भर्खरै :

अल्गोरिदम र एआई – डिजिटल युगमा पुँजीवादको नयाँ हतियार

  • आश्विन २३, २०८३
  • नरेश खत्री
  • विचार
अल्गोरिदम र एआई – डिजिटल युगमा पुँजीवादको नयाँ हतियार

डिजिटल दुनियाँमा कामदार जनताको अवस्था
बिहानको मिर्मिरेदेखि साँझको झिसमिसेसम्म खेतबारीमा काम गर्ने किसान, गिटी–बालुवा, उद्योग–कारखाना वा इँटाभट्टामा पसिना बगाउने मजदुर, साना व्यापारी र साहुमहाजन, शिक्षक–प्राध्यापक, डाक्टर, इन्जिनियर, वकिललगायत काम गरिखाने जनताका लागि आज मोबाइल र सामाजिक सञ्जाल दैनिक जीवनको अनिवार्य हिस्साजस्तो बनिसकेको छ । दिनभरिको शारीरिक–बौद्धिक श्रमको थकानपछि साथीभाइ, आफन्तसँग जोडिन फेसबुक, टिकटक, युट्युब वा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा समय बिताउनु स्वाभाविक देखिएको छ ।
के हामीले गम्भीर भएर सोचेका छौँ ?
हामीले निःशुल्क चलाउने सामाजिक सञ्जालहरू वास्तवमा निःशुल्क हुन् त ? मोबाइलको त्यो सानो पर्दामा हाम्रै रुचिअनुसारका सामग्रीहरू कसरी आइपुग्छन् ? के कसैले अदृश्य रूपमा हाम्रो मनलाई नियन्त्रण गरिरहेको छ ?
पुँजीवादी व्यवस्थाले इतिहासका हरेक चरणमा कामदारवर्गको शोषण गर्न नयाँ–नयाँ प्रविधिको सहारा लिएको छ । विगतमा मेसिन र औद्योगिक कारखाना प्रयोग गरेर श्रमको दोहन गरिन्थ्यो भने आजको २१ औँ शताब्दीको डिजिटल युगमा अल्गोरिदम र एआई प्रयोग गरेर मजदुरवर्गको समय, ध्यान, चेतना र व्यक्तिगत सूचनाको दोहन भइरहेको छ । यसलाई डिजिटल शोषणभन्दा फरक पर्दैन ।
प्राविधिक जटिलतालाई सरल र व्यावहारिक रूपमा बुझौँ ।
-अल्गोरिदम – यो कम्प्युटर प्रणालीलाई दिइने एउटा निश्चित नियम वा निर्देशनको समूह हो । जसरी कारखानामा मालिकले मजदुरलाई ‘यो कामपछि यो गर’ भनेर आदेश दिएको हुन्छ, त्यसरी नै अल्गोरिदमले हामीलाई ‘कुन समयमा कुन भिडियो वा अन्य सामग्री देखाउने’ भनेर निर्णय गर्छ ।
-आर्टिफिसियल इन्टेलिजेन्स (एआई) – यो कम्प्युटर प्रणालीमा मानिसले जस्तै सिक्ने, विश्लेषण गर्ने र निर्णय गर्ने क्षमता विकास गराइएको प्रविधि हो । जसरी एउटा व्यापारीले ग्राहकको रुचि बुझेर व्यापार गर्छ, त्यसरी नै एआईले हाम्रो हरेक अनलाइन आनीबानी र गतिविधिलाई सूक्ष्म रूपमा विश्लेषण गरी लगत राख्ने गर्दछ ।
यी प्रविधि हाम्रै सुविधाको लागि बनेका जस्ता देखिन्छन् । तर, वास्तवमा यी त फेसबुक र गुगलजस्ता सिलिकन भ्यालीका बहुराष्ट्रिय कम्पनीहरूले अधिकतम नाफा कमाउनका लागि निर्माण गरेका डिजिटल औजारहरू हुन् । अल्गोरिदमले डिजिटल नियम तय गर्छ भने एआईले दिमागको रूपमा काम गर्दै हामीलाई मोबाइलको पर्दामा बाँधेर राख्छ ।
यदि हामीले कुनै प्रविधि निःशुल्क प्रयोग गरिरहेका छौँ भने हामी प्रयोगकर्ता मात्र होइनौँ , हामी आफैँ प्रयोग भइरहेका छौँ । बहुराष्ट्रिय आइटी कम्पनीहरूले हाम्रो समय र व्यक्तिगत सूचनाहरूलाई नाफामा रूपान्तरण गरिरहेका छन् ।
हाम्रो ‘सूचना’ र ‘समय’ को दोहन गरेर पुँजीवादले कसरी नाफा कमाउँछ ?
जब हामीले सामाजिक सञ्जाल चलाउँछौँ, अल्गोरिदम र एआईले हाम्रा हरेक स–साना अनलाइन गतिविधिहरूलाई सूक्ष्म रूपमा अध्ययन र अनुगमन गरिरहेका हुन्छन् ।
-हेर्ने समय – कुन सामग्रीमा हामी कति सेकेन्ड रोकियौँ ? हतारमा सा¥यौँ कि पूरा हे¥यौँ ?
-अन्तरक्रिया – कुन सामग्रीमा लाइक, कमेन्ट वा सेयर ग¥यौँ ? (यसले हाम्रो रुचि देखाउँछ)
-खोज कार्य – सामग्री खोज्ने ठाउँमा के शब्द बोलेर वा टाइप गरेर खोज्यौँ ?
यसरी प्राप्त भएका हाम्रो जानकारीलाई पुँजीपतिहरूले बहुराष्ट्रिय विज्ञापन कम्पनीहरूलाई बेच्छन् । अल्गोरिदम र एआईले हामीलाई ‘सामान किन्ने उपभोक्ता’ बनाउनका लागि रुचिअनुसारका विज्ञापनहरू देखाउँछन् । उदाहरणका लागि, अनलाइनमा सस्तो कपडा वा जुत्ता खोज्नेबित्तिकै हाम्रो मोबाइलको पर्दामा त्यसकै विज्ञापन आउने गर्छ । यसरी अल्गोरिदम र एआईको प्रयोग गरेर सोझा जनतालाई उपभोक्तावादी संस्कृतिमा फसाउने षड्यन्त्र भइरहेको देखिन्छ ।
फिल्टर बबल, भ्रामक सूचना र सामाजिक विभाजन
सामन्तवाद र पुँजीवादले कामदारवर्गलाई जात, धर्म, भाषा, क्षेत्र र लिङ्गका आधारमा समाजलाई विभाजित गरेर सधैँ आफ्नो सत्ता टिकाउँदै आएको हुन्छ । आज सामाजिक सञ्जालको एआईले यही ‘फुटाऊ र राज गर’ नीतिलाई डिजिटल रूपमा अगाडि बढाएको देखिन्छ ।
-फिल्टर बबल र इको च्याम्बर – अल्गोरिदमले हामीलाई मन पर्ने कुरा मात्र देखाउँदै जाँदा हामी एउटा अदृश्य डिजिटल घेराभित्र थुनिन्छौँ । यसले गर्दा समाजका वास्तविक वर्गीय मुद्दाहरू (महँगी, गरिबी, ज्याला, बेरोजगारी, भूमिसम्बन्धी समस्या) बाट ध्यान हट्छ र मानिसहरू काल्पनिक, धार्मिक वा साम्प्रदायिक बहसमा अल्झिन्छन् ।
-सनसनीपूर्ण र भ्रामक सूचना – सामाजिक सञ्जालमा एआईको मुख्य उद्देश्य प्रयोगकर्तालाई मोबाइलको पर्दामा अड्याइराख्नु हुन्छ । यसका लागि सत्य समाचारभन्दा डर, रिस, घृणा र अन्धविश्वास फैलाउने सनसनीपूर्ण नक्कली खबरहरूलाई अल्गोरिदमले फैलाउँछ वा भाइरल बनाउँछ । यसले कामदारवर्गभित्रै फाटो ल्याउने र प्रतिक्रियावादी सोचलाई बढावा दिन्छ ।
कार्ल माक्र्सले कम्युनिस्ट घोषणा पत्रमा लेख्नुभएको थियो – कामदार जनताका लागि धर्म अफिमजस्तै हो । आजको २१ औँ शताब्दीमा सामाजिक सञ्जालको (कु) लत अर्को नयाँ अफिम बनेको छ । कहिल्यै नसकिने छोटा–छोटा भिडियोहरू, एआईले यसरी डिजाइन गरेको हुन्छ कि मानिसले समय बितेको पत्तै पाउँदैनन् । यसले कामदारवर्गको वर्गीय चेतनालाई भुत्ते बनाउने र क्रान्तिको चेतनालाई निस्तेज पार्ने काम गरिरहेको देखिन्छ ।
यही प्रविधि कामदार जनताको निम्ति एउटा सकारात्मक सम्भावना हुन सक्दछ ।
प्रविधिलाई कामदारवर्गको सङ्गठन, सचेतना, माक्र्सवादी विचार र आन्दोलनको प्रचारका लागि प्रयोग गर्न सकिन्छ ।
आजको युगमा काम गरिखाने हरेक मानिसले यी व्यावहारिक कुराहरूमा ध्यान दिन आवश्यक छ ।
-वैचारिक र वर्गीय चेतना बढाऔँ – सामाजिक सञ्जालमा आफ्ना हक, अधिकार, श्रम ऐन, वर्गीय इतिहास र प्रगतिशील चेतना जगाउने सामग्रीहरू खोजेर हेरौँ र प्रचार गरौँ ।
-सचेत र आलोचनात्मक बनौँ – सामाजिक सञ्जालमा देखिएका भावनात्मक, धार्मिक वा उत्तेजक खबरलाई तुरुन्तै विश्वास वा सेयर नगरौँ ।
-सत्यको पुष्टि गरौँ – महत्वपूर्ण खबरहरूलाई आफ्ना सङ्गठन र आधिकारिक सञ्चारमाध्यमबाट क्रसचेक गरौँ ।
-डिजिटल (कु) लतबाट बचौँ – सामाजिक सञ्जाल चलाउने निश्चित समय तोकौँ । किताब पढौँ ।
-गोपनीयता रक्षा गरौँ – सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत विवरणहरू राख्दै नराखौँ ।
प्रविधिको दास नबनौँ ।
सामाजिक सञ्जाल, अल्गोरिदम र एआई आफैँ नराम्रा होइनन्, तर पुँजीपतिवर्गको हातमा हुँदा यी कामदारवर्गलाई अल्मल्याउने, विभाजन गर्ने, शोषण गर्ने र विकृति फैलाउने आधुनिक हतियार बनेका छन् । कामदार जनता प्रविधिको अन्ध–प्रयोगकर्ता वा दास नबनौँ । डिजिटल दुनियाँको पर्दापछाडिको पुँजीवादी खेललाई बुझ्ने प्रयास गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *