प्रजग कोरियामा राष्ट्रिय रक्षा क्रान्ति सङ्ग्रहालयको उद्घाटन
- आश्विन २८, २०८३
हो ची मिन्ह सिटी, २८ असोज (एएफपी) । भियतनामले दशकौँ पुरानो युद्धका क्रममा मारिएका तथा बेपत्ता भएका सैनिकहरूको खोजी अभियानअन्तर्गत फेला परेका ७३१ जनाको अवशेषको बुधबार सामूहिक अन्त्येष्टि गरेको छ ।
हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फूल बोकेका थिए भने केहीले दिवंगत सैनिकहरूको आत्माको शान्तिका लागि प्रार्थना गरेका थिए ।
सैनिक अधिकारीहरूका अनुसार सन् १९६८ मा कम्युनिस्ट विद्रोहीमाथि गरिएको सैन्य कारबाहीका क्रममा मारिएका योद्धाहरूको अवशेष सहरस्थित ले थी रिएङ पार्कबाट उत्खनन गरिएको हो । उक्त स्थानमा व्यक्तिगत तथा सामूहिक चिहानहरू रहेको बताइएको छ ।
भियतनाम सरकारले युद्धमा बेपत्ता भएका सैनिकहरूको पहिचान र अवशेष खोज्न गत मार्चमा ५०० दिने राष्ट्रिय अभियान सुरु गरेको थियो । यसलाई देशको इतिहासकै सबैभन्दा ठुलो खोजी अभियानमध्ये एक मानिएको छ ।
सात लाखभन्दा बढी सैनिक अझै बेपत्ता
सन् १९४५ देखि १९७५ सम्म फ्रान्स र त्यसपछि अमेरिका तथा उसका सहयोगीहरूसँग भएका युद्धका क्रममा करिब १२ लाख भियतनामी सैनिक मारिएको अनुमान छ । देशभर करिब दुई लाख ३० हजार सैनिकका चिहानमा अझै पहिचान खुल्न नसकेको बताइएको छ । हजारौँ सैनिकका अवशेष दुर्गम जङ्गल, खेतबारी तथा पुराना युद्धस्थलमा गाडिएको अनुमान गरिएको छ ।
सरकारले सन् २०२७ जुलाईसम्म थप ७ हजार सैनिकका अवशेष फेला पार्ने लक्ष्य राखेको छ । यसका लागि भियतनाम, लाओस र कम्बोडियाका पुराना युद्धस्थलमा विशेषज्ञ तथा सैनिक परिचालन गरिएको छ ।
डीएनए परीक्षणबाट पहिचानको प्रयास
बेपत्ता सैनिकको पहिचान गर्न अधिकारीहरूले अवशेषबाट डीएनए नमुना सङ्कलन गरिरहेका छन् । साथै, पहिचान हुन नसकेका चिहानबाट नमुना लिने र सैनिकका आफन्तको आनुवंशिक विवरण सङ्कलन गरी राष्ट्रिय डीएनए डेटाबेस तयार गर्ने काम भइरहेको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार ले थी रिएङ पार्कबाट फेला परेका सैनिकमध्ये एक जना हुयन्ह भान क्वेनको पहिचान भइसकेको छ । सन् १९६८ मा युद्धमा सहभागी भएका क्वेनको अवशेषसँग भेटिएको नाम लेखिएको कागज र आफन्तको डीएनए परीक्षणका आधारमा उहाँको पहिचान गरिएको हो ।
तर समय बित्दै जाँदा अवशेष कुहिने र सैनिकका जीवित आफन्तको मृत्यु हुँदै जाने भएकाले पहिचान कार्य थप कठिन बन्दै गएको अधिकारीहरूले बताएका छन् ।
आफन्तका लागि अन्तिम आशा
६८ वर्षीय दोआन भान कोङले सन् १९५० मा फ्रान्सेली सेनासँगको युद्धमा मारिएका आफ्ना काकाको खोजीमा परिवारले वर्षौँ बिताएको बताउनुभयो । विभिन्न चिहानस्थलमा पुग्ने र प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने गरे पनि उनीहरूले अहिलेसम्म काकाको अवशेष फेला पार्न सकेका छैनन् ।
सरकारको पछिल्लो खोजी अभियानले भने परिवारमा नयाँ आशा जगाएको छ । कोङका अनुसार सरकारी अभियान आफन्तको अवस्थाबारे सत्य पत्ता लगाउने आफ्नो परिवारको ‘अन्तिम आशा’ बनेको छ । भियतनाम सरकारले युद्धमा बेपत्ता भएका सैनिकहरूको पहिचान गर्नु केवल प्रशासनिक काम नभई राष्ट्रप्रतिको कर्तव्य र मानवीय दायित्व भएको जनाएको छ ।
Leave a Reply