भर्खरै :

कुरीति र अन्यायको बारेमा चुप नलाग्ने हाम्रो आफ्नै परम्परा छ

कुरीति र अन्यायको बारेमा चुप नलाग्ने हाम्रो आफ्नै परम्परा छ

प्रजातान्त्रिक व्यवस्थाको देशमा सत्तालाई प्रश्न नगर, पुराना सबैको काम छैन, हामी जे गर्दै छौँ ठीक गर्दै छौँ नियतमा शङ्का नगरजस्ता भाष्य सृजना गरी आम मानिसको आवाज थुन्ने कोशिश भइरहेको छ । धर्म निरपेक्ष राज्यको सरकार प्रमुख र मन्त्रीहरूले अमुक धर्मलाई आम जनतामा लाड्ने दुष्प्रयास गरिरहेको अवस्था छ ।
पहिले पनि हामी यसरी नै विभिन्न भेला र जमघटमा भेट गर्दै आएका हौँ । तर, आजको यो जमघटलाई हामी अलि फरक बनाउने प्रयत्न गरौँँ भन्ने आग्रह हो ।
हिजो ख्वप अस्पताल, इन्जिनियरिङ कलेज, बहुप्राविधिक संस्थान, अन्य कलेज र संस्थाहरूका साथीहरूसँग सम्बन्धित क्षेत्रका विषयका बारेमा कुराकानी ग¥थ्यौँ । तर, हामीले आ–आफ्नो क्षेत्रलाई मात्र राम्रो बनाएर र त्यसका बारेमा मात्र चिन्तन गरेर सिङ्गो समाज उँभो नलाग्ने अवस्था सृजना भएको देखिन्छ । यही अवस्थाले के हामी विविध विषय र क्षेत्रसँग आबद्ध व्यक्तित्वहरू एउटा साझा चिन्तनको चौतारीमा भेला भएर सम–सामयिक विषय र समस्याका बारेमा चिन्तन मनन र भलाकुसारी गर्न सक्दैनौँ र भन्ने सोच्न बाध्य तुल्याएको छ । हामीमध्ये कोही प्राज्ञिक कर्म, कोही बौद्धिक कर्म, कोही शिक्षण कर्म, कोही पत्रकारिता कर्म, कोही जनताको सेवामा र अरु धेरै कर्मसँग आबद्ध छौँ । यी फरक कर्महरू देखिए तापनि हामी समाजबाट अलग्ग र टाढा भने छैनौँ ।
यही सेरोफेरोमा कुरा गर्दा म एन्टोनी ग्राम्सकीलाई सम्झन्छु । उनको परम्परागत र अर्गानिक बुद्धिजीवीको (Traditional and Organic intellectual) भिन्नतालाई स्मरण गर्छु । इटालियन माक्र्सवादी ग्राम्सकीका अनुसार सबै आ–आफ्नो पेसामा दक्ष हुन्छन् र उनीहरू आफ्नै पेसामा तल्लीन हुन्छन् । बिरामी जाँच्ने चिकित्सक र खेतमा बाली लगाउने किसान आ–आफ्नो कामका लागि दक्ष छन् र उनीहरू परम्परागत बुद्धिजीवी हुन् । तर, आफ्नो पेसागत दक्षता र कार्यबाहेक सार्वजनिक हितका लागि कार्य गर्ने बुद्धिजीवी जैविक बुद्धिजीवी हुन् । समाज बदल्न हामीलाई जैविक बुद्धिजीवीको आवश्यक हुन्छ ।
भारतीय इतिहासकार रोमिला थाप्पर र प्यालेस्टिनी विद्वान् एडवार्ड सइदको सार्वजनिक बुद्धिजीवी (Public Intellectual) को महत्वका बारेमा सम्झन्छु । थाप्पर सत्ता र यथास्थितिलाई जोड दिनुहुन्छ भने सइद निमुखा र आवाजविहीनहरूको प्रतिनिधित्व बुद्धिजीवीले गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
बेलायती इस्ट इन्डिया कम्पनीको भारती जनताविरुद्धका नीतिहरूको आवाज बुलन्द गर्ने राजा राममोहन राय र भारतमा आर्थिक राष्ट्रवादको जननी मानिने उद्योगपति दादाभाइ नाराओजीलाई सम्झन्छु । राय बङ्गाली थिए । भारतको पुनर्जागरणको प्रणेता मानिने रायले सती प्रथादेखि अन्य धेरै कुरीतिविरुद्धमा आन्दोलन चलाए । उद्योगपति नाराओजीले ब्रिटिस साम्राज्यको आर्थिक शोषणका कारण भारत र भारतीय जनता कङ्गाल हुनुपरेको भन्दै बेलायती साम्राज्यको विरोधमा आर्थिक राष्ट्रवादको झन्डा उचाले जसले गर्दा सन् १८८५ मा भारतीय राष्ट्रिय काङ्गे्रस गठन हुन मद्दत ग¥यो । भारतलाई बेलायती साम्राज्यबाट मुक्त गर्न सन् १९४७ मा त्यही भारतीय राष्ट्रिय काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेल्यो ।
त्यस्तै, युरोपको प्रबोद्धन र पुनर्जागरणको युग जसमा दार्शनिक, विद्वत वर्ग र चिन्तकहरूले तात्कालीन समाजमा मठाधीस र धर्म गुरुहरूले सृजना गरेको गलत भाष्यलाई चुनौती दिएका थिए । त्यही चुनौती र उनीहरूको अदम्य साहसले युरोपमा विज्ञानको युग सुरु हुन मद्दत ग¥यो । प्रवोद्धन युगका एक महान् दार्शनिक Private use of Reason / Public use of Reason लाई सम्झन्छु । कान्तका अनुसार आ–आफ्नो पेसागत कर्ममा निश्चित अवधिमा लाग्नु आफ्नो बुद्धि विवेकको निजी प्रयोग हो । तर, त्यस निश्चित अवधिपश्चात् जब सिङ्गो समाजका लागि उसले आफ्नो बुद्धि विवेकको प्रयोग गर्छ त्यो सार्वजनिक प्रयोग हो । सत्यको लागि विष पिउनु तयार हुने युनानी महान् दार्शनिक सुकरातलाई सम्झन्छु जसले युवाहरूलाई प्रश्न गर्न प्रेरित गरे ।
कुरीति र अन्यायको बारेमा चुप नलाग्ने हाम्रै आफ्नै परम्परा पनि छ । १०४ वर्षको राणा शासकलाई हाँक दिने यस्तै सार्वजनिक बुद्धिजीवीहरू हुन् । भक्तपुरको कुरा गर्दा वैश्विक परिवेशमा एसियाको एक निमुखा देश भियतनाममाथि अमेरिकी साम्राज्यवादले गरेको अत्याचारको विरोधमा यहाँका गल्ली र बजारहरूमा आवाज गुञ्जियो । त्रिविका पूर्वविद्वान् प्राध्यापक कमलप्रकाश मल्लले नेपालको बौद्धिक परम्पराका बारेको विशेष निबन्धमा भारतको मगधस्थित विक्रमशीला महाविद्यालयमा अध्यापन गर्नुहुने रत्न कृति, विरोचन र कनकश्रीजस्ता विद्वान्हरूका बारेमा चर्चा गर्नुभएको छ । मगधमा मुस्लिम शासकको आक्रमणपछि विक्रमाशिलाका अर्का विद्वान् पण्डित बुद्धश्री अथाह पुस्तक, अभिलेख र आफ्ना शिष्यहरूसँग नेपाल फर्केको (विशेष गरी भक्तपुर) अवस्था र प्रसङ्गलाई मल्लले युरोपको पुनर्जागरणको घटनासँग तुलना गर्नुभएको छ ।
नेपालको आजको राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, भूराजनीतिक र वैश्विक परिवेशमा व्यापक उत्तारचढाव आइरहेको तथ्यलाई हामीले टुलुटुलु मात्र हेरिरहन मिल्छ र ? प्रजातान्त्रिक व्यवस्थाको देशमा सत्तालाई प्रश्न नगर, पुराना सबैको काम छैन, हामी जे गर्दै छौँ ठीक गर्दै छौँ नियतमा शङ्का नगरजस्ता भाष्य सृजना गरी आम मानिसको आवाज थुन्ने कोशिश भइरहेको छ । धर्म निरपेक्ष राज्यको सरकार प्रमुख र मन्त्रीहरूले अमुक धर्मलाई आम जनतामा लाड्ने दुष्प्रयास गरिरहेको अवस्था छ । युवाको देश पलायन रोक्न सकेको छैन । जनताका दैनिकी समस्या झन्झन् विकराल हुँदै छ । तर, अल्गोरिडम रूपी टुना मुनाले आम मानिसलाई दिग्भ्रमित तुल्याउँदै छ । वैश्विक परिवेशमा आम नरसंहारक राज्यहरूको पक्षमा युवाहरूलाई मोहित पार्ने काम भइरहेको छ । यस्तो वर्तमान परिवेशमा हाम्रो भूमिका के हुनुपर्छ भन्नेबारेमा चिन्तन मनन गर्न ढिलाइ गर्नु हँुदैनजस्तो लाग्छ ।
(वर्तमान परिप्रेक्ष्यमा बौद्धिक व्यक्तित्वहरूको भूमिकाबारे मङ्गलबार असोज २७ गते आयोजित भेलामा निमन्त्रणकर्ताको तर्फबाट योगेन्द्रमान बिजुक्छेँले कार्यक्रमको औचित्यबारे प्रस्ट पार्दै दिनुभएको स्वागत मन्तव्य –सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *