भर्खरै :

भक्तपुरमा उडबलको ऐतिहासिक डेब्यु परम्परागत खेलकुदको सहरमा नयाँ आयाम

भक्तपुरमा उडबलको ऐतिहासिक डेब्यु परम्परागत खेलकुदको सहरमा नयाँ आयाम

भक्तपुर, ३० भदौ । ऐतिहासिक, सांस्कृतिक तथा परम्परागत खेलकुदको लामो विरासत बोकेको भक्तपुरको खेलकुद इतिहासमा हालै एउटा नयाँ अध्याय थपिएको छ । ख्वप कलेज अफ इन्जिनियरिङमा भदौ २५ गतेदेखि सञ्चालन भइरहेको शिक्षक तथा कर्मचारीस्तरीय विविध खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार उडबल (Woodball) प्रतियोगिता सम्पन्न भयो । भक्तपुर जिल्लामै सम्भवतः पहिलोपटक आयोजना गरिएको यस प्रतियोगितामार्फत कलेजका विभिन्न विभागका शिक्षक तथा कर्मचारीहरूले यो खेलको प्रत्यक्ष अनुभव लिने अवसर प्राप्त गरेका छन् । ठुलो भौतिक पूर्वाधार नचाहिने र न्यून लागतमा खेल्न सकिने यस्ता नयाँ तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलको प्रवद्र्धन र प्रचारप्रसारमा कलेजले अग्रसरता देखाएकोमा सहभागीहरूले निकै खुसी व्यक्त गरेका छन् ।
ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुर परम्परागत र आधुनिक खेलकुद दुवैमा आफ्नै छुट्टै पहिचान बोकेको सहर हो । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शारीरिक सुगठन, बुद्धिचाल, टेबलटेनिस, जिम्नास्टिक, फूटबल, भलिबल, कबड्डी, कराँते तथा मार्सल आर्टसजस्ता खेलहरूमा भक्तपुरको लामो इतिहास र उल्लेख्य योगदान रहँदै आएको छ । भक्तपुरमा पहिलो पटक उडबलजस्तो नौलो खेलको प्रवेशले जिल्लाको खेलकुद इतिहासमा नयाँ आयाम थपेको छ ।
उडबलको स्वरूप र नियम गल्फसँग मिल्दोजुल्दो छ । खेलाडीले काठको ह्यामर अर्थात् ‘मलेट’ प्रयोग गरेर काठकै बललाई प्रहार गर्छन् । बललाई तोकिएको मार्ग हुँदै अगाडि बढाएर अन्तिममा काठबाट बनेको गेटभित्र छिराउनुपर्छ । निर्धारित दूरी कम ‘स्ट्रोक’ मा पूरा गर्ने खेलाडी विजेता हुन्छ । ठुलो मैदान, महँगा उपकरण वा जटिल संरचना आवश्यक नपर्ने भएकोले विद्यालय, कलेज तथा सार्वजनिक खुला स्थानमा समेत यो खेल विस्तार गर्न सकिने सम्भावना रहेको खेलकर्मीहरूको बुझाइ छ ।
तर, भक्तपुरमा हालै सुरु भएको यो खेलको कथा भने भक्तपुरबाट सुरु भएको होइन । उडबलको विकास सन् १९९० मा ताइवानबाट भएको हो । वेङ मिङ–हुई र कुवाङ–चु याङले यसको अवधारणा अघि सारेका थिए । वृद्ध आमाबुबाका लागि बगैँचा बनाउने क्रममा भेटिएको समथर पाखालाई उपयोग गर्दै महँगो गल्फको विकल्पका रूपमा सर्वसाधारणले समेत सजिलै खेल्न सक्ने खेल विकास गर्ने प्रयासबाट उडबलको सुरुआत भएको मानिन्छ ।
खेलका नियम तथा सामग्रीमा क्रमिक सुधार हुँदै सन् १९९३ सम्म आइपुग्दा काठको ह्यामर, बल र गेटसहित उडबलको आधुनिक स्वरूप विकास भएको थियो । सन् १९९९ मा अन्तर्राष्ट्रिय उडबल महासङ्घ (IWbF) गठन भएपछि खेलको अन्तर्राष्ट्रिय विस्तारले संस्थागत आधार पायो । त्यसपछि एसियाली ओलम्पिक काउन्सिल (OCA) ले पनि यसलाई मान्यता दिएको थियो । सन् २००८ देखि एसियालीबिच गेम्समा उडबल समावेश हुँदै आएको छ ।
नेपालमा पनि उडबलको यात्रा नयाँ भने होइन । सन् २०१० को दशकतिर नेपाल उडबल सङ्घ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको र नेपाली खेलाडीहरूले चीन, थाइल्यान्ड तथा हङकङमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको विवरण छ । यद्यपि, नेपालमा यो खेल अझै सीमित दायरामै छ ।
पूर्वाधार र बजेटको अभाव नेपाली खेलकुदको पुरानै चुनौती हो । यही अवस्थामा न्यून लागतमा र सीमित स्थानमा सञ्चालन गर्न सकिने उडबलले विद्यालय तथा कलेजस्तरबाट खेलाडी उत्पादन गर्ने अवसर दिन सक्छ । सार्वजनिक पार्क तथा खुला ठाउँलाई समेत उपयोग गर्न सकिने भएकाले स्थानीय तहले समेत यसको प्रवद्र्धन गर्न सक्ने सम्भावना देखिन्छ ।
भक्तपुरमा ख्वप कलेज अफ इन्जिनियरिङले गरेको यो सुरुवातले स्थानीय स्तरमा उडबल खेलको प्रवद्र्धन र नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने देखिन्छ । कलेज स्तरमा सुरु भएको यो अभ्यासले आगामी दिनमा भक्तपुर जिल्लाभर उडबलको प्रवद्र्धन हुनुका साथै नयाँ खेलाडी उत्पादन र खेलकुद पर्यटनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *