इमानदारिताका साथ देशको सेवा गर्ने सोचले काम गर्न सिक्नुपर्ने
- आश्विन २३, २०८३
भक्तपुर, २३ असोज । नेपाल मजदुर किसान पार्टी, चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ एकाइ समितिको आयोजनामा विजयादशमी २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले चाडपर्वका अवसरमा गाउँ, टोल तथा बस्तीमा सरसफाइ गर्ने, नयाँ–नयाँ पुस्तक पढ्ने र सिर्जनात्मक गतिविधिमा संलग्न भई चाडपर्व मनाउनुपर्ने बताउनुभयो । अरूको देखासिकी गरी अनावश्यक खर्च गर्न नहुने, मितव्ययिता अपनाउनुपर्ने तथा अत्यधिक मदिरापान र जुवातासबाट टाढा रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले वर्तमान सरकारले शिक्षा क्षेत्रमा भद्रगोल निम्त्याउन खोजेको आरोप लगाउँदै विद्यार्थीलाई अनुशासनमा राख्ने विषयमा विद्यालय र शिक्षकको भूमिकालाई कमजोर बनाउने खालका नियमले विद्यार्थीको व्यवहारमा नकारात्मक असर पर्नसक्ने बताउनुभयो । विद्यार्थीलाई अनुशासनमा राख्ने, कपाल काट्न लगाउने, विद्यालयको पोसाक लगाउने, कक्षाकोठामा शान्त र अनुशासित रहन तथा कक्षाकार्य र गृहकार्य गर्न प्रेरित गर्ने विषयमा शिक्षकलाई अवरोध गर्न नहुने उहाँको भनाइ थियो । यस्ता विषयमा उचित ध्यान नदिए विद्यार्थीमा उद्दण्डता बढ्ने र उनीहरूमा अनुशासनहीन व्यवहार विकास हुनसक्ने उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचन निकट भविष्यमा हुने उल्लेख गर्दै फोजूले सामाजिक सञ्जालमार्फत मतदातालाई प्रभावित पार्ने प्रयास हुनसक्ने भएकाले सबै नागरिक सचेत रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने दलका उम्मेदवारलाई जिताउन सकेमा मात्र जनताले सुख पाउँछन् ।”
कार्यक्रमका सभापति सूर्यबहादुर फोजूले नेमकिपाको सिद्धान्त र व्यवहार उत्कृष्ट रहेको बताउनुभयो । उहाँले पार्टीको विचार र व्यवहारको महत्व समयक्रममा स्थापित हुने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले दसैँ, तिहार र छठजस्ता चाडपर्वले नेपालीको पहिचान झल्काउने बताउनुभयो । उहाँले चाडपर्वलाई सामाजिक एकता, सद्भाव र मनोरञ्जनको रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो । चाडपर्वका नाममा ऋण लिएर फजुल खर्च गर्ने तथा अनावश्यक तडकभडक गरी सम्पत्ति नष्ट गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा आर. के. त्यातलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Leave a Reply