सहरमा हराउँदै छिमेकीपन
- आश्विन २०, २०८३
जनवादी केन्द्रीयता कम्युनिस्ट आन्दोलनका नेता लेनिनले अगाडि सारेको सङ्गठनात्मक सिद्धान्त हो । यसलाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त पनि भनिन्छ । यो सिद्धान्तले कम्युनिस्ट पार्टी लडाकु, रचनात्मक र क्रान्तिकारी हुनुपर्ने मान्यता अघि सारेको छ ।
लेनिनवादी सङ्गठनात्मक सिद्धान्तले जनवादी केन्द्रीयताका ठोस विषयहरू सूत्रबद्ध गरेको छ । जनवादी केन्द्रीयताका अनुसार, व्यक्ति सङ्गठनको अधिनस्थ हुन्छ, अल्पमत बहुमतको अधिनस्थ हुन्छ, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ, पार्टीका सम्पूर्ण कमिटीहरू केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन्, केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ र महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरूको अधिनस्थ हुन्छ भन्ने मान्यता राख्दछ ।
लेनिनले सङ्गठनात्मक सिद्धान्तका रूपमा कम्युनिस्ट पार्टीको सदस्यताका लागि निश्चित सर्तहरू तोकेका छन् । कम्युनिस्ट पार्टीको सदस्यका लागि न्यूनतम् सर्तहरूमा पार्टीको नीति तथा कार्यक्रम मान्ने, पार्टीको निश्चित सङ्गठनमा बसेर काम गर्ने र पार्टीलाई नियमित लेबी तिर्ने रहेका छन् ।
सङ्गठनात्मक सिद्धान्तका आधार
(१) जनवादी केन्द्रीयता : उक्त सिद्धान्तअन्तर्गत पहिलो र महत्वपूर्ण बुँदा जनवादी केन्द्रीयता हो । जनवादी केन्द्रीयताभित्र दुईवटा कुरा पर्दछन्, जनवाद र केन्द्रीयता । जनवादबिनाको केन्द्रीयता वास्तवमा निरङ्कुशता हुन्छ । केन्द्रीयताबिनाको जनवाद पनि अराजकतावाद हुन्छ । त्यसैले जनवाद र केन्द्रीयता एक–अर्काका परिपूरक हुन् । न जनवादबिना केन्द्रीयताले सङ्गठनलाई राम्रो गर्छ न केन्द्रीयताबिनाको जनवादले पार्टीलाई अनुशासित तुल्याउँछ । यसरी सङ्गठनमा यी दुवै सिद्धान्तको समान महत्व छ ।
जनवादको अर्थ जनतन्त्र ‘प्रजातन्त्र’ हो । जनवादभित्र राय प्रकट गर्न पाउने अधिकार, विरोध गर्न पाउने अधिकार, प्रस्ट गर्न पाउने तथा चुन्न र चुनिन पाउने अधिकार आदि पर्दछन् । वास्तवमा सङ्गठनभित्रका सदस्यहरूको विचार प्रकट गर्ने अधिकार सबैलाई समान रूपमा हुन्छ । सबैका विचारहरूको निष्कर्ष नै निर्णय हो । त्यसप्रकारको निर्णय नै सही निर्णय हुन्छ । सङ्गठनभित्र आफूलाई चित्त नबुझेको कुराको विरोध गर्ने अधिकार पनि समान रूपमा रहन्छ । त्यसो नभएर यसो गर्दा के होला भनेर प्रस्ट गर्ने अधिकार पनि जनवादी अधिकार हो । म यो समितिमा अध्यक्ष, सचिव वा कोषाध्यक्ष बन्न पाउँ भन्ने अधिकार पनि सदस्यहरूलाई रहन्छ । चुन्न र चुनिन पाउने अधिकार पनि जनवादी अधिकार हो ।
यसरी जनवादी अधिकार भनेको आफ्नो मनमा लागेको कुरा सङ्गठनमा खुला हृदयका साथ राख्ने अधिकार हो । अर्काे शब्दमा भन्ने हो भने जनवाद भनेको आफ्नो मनमा उब्जेको कुरा खुला दिलले स्वतस्र्फूत रूपमा सङ्गठनमा राख्ने कुरा हो । पार्टी सङ्गठनमा जनवादको खाँचो भोको मान्छेलाई खानाको खाँचोजस्तै हुन्छ । तिर्खा लागेकोलाई पानीको जति आवश्यक छ, ठीक त्यही प्रकारले पार्टी सङ्गठनभित्र जनवादको खाँचो छ । पार्टी सङ्गठनलाई सही रूपले परिचालन गर्नका निम्ति जनवादी अधिकारको खाँचो पर्दछ । यसरी लेनिनवादी सङ्गठनात्मक सिद्धान्तभित्र जनवादको धेरै ठुलो महत्व छ । जनवादी अधिकारबिना पार्टी सङ्गठन पानीबिनाको माछासरह हुन्छ ।
यसरी नै केन्द्रीयताको अर्थ कर्तव्यपालन गर्नु हो । हामीले निरपेक्ष रूपमा जनतन्त्र, प्रजातन्त्र वा स्वतन्त्रता खोज्न हुँदैन । निरेपक्ष रूपमा स्वतन्त्रता द्वन्द्ववादसँग मेल नखाने कुरा हो । त्यसैले केन्द्रीयताको महत्व कम छैन । जनवादसँग केन्द्रीयता स्वतः जोडिन्छ । केन्द्रीयताभित्र निम्न कुराहरू पर्दछन् – व्यक्ति सङ्गठनको मातहतमा हुन्छ, अल्पमत बहुमतको, तल्ला समितिहरू उपल्ला समितिहरूको, सम्पूर्ण समितिहरू केन्द्रीय समितिको अधीनमा र केन्द्रीय समिति पनि सम्मेलन वा महाधिवेशनको अधिनस्थ हुनुपर्दछ ।
