दाइ
- कार्तिक ७, २०८३
आउँछन् जान्छन् मान्छेहरू
आ–आफ्नो उद्देश्य लिई
हुलहुज्जत, भिड, जमातमा
ठेलमठेलामा अघिपछि
कोही गरगहना चुँडाल्न
कोही जनताको मन चोर्न
आउँदै छन् है हामी नयाँ भनी
हाइहेलो गर्दै, अङ्गालो मार्दै
अविश्वासी मान्छेहरू ।
अनुहार मान्छेको जस्तोसुकै किन नहोस्
सेतो, गोरो, कालो नै
हँसिलो, मलिन, रातो गाला
व्यवहार गलत गर्छ भने
उद्देश्य नराम्रो लिन्छ भने
जता गयो उतै ठिक्क पार्ने
विचार सिद्धान्तविहीनलाई
कहिल्यै साथ नलिनु बेस
अविश्वासी मान्छेहरू ।
भन्थे पुर्खाले उहिलेदेखि
दुई अनुहारसँग सङ्गत नगर्नु
लोभीपापी हुन्छन् उनै
आफ्नोबाहेक सोच्दैनन्
बाठो, चाप्लुसी गर्छन् उनै
देखावटी भलादमी बन्छन् उनै
अविश्वासी मान्छेहरू ।
भाइ भाइ फुटाएर लुट्ने मान्छे
देशभन्दा मालिक रिझाउने
जनताको हितभन्दा आफ्नै सोच्ने
कठपुतली नौटङ्की
चटकेझैँ जनतामाझ
अविश्वासी मान्छेहरू ।
मेलापात चाडपर्व
जहाँ जनमानस हुन्छ
ताल न बेतालले बजाउँछन् बाजा
बेहोसीमा नाच्छन् उही बेला
भोज भत्तेरको परिकारमा
नुन चर्को भएझैँ
अविश्वासी मान्छेहरू ।
सचेत जनताले धिक्कार्छन्
दुई अनुहारे दुई जिब्रे
आँखा लोभी मनपापी भस्मासुर देख्दा
हात्ती छाप चप्पल र हात्ती
उस्तै उस्तै हुन नानी भनेझैँ
झुक्याउने उसको नियति नै
अविश्वासी मान्छेहरू ।
Leave a Reply