भर्खरै :

सहरी बाढीबारे एक चर्चा

सहरी बाढीबारे एक चर्चा

एक्काइसौँ शताब्दीमा विश्वले नै भोगिरहेको र दिनानुदिन बढ्दै जानु एक गम्भीर विषय हो – सहरी बाढी (Urban flooding) ! बाढी भनेपछि खोला र नदी आसपासका क्षेत्रको समस्या भनिन्थ्यो तर अब यो स्थिति रहेन । केही दशकअगाडि वर्सात्को बेला बाढीले नदी र खोला किनारका बहाब क्षेत्रहरूमा असर गर्ने गरेको भए पनि क्षति सामान्य हुन्थ्यो । तर, आज भोलि विशेष गरी काठमाडौँ उपत्यकाको सडक, खुलास्थान, चोक, बस्ती र बजार आदि क्षेत्रहरूमा केही क्षणको वर्षाले समेत डुबानको समाचार निरन्तर आइरहेको छ । यसै सन्दर्भमा शताब्दी पुरुष सत्यमोहन जोशीको भनाइ राख्दा उपयुक्त होला “आजभन्दा ७० वर्षअगाडि १० दिनसम्म लगातार मुसलधारे पानी पथ्र्यो । त्यो बेला न कुनै मानवीय क्षति हुन्थ्यो, न कुनै भौतिक । हामीले विकास भन्दै आएका कुरालाई पुनरावलोकन गर्न अत्यावश्यक छ ।”
सहरी क्षेत्रहरूमा बाढी आउनु प्राकृतिक मात्र नभएर अहिलेको सहरी विकासको ढाँचाको कमी कमजोरी अथवा व्यवस्थापनमा समस्या भएर हो कि भन्ने प्रश्न उठेको छ । यो एउटा गहन छलफलको विषय भएको छ । यस्ता समस्याहरू देखिनुमा सहरी विकास योजना गर्दा वर्सात्को पानी र ढल निकास मात्र नभई खोला–नदीनालालाई यथोचित व्यवस्थापन गरी खुला क्षेत्रको संरक्षण, वातावरणीय सन्तुलन, बढ्दो आवादीअनुसारको ढल निकास प्रणाली आदिलाई जलवायु परिवर्तनका मुद्दाहरूलाई समस्तिगत (Holistic approach) रूपमा समेटिनुपर्ने देखिन्छ ।

मिल्ने खुला ठाउँमा नदि खोलालाई व्यवस्थापन गर्ने तरिकामिल्ने खुला ठाउँमा नदि खोलालाई व्यवस्थापन गर्ने तरिका

भक्तपुरको भाटभटेनी क्षेत्रमा बाढी
काठमाडौँ उपत्यका एउटा दह थियो भन्ने इतिहासमा पढेका कुरा हामी सबैलाई थाहा भएकै हो । कालान्तरमा आएर उपत्यकामा मानव बस्तीको विकास हुँदै तीनवटा प्रमुख नगरहरूबाट विस्तार हुँदै आजका दिनसम्ममा २१ वटा गाउँ, नगर, उपमहानगर र महानगरपालिकाहरू भइसकेको अवस्था छ । यी सबै पालिकाहरूमा जनघनत्व पनि तुलनात्मक रूपमा बढेको अवस्था छ । काठमाडौँ उपत्यकामा ठुला, साना र मध्यम गरी एक दर्जनभन्दा बढी नदी–खोलानालाहरू रहेको छ । तीमध्ये सात वटालाई प्रमुख खोलाहरू रूपमा लिइने गरिन्छ । यी सातवटा नदीसहित अन्य नदी–खोलानालाहरू वाग्मतीमा नै मिसिन्छ । साधारणतया यी नदी–खोलानालाहरूको पानी स्रोत अथवा मुहान भनेको उपत्यकाका पहाडपाखाका वनजङ्गल नै हुन् । यस दृष्टिकोणले काठमाडौँ उपत्यकाका डाँडाकाँडा र पहाडपाखाहरू एक किसिमको जलाधार हो भन्ने बुझ्न सकिन्छ । हिउँदमा यी नदी–खोलानालाहरू पानीको बहाब कम हुने र मनसुनी वर्षायाममा पानीको बहाब ठुलै बग्दछ । वर्षभरि पर्ने पानीको करिब ८० प्रतिशत मनसुनमा मात्र पर्ने गरेको विज्ञहरूको भनाइ रहेको छ । वर्सात्को समयमा अहिले यी नदीखोलानालाहरू आ–आफ्ना नियमित पानीको बहाब क्षेत्रको सीमालाई पनि पार गरेर धेरै क्षति पु¥याएको अवस्था छ ।
वर्सात्को पानी सोस्न फुटपाथमा रुख बिरुवा रोप्ने तरिका
सहरी क्षेत्रहरूमा बाढी आउनुको मुख्य कारण प्राकृतिक मात्र नभई मानव–सिर्जित कारकहरूको पनि भूमिका रहेको देखिन्छ । काठमाडौँ उपत्यकाका सहरहरूमा जनसङ्ख्याको वृद्धिसँगै कङ्क्रिटमय आवास र पूर्वाधारहरूको निर्माणमा तीव्र वृद्धि हुँदा भान्छा, बाथरुम र चर्पी आदिमा पानीको बढ्दो प्रयोगले नगर ढल प्रणालीमा चाप बढेको देखिन्छ । सोअनुसार ढल व्यवस्थापन प्रणालीमा सुधार र स्तरोन्नति नहुनु पनि एउटा कारक हुन सक्दछ । कालोपत्रे, कङ्क्रिट ब्लक, ढुङ्गा तथा ढलानजन्य निर्माण सामग्रीहरूको अत्यधिक प्रयोग बढ्नाले पानी जमिनमा सोसिन नपाउनु, जसले गर्दा कम समयमा ठुलो वा मुसलधारे वर्षा हुँदा सडकको सतहमा पानीको परिमाण बढ्नाले सहरी क्षेत्रमा बाढी आउनुको कारण हुन सक्दछ । सडक र बाटोहरूमा आकासे पानीको लागि छुट्टै निकास नहुनुका साथै घरबाट निस्किने फोहर पानीको निकास पनि एउटै ढल प्रणालीमा मिसिनाले सडक बाटोमा बाढी आउनुलाई प्रमुख कारक रूपमा लिन सकिन्छ ।
सहरी क्षेत्रमा बाढी आउनुमा निम्न कारणहरू हुन सक्दछ :
१. कमजोर ढल व्यवस्थापन प्रणाली र सहरीकरणमा कङ्क्रिटको वर्चस्व :
– सहरका सडक, खुला क्षेत्र, चोक र पार्किङ स्थलहरू कङ्क्रिट वा कालोपत्रे हुनाले वर्षाको पानी जमिनभित्र सोसिन नपाउनु र पानी सतहमा बग्नु ।
– नयाँ सहरी तथा बस्ती क्षेत्रमा वर्सात्को पानीलाई सङ्कलन गर्ने पोखरी, तलाउ, इनार आदि नहुनु र पुराना नगर बस्तीहरूमा वर्सात्को पानी सोस्ने बगैँचा, चौरजस्ता खुला क्षेत्र घट्दै जानु ।

वर्षात्को पानी सोस्न फुटफाथमा रुख बिरुवा रोप्ने तरिका

– सम्बन्धित निकायबाट नगरका ढल प्रणालीको अनुगमन र मर्मतसम्भार नियमित रूपमा नहुनु ।
– सहरका ढल निकास प्रणालीहरू पुराना र कमजोर हुनु साथै घरधुरीको सङ्ख्या बढ्दै जाँदा भान्छा, बाथरुम र चर्पी आदिमा पानीको बढ्दो प्रयोग भएको अवस्थामा ढलको क्षमताले धान्न नसक्नु ।
– प्लास्टिक जन्यवस्तुहरू, फोहोर–कसिङ्गर र हिलो–गेग्रान आदिले ढल थुनिँदा वर्सात्को पानी सडकमै जमेर बाढी आउनु ।
– वातावरणीय प्रभावको मूल्याङ्कन नगरी जथाभाबी प्लानिङ/प्लटिङका नाम अव्यवस्थित सहरीकरण र विभिन्न किसिमका निर्माण कार्यहरू गर्दा वर्सात्को पानी बग्ने प्राकृतिक बाटोमा अवरोध हुनु ।
२. प्राकृतिक र मानवीय कारणले नदी–खोला किनारका बहाब क्षेत्रहरू मिचिनु (Encroachment of Water Flow Areas) :
– सहरभित्रका प्राकृतिक खोलानाला, नदी र सिमसार क्षेत्रहरू (Wetlands) मिचेर बस्ती बसाइँदा नदीको बहाव क्षेत्र साँघुरिनाले परिणाम स्वरूप छोटो समयमा परेको ठुलो वर्षा हुँदा बाढी बस्तीमा पस्नु ।
– नदी–खोलाको दायाँबायाँ निर्माण गरिएका रिटेनिङ पर्खाल (Retaining wall) को गलत डिजाइनले गर्दा पानीको बहाबको गति बढ्न जाने भएकोले बढी क्षति हुनु । (यति मात्र होइन नदी–खोलामा दुर्घटना वा अप्रिय घटना हुँदा यस्ता डिजाइनमा निर्माण गरिएका रिटेनिङ पर्खालबाट उद्धार गर्न कठिन भएको सर्वसाधारणको गुनासो रहेको कुरा सञ्चारमाध्यममा आउने गरेको छ ।)
– काठमाडौँ उपत्यकाका कतिपय नयाँ बस्तीहरूमा खोलानालाको प्राकृतिक बहाब मार्गलाई खुम्च्याएर वा पुरेर सडक/बाटो निर्माण गर्नाले वर्सात्को पानी सतहमै बग्नाले बाढी आउनु ।
३. जलवायु परिवर्तन (Climate Change) र भारी वर्षा :
– जलवायु परिवर्तनका कारण नेपालसहित अन्य मुलुकहरू (विश्वव्यापी) मा कम समयमा मुसलधारे वर्षा अर्थात् अत्यन्तै धेरै भारी वर्षा (loudburst/Extreme Rainfall) हुनाले सहरी ढल प्रणालीले धान्न नसक्नु ।

मिल्ने खुला ठाउँमा नदी खोलालाई व्यवस्थापन गर्ने तरीका
४. भौगोलिक, व्यवस्थापकीय र अन्य कारणहरू :
– नदी–खोलाको दायाँ बायाँ माटोको क्षयीकरण अर्थात् भू–स्खलन कम गर्न रुख बिरुवाहरू (जस्तै Willow, Weeping willow आदि) वृक्षरोपणमा कमी हुनु ।
– सहरी क्षेत्रमा रूख–बिरुवा र खुल्ला जमिन कम हुनाले पानीको बहाब गतिलाई ढिलो गर्न (Runoff delay) पानी सोस्ने (Perculation) क्षमतामा ¥हास आउनु साथै वर्सात्को पानीलाई सोस्ने प्राकृतिक उपायहरू र संयन्त्र अवलम्बन नगर्नु ।
– काठमाडौँ, बनेपा वा पोखराजस्ता उपत्यका (कचौराजस्तै आकार) का भू–बनोट (Topography) ले गर्दा बस्तीहरूमा चारैतिरबाट पानी बगेर तल्लो भागमा जम्मा हुने हुँदा बाढी आउने सम्भावना हुनु र यसको लागि जोखिम कम गर्न पूर्वानुमान र ठोस योजना नआउनु ।
– काठमाडौँ उपत्यकाको प्राकृतिक र परम्परागत भूमिगत जलभण्डारण प्रणाली बिग्रिनुले पनि बाढीको घटना बढ्नु ।
५. भू–उपयोग योजना (Land Use Planning) नक्साको कमी हुनु :
– सम्बन्धित निकायले जमिनको समय सापेक्ष र वैज्ञानिक वर्गीकरण गरिएको भू–उपयोग योजना नक्साको कमी हुनु । स्पष्ट भू–उपयोग योजना नक्सा नभएकोले बस्तीयोग्य, खेतीयोग्य, वनजङ्गल, सिमसार, औद्योगिक क्षेत्र आदि स्पष्ट रूपमा वर्गीकरण नहुँदा जथाभावी सहरीकरण र पूर्वाधार विकास निर्माण कार्य हुनु ।

सन्दर्भ : भक्तपुर नगरमा सहरी बाढी
भक्तपुर एउटा लामो इतिहास बोकेको प्राचीन नगर हो । भक्तपुर नगर भौगोलिक दृष्टिकोणले अग्लो जमिन (High ground) अर्थात् एक किसिमको डाँडा (Ridge) मा प्राचीन योजनाकार तथा निर्माणकर्ताहरूले योजनाबद्ध तरिकाले बस्ती बसाएको देखिन्छ । यस नगरको मानव बस्ती क्षेत्रलाई दक्षिण पूर्वमा हनुमन्ते र उत्तरमा कासाङ खुसी/खोलाको बाढीको पहुँचबाट सुरक्षित राख्न उच्च भागमा बसाइएको देखिन्छ जुन सहरी विकासको दृष्टिकोणले उत्कृष्ट मानिन्छ । यसका साथै ढल निकास प्रणालीको दृष्टिले पनि प्रभावकारी मानिन्छ । नगरको वर्सात्को पानी मात्र नभएर सम्पूर्ण निकास यही दुईवटा हनुमन्ते र कासाङ खुसी खोलामा मिसिन्छ ।

इँटा छापिएका भक्तपुरको एउटा बाटो

इटा छापिएका भक्तपुरको एउटा बाटो

करिब ३–४ दशकअगाडि भक्तपुरको सहरी क्षेत्रमा वर्सात्को समयमा पानी पर्दा सहजै बग्ने भएकोले खासै बाढीको समस्या नभएको भनाइ रहेको छ । यसो हुनुमा स्थानीय जल व्यवस्थापनको ज्ञान र प्रविधिको प्रयोगले गर्दा हुनसक्दछ । सडक बाटोहरूमा बाढीका समस्या कम गर्न वर्सात्को पानी सोस्ने (Recharge/percolation) का लागि नगरका विभिन्न स्थानमा पोखरी, जल कुण्ड, इनार, कुवाका साथै पर्याप्त खुला स्थानहरू बगैँचा, आगन, चोक, चौर आदिले भूमिगत जल भण्डारणको रूपमा काम गरेको देखिन्छ ।
अहिलेको अवस्थामा भक्तपुर नगर पनि सहरी बाढीबाट अछुतो रहन सकेन । माथि छलफल गरिए जस्तै भक्तपुरका पुराना नगर बस्तीहरूमा पनि वर्सात्को पानी सोस्ने बगैँचा, चोक, आगन, चौरजस्ता खुला क्षेत्र घट्दै जानु र घरधुरीको सङ्ख्या बढ्दै जाँदा भान्छा, बाथरुम र चर्पी आदिहरूमा पानीको बढ्दो प्रयोग भएको अवस्थामा विद्यमान ढल निकासको क्षमताले धान्न नसकेको वा बढी चाप भएको देखिन्छ । यसबाहेक सडक, बाटो, चोकहरू तथा विभिन्न पूर्वाधारहरूको निर्माण तथा पुनर्निर्माणमा ढुङ्गा, कङ्क्रिट ब्लक, कालोपत्रे तथा ढलानजस्ता सामग्रीहरूको अत्यधिक प्रयोगले गर्दा नगरमा बाढी आउनुको कारण हुन सक्दछ । हुन त ढुङ्गा तथा कङ्क्रिटजन्य निर्माण सामग्रीहरूले गर्मी याममा तापक्रम वृद्धि गर्न सहयोगी हुने भएकोले त्यस क्षेत्रमा बढी गर्मी महसुस हुने गर्दछ । नगरका पुराना घरहरूको प्लिन्थ लेवल (DPC/Plinth level) उचाइ बाटोभन्दा २’ देखि ३’ सम्म अग्ला हुन्थे तर अहिले नयाँ घरहरू निर्माण/पुनर्निर्माण गर्दा प्लिन्थ लेवल पहिलाको भन्दा होचो गरी बनाइएको देखिन्छ । यसले गर्दा क्षणिक परेको ठुलो वर्षाले पनि बाढी आएको देखिन्छ । यसका साथै वर्सात्को पानीको र घरबाट निस्किने फोहर पानी निकास एउटै ढल प्रणालीमा मिसिनाले ढल क्षमताले धान्न नसक्नाले सडक/बाटोमा बाढी आएको देखिन्छ ।
(लेखक हाल काठमाडौँ विश्वविद्यालयमा प्राविधिक परामर्शदाताको रूपमा कार्यरत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *