गर्ने पद्धति नै एक प्रकारको द्वन्द्ववाद हो । पृथ्वी पदार्थबाट बनेको हो । परमात्माबाट जगत बनेको होइन । यसको अध्ययन गर्ने सिद्धान्त नै भौतिकवाद हो ।
द्वन्द्ववादको विकास हेगेलले गरेका हुन् । उनले परमात्मा या विचारको विकास भएर वस्तु र जगत बन्छ भन्ने हेगेलको आदर्शवादी विचार हो । भौतिकवादको व्याख्या फायरबाखजस्ता दार्शनिकहरूले गरे । उनीहरूले पदार्थलाई परिवर्तनशील बनाउन र जनता बदल्ने कुरा गरेनन् । माक्र्सले त्यो कमजोरी हटाई भौतिकवादलाई परिवर्तनको पद्धति वा द्वन्द्ववादसँग मिलाउने काम गर्नुभयो । यो काममा एङ्गेल्सको पनि महत्वपूर्ण भूमिका छ । यसरी द्वन्द्वात्मक भौतिकवादी दर्शनको जन्म भयो । यो दर्शनमा लेनिन र माओले थप विकास गर्नुभयो ।
द्वन्द्वात्मक भौतिकवाद समाज र संसार फेर्नको लागि प्रेरित गर्ने सर्वहारावर्गीय दृष्टिकोण हो । यसको उद्देश्य सिद्धान्त प्रतिपादन गर्नुमात्र होइन सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्नु पनि हो । यो दर्शन मात्र होइन† विज्ञान पनि हो । कुनै वस्तु वा समाजलाई हेर्ने दृष्टिकोण दुई थरीको हुन्छ । भौतिकवादी द्वन्द्ववाद र अधिभूतवाद । कुनै वस्तुलाई उसको वास्तविक चरित्रभन्दा अलग्ग गरी हेर्ने पद्धति भौतिकवादी द्वन्द्ववाद हो । अधिभूतवादीहरू पदार्थलाई जड् मान्छन् । त्यस दृष्टिलाई मान्यता दिने मानिसहरू वस्तु निर्माणको लागि भित्री होइन बाहिरी कारणलाई जोड दिन्छन् । उनीहरू अलौकिक शक्तिलाई प्राथमिकता दिन्छन् । उनीहरू हरेक वस्तुलाई परिवर्तनविहीन ठान्छन् । उनीहरूको बुझाइमा चन्द्र, सूर्य, तारा, पृथ्वी, जीवजन्तु आदि एकाएक बनेका हुन् । उनीहरू गुणात्मक परिवर्तनलाई विश्वास गर्दैनन् । उनीहरू विकासशील, विनासशील, सत्य –असत्यजस्ता परस्पर विरोधी पक्ष देख्दैनन् । उनीहरू या त असल या त खराव मात्र देख्छन् । पछि यसलाई द्वन्द्ववादी ढङ्गले हेर्नुपर्छ भन्ने विचारको विकास भयो । विज्ञान र प्रविधिको युग आरम्भ हुनु द्वन्द्ववादको राम्रो दृष्टान्त हो । भौतिकवादी द्वन्द्ववादले पदार्थलाई जड होइन गतिशील ठान्छ । यसले अलौकिक कुरालाई विश्वास गर्दैन† आन्तरिक कारणलाई जोड दिन्छ† सत्य र असत्यबिच परस्परविरोधी पक्ष हुने आपसी सम्बन्ध भएर द्वन्द्व हुन्छ । यसले कुनै पदार्थको अस्तित्व एकाएक आएको मान्यता राख्दैन । बरु यसले गुणात्मक परिवर्तनमा जोड दिन्छ ।
परिवर्तन विरोधीहरू माक्र्सवाद पतन भएको हल्ला फिजाउँछन् । विज्ञानमा आधारित वैज्ञानिक दर्शनलाई जसले जतिसुकै विरोध र खण्डन गरे पनि त्यो खण्डित हुँदैन । लेनिन भन्नुहुन्थ्यो, “माक्र्सको शिक्षा सर्वशक्तिमान छ । यो कुनै काल्पनिक दर्शन होइन । भौतिकवाद वस्तु, प्रकृति र इतिहासको तथ्यमा आधारित छ । यो विज्ञानसम्मत छ । माक्र्सको समाजवाद कल्पनावादविरोधी छ । कुनै देशमा क्रान्तिपछि प्रतिक्रान्ति हुनु सिद्धान्त अवैज्ञानिक हुनु होइन । बरु, यस सिद्धान्तको सार तत्व वर्गसङ्घर्ष हो ।
द्वन्द्वात्मक भौतिकवाद प्रकृति, मानव समाज र विज्ञानमा आधारित छ । यो भरपर्दो विज्ञान हो । यो मानव समाज मुक्तिको विज्ञानसम्मत दर्शन हो । नेपालका सच्चा कम्युनिस्ट पार्टीहरू यसै दर्शनलाई आधार मानेर आमूल परिवर्तनको निम्ति पूर्वाधार तयार गर्दै छन् । जसले आफूलाई ठुलो कम्युनिस्ट पार्टी भनेर सामन्त, पुँजीपति र प्रतिक्रियावादीहरूको पक्षपोषण गरेर सरकारमा पुगे उनीहरू आज पछुताउ गर्दै छन् । उनीहरू प्रायश्चित गर्दै भन्दै छन्, कतै हामीले सच्चा कम्युनिस्ट पार्टीको बाटो छोडेर पुँजीपतिवर्गको बाटोमा त लागेको छैन ? उनीहरू गलत बाटोमा लागेको भनी प्रायश्चित गर्दै छन् । त्यो प्रायश्चित सत्तामा नपुगुञ्जेल गरिरहने हो कि पहिलेको गल्ती सुधारेर आमूल परिवर्तनको बाटोमा लागेर राजनीति गर्ने हुन् ? त्यसबाट पाठ सिकेर कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार वर्गसङ्घर्षको बाटो रोज्नुपर्छ† द्वन्द्वात्मक भौतिकवादको बाटो रोज्नुपर्छ यो नै माक्र्सवादको आधार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *