भर्खरै :

भक्तपुरमा सञ्चालन भएका कतिपय अभ्यासलाई अन्य स्थानीय तहले पनि आफ्नो ठाउँमा लागू गर्न सके जनतालाई सहज हुने

भक्तपुरमा सञ्चालन भएका कतिपय अभ्यासलाई अन्य स्थानीय तहले पनि आफ्नो ठाउँमा लागू गर्न सके जनतालाई सहज हुने

भक्तपुर, १ असोज । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा शैक्षिक सत्र २०८३/०८४ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले कलेजको शैक्षिक कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले नवआगन्तुक विद्यार्थीहरूलाई भक्तपुरमा स्वागत गर्दै भक्तपुरलाई आफ्नै घर र कलेजलाई आफ्नै कलेजका रूपमा सम्झन आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरूले आफूले देखेका गुनासो, समस्या तथा आवश्यक सुझाव सम्बन्धित सञ्चालक समिति र सरोकारवाला निकायसमक्ष राख्न सुझाव दिनुभयो ।
भक्तपुरलाई ‘टेस्ट ट्युब’ अर्थात् नयाँ अभ्यास र प्रयोगका लागि उपयुक्त स्थानका रूपमा विकास गर्न खोजिरहेको बताउँदै सानो भूगोल, तुलनात्मक रूपमा कम जटिलता र राजधानी काठमाडौँसँगको निकटताका कारण नयाँ योजना तथा अभ्यास सञ्चालन गर्न भक्तपुरमा सहज वातावरण रहेको बताउनुभयो ।
देशका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिलगायतका विशिष्ट व्यक्तिहरू भक्तपुर नगरपालिकामा भइरहेका विभिन्न कामको अध्ययन तथा अनुभव आदानप्रदानका लागि आउने गरेको बताउँदै भक्तपुरमा सञ्चालन भएका कतिपय अभ्यासलाई अन्य स्थानीय तहले पनि आफ्नो ठाउँमा लागू गर्न सके जनतालाई सहज हुने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले पछिल्लो समय देशले विभिन्न प्राकृतिक विपद्बाट ठुलो क्षति व्यहोर्नुपरेको प्रसङ्ग उठाउँदै विपद् व्यवस्थापन र पूर्वतयारीबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो ।
रसुवामा आएको बाढी तथा कृष्णभिर र मेलम्ची क्षेत्रमा भएका विपद्का घटनाले पूर्वाधार निर्माण, वातावरण र विपद् व्यवस्थापनसँग सम्बन्धित विषयमा थप अध्ययन आवश्यक भएको बताउनुभयो ।
यस्ता घटनालाई प्राकृतिक विपद्का रूपमा मात्र हेर्न नहुने बताउँदै उहाँले यो इन्जिनियरिङसँग सम्बन्धित विषय हो† हाम्रो इन्जिनियरिङमै त्रुटि भयो कि, सरकारको गम्भीरता नपुगेका कारण यस्तो भइरहेको छ वा यस्ता विपद्का पछाडि राजनीतिक पक्ष पनि जिम्मेवार छ, यी सबै विषयमा गम्भीर अध्ययन हुनुपर्छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इन्जिनियरिङ कलेज स्थानीय तहबाट सञ्चालित देशकै पहिलो प्राविधिक कलेज भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को परिकल्पनामा भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन स्थापना भएको ख्वप सर्कलअन्तर्गतका शैक्षिक संस्थाहरूले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
कलेज स्थापनाको २५ वर्ष पूरा भएको सन्दर्भमा स्थापनाको उद्देश्य पूरा हुने क्रममा रहेको बताउँदै नगर प्रमुख प्रजापतिले कलेजमा देशका विभिन्न
जिल्लाका विद्यार्थीहरूको प्रतिनिधित्व रहेको बताउनुभयो ।
भक्तपुरवासी जनताको करबाट स्थापना भएको कलेजले देश र जनताको सेवामा समर्पित जनशक्ति उत्पादन गरिरहेको उहाँको भनाइ थियो ।
नेमकिपा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यार्थीहरूको अध्ययन, बसाइँ तथा भविष्य सफल, सुखद र प्रतिस्पर्धात्मक बन्ने विश्वास व्यक्त गर्दै विपद् तथा चुनौतीहरूको सामना गर्दै सुरक्षित समाज र सुरक्षित देश निर्माणको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नयाँ पुस्ताले विभिन्न चुनौती र विपद्को सामना गर्दै आफूलाई मानसिक, शारीरिक तथा मनोवैज्ञानिक रूपमा बलियो बनाइसकेको उल्लेख गर्दै आगामी चुनौती सामना गर्ने क्षमता पनि विकास गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो ।
इतिहासमा विभिन्न मुलुकले कठिन परिस्थिति र विपत्तिको सामना गर्दै आफूलाई सफल राष्ट्रका रूपमा अघि बढाएको उदाहरण प्रस्तुत गर्दै उहाँले नेपालले पनि विभिन्न कालखण्डमा अनेकौँ विपद् र चुनौती सामना गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले भियतनामका नेता होचि मिन्हको नेतृत्वमा भएको सङ्घर्षको प्रसङ्ग उल्लेख गर्दै कठिन परिस्थिति र निरन्तर सङ्घर्षले मानिस तथा समाजलाई अझ दृढ र सक्षम बनाउने बताउनुभयो ।
नेपालले भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न प्राकृतिक तथा सामाजिक सङ्कटको सामना गर्दै आएको उल्लेख गर्दै उहाँले ती चुनौतीबाट खारिँदै समाज अघि बढिरहेको बताउनुभयो ।
उहाँले पछिल्लो पुस्ता विगतको तुलनामा धेरै क्षेत्रमा सक्षम र सचेत बन्दै गएको बताउँदै सुरक्षित समाज, सुरक्षित देश र सुरक्षित विश्व आजको आवश्यकता भएको बताउनुभयो ।
सुरक्षित र सुरम्य समाजको परिकल्पना गरिरहेको बेला विश्वमा बढ्दै गएको सैन्य प्रतिस्पर्धाप्रति पनि उहाँले चिन्ता व्यक्त गर्दै अन्तरिक्षमा समेत हतियारको प्रतिस्पर्धा बढ्दै गएको समाचारले विश्व समुदायलाई सशङ्कित बनाएको बताउनुभयो ।
इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. विष्णुप्रसाद पाण्डेले प्रतिस्पर्धात्मक प्रक्रियाबाट ख्वप इन्जिनियरिङ कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई बधाई दिँदै अध्ययनको पहिलो खुड्किलो सावधानीपूर्वक अघि बढाउन आग्रह गर्नुभयो ।
इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरू प्राविधिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यसहित समाधानमुखी सोच, ज्ञान, सीप र सकारात्मक चिन्तनको विकासमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेज स्थापनाको २५ वर्ष पूरा भएको जानकारी दिँदै ख्वप सर्कलको स्थापनाको पृष्ठभूमिबारे प्रकाश पार्नुभयो ।
उहाँका अनुसार ख्वप इन्जिनियरिङ कलेजबाट हालसम्म ५ हजार ६३५ जना र ख्वप कलेज अफ इन्जिनियरिङबाट २ हजार ९५९ जना विद्यार्थीले अध्ययन गरिसकेको बताउँदै दुवै कलेजबाट ६ हजारभन्दा बढी इन्जिनियर उत्पादन भई विभिन्न क्षेत्रमा कार्यरत रहेको जानकारी दिनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नवआगन्तुक विद्यार्थीहरूलाई ख्वप परिवारमा स्वागत गर्दै ख्वप संस्कृतिलाई आत्मसात् गर्न आग्रह गर्नुभयो । अनुशासन, मेहनत र बौद्धिक क्षमताका साथ देश तथा समाजमा समर्पित हुने उद्देश्य कलेजले लिएको उल्लेख गर्दै उहाँले गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका आर्किटेक्चर विषयका २०७७ ब्याचका उत्कृष्ट विद्यार्थी जमुना बमनु तथा ख्वप कलेज अफ इन्जिनियरिङका सिभिल इन्जिनियरिङ विषयका २०७८ ब्याचका उत्कृष्ट विद्यार्थी प्रसिद्धराज पोखरेलले आफ्नो इन्जिनियरिङ अध्ययन अनुभव सुनाउनुभएको थियो । उहाँहरूले विद्यार्थीहरूलाई ठुला सपना देख्दै साना कामबाट सुरुवात गर्न, गल्तीबाट सिक्दै अघि बढ्न तथा निरन्तर सुधारमा ध्यान दिन प्रेरित गर्नुभयो । इन्जिनियरिङ अध्ययनलाई बोझ नभई सुन्दर यात्राको सुरुआतका रूपमा लिनुपर्ने तथा असफलताबाट सिक्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलेजका आ. अर्चना बाडे श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *