कैलालीमा पार्टी कार्यकर्ता भेला
- आश्विन १५, २०८३
कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट विचार र व्यवहार एवं कम्युनिस्ट नैतिकताबारे प्रशस्तै विवेचना भएका छन् । एउटा असल कम्युनिस्टले धर्म, संस्कृति, परम्परा र संस्कारहरूबारे कसरी सोच्दछ ? चिन्तनदेखि व्यवहारसम्मका सृङ्खलामा उसले आफूलाई कता र कसरी उभ्याउँछ ? यहाँ यसबारे थोरै चर्चा गरिएको छ ।
पहिलो, कम्युनिस्टहरू भौतिकवादी हुन्छन् । उनीहरू हरेक कुरा विज्ञानको कसीमा जाँच्ने कोशिश गर्छन् । कम्युनिस्टहरू ईश्वर, धर्म, पूर्वजन्म, पुनर्जज्म, स्वर्ग, नर्क, परलोक, वैकुण्ठबासजस्ता काल्पनिक मान्यताको विरोध गर्छन् । एउटा सच्चा कम्युनिस्टले त्यो कुरा मात्र मान्दछ, जुन विज्ञानको प्रयोगशालाबाट प्रमाणित वा प्रमाणित हुने सम्भावना राख्दछ । हामीकहाँ भौतिकवाद र आध्यात्मिक चिन्तन मिलाएर छुट्टै दर्शन बनाउने वकालत र अभ्यास गरेको पाइन्छ, जुन माक्र्सवाद होइन, पुँजीवादकै अपवित्र सन्तान मात्र हो ।
दोस्रो, कम्युनिस्टहरू द्वन्द्ववादी हुन्छन् । द्वन्द्ववादले हो पनि भन्छ, होइन पनि भन्छ । हरेक वस्तु, घटनाक्रम र समाजका प्रत्येक घटनालाई सकारात्मक र नकारात्मक कोणबाट विश्लेषण गर्नु द्वन्द्ववाद हो । द्वन्द्ववादले कुनै पनि वस्तु, घटना वा व्यक्तिलाई सतप्रतिशत सही वा सतप्रतिशत गलत मान्न सक्दैन । प्रत्येक वस्तु, घटना वा व्यक्तिमा केही राम्रा र केही नराम्रा गुण हुन्छन् । हामीले राम्रा र नराम्रा गुणहरूको तुलनात्मक अध्ययन गर्नुपर्दछ अनि राम्रा र नराम्रा गुणमध्ये कुन गुण बढ्ता छन्, त्यसकै आधारमा निष्कर्ष निकाल्नुपर्छ । एउटा कुनै कुरा चित्त नबुझे त्यसलाई पूर्णतः गलत र एउटा गुण राम्रो लागे त्यो पूर्णतः ठीक ठान्ने प्रवृत्ति द्वन्द्ववाद होइन, अधिभूतवाद हो ।
तेस्रो, कम्युनिस्टहरू आलोचनात्मक र क्रान्तिकारी हुन्छन् । एक पत्रकारले माक्र्सलाई सोधे, “तपाईँलाई सबैभन्दा मनपर्ने सूत्रवाक्य के हो ?” माक्र्सको जवाफ थियो, “हरेक कुरामाथि शङ्का गर ।” आलोचनात्मक चेतबाट कुनै पनि वस्तु वा घटनाक्रमको अध्ययन गर्नु माक्र्सवाद हो । तर, त्यो आलोचना ध्वंसका लागि होइन, सिर्जनाका लागि हुनुपर्छ । त्यो आलोचना अग्रगति र सामाजिक रूपान्तरणका लागि हुनुपर्छ ।
चौथो, कम्युनिस्टहरू रुढीवाद र अन्धविश्वासका विरोधी हुन्छन् । उनीहरू बोक्सी, भूतप्रेत, ईश्वरलगायत कुनै पनि अलौकिक शक्तिमा विश्वास गर्दैनन् । आफ्ना पुर्खाहरू मरेपछि बैतरणी तर्ने, स्वर्ग वा नर्क जाने कुरामा विश्वास गर्दैनन् । बरु, त्यसको स्थानमा प्रगतिशील संस्कार र मान्यता स्थापित गर्ने प्रयत्न गर्दछन् । तर, हामीकहाँ बिरामीलाई अस्पताल नलगेर धामी–झाँक्रीकहाँ लैजाने, मान्छे मरेपछि गौदानलगायतका दान गर्ने, पितृका नाममा पिण्ड दिने, अनि आफूलाई सच्चा कम्युनिस्ट भन्नेहरूको कमी छैन । भूतप्रेत मन्साउने, ग्रहदशा हेराउने र काट्नेहरू आफूलाई कम्युनिस्ट भन्दछन् । माक्र्सवादी सिद्धान्तअनुसार उनीहरू कम्युनिस्ट होइनन् । बरु, आध्यात्मिक दर्शनका अनुयायी हुन् ।
पाँचौँ, कम्युनिस्टहरू विज्ञान र अन्वेषणमा विश्वास गर्छन् । उनीहरू हरेक विषयमा प्रश्न गर्दछन् । कुनै पनि कुराको वैज्ञानिकता पुष्टि हुन प्रयोगको नतिजा खोज्दछन् । माक्र्सवादले ब्रह्माण्डका कैयौँ कुराको अन्वेषण हुन बाँकी नै रहेको तथ्यलाई स्वीकार गर्दछ । तर, कहिल्यै पनि काल्पनिक कुरामा विश्वास गर्दैन । कतिपयले मानव मस्तिकको क्षमता, भावना र मानिसको श्वासप्रश्वास प्रक्रियाको जटिलतालाई अलौकिक शक्तिसँग जोड्ने प्रयत्न गर्दछन् र कम्युनिस्टहरू त्यसको रनभुल्लमा पर्दछन् । तर, माक्र्सवादले त्यसमा पनि तथ्यको खोजी गर्दछ ।
छैटौँ, कम्युनिस्टहरू कुनै बहादुर, वीर वा शक्तिमा विश्वास गर्दैनन्, जनतामा विश्वास गर्दछन् । माओ त्सेतुङ भन्छन्, “इतिहासका निर्माता जनता हुन् ।” माओ यतिमै रोकिँदैनन्, उनी थप्छन्, “जनता पानी हुन्, अनि कम्युनिस्ट पार्टी माछा, पानीबिना माछाको अस्तित्व असम्भव छ ।” जनताले चाहेमा इतिहास बदल्दिन सक्छन् । जनता नै सार्वभौम हुन्छन् । हरेक अग्रगति वा अधोगतिमा जनताको भूमिका नै निर्णायक हुन्छन् । त्यसकारण, कम्युनिस्टहरूले जनताको जनमतको सधैँ सम्मान गर्नुपर्छ ।
सातौँ, कम्युनिस्टहरू निजी सम्पत्तिका विरोधी हुन्छन् । माक्र्सवादी सिद्धान्तको अन्तिम लक्ष्य हो निजी सम्पत्तिको अन्त्य । कम्युनिस्ट समाजको उन्नत चरणमा धनी र गरीबको भेद हुँदैन, गाउँ र सहरको भेद हुँदैन, शारीरिक श्रम र मानसिक श्रमको भेद हुँदैन । साम्यवाद त्यस्तो आधुनिक समाज हो, जहाँ मानिसहरू स्वतन्त्र रूपले उच्च नैतिक धरातलमा रहन्छन् । सत्ता सङ्घर्षमा पराजित पुँजीपतिवर्ग आफ्नो निजी सम्पत्ति फर्काउन अन्तिमसम्म लडिरहन्छ । त्यतिबेला कम्युनिस्टहरूसँग सत्ताको हतियार चाहिन्छ, जुन हतियार पुँजीवाद फर्काउन चाहने पुँजीपतिवर्गका विरुद्ध प्रयोग गरिन्छ । तर, पुँजीवादीहरू पार्टी बाहिर मात्र रहँदैनन्, कम्युनिस्ट पार्टीभित्र पनि हुन्छन्, तिनीहरू निजी सम्पत्तिका पक्षमा उभिन्छन् । उनीहरू पनि समाजवादका विरुद्ध उभिन्छन् । तसर्थ, कम्युनिस्टहरूले पार्टीभित्र र बाहिरका पुँजीवादीहरूसँग लडिरहनुपर्छ, व्यक्तिगत सम्पत्तिको विरोधमा उभिनुपर्छ ।
आठौँ, कम्युनिस्टहरू भिडमा होइन, सत्यमा विश्वास गर्छन् । कम्युनिस्ट सिद्धान्तको एउटा बलियो सर्त छ, ‘अल्पमत होस् । तर, सत्यको बाटो नछोड । तिमीसँग सत्य छ भने त्यो एकदिन शक्तिमा बदलिन्छ ।’ लेनिनको भाषामा ‘प्रतिकूलताभित्र अनुकूलता खोज्नु’ नै माक्र्सवाद हो । सत्य भुलेर भिडको पछि लाग्नेहरू कम्युनिस्ट हुन सक्दैनन् । त्यो मात्र असल कम्युनिस्ट हो, जसले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सत्यको वकालत गर्दछ ।
नवौँ, कम्युनिस्टहरूले धर्म र संस्कृतिलाई एक–अर्काका पूरक ठान्दैनन् । धर्म र संस्कृति एउटै होइनन् । धर्म कुनै अलौकिक शक्ति र दर्शनप्रतिको अन्ध समर्थन हो, जुन परिवर्तन हुँदैन । तर, संस्कृति समकालीन समाजको आर्थिक–सामाजिक परिस्थितिको उत्तरदेन हो, त्यो सधैँ गतिशील हुन्छ । धर्म कम्युनिस्ट पक्षधर वा विरोधी हुँदैन । तर, संस्कृति प्रगतिशील वा रुढीवादी हुन सक्छ । तसर्थ, कम्युनिस्टहरू हरेक वस्तु र घटनाक्रमभित्र रहेको धार्मिक पक्षमा अलग रहन्छन्, प्रतिगामी संस्कृतिको विरोध गर्दछन् र संस्कृतिका प्रगतिशील पक्षको वकालत गर्दछन् ।
दसौँ, कम्युनिस्टहरूले सांस्कृतिक रूपान्तरणबिना राजनीतिक रूपान्तरण टिक्न नसक्ने मान्यता बोक्दछन् । जुनकुनै राजनीतिक व्यवस्था पनि प्रगतिशील संस्कृतिको जगमा उभिएको छैन भने त्यो एकदिन ढल्छ नै । सांस्कृतिक रूपान्तरण भन्नाले मानिसको दार्शनिक चिन्तन र सोच्ने तरिकामा परिवर्तन हो । चिन्तनधाराको रूपान्तरणबिना गरिने संस्कृतिका पक्षको रूपान्तरणले मात्र साम्यवादी आदर्शको गुरुत्व बोक्न सक्दैन । यहाँ संस्कृतिको अर्थ दार्शनिक चिन्तन र विधारधाराको रूपान्तरणको प्रश्न हो ।
– लोकपाटी
Leave a Reply