क्रान्तिकारी चे ग्वेभारा
- आश्विन १५, २०८३
चक्रपाणि चालिसे पुत्र लक्ष्मीनन्दन चालिसेका बारेमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा फ्रान्सका लागि पूर्व राजदूत डा. त्रैलोक्यनाथ उप्रेतीले संस्मरण लेख्नुभएको छ । डा. उप्रेतीका अनुसार उनी आईए पढ्दै गर्दा त्रिचन्द्र कलेजमा एउटा ठुलै घटना घट्यो । त्यति बेला चक्रपाणि चालिसेका छोरा लक्ष्मीनन्दन चालिसे त्रिचन्द्रमा बीएमा पढ्थे । बीएको परीक्षामा तिमीलाई मनपर्ने हिरोको बारेमा निबन्ध लेख भन्ने प्रश्न आएको रहेछ । लक्ष्मीनन्दनले पृथ्वीनारायण शाहको बारेमा लेख्दै पृथ्वीनारायण शाह नभइदिएको भए आज यी नपुंसक राणाहरूको बिउ पनि रहने थिएन भनेर लेखेछन् । राणाकालमा यस्तो लेखेपछि त्यो ठुलो मुद्दा बन्यो । त्यतिबेला बालकृष्ण शमशेर अर्थात् बालकृष्ण सम त्रिचन्द्रमा नेपाली पढाउँथे । बीएका कापी पनि उनै जाँच्थे । बालकृष्णका दाइ पुष्करशमशेर पनि त्रिचन्द्रमै नेपाली नै पढाउँथे । लक्ष्मीनन्दनको बीएको परीक्षाको उत्तरपुस्तिका बालकृष्ण समको हातमा पुग्यो ।
आफ्नो हातमा त्यो उत्तरपुस्तिका आइसकेपछि राणावंशको विरुद्धमा त्यति कठोर शब्द प्रयोग गरेर लेखेको देखेपछि बालकृष्णले त्यसलाई आफूमा मात्रै सीमित नराखी शिक्षा डाइरेक्टर जनरल मृगेन्द्रशमशेर कहाँ पठाए । मृगेन्द्रले त्यो मुद्दा प्रधानमन्त्री जुद्धशमशेर कहाँ पु¥याए । त्यसपछि उक्त प्रकरणले सोचेभन्दा उग्र रूप लियो । एक दिन ११ बजेतिर कमाण्डर इन् चीफ पद्मशमशेर कहाँ २ बजे त्रिचन्द्रका विद्यार्थी र शिक्षक सबै आउने उर्दी जारी भयो । रुद्रराज पाण्डे प्रिन्सिपल थिए । उनले सबैलाई जाऔँ भने । त्रिचन्द्रका विद्यार्थी र प्रोफेसर सबै निर्धारित समयमा त्यहाँ गए, तर रुद्रराज आफू भने गएनन् ।
विशालनगर दरबारमा पुग्दा त दरबारको मूलढोकैमा लक्ष्मीनन्दनलाई राखिएको थियो । अरू विद्यार्थीहरूलाई भित्र बैठक कोठामा लगेर राखियो । लक्ष्मीनन्दन भने ढोकैमा थिए । भित्र एकछिन बसेपछि पद्मशमशेरले लक्ष्मीनन्दनले लेखेको बारेमा कुरा उठाए । “सबैलाई नपुंसक भन्ने” भनेर कड्किए । रत्नमान बडाकाजीहरूले पनि यो त अपराध नै हो भने । बङ्गाली प्रोफेसर आशुतोष गांगुलीले पनि उनीहरूको सपोर्ट गरे । अरू प्रोफेसरहरूले पनि कसैले विरोध जनाएनन् । विद्यार्थीहरूको तर्फबाट पनि समर्थन र विरोध दुवै भएन । त्यसपछि पद्मशमशेरले अंश सर्वस्व र जेलसजाय मात्रै तोक्न महाराजलाई बिन्ती गर्छु भने । सजाय सुनाइसकेपछि विद्यार्थीलाई जान भनियो । फर्कने बेलामा सबैले देख्ने गरी मूलगेटमै लक्ष्मीनन्दनलाई नेल ठोक्न लगाइयो । विद्यार्थीहरूलाई तर्साउन त्यसो गरिएको थियो । विद्यार्थीहरूले त्यहाँ केही भन्न सक्ने अवस्था थिएन । विद्यार्थीहरू पछि त्यहाँबाट फर्कँदा मृगेन्द्रशमशेर पनि गाडीमा फर्किए । विद्यार्थी र मृगेन्द्रको भाटभटेनीमा भेट भयो । मृगेन्द्र लक्ष्मीनन्दनले त्यस्तो नलेखेका भए पनि हुन्थ्यो, बालदाइ (बालकृष्ण) ले पनि माथि नपठाएको भए पनि हुन्थ्यो भनेर साखुल्ले भए ।
चक्रपाणि चालिसे त्यतिबेला शिक्षा विभागअन्तर्गतको भाषानुवाद अड्डामा जागिरे थिए । आफ्नो छोरालाई दिइएको त्यत्रो सजायको कारण दुःखी त थिए नै तर उनले यस विषयलाई लिएर कहिल्यै कुरा गरेनन् । अरूले कुरा गर्न खोज्दा पनि यसमा कुरा नगरौँ भन्थे ।
लक्ष्मीनन्दनलाई जेलमा क्षयरोग (टीबी) लाग्यो । जेलबाहिर त टीबीको राम्रो उपचार नहुने त्यो बेला जेलमा झन् के उपचार हुन्थ्यो । उनी सिकिस्त भए । कतिपय इतिहासकारले उनी टीबीको उपचार नहुँदा जेलमै मरे भनेका छन् । तर, डा. उप्रेतीले मर्ने पक्कापक्की भएपछि जेलबाहिर निकालिएको थियो भनेका छन् ।
इतिहासमा यसरी नेपालका शेक्सपियरका उपमा दिएका राणा साहित्यकारका कारण एकजना निर्दोष नागरिकको ज्यान जान पुगेको थियो ।
Leave a Reply