भर्खरै :

जीवनको विश्वविद्यालय, दुःखको कसी र चेतनाको रूपान्तरण

  • कार्तिक १, २०८३
  • इकुश्रे
  • विचार
जीवनको विश्वविद्यालय, दुःखको कसी र चेतनाको रूपान्तरण

मानव सभ्यताको विकासक्रममा ज्ञानका दुईवटा धाराहरू निरन्तर बहँदै आएका छन्, एउटा औपचारिक शिक्षा वा पुस्तकीय ज्ञान र अर्को जीवनको जीवन्त अनुभव । मानिसले पुस्तक पढेर परीक्षा उत्तीर्ण गर्ला, ठुला–ठुला शैक्षिक उपाधिहरू हासिल गर्ला र समाजमा आफूलाई ‘विद्वान्’ वा ‘शिक्षित’ भनेर चिनाउला । तर पुस्तकीय ज्ञान सूचना र बुद्धिमत्ताको सङ्ग्रह मात्र हो । यो जीवनको साक्षात् अनुभूति होइन । पुस्तकले मानिसलाई पौडी कसरी खेल्ने भन्ने सिद्धान्त सिकाउन सक्छ तर पानीको गहिराइ, लहरहरूको वेग र डुब्ने डरको सामना गर्न त पोखरी वा नदीमै ओर्लिनुपर्छ  ।
जीवन आफैँमा एउटा विशाल र अजस्र विश्वविद्यालय हो । पुस्तकीय शिक्षाले मानिसलाई जीविकोपार्जनका लागि योग्य बनाउला, शैक्षिक योग्यता बढाउला, तर जीवनलाई परिपक्व र सार्थक बनाउने काम भने जीवनको पुस्तकले नै गर्छ । जर्मन दार्शनिक इम्मानुएल कान्टले भनेका थिए कि हाम्रा सबै ज्ञान अनुभवबाटै सुरु हुन्छन् । तर ती अनुभवहरू बाह्य संसारका तथ्याङ्क मात्र होइनन्, मानिसले आफ्नै अस्तित्वभित्र भोगेका र पचाएका यथार्थहरू हुन् । त्यसैले शैक्षिक योग्यता हुनु र जीवन परिपक्व हुनुमा आकाश–पातालको फरक छ ।
सामान्यतया मानिसहरू सुख, फाइदा, पद, प्रतिष्ठा र प्राप्तिलाई नै सफलता र जीवनको उपलब्धि मान्छन् । तर, दार्शनिक दृष्टिकोणबाट हेर्दा, सुख प्राप्तिले मानिसलाई परिपक्व होइन, प्रायः असावधान र निर्दयी बनाउँछ । सुखले मानिसलाई सुविधाको घेराभित्र थुनिदिन्छ, जहाँ चेतना सुप्त अवस्थामा रहन्छ । जब जीवनमा निरन्तर सुख र फाइदा मात्र मिल्छ, मानिसमा अहङ्कार र अज्ञानताको बाक्लो तह जम्न थाल्छ । जीवनलाई परिपक्व, गम्भीर र विशाल बनाउने असली कसी भनेका परिस्थितिवश सामना गर्नुपरेका दुःख, सङ्कट, बेफाइदा र गुमाइ हुन् । दुःख र सङ्घर्ष त्यो अग्निकुण्ड हो, जसले मानिसभित्रको कच्चा धातुलाई पखालेर शुद्ध सुन बनाउँछ ।
श्रीमद्भगवद्गीतामा श्रीकृष्णले जसको मन दुःख पर्दा विचलित हुँदैन र सुखमा जसको लालसा वा आसक्ति रहँदैन, त्यही मानिसलाई स्थिरबुद्धि वा परिपक्व मानिने कुरा बताउनुभएको छ । गीताका अनुसार दुःख भनेको आत्मालाई जगाउने र चेतनालाई अज्ञानताको निद्राबाट उठाउने धक्का हो । पाश्चात्य दार्शनिक आर्थर शोपेनहावरको विचारमा पनि दुःख जीवनको अनिवार्य र मूलभूत सत्य हो । सुख त दुःखको तात्कालिक अनुपस्थिति मात्र हो । दुःखले मात्रै मानिसलाई आत्मसमीक्षा गर्न बाध्य तुल्याउँछ । जर्मन दार्शनिक फ्रेडरिक नित्सेले पनि जसले मानिसलाई मार्दैन, त्यसैले उसलाई अझ बलियो र परिपक्व बनाउँछ भन्ने विचार व्यक्त गरेका थिए । बुद्ध दर्शनमा पनि ‘दुःख आर्यसत्य’ लाई प्रथम सत्य मानिएको छ । संसारको नश्वरता, प्रियजनको वियोग, र अनिच्छापूर्वक भोग्नुपर्ने सङ्कटहरूले नै मानिसलाई सांसारिक मोहबाट मुक्त गराई बुद्धत्व वा परम ज्ञानतर्फ दोहो¥याउँछन् ।
समाजमा पद र प्रशंसालाई उच्च स्थान दिइन्छ । तर विडम्बना के छ भने, पद र प्रशंसाले धेरैजसो मानिसलाई विवेकशील मानिस बनाउनुको सट्टा अहङ्कारी, स्वार्थी र पाप–कर्ममा प्रवृत्त गराएको देखिन्छ । जब मानिसलाई अधिकार, शक्ति र निरन्तर प्रशंसा मिल्छ उसमा ‘म’ भन्ने अहङ्कारको भ्रम यति विशाल हुन्छ कि उसले आफूलाई सर्वोपरि मान्न थाल्छ । ग्रीक दर्शनमा यसलाई ‘ह्युब्रिस’ अर्थात् अत्यधिक अहङ्कार र घमण्ड भनिएको छ, जसले अन्ततः मानिसको पतन गराउँछ । प्राचीन ग्रीक दार्शनिक प्लेटोले आफ्नो प्रसिद्ध ग्रन्थ ‘द रिपब्लिक’ मा अधिकार र पद पाउनेबित्तिकै मानिसको असली चरित्र प्रकट हुने चेतावनी दिएका छन् । शक्तिले मानिसको विवेकलाई अन्धो बनाइदिन्छ । यदि पदसँगै कडा नैतिक अनुशासन र ज्ञान भएन भने, शक्तिप्राप्त मानिस तानाशाह र पापी बन्न पुग्छ ।
पूर्वीय नीतिशास्त्रहरूमा सच्चा ज्ञानले नम्रता ल्याउने कुरा भनिएको छ । तर, जब ज्ञान वा पदले मानिसमा अहङ्कार र घमण्ड पैदा गर्छ, त्यो ज्ञान होइन, अज्ञानताको अभिव्यक्ति हो । गोस्वामी तुलसीदँसले रामचरितमानसमा अधिकार वा शक्ति पाएर घमण्ड नगर्ने मानिस संसारमा विरलै हुने उल्लेख गर्नुभएको छ । पद र प्रशंसाले मानिसलाई बाह्य रूपमा अग्लो त देखाउँछ तर आन्तरिक रूपमा उसको पतन गराउँछ । जब मानिस प्रशंसाको भोको हुन्छ, उसले सत्य बोल्न छाड्छ, चाटुकारितामा रमाउँछ र आफ्नो स्वार्थका लागि अरूको अधिकार खोस्न वा पाप कर्म गर्न पनि हिचकिचाउँदैन ।
उमेर बढ्नु वा बुढ्यौली आउनु केवल एउटा जैविक प्रक्रिया हो, तर उमेरसँगै ज्ञानी, निर्लोभी र नम्र बन्नु चेतनाको उच्च विकास हो । समयको प्रवाहसँगै मानिसहरूको जीवनयात्रा दुई फरक दिशातर्फ मोडिएको देखिन्छ । कतिपय मानिसहरू जीवनका अनेक थप्पडहरू खाएर, सुख–दुःखको घामछायाँ भोगेर र गुमाइको पीडा बुझेर ज्ञानी बन्छन् । उनीहरूलाई बोध हुन्छ कि यो संसार क्षणभङ्गुर छ । यहाँ न त पद स्थायी छ, न धन, न त यो शरीर नै । यस्तो आत्मबोध भएपछि उनीहरूभित्र लोभ, मोह र क्रोध पखालिन्छ । उनीहरू रूखजस्तै बन्छन्— जसरी फल लागेपछि रूख निहुरिन्छ, त्यसरी नै ज्ञान पाएपछि उनीहरू झन् नम्र, दयालु र निर्लोभी बन्छन् । ग्रीक दार्शनिक सोक्रेटसले “मलाई यति मात्र थाहा छ कि मलाई केही पनि थाहा छैन” भनेर जुन अभिव्यक्ति दिएका थिए, त्यो उच्च नम्रता जीवन र जगत्लाई गहिरोसँग बुझेपछि मात्र आउँछ । यस्ता व्यक्तिहरू आफ्ना गल्तीहरू स्वीकार गर्छन् र अन्तिम समयसम्म पनि आफ्ना आन्तरिक दोषहरू सफा गर्दै शान्त र तृप्त भएर इहलीला समाप्त गर्छन् । तर दुखद यथार्थ के हो भने, कतिपय मानिसहरू मर्ने बेलासम्म पनि सुध्रिँदैनन् । उनीहरूको उमेर त बढ्छ, तर चेतनाको स्तर जहाँको त्यहीँ रहन्छ । उनीहरू गलत बुझाइ, साँघुरो सोचाइ र क्षुद्र स्वार्थको घेराभित्रै बाँचिरहन्छन् । महाकवि भर्तृहरिले आफ्ना श्लोकहरूमा मानिसको यो चरित्रको सटीक वर्णन गर्दै लेख्नुभएको छ, शरीर जीर्ण भइसक्यो, कपाल पाक्यो, मुखका दाँत झरे, लौरोको सहारामा हिँड्नुपर्ने भयो तर पनि मानिसको मनभित्रको तृष्णा र लोभ भने नमरेर झन् बलियो हुँदै जान्छ । यो वर्गका मानिसहरू जीवनभर पद, पैसा र प्रतिष्ठाको पछाडि दौडिरहन्छन् । उनीहरूले भोगेका दुःखहरूबाट पनि उनीहरूले कुनै शिक्षा लिँदैनन्, बरु ती दुःखका लागि अरूलाई दोष दिँदै ईष्र्या र द्वेषमा जलिरहन्छन् । उनीहरूको साँघुरो सोचाइले उनीहरूलाई आफ्नै स्वार्थभन्दा बाहिर हेर्न दिँदैन । अन्ततः, जीवनको अन्तिम क्षणमा आइपुग्दा पनि उनीहरू पश्चात्ताप, अज्ञानता र मोहकै भुमरीमा परेर संसारबाट बिदा हुन्छन् ।
यस सत्यलाई इतिहास र दर्शनका विभिन्न दृष्टान्तहरूले पुष्टि गर्छन् । सम्राट अशोकसँग ठुलो साम्राज्य, असीम पद र प्रशंसा थियो । तर ती प्राप्तिहरूले उनलाई परिपक्व वा महान् बनाउन सकेका थिएनन् । कलिङ युद्धको भीषण संहार, मानिसहरूको आर्तनाद, मृत्यु र अपार गुमाइको सामना गरेपछि मात्र अशोकको चेतना बदलियो । दुःख र विनाशको त्यो प्रत्यक्ष अनुभवले उनलाई अहङ्कारी राजाबाट करुणावान् र बुद्धका अनुयायीमा रूपान्तरित गरिदियो । राजकुमार सिद्धार्थ गौतमसँग दरबारको सुख, वैभव र फाइदाका सबै साधन थिए तर ती सुखले उनलाई सन्तुष्टि दिएनन् । जब उनले जीवनका दुःख र क्षयशील रूपहरू देखे, तब मात्र उनीभित्र सत्यको खोजी गर्ने तीव्र व्याकुलता जाग्यो । दुःखको बोध नै उनको बुद्धत्वको प्रस्थानबिन्दु बन्यो ।