यसरी व्यक्ति कहिल्यै पनि सङ्गठनभन्दा माथि हुन सक्दैन । अल्पमतले आफ्नो बेग्लै मत हुँदाहुँदै पनि बहुमतको निर्णयलाई बिनासर्त लागू गर्नुपर्दछ । यसरी केन्द्रीयताबिना पार्टी सङ्गठनहरू परिचालित हुन सक्दैनन् । केन्द्रीयता भनेको अनुशासन हो । त्यसैले स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना हुनुपर्छ । अधिकार खोज्दा कर्तव्य पालन गर्नुपर्छ ।
(२) आत्मालोचना र आलोचना : सङ्गठनमा सबै सदस्यहरूले क्रमशः आफ्नो गल्ती र कमजोरीहरू बताउनुलाई आत्मालोचना भनिन्छ । आफ्ना कमजोरीहरू आफैद्वारा बैठकमा बताइने सिद्धान्त नै आत्मालोचना हो । यसरी आत्मालोचना गर्दा खुलस्त र नलुकाइकन आफ्ना गल्ती कमजोरीलाई महसुस गर्नुपर्छ । एकपटक आफ्नो कमजोरी बताएपछि त्यस उप्रान्त त्यसप्रकारको कमजोरी गर्नु हुँदैन । मान्छे असल बन्न, सङ्गठनलाई राम्रो बनाउन तथा असल समाजको स्थापना गर्न यो सिद्धान्तको ठुलो महत्व छ ।
आलोचना भनेको सङ्गठनभित्रका सदस्यहरूको गल्ती कमजोरी एकले अर्काको औँल्याइदिनु हो । यसरी आलोचना गर्दा साथी रिसाउला कि भनेर होइन, खुला दिलले उसका सबै गल्ती कमजोरीहरू बिनासङ्कोच औँल्याइदिनुपर्दछ । तर, यसो गर्दा डाहा र प्रतिशोधको भावना राखेर होइन, उसका वास्तविक गल्ती र कमजोरी बताइदिनुपर्छ । साथीलाई सुधार्नका लागि उसलाई गल्ती कमजोरीबाट जोगाउनका निम्ति र वास्तवमा उसलाई सही मार्गमा मार्ग प्रशस्त गराउनका निम्ति नै यो तरीका अपनाइन्छ ।
यसरी स्वयं आफ्ना गल्ती कमजोरी बताउने र अर्कोले पनि भुले, लुकाएका कमजोरी बताइदिनाले गल्तीबाट बच्नका लागि, व्यक्ति माथि उठ्नका निम्ति धेरै ठुलो बल पैदा हुनेछ । ऊ असल समाज निर्माणमा योग्य व्यक्ति अवश्य बन्ने छ । यसरी आलोचना र आत्मालोचनाको कसी लगाएपछि असल कम्युनिस्ट बन्न मद्दत पुग्नेछ । त्यसो गर्दा समाजका धेरै व्यक्तिहरू असल बने भने असल समाज निर्माण हुनेछ । असल समाज भनेको आदर्श समाज हो र आदर्श समाज भनेको न्यायपूर्ण समाज हो ।
(३) असल नेता चुन्ने तरीका : समाज र राष्ट्रलाई सुन्दर र आदर्श बनाउनका निम्ति सङ्गठनमा असल व्यक्तिहरू चुनिनु पर्दछ अर्थात् असल नेतृत्व चयन गर्नुपर्दछ । यसो गर्दा निम्न महत्वपूर्ण कुराहरूमा ध्यान दिनुपर्छ :
– इमानदारिता
– सक्रियता वा निरन्तरता
– समर्पित भावना
– रचनात्मक क्षमता वा कार्य दक्षता ।
असल व्यक्ति चयन गर्दा पहिलो कुरा इमानदारिता हो । जो व्यक्ति इमानदार छ, उसलाई नेतृत्वमा ल्याउँदा पार्टी र क्रान्तिका निम्ति बल पुग्छ । इमानदारितापछि पार्टीले निरन्तरतालाई प्राथमिकता दिनुपर्छ । आमूल परिवर्तन हुन शताब्दीयौँ लाग्न सक्छ । त्यसैले, निरन्तर रूपले सङ्गठनमा आजीवन लाग्ने मान्छेलाई चिनेर चुन्न कोशिश गर्नुपर्छ । नेतृत्वमा समर्पित भावना हुनैपर्छ । समर्पित भावनाका साथ सङ्गठनमा लाग्ने नेतृत्वले मात्र सङ्गठनलाई राम्रो बनाउन सक्छ । चौथो कुरा कार्य दक्षता हो । रचनात्मक क्षमता भएको व्यक्तिलाई नेता चयन गर्नुपर्दछ ।
यसरी लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको कुरा गर्दा जनवादी केन्द्रीयता, आलोचना, आत्मालोचना, नेतृत्वको चयनको प्रजातान्त्रिक अधिकारको सन्तुलनकारी भूमिकालाई सँगै राखेर बुझ्नुपर्छ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तले मात्र कम्युनिस्ट पार्टीलाई प्रजातान्त्रिक र अनुशासित राख्न सक्छ ।
– ‘लोकपाटी’ बाट
Leave a Reply