भर्खरै :

बाढीले ‘टुहुरा’ बनेका ५ सय भन्दा बढी बालबालिकाको भविष्य अनिश्चित !

बाढीले ‘टुहुरा’ बनेका ५ सय भन्दा बढी बालबालिकाको भविष्य अनिश्चित !

(भदौ १० को बाढीयता अभिभावकहरू बेपत्ता वा मृत घोषित भएका ५०० भन्दा बढी बालबालिका हाल आश्रयस्थलमा छन् ।)
रसुवा, नुवाकोट र धादिङ
भदौ १० का दिन बाढीको भेलबाट ज्यान जोगाउन आफ्नो आमा र अन्य दर्जनौँ मानिसहरूसँगै उकालो चढ्दै गर्दा नौ वर्षीय राम ठाकुरले पछाडि फर्केर हेर्दा खैरो रङ्गको पानी उर्लदँै आएको देखे ।
उनीहरू दौडिन थाले । त्यतिबेलासम्म रामको हात समातेर राखेकी उनको आमाले उनलाई छिटो माथि चढ्न मद्दत गरिन् । त्यसपछि घुम्दै–उर्लेको पानीको आवाज र वरिपरिका मानिसहरूको चिच्याहटसँगै मिसिँदै गर्दा उनले आफ्ना छोरालाई चिच्याएर भनिन्, “छिटो माथि चढ, पछाडि नहेर ।”
ठाकुरले त्यही गरे, उनी झन्झन् माथि चढ्दै गए; अन्त्यमा पछाडि फर्केर हे

रसुवास्थित एक आश्रयस्थलमा १० वर्षीया सञ्जुले आफ्ना दुईवर्षीय भाइलाई बोकेकी छिन् । भदौ १० को बाढीले उनीहरूको घर र अभिभावकलाई बगाएको थियो । (जिज्ञासा मिश्र/अल जजिरा)

र्न अघिसम्म चढे । पानीको गडगडाहत नजिकिँदै थियो, तर उनको आमा त्यहाँ थिइनन् ।
करिब चार हप्तापछि, ठाकुर अझै पर्खिरहेका छन् – निराशाकाबिच आशा राख्दै – आफ्ना आमा र बुबालाई । ऊ हाल नेपालको नुवाकोट जिल्लामा अस्थायी आश्रयस्थलमा परिणत गरिएको एउटा सरकारी प्राथमिक विद्यालयमा अन्य २६ जना बालबालिकासँग बसिरहेको छ ।
उनीहरू नेपालका बाढी प्रभावित जिल्लाहरूमा रहेका विभिन्न अस्थायी आश्रयस्थलमा बसिरहेका ५०० भन्दा बढी बालबालिकाहरूमध्ये पर्दछन्, जसका आमाबुबा यात मृत भइसकेका या बेपत्ता छन् । नेपाली कानुनअनुसार, कुनै व्यक्तिलाई मृत घोषित गर्नका लागि उनीहरू १२ वर्षसम्म बेपत्ता रहेको हुनुपर्छ । कानुनले विपद्को समयमा यस नियममा छुटको व्यवस्था गरेको छ तर त्यसका लागि आफन्तहरूले ‘मृत्युको न्यायिक घोषणा’ प्राप्त गर्न जिल्ला अदालतमा निवेदन दिनुपर्ने हुन्छ ।
त्यसैले, तत्कालका लागि ठाकुर र अन्य बालबालिकाहरू अनिश्चित अवस्थामा बाँचिरहेका छन् । कानुनी रूपमा उनीहरू अझै टुहुरा भएका छैनन् । तर, व्यवहारमा, उनीहरू अभिभावकविहीन छन् भने १,४०० भन्दा बढी मानिसको ज्यान लिएकोे र कम्तीमा ५,००० अन्यलाई बेपत्ता बनाएको बाढीयता उनीहरू यस्तै अवस्थामा छन् ।
‘उनीहरू अहिलेसम्म आउनुपर्ने थियो’
भदौ १० को बिहान ठाकुरका लागि अन्य विद्यालय जाने दिनजस्तै सुरु भएको थियो । बिहान करिब ८ बजे उनी आफ्नो आमासँग विद्यालय जाँदै गर्दा विपत्ति आइलाग्यो । गाइड र चालकका रूपमा काम गर्ने ठाकुरका बुबा भने घरमै हुनुहुन्थ्यो; उहाँको काम बिहान १० बजे सुरु हुन्थ्यो ।
अचानक, उनीहरूले मानिसहरू चिच्याएको सुने, “दौड–दौड, बाढी आयो” !
उनीहरू हिँडे, उकालो चढे र दौडिए† त्यतिञ्जेलसम्म जब ठाकुर आफ्नो आमाबाट छुट्टिए । त्यसपछि, सेनाको हेलिकप्टरले उद्धार गर्न नआउञ्जेलसम्म ऊ अन्य १३ जनासँगै दिनभरि डाँडामा फसेर बस्यो । उसले भन्यो “म निकैै डराएको अनी भोकाएको थिएँ । मैले सोचेँ कि म पनि मर्नेछु । बिस्कुट र खाजाको बट्टा भएको मेरो स्कूल झोला पनि (बाढीमा) हरायो ।”