अर्कोतर्फ, महाभारतका पात्र धृतराष्ट्र जीवनको अधिकांश समय विवेकहीन पुत्रमोह, सत्ताको लालसा र चेतनाको साँघुरो सोचाइमा बन्दी बनेका थिए । विदुर र कृष्णजस्ता ज्ञानीहरूको निरन्तर उपदेश र कुरुक्षेत्रको विनाशकारी युद्ध भोग्दा पनि उनी लामो समयसम्म आफ्नो आन्तरिक
मोहबाट मुक्त हुन सकेनन् ।
यद्यपि जीवनको उत्तराद्र्धमा पछुतो र बोध भएपछि उनी तपस्याका लागि वनप्रस्थ गए तर समयमै सही विवेक प्रयोग गर्न नसक्दा उनले जीवनको ठुलो हिस्सा अज्ञानता र पश्चात्तापमै बिताउनुप¥यो  । धृतराष्ट्र ती मानिसहरूको प्रतीक हुन्, जो शक्ति र सुगम अवस्थामा छँदा मोह र गलत बुझाइमा रमाउँछन् र क्षतिको पराकाष्ठापछि मात्र चेत्छन् । यसको ठीकविपरीत, रोमन सम्राट तथा स्टोइक दार्शनिक मार्कस ओरेलियसले संसारकै सबैभन्दा शक्तिशाली साम्राज्यको शिखरमा रहेर पनि निरन्तर आत्म–समीक्षा र आत्म–नियन्त्रणको अभ्यास गरे । उनी मान्थे कि बाह्य परिस्थिति, पद वा मान–सम्मान मानिसको नियन्त्रणबाहिर हुन्छ† मानिसको आफ्नै मन, विवेक र विचार मात्र उसको वास्तविक हातमा हुन्छ । उनले जीवनका दुःख, दायित्व र प्रतिकूलताहरूलाई चरित्र निर्माण र चेतनाको परिपक्वता हासिल गर्ने मुख्य साधन मानेका थिए ।
पुस्तकीय ज्ञानले मानिसको मस्तिष्कलाई त तीक्ष्ण बनाउला, तर हृदयलाई विशाल र जीवनलाई परिपक्व बनाउने काम अनुभव र दुःखको कसीले मात्र गर्छ । सुख र प्राप्तिले मानिसलाई अल्छी र अहङ्कारी बनाउन सक्छ, तर दुःख गुमाइ र प्रतिकूल परिस्थितिले मानिसलाई गम्भीर, सहनशील र आत्मज्ञानी बनाउँछ । पद र प्रतिष्ठाको पछाडि दौडिएर अहङ्कारको दास बन्नु जीवनको सबैभन्दा ठुलो विपत्ति हो । उमेर बढ्नु मात्र सफलता होइन† उमेरसँगै लोभ, इष्र्या र साँघुरो सोचाइलाई त्यागेर ज्ञानी, निर्लोभी र नम्र बन्न सक्नु नै मानव जीवनको चरम सार्थकता हो । मानिसले जीवनको अन्त्य हुनुभन्दा अघि नै यो सत्यलाई बुझ्न जरुरी छ कि हामीले संसारबाट के पायौँ वा के जित्यौँ भन्ने कुरा महत्वपूर्ण होइन, बरु हामी कस्तो चेतना, कति नम्रता र कति आन्तरिक शान्ति लिएर बाँची बिदा भयौँ भन्ने कुरा नै प्रधान हो । जब मानिसले दुःखलाई शिक्षक, गुमाइलाई साधना र नम्रतालाई आफ्नो गहना मान्न थाल्छ, तब मात्र उसको जीवन साँच्चिकै परिपक्व र वन्दनीय बन्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *