अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – ४
- आश्विन ७, २०८३
करिब दुई वर्षअघि, चिनियाँ उद्यमी बोरिस बटले उनको कम्पनीले एआईलाई नअपनाएमा यो प्रविधिले नै उनको व्यवसायलाई विस्थापित गर्न सक्ने महसुस गरे । शिक्षा क्षेत्रमा सक्रिय बटका ग्राहक प्रायः आफ्ना छोराछोरीलाई विदेश पढाउन चाहने सम्पन्न अभिभावक हुन् । तिनले आफ्ना छोराछोरी पढाउने संस्थाको जानकारी कार्यालय धाएर नभई ‘च्याटबोट’ बाट लिन थालेका थिए । त्यसैले बटको संस्थाले पनि आफ्नै एआई अध्ययन औजार विकास ग¥यो । अहिले उनी आफ्नो निष्कर्ष सुनाउँदै भन्छन्, “तपाईँ नयाँ प्रविधिलाई हराउन सक्नुहुन्न भने, त्यसमा सामेल हुनुपर्छ ।”
चीन अहिले विश्वमा एआई विकासको गति र गुणस्तरका हिसाबले अमेरिकापछि दोस्रो स्थानमा छ । नयाँनयाँ मोडेलको क्षमताको विकाससँगै विश्वका यी दुई महाशक्ति राष्ट्रबिच प्रतिस्पर्धा तीव्र बनेको छ । विश्लेषकहरू अहिलेसम्म अमेरिकी एआई मोडेल चिनियाँ मोडेलभन्दा केही अगाडि रहेको मान्छन् । तर, पछिल्ला केही साता अमेरिकी प्रविधि केन्द्र ‘सिलिकन भ्याली’ को माहोल फरक देखियो ।
एआई अनुसन्धानमा संलग्न केही अनुसन्धानकर्ताले सबैभन्दा उन्नत एआईमाथिको मानव ‘नियन्त्रण’ गुम्न सक्ने र त्यसले ठुलो विपत्ति निम्त्याउन सक्ने चेतावनी दिएपछि एआईको थप विकास रोक्नुपर्ने माग उठ्न थाल्यो । बहसबिच गत शनिबार सबैभन्दा ठुलो एआई कम्पनी ‘एन्थ्रोपिक’ का प्रमुख कार्यकारी (सीइओ) डारियो अमोडेईले एक आलेख लेख्दै ‘अत्याधुनिक एआई विकासको गतिलाई विश्वभर रोक्नुपर्ने’ प्रस्ताव अघि सारे । त्यसका लागि अमोडेईले ‘चीनसँगको सहकार्य आवश्यक पर्ने’ मा जोड दिए ।
एआई विकासको गति सुस्त बनाउने आह्वानलाई पेइचिङले अमेरिकी अग्रतालाई सुरक्षित राख्ने प्रयासका रूपमा हेरेको छ ।
प्रविधि अनुसन्धान समूह ‘ओम्डिया’ का लियान जी सुले भने अमेरिकी कम्पनीहरूको सर्तमा एआई विकासको गति सुस्त बनाउने कुराप्रति ‘चीन सकारात्मक नभएको’ बताए । चीन सरकारले एआईलाई ‘सार्वभौमिकतासँग जोडिएको क्षमता’ मानेको छ । त्यसमाथि पेइचिङ पछिल्लो समय आफूले अमेरिकी अत्याधुनिक मोडेलसँग घटाइरहेको दूरीलाई जोखिममा पार्न चाहँदैन । ‘चीनले एआई विकास सुस्त बनाउने यी आह्वानलाई अमेरिकी अग्रतालाई सुरक्षित राख्ने प्रयासका रूपमा हेरेको छ,’ सुले भने ।
एन्थ्रोपिकका सीईओ अमोडेईले गरेको आह्वानले पनि चीनलाई सशङ्कित बनाएको छ । त्यसमा उनले ‘तानाशाही शासन भएका मुलुकमाथि लोकतान्त्रिक मुलुकको एआई अग्रता सकेसम्म फराकिलो राख्नु’ महत्वपूर्ण भएको बताएका छन् । तानाशाही शासन भएको मुलुक भनेर उनको सङ्केत चीनतर्फ थियो । उनले त्यही आलेखमा चीनतर्फ उन्नत चिप र मेसिनरी निर्यातमा निरन्तर नियन्त्रणजस्ता उपायको वकालत गरेका छन् । अमोडेईको आलेख छापिएपछि यसबारे सोधिएका प्रश्नमा चिनियाँ विदेश मन्त्रालयले एआईबारे अनावश्यक ‘डर फैलाउने काम भएको र यस्तो टकराव र हानिकारक प्रतिस्पर्धाले विश्वव्यापी एआई शासनको प्रक्रियालाई अवरुद्ध मात्र पार्ने’ प्रतिक्रिया दियो ।
तथापि, अमोडेईको आलेखले उठाएका व्यापक चिन्ता सबैलाई चीनले अस्वीकार नगरेको विश्लेषकको ठम्याइ छ । यसै साता चीनले आफ्नो एआई सुरक्षा शासन ढाँचाको तेस्रो संस्करण जारी ग¥यो । एआईका सम्भावित जोखिमपूर्ण परिदृश्यको नक्साङ्कन र यसमाथि चाल्नुपर्ने कदमबारे उल्लेख दस्ताबेजको पछिल्लो संस्करणमा एआई मोडेलबाट साइबर सुरक्षा खतरा र एआईले आफैँलाई निरन्तर सुधार गर्दाको खतराका कुरा समावेश छन् । ‘अमोडेईले आफ्नो आलेखमा भनेको र चिनियाँ सरकारको पछिल्लो एआई शासन ढाँचामा उल्लेख कुरा धेरै हदसम्म मिल्छन्,’ एआई सुरक्षासम्बन्धी परामर्श संस्था कोनकोर्डियाका अनुसन्धाता गेब्रियल वाग्नरले भने । बरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईबाट मानवमाथि खतरा रहेको कुरालाई पूर्णतः अस्वीकार गर्दै आएका छन् ।
चीनको सत्तारूढ कम्युनिस्ट पार्टी आफ्नो राजनीतिक नियन्त्रणको जोखिमसँग राम्रोसँग परिचित छ र ऊ राज्यले तोकेको सीमाभित्र नयाँ प्रविधिको विकास होस् भन्ने सुनिश्चित गर्न सक्रिय छ । यसैले देशका महत्वपूर्ण पूर्वाधार र व्यावसायिक गतिविधिमा केन्द्रीकृत नियन्त्रण कायम गरेको चीन सामान्यतया “एआईबाट आउन सक्ने कुनै पनि प्रकोपलाई सम्बोधन गर्न अमेरिकाभन्दा राम्रो स्थानमा छ,” ओम्डियाका सुले भने ।
जस्तो, यही वर्ष पेइचिङले एआईसँग धेरै च्याट गरेर त्यसैमाथि भावनात्मक निर्भरता बढ्ने क्रम बढेको भन्दै त्यसलाई कम गर्ने उद्देश्यले राष्ट्रिय नियम पनि जारी गरेको छ । यसले आर्थिक वृद्धिमा एआईको सक्रिय प्रयोगलाई प्रोत्साहित गरेको छ । चीनले पछिल्लो पञ्चवर्षीय योजनामै आर्थिक वृद्धिमा एआईको प्रयोगको विषयलाई समावेश गरेको छ । चीनभरका स्थानीय सरकारले देशका विशाल उत्पादन आधारमा आफ्ना उत्पादन प्रक्रियालाई एआई युगमा रूपान्तरण गर्न प्रोत्साहित गरिरहेका छन् । उसो त चीनमा दैनिक जीवन पहिल्यै अत्यधिक ‘डिजिटाइज्ड’ भइसकेको छ ।
किनमेलदेखि जीवनका विभिन्न क्षेत्रको ‘डिजिटाइजेसन’ को दरको हिसाबमा चीन पश्चिमभन्दा अगाडि छ । पहिले अछुतो रहेका नयाँ क्षेत्रको समेत डिजिटाइजेसन भइरहेको छ । उदाहरणका लागि, पछिल्लो समय आएको डिजिटल स्वास्थ्य सेवा ‘ए–फू’ ले वास्तविक ‘क्लिनिकल’ अध्ययनमा प्रशिक्षित प्रख्यात डाक्टरहरूको एआई च्याटबोट संस्करण प्रस्तुत गरेको छ । यसको प्रयोगकर्ता हालसालै १५ करोड पुगिससेका छन् ।
चीनमा धेरैजसो मानिस एआईलाई उपयोगी दैनिक उपकरणका रूपमा लिन्छन्, अमूर्त खतराको रूपमा होइन । तथापि रोजगारी तथा गलत सूचनाबारे भने चिन्ता देखिन्छ । यसका बाबजुद चीनमा एआई विकास ढिलो गर्नुभन्दा यसमा थप निपुण हुनुपर्छ भन्ने बलियो विश्वास देखिन्छ ।
(बेली द गार्जियनका लागि चीनकी संवाददाता हुन् ।)
स्रोत : द गार्जियनबाट
Leave a Reply