आफ्नो आश्रयस्थलमा अन्य २६ जना बालबालिकासँगै दिनकोे खानाका रूपमा दाल, भात र साग खाइरहँदा ठाकुरले आफ्ना आमाबुबा आफूलाई खोज्न किन अझै आएनन् भन्ने कुराले आफू अलमलमा परेको बतायो ।
“ममी र पापालाई पौडी खेल्न आउँथ्यो, त्यसैले उहाँहरू अहिलेसम्म आइसक्नुपर्ने थियो,” उसले भन्यो ।
ऊसँगै रहेका एक परामर्शदाताले बताएअनुसार, नजिकै हेलिकप्टर उडिरहेको आवाज सुन्नेबित्तिकै ठाकुर आफ्ना आमाबुबाको उद्धार भएको होला भन्ने आशामा अझै खुला ठाउँतिर दौडिन्छन् ।
नेपालको राष्ट्रिय बाल अधिकार परिषद् र गैरनाफामुखी संस्था ‘सेभ द चिल्ड्रेन’ ले यसै महिना गरेको बाढीपछिको एक अध्ययनले १ हजारभन्दा बढी बालबालिका अस्थायी आश्रयस्थलमा बसिरहेको देखाएको छ । तीमध्ये १०० भन्दा बढी बालबालिका कुनै पनि आफन्तको साथबिना थिए भने ४३९ जना आफ्ना अभिभावकबिना भए पनि अन्य आफन्तसँग थिए । ‘सेभ द चिल्ड्रेन’ नेपालका कार्यक्रम निर्देशक आयुष जोशीले अल जजिरालाई यो जानकारी दिएका हुन् ।

नुवाकोटमा बालबालिका–मैत्री आश्रय पालभित्र ओछ्यान, राहत सामग्री र प्याक गरिएको खाना । (जिज्ञासा मिश्र/अल जजीरा)

युनिसेफ नेपालमा बाल संरक्षणसम्बन्धी जिम्मेवारी सम्हाल्दै आएका लियोन मुवोनीका अनुसार, बाढीका कारण कुल ३२ हजारभन्दा बढी बालबालिका विस्थापित भएका छन् र सरकारी अधिकारी तथा गैरनाफामुखी संस्थाहरू उनीहरूको खोजी गरी परिवारसँग पुनर्मिलन गराउन लागिपरेका छन् ।
मुवोनीले अल जजिरालाई बताएअनुसार, हालसम्म १८ जना बालबालिकालाई उनीहरूका आमाबुबासँग पुनर्मिलन गराइएको छ ।
‘उनी कसैसँग बोल्दिनन्’
ठाकुर हाल बसिरहेको आश्रयस्थलमा आठवटा कोठा छन् । तीमध्ये छ वटा स्थानीय गैर–नाफामुखी संस्थाद्वारा स्थापना गरिएको हो, जसमा पानी नछिर्ने म्याट, ओछ्यान र नरम खेलौनाहरू राखिएका छन् । कामदारहरू बालबालिकाका लागि बंक–बेड बनाउँदै छन् । सातौँ कोठा खाद्यान्न भण्डारण गर्ने ठाउँको रूपमा र आठौँ कोठा भान्साको रूपमा प्रयोग गरिन्छ । ड्युटीमा रहेका अधिकांश कर्मचारी नेपाल प्रहरीका हुन् भने बाँकी गैरनाफामुखी संस्थाका प्रतिनिधिहरू हुन् । उनीहरूसँग एकजना परामर्शदाता पनि छिन् । सबैजना महिला हुनुहुन्छ ।
करिब १०० किलोमिटर टाढा धादिङस्थित अर्को बाल आश्रयस्थलमा रहेकी चार वर्षीया शिवानी तामाङ अब बोल्दिनन् । उनका आमाबुबा दुवैको मृत्यु भइसकेको पुष्टि भइसकेको छ ।
आश्रयस्थलका हेरचाहकर्ताहरूका अनुसार, उनलाई आफू बसेको टोल वा आफ्ना आफन्तहरू खासै याद छैन; अनि अहिलेसम्म उनका कुनै पनि आफन्त उनलाई लिन आएका छैनन् । उद्धार टोली र परामर्शदाताहरूलाई शिवानीले यति मात्र बताएकी छिन् कि उनी विद्यालयमा थिइन्, जब शिक्षकहरूले उनलाई अन्य विद्यार्थीहरूसँगै हतार–हतार उकालोतिर हतारिएर जान लगाए ।
“उनी कसैसँग बोल्दिनन् । कसैलाई आफ्नो कपाल कोर्न पनि दिँदिनन् । धेरै कर गरेपछि मात्र उनले हामीलाई दुई–तीन दिनमा एकपटक मुस्किलले लुगा फेर्न दिन्छिन्,” आश्रयस्थलकी हेरचाहकर्ता यमुना भट्टराईले भनिन् । “उनीजस्तै गहिरो मानसिक आघात (शक) मा रहेका अन्यलाई देख्दा निकै विचलित बनाउने खालको अनुभव हुन्छ । यी सबै बालबालिकालाई मनोसामाजिक सहयोग अत्यन्त खाँचो छ ।”
अब बाँकी, एक–अर्काका लागि मात्र
आमाबुबा दुवै गुमाएका धेरै बालबालिकालाई कपाल कसरी धुने, लुगा कसरी फेर्ने वा आफँै कसरी खाने भन्ने कुरा पनि थाहा छैन । अरू कतिपय त झन् आफ्ना साना भाइबहिनीहरूको लागि जिम्मेवार बनेका छन्, जबकि उनीहरू आफैँ पनि बच्चै छन् ।
बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा जिल्लाका १० वर्षीया सञ्जु लामा आफ्ना दुई वर्षीय

नुवाकोट जिल्लास्थित देवीघाटमा, हिलोले ढाकिएको भण्डारण स्थलमा खेलौना पुतलीसँगै उम्रिएको मकै । ९ सेप्टेम्बर २०२६ (टाइरोन सिउ/रोयटर्स)

भाइसँग हजुरआमाको घर जाँदै थिइन्† त्यसबेला अपरिचित व्यक्तिहरूले उनीहरूलाई तानेर बाढीबाट सुरक्षित स्थानमा पुग्न मद्दत गरे । उनको घर बाढीले निल्यो । बाढी आउँदा घरमै हुनुपर्ने† उनका आमाबुबा बेपत्ता छन् ।
“सन्जु ठुलो आवाज सुन्दा झस्किन्छिन्, यहाँसम्म किउनको नाम बोलाउँदा पनि,” भट्टराईले भने । “उनी प्रायः सधैँ आफ्नो सानो भाइको हात कसिलो गरी समातिरहन्छिन् । रातमा उनी प्रायः डराएर ब्युझिन्छिन् ।”
यो सानी केटी आफ्नो दिनको अधिकांश समय सानो भाइलाई अङ्ग्रेजी कविताहरू पढेर बिताउँछिन् । “अब उनीहरू एक–अर्काका लागि मात्र हुन् ।” भट्टराईले भने ।
युनिसेफका अनुसार, प्रभावित जिल्लाहरूमा १८ वटा विद्यालय ध्वस्त भएका छन् भने थप २० वटामा क्षति पुगेको छ, जसले गर्दा बालबालिकाहरूले सिक्ने, खेल्ने र सामान्य अवस्थामा फर्कने सुरक्षित वातावरणबाट वञ्चित भएका छन् । प्रभावित क्षेत्रका दर्जनौँ विद्यालय नदीको किनार नजिकै अवस्थित छन् र जोखिममा छन् । हाल करिब १० हजार विद्यालय जाने उमेरका बालबालिकाको शैक्षिक भविष्य अनिश्चित बनेको छ ।
अपर्याप्त सहयोग
धादिङमा आश्रयस्थलमा परिणत भएका प्राथमिक विद्यालयका गैरनाफामुखी संस्था, परामर्शदाता र बाल हेरचाह गर्ने कर्मचारीहरूले बालबालिकालाई सुरक्षित र सहज महसुस गराउने प्रयासहरू प्रायः असफल भइरहेको बताएका छन् । खेलौना, किताब र खेल्ने सामग्रीहरू वितरण गरिएका छन्, तर वास्तवमा निकै कम बालबालिकाले मात्र तिनको प्रयोग गरिरहेका छन् । धेरैजसो बालबालिका गुमसुम वा अन्यमनस्क देखिन्छन् अथवा खेल्न नसक्ने गरी मानसिक तनाव वा शोकमा डुबेका छन् ।
‘सेभ द चिल्ड्रेन’ का जोशीले बताएअनुसार उक्त संस्थाले आश्रयस्थलमा रहेका बालबालिकालाई खेलौना र अध्ययन सामग्री वितरण गरेको थियो । उनले भने कि कतिपय अवस्थामा, अभिभावक हराएका बालबालिकाहरूले ‘पुतलीको घरभित्रका पुतलीहरूलाई नै आमाबुबाका रूपमा राखेर परिवार बनाइरहेको वा मिलाइरहेको’ स्वयमसेवकहरूले देखेका छन् ।
“यी बालबालिकालाई सायद ठ्याक्कै के भयो वा किन भयो भन्ने कुरा पनि बुझेका छैनन्,” उनले भने । “उनीहरूलाई भोलिपल्टको बारेमा, अनि समग्र भविष्यबारे केही थाहा छैन ।”
धेरैजसो अवस्थामा, बालबालिकाहरू हाल अत्यधिक भिडभाडयुक्त र गोपनीयताको अभाव भएको आश्रयस्थलमा बसिरहेका छन् । यससँगै, अधिकारी र गैर–नाफामुखी संस्थाहरू भन्छन् कि आफूलाई आफन्त बताउने व्यक्तिहरूको जिम्मामा बालबालिकालाई सुम्पिँदा उनीहरूले सावधानी अपनाउनुपर्छ ।
युनिसेफ लियोनले भने, “मानव बेचबिखन वा बालश्रमको जोखिमबाट बचाउनका लागि, आफन्तहरू फेला परेका कतिपय बालबालिकालाई आश्रयस्थलमै राखिएको छ; किनभने ती आफन्तहरूले पर्याप्त कागजात वा अभिभावकत्वका प्रमाण उपलब्घ गराउन सकेका छैनन् ।”
यता नुवाकोटस्थित आश्रयस्थलमा, ठाकुर साँझको खाजा लिएर अगाडिको बरन्डामा बसेका थिए । आफ्ना आमाबुबालाई लिएर आउने हेलिकप्टरको प्रतिक्षा गर्दै उनका आँखाहरू अस्ताउँदो सूर्यले सुन्तला रङमा रङ्गाएको आकाशतिर एकटकले हेरिरहेका थिए । तर अन्धकार मात्र त्यहाँ आइपुग्यो र त्यसले आफूसँग हेलिकप्टर ल्याएको थिएन ।
– जिज्ञासा मिश्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *