भर्खरै :

को थिए महिषासुर ?

  • आश्विन २८, २०८३
  • गौरी लङ्केश
  • विचार
को थिए महिषासुर ?

महिषासुर दैत्य थिए कि द्रविड ? उनले अरुलाई लुट्दै र मार्दै हिँड्ने आर्यहरूबाट आफ्ना जनताको रक्षा गरेका थिए । त्यसैले, उनी द्रविड शासक थिए । उनलाई बुझ्दै जाँदा उनीतिर ध्यान नदिइरहन सकिन्न । भारतको एउटा ठुलो सहर मैसुर उनकै नाममा राखिएको थियो । हिन्दू मिथकहरूमा उनलाई दैत्यको रूपमा चित्रण गरिन्छ । दुर्गा (चामुन्डी) ले उनको हत्या गर्नु सही थियो भनिन्छ । तर, लोकगाथाहरूले अर्कै कथा भन्छन् । अम्बेडकर र ज्योतिराव फुलेजस्ता क्रान्तिकारी चिन्तकले महिषासुरलाई उदार द्रविड शासक भनेका छन्† निर्दोष मानिसहरूको हत्या गर्दै लुटमार मच्चाउँदै हिँड्ने आर्य (सुरहरू) बाट आफ्ना जनताको रक्षा गर्ने महान् शासक भनेका छन् ।
इतिहासकार विजय महेशर भन्छन्, “संसारमा शान्ति र अमनचयन कायम गर्ने व्यक्तिलाई ‘माही’ भनिन्छ । (आर्य आक्रान्ताभन्दा फरक) रैथाने राजाहरूजस्ता थिए महिषासुर । उनीसँग १७७ जना बुद्धिमान सल्लाहकार थिए । उनको राज्य प्राकृतिक स्रोतसाधनले भरिपूर्ण थियो । उनको राज्यमा जथाभावी घिउ चढाउनुपर्ने खर्चिला यज्ञ वा धार्मिक अनुष्ठान गर्नुपर्दैनथ्यो । खानपान, मोजमज्जा वा धार्मिक अनुष्ठानमा चढाउन भनी बलिको नाममा जथाभावी पशुपन्छी काटिँदैनथ्यो । अझ अर्को महत्वपूर्ण कुरा के भने उनको राज्यमा कसैलाई पनि काम नगरी जीवन काट्ने छुट थिएन । उनको राज्यमा जथाभावी रुखबिरुवा काट्न पाइँदैनथ्यो । जथाभावी वन फँडानी रोक्नका लागि उनले धेरै कर्मचारीहरूलाई नियुक्त गरेका थिए ।”
इतिहासकार विजय भन्छन्, “महिषासुरका जनता धातुका औजार बनाउने प्रविधिमा पोख्त थिए ।” यस्तै विचार अर्को इतिहासकार एम.एल. रेन्सनको पनि छन् । रेन्सन भन्छन्, “इतिहासको आफ्नो गहन ग्रन्थमा विन्सेन्ट स्मिथले भारतको तामा युग र काँस्य युगको चर्चा गरेका छन् । प्राचीन भारतमा तामा र काँसका औजारको प्रयोग हुन्थ्यो । महिषासुरको समयमा भारतभरिबाट मानिसहरू औजार किन्न महिषासुरको देश धाउँथे । ती औजार गुणस्तरीय धातुबाट बनाइन्थे । लोककथाहरू केलाउँदा महिषासुरलाई विभिन्न वनस्पति र जडीबुटीको ज्ञान थियो । आफ्नो ज्ञानलाई उनी जनताको स्वास्थ्य सेवामा लगाउँथे ।”
गति गुतिला र गुणी राजालाई कसरी खलनायक बनाइयो ? किन बनाइयो ? यसको विषयमा विज्ञ शोधकर्ता योगेश मास्टर भन्छन्, “यसलाई बुझ्न सुर र असुरहरूबिच चलेको सांस्कृतिक सङ्घर्षलाई बुझ्नुपर्छ ।” उनी भन्छन्, “सबैलाई थाहा छ, असुरहरूको महिष राज्यमा ठुलो सङ्ख्यामा भैँसी पाइन्थ्यो । आर्यहरूको मूल धन गाई थियो । त्यसैले, तिनीहरूले पठाएकी दुर्गाले त्यही संस्कृतिविरुद्ध लडेकी थिइन् । भैँसी पाल्ने र गाई पाल्ने दुई संस्कृतिबिच सङ्घर्ष भयो । त्यो सङ्घर्षमा महिषासुर हारे । त्यसपछि उनका जनतालाई यो क्षेत्रबाट लखेटियो ।”
भारतको कर्नाटकमा महिषासुरको शासन थियो । यति मात्र होइन, यो भेगमा अरु असुर शासक पनि थिए । तिनको चर्चा गर्दै इतिहासकार विजय भन्छन्, “सन् १९२६ मा मैसुर विश्वविद्यालयले ‘भारतीय अर्थशास्त्र सम्मेलन’ को आयोजना गरेको थियो । त्यसको लागि एउटा नियम–पुस्तक प्रकाशित भयो । पुस्तकमा कर्नाटकभरि असुर मुखियाहरूका कैयन् गढहरू थिए भनिएको छ । उदाहरणको लागि गुहासुरले राजधानी हरिहरबाट शासन गर्थे । हिडिम्बासुरले चित्रदुर्ग र आसपासको इलाकामा शासक गर्थे । बकासुर रामनगरका शासक थिए । महिषासुर मैसुरका शासक थिए भन्ने त सबैलाई थाहा छ । यी सबै तथ्य हेर्दा आर्यहरू आउनुभन्दा अगाडि यो पूरै भूभागमा रैथाने असुर राजाहरूको शासन थियो भन्ने प्रस्ट हुन्छ । आर्यहरूले तिनकै राज्य खोसेका थिए ।”
ब्राह्मणवादी मिथकहरूमा असुरहरूलाई दैत्य÷राक्षसको रूपमा चित्रण गरिएको पाइन्छ । अम्बेडकर यस्तो चित्रणलाई निन्दा गर्थे । एक निबन्धमा उनी लेख्छन्, “रामायण र महाभारतमा असुरहरू मान्छे नै थिएनन् भनी चित्रण गर्नु सरासर गलत हो । उनीहरू पनि समाजमा बस्ने मान्छे नै थिए ।” ब्राह्मणहरूले आफ्ना देवतालाई टिठलाग्दा कायरहरूको जत्थाको रूपमा चित्रण गरेकोमा अम्बेडकर ब्राह्मणहरूलाई उपहास गर्छन् । सबै हिन्दू मिथकमा असुरहरूको हत्या विष्णु वा शिवले नभई देवीहरूले गरेका थिए भनिएको छ । जस्तो, दुर्गा (चामुन्डी) ले महिषासुरको हत्या गरेकी थिइन् । कालीले नरकासुरलाई मारेकी थिइन् । शुम्भ र निशुम्भ असुर दाजुभाइ थिए । तिनको हत्या दुर्गाले गरेकी थिइन् । वाणासुरलाई कन्याकुमारीले मारेकी थिइन् । त्यस्तै एक असुर रक्तबीजको हत्या शक्तिले गरेकी थिइन् । अम्बेडकर उपहास गर्दै भन्छन्, “लाग्छ, देवताहरूले असुरहरूबाट आफ्नो रक्षा आफै गर्न सक्दैनथे । त्यसैले आफूलाई बचाउन उनीहरूले आफ्ना स्वास्नीहरूलाई पठाए ।”
सुर (देवता) हरूले असुर राजाहरूको हत्या गर्न किन सधैँ आफ्ना पत्नीहरूलाई पठाए ? यसको कारण खुलाउँदै इतिहासकार विजय भन्छन्, “असुरहरूले कहिल्यै पनि नारीविरुद्ध हतियार उठाउने छैनन् भन्ने कुरा देवताहरूलाई राम्ररी थाहा थियो । यीमध्ये धेरैजसो नारीले छलपूर्वक असुर राजाहरूको हत्या गरेका थिए । लाज छोप्न पछि अनेक कथा रचियो । देवताहरूका यी हत्यारा पत्नीहरूका दस हात थिए, तिनीहरूसँग अद्भूत हतियार थियो भनियो । यस्ता कथा नाटक–नौटङ्की देखाउनलाई त रमाइलै होलान् । तर, असम्भव लाग्ने यस्ता कथालाई हटाएर हेर्दा भित्री अर्थ खुल्छ । ब्राह्मणवादी वर्गले यसरी रैथाने जनताको इतिहास तोडमोड गरे । आफ्नो दुनो सोझ्याउने उद्देश्यले उनीहरूले त्यसो गरेका थिए ।”
बङ्गाल, झारखण्ड र मैसुर आसपास आज पनि असुर समुदायको बसोबास छ । आफ्ना महान् र उदार राजाको हत्या गरेकोमा उनीहरू चामुन्डीलाई दोषी मान्छन् । दसैँलाई उनीहरू दासाँय भन्छन् । दसैँको बेला उनीहरू महिषासुरको आत्माको चिर शान्तिका लागि प्रार्थना गर्छन् । चामुन्डेश्वरी मन्दिरका मुख्य पुजारी श्रीनिवासले एकपल्ट मसँग भनेका थिए, “तमिलनाडुका कतिपय मानिसहरू वर्षको दुईपल्ट यहाँ आउँछन् र महिषासुरको मूर्तिसामु पूजा–आराधना गर्छन् ।”
केही वर्षयता भारतभरि नै असुरको विषय आक्रोशको मुद्दा बनेको छ । पश्चिम बङ्गालका आदिवासीहरू असुर संस्कृतिको विषयमा चर्चा परिचर्चा गर्दै छन् । भारतका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूमा असुरकै मुद्दालाई लिएर बहस–विमर्श गर्दै छन् । उस्मानिया र ककाटिया विश्वविद्यालयका विद्यार्थीले ‘नरकासुर दिवस’ मनाएका थिए । जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीले ‘महिषासुर दिवस’ मनाए । भारतका मानव संसाधन विकास मन्त्रीले त्यो कार्यक्रमलाई देशैभरि लोकप्रिय बनाएका थिए ।
महिषासुरलगायत असुर राजाहरूप्रति जनताको आकर्षण बढ्दै छ । यसलाई कसरी हेर्ने ? मिथक इतिहास होइन भनेर उम्किने ठाउँ छैन । किनभने, लोकगाथाहरू पनि हाम्रो अतीतकै दस्ताबेज हुन् । इतिहासकार विजय सटिक टिप्पणी गर्छन्, “मनुवादी÷ब्राह्मणवादीहरूले बहुसङ्ख्यक रैथाने जनताको समृद्ध सांस्कृतिक इतिहासलाई आफू अनुकूल तोडमोड गरे, विकृत बनाए । यो इतिहासमाथि लागेको धुलोमैलोलाई हामीले सफा गर्नुपर्छ† पुराणहरूमा लेखिएका झूटा कुराको भण्डाफोर गर्नुपर्छ† साधारण जनता र तिनका छोराछोरीलाई साँचो कुरा बताउनुपर्छ । अर्को बाटो छैन । यो बाटोमा हिँडेर नै हामीले आफूलाई वास्तविक इतिहासको सच्चा वारिस बनाउन सक्छौँ ।”
महिषासुरलगायत असुरहरूप्रति भारतभरि आकर्षण बढ्दै छ । हामी ठीक बाटोमा जाँदै छौँ ।
(गौरी लङ्केशको यो लेख सन् २०१६ फेब्रुअरी २९ गते ‘ब्याङ्लोर मिरर’ मा प्रकाशित भएको थियो । अर्को वर्ष सन् २०१७ सेप्टेम्बरमा ब्राह्मणवादी हिन्दूहरूले उनको हत्या गरेका थिए ।)
स्रोत – महिषासुर : मिथक और परम्पराएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *