भर्खरै :

जय खुसी !

जय खुसी !

हास्यव्यङ्ग्य
जय होस् हामी सम्पूर्ण खुसी जनताको ! जय होस् यो खुसीदाता गणतन्त्रको !
आजकल देशमा जता हे¥यो उतै आनन्द छ, जे सुन्यो त्यही कुरा परमानन्द छ । बाटामा हिँड्ने भुस्याहा कुकुरदेखि सिंहदरबारका कुर्सीसम्म सबै दङ्ग छन्, मस्त छन् । देशको विकास, ओरालो यात्रामा ब्रेक नभएको गाडीजस्तै हुर्रिइरहेको छ भनेर कसैले भने पनि पत्याइँदैन तर कुरा साँच्चै त्यस्तै हो भने पनि यात्रुहरू चाहिँ झ्यालबाट हावा खाँदै मुस्कुराइरहेकै छन् । आखिर बिग्रियो चाहिँ के त ? सबथोक बिग्रेपछि त बिगार्ने पीरै सकियो ! ‘नालीमा नुहाउन सक्नेले फोहोर पानीसँग के डराउनु’ भनेजस्तै जब बिग्रनु नै नयाँ ‘सिस्टम’ बन्छ, तब नसच्चिनु नै सबैभन्दा ठुलो ‘डिसिप्लिन’ बन्ने नै भयो । त्यसैले त भन्न मन लाग्छ, अहिले हाम्रो प्रिय मुलुकमा जहाँ पनि खुसी, जो पनि खुसी, जसरी पनि खुसी !
हाम्रा नयाँ पुस्ता अर्थात् ‘जेनजी’ बाबुनानीहरूलाई हेर्छु, आहा ! कति आधुनिक, कति प्रविधियुक्त ! यिनमा संस्कृतिप्रेम र देशप्रेम पनि होला कि भनेर त म के आस गरूँ ! यिनको संस्कृति भनेकै टिकटकको १५ सेकेन्डको मनोरञ्जन र देशप्रेम भनेकै ६/७ कक्षा पढ्दादेखि नै कुन देश जाँदा राम्रो हुन्छ भनेर चासो गर्नु भइसक्यो भनेमा ‘बढ्ता’ ठहरिने हो कि ! ‘काम गर्नेभन्दा कुरा गर्ने अगाडि’ भनेजस्तै यिनलाई धैर्य र परिश्रमको पाठ सिकाउन खोज्यो भने तिनले उल्टै सिकाउनेलाई नै मूर्ख ठान्छन् । ठान्ने मात्रै होइन, तुरुन्तै रिसाएर हान्न पनि बेर छैन ! यिनीहरूलाई घरमा तरकारी पकाउँदा पनि ‘इन्स्ट्यान्ट’ चाहिन्छ । विद्यालयमा परीक्षा दिनासाथ नतिजा पनि ‘इन्स्ट्यान्ट’ चाहिन्छ ।
अझ देशको सर्वोच्च निकाय मानिने संसद् भवनतिर आँखा डुलायो भने त अनुशासनको नयाँ परिभाषा नै देख्न पाइन्छ । राष्ट्रिय पोसाक दौरा–सुरुवाल र साडी–चोली त अब ‘सङ्ग्रहालयका वस्तु’ भइसके । ‘जस्तो राजा उस्तै प्रजा’ भनेझैँ जनप्रतिनिधिहरू नै ‘फेसन शो’ मा हिँडेजसरी जे मन लाग्यो त्यही ढल्काएर संसद छिरेपछि जनता कस्ता होलान् अब ! आफैँले नियम–कानुनको धज्जी उडाएपछिको अवस्थामा जनतालाई अनुशासनको उपदेश छाँट्न पनि त मिलेन ।
हुन त हो, नियम र अनुशासनको साङ्लोमा बाँधिन जसलाई पनि अप्ठ्यारो लाग्छ । मनपरी गर्न, छाडा बन्दै ‘आफ्नो हात जगन्नाथ’ गर्न जोसुकैलाई पनि सजिलो हुन्छ । अनि सजिलो काम पाएपछि मान्छे किन खुसी नहोस् ¤ त्यही भएर सरकार स्वयम् पनि के कम ! शिक्षा नियमावलीमै संशोधनको शुभ–मुहूर्त निकालेर विद्यार्थीहरूलाई ‘अनुशासनहीन’ बन्ने कानुनी अधिकार नै दिलाइसकिएको छ । उनीहरूलाई सजाय दिन पाइँदैन, हप्काउन पाइँदैन, पढ्न÷लेख्न करकाप गर्न पाइँदैन । अब त गृहकार्य नगरे पनि विद्यार्थी खुसी, कक्षाकोठामा शिक्षकलाई जिस्क्याउन पाए झनै खुसी ! तर सोच्नुस् त, ‘बाँस निहुरिन्छ, काठ मोडिन्न’ भनेजस्तै उमेरमै ‘डिसिप्लिन’ नसिक्ने आजका विद्यार्थी यसरी नै अराजक बन्दै गए भने भोलिको देश कसरी सभ्य र अनुशासित बन्न सक्ला ? खैर, भोलिको चिन्ता कसले गर्छ र ! आज त सबै जना खुसी नै छन् !
देश विकासका लागि काम गर्नुपर्छ भन्छन् ज्ञानीहरू । तर काम गर्न कहाँ सजिलो छ र ? बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म अफिस खोलेर हप्तामा ६ दिन काम गर्ने चलन राम्रै थियो । यसैबिच हाम्रा नीतिनिर्माताहरूलाई अचानक ‘सुविधाको भूत’ चढ्यो र निर्णय गरिदिए, अब अफिस ९ः०० बजे नै खुल्छ ! आइतबार पनि बिदा ¤ यस्तो भएपछि हप्तामा दुई दिन बिदा त भयो तर न त ९ः०० बजे अफिस खोल्न कर्मचारी पुग्छन् न त सेवा लिन सेवाग्राही नै पुग्छन् ।
सेवाग्राही र सेवादायक दुवैको केमेस्ट्री कस्तो मिलेको ! कर्मचारी घरमा चियाको चुस्की लिँदै सोचिरहेका हुन्छन्, “अहिले गएर के गर्नु, हाकिम सा’ब आउनुभएकै छैन होला !’ अनि सेवाग्राही सोचिरहेका हुन्छन्, “अहिले गएर के गर्नु, कर्मचारीले चिया पिएर सकेकै छैनन् होला !” परिणामतः ९ बजे खुल्ने भनिएको अफिस १०ः३० बजेसम्म त खाली नै हुन्छ । खाजा खान एकडेढ घण्टा ! एक जना कर्मचारी नआए फाँटै रित्तो ! अलि भिडभाड भए ‘सिस्टमले कामै गरेन’ ! ‘ज्येष्ठ नागरिक अनलाइनबाट काम गर्न अभ्यस्त भएका हुँदैनन्, उनीहरूको आँखा कमजोर हुन्छ’ भन्ने कुरा कर्मचारी प्रशासनलाई थाहा पनि हुँदैन । यो जमानामा सिकाएर साध्य पनि नहुने । जे होस्, ढिलासुस्ती र झन्झटका अनुभव धेरैका छँदै छन् ।
तर, ९ बजेको नाम भजाएर हाजिरी खातामा हस्ताक्षर गर्न पाएपछि हाम्रा राष्ट्रसेवक कर्मचारीहरू कति खुसी ! अझ शैक्षिक संस्थाहरूको त कुरै छाडौँ । पहिले नै वर्षमा आधा समय बिदा हुने हाम्रा विद्यालयहरूमा झन् नयाँ–नयाँ बिदा थपेर वर्षभरि नै ‘बिदा महोत्सव’ मनाइए जस्तो हुँदै छ । यस्तो भएपछि पढाउने शिक्षकलाई पनि आनन्द, पढ्नै नपर्ने विद्यार्थीलाई पनि परमानन्द ¤ दुवै पक्ष अति खुसी !
अब आउँछ अर्को क्रान्तिकारी सुधार ! हाम्रो माध्यमिक तहको शिक्षामा ‘कम्प्युटर’ अनिवार्य बनाइने रे ! वाह ! क्या बात ! हाम्रो देश कृषिप्रधान हो । खेतमा मल छैन, सिँचाइको व्यवस्था छैन, बाउ–आमा खेतमा कोदालो खन्दै छन्, तर बाबुनानीहरू भने कक्षाकोठामा बसेर माउस घुमाउन र किबोर्ड थिच्न पाउने भए ! यो कम्प्युटर शिक्षाले हाम्रो कृषिप्रधान देशलाई के–कति फाइदा देला त ? कम्प्युटरको स्क्रिन हेरेर खेतमा धान फल्ने हो कि, माउस थिचेर गहुँको भुस छुट्टिने हो ? झन् कम्प्युटर र इन्टरनेट राम्रोसँग सिकेपछि हाम्रा बाबुनानीहरू खेतबारीसम्म पुग्लान् त ! दालचामल किन्न जान नभ्याएर खाना नै अनलाइनबाट मगाउनुपर्ने होला ! हुँदाहुँदा– झन् छिटो ‘डीभी भर्न’, ‘भिसा हात पार्न’ र अनलाइनबाटै विदेश जाने तरिका खोज्न पो खप्पिस हुने हुन् कि !
सुविधा र खुसीको कुरा अझै छ : शिक्षकहरूलाई गाडी किन्नका लागि सहुलियत ऋण उपलब्ध गराइने रे ! हाम्रा गुरुबा–गुरुआमाहरू अब थोत्रा साइकल र पैदल यात्रा छाडेर चिल्ला गाडी चढेर स्कूल पुग्नेछन् । तर, अलिकति सोच्ने फुर्सद निकालौँ त— यस्तो व्यवस्थाले हाम्रो स्वदेशी पुँजी परिचालन भई देश विकसित हुने हो कि विदेशी पुँजीलाई चलायमान बनाई उसैलाई धनी बनाउने हो ? यसै पनि नेपालमा नेता बढी भएकाले गाडीको सङ्ख्या बढेको छ । तर, नेपालमा न त गाडी बन्छ, न त पेट्रोल नै निस्कन्छ । शिक्षकहरूलाई गाडी किन्न दिएको सहुलियत ऋणको पैसा सोझै विदेशी गाडी कम्पनीका खातामा पुग्छ । अर्थात्, हाम्रा शिक्षकहरूले गाडी चढ्दा स्वदेशी पुँजीको रगत चुसिएर विदेशी पुँजी चलायमान हुनेछ र उसैलाई झन् धनी बनाइनेछ ! तर के गर्नु, गाडी चढ्न पाउने भएपछि शिक्षक महाशयहरू खुसी ! ऋण काढेरै भए पनि बजेट विनियोजन गर्न पाए सरकार र मन्त्रीज्यूहरू खुसी !
समग्रमा हेर्दा, हाम्रो देश अहिले यस्तो मोडमा छ जहाँ परिणामको कसैलाई मतलब छैन, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भनेझैँ क्षणिक मज्जा र अल्छीपनमा रमाउन पाए पुग्यो । नियम तोड्न पाए नेता खुसी, अनुशासनहीन बन्न पाए विद्यार्थी खुसी, काम नगरी तलब भेट्टाए कर्मचारी खुसी, पढाउनै नपरे शिक्षक खुसी, अनि यस्तै–यस्तै रमिता हेरेर देश चलाउन पाएपछि सरकार झनै खुसी ¤ जताततै खुसी नै खुसीको सागर बगिरहेको छ ! अब देश विकसित होस् कि विनाशतिर जाओस्, त्यो भोलिको कुरा हो । जोरले नारा लगाऔँ, “अनुशासन हराइयोस्, जाँगरको काम पन्छाइयोस्, सुविधाको खोलो बगाइयोस् ! तर हाम्रा खुसीहरू यसरी नै अमर रहून् ! जय सरकार ! जय खुसी !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *