नेपालीहरू भारतविरोधी होइनन् – ५
- कार्तिक १५, २०८३
यही कार्तिक ६ र ७ गते (कौलाथ्व द्वादशी व त्रयोदशी) दुई दिन ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम गोल्मढीमा भव्य रूपमा सम्पन्न भयो ।
काठमाडौँ उपत्यकामा साहित्यिक कार्यक्रमहरू धेरै ठाउँमा हुने गर्छन् । तर, नेपालभाषा साहित्य तःमुंज्याजस्तो बृहत् र विभिन्न विषयका विज्ञहरूबाट आ–आफ्नो मातृभाषाबाट मन्तव्य र साहित्य वाचन हुँदैनन् । तःमुंज्याको डबलीमा देश विदेशमा घटेका घटना, परिघटना र साम्राज्यवादीहरूले अरु देशका खनिजहरू कब्जा गर्न कतै सैनिक हस्तक्षेप गरेको, कतै आर्थिक नाकाबन्दी गर्ने, कतै मैदान विद्रोह गराउने र कतै राष्ट्रपति र उनको जहानलाई डकैती शैलीमा अपहरण गरी लगेको विरोधमा आ–आफ्नो मन्तव्य दिने गरेको पाइन्छ । कथा, कविता, निबन्ध र गीतमार्फत देशमा भइरहेको अन्याय, अत्याचार, शोषण, दमन, भ्रष्टाचार र विदेशीको इसारामा शासन गर्ने दासहरूको विरोधमा पनि स्रोताहरू प्रशिक्षित हुने अवसर पाउने भएकोले तःमुंज्याको दबुलाई साहित्यिक दबुको रूपमा मात्र नलिई जनताले विश्वविद्यालयको रूपमा हेरेका छन् । जहाँ त्रि.वि., त्यहाँ सम्बन्धन प्राप्त क्याम्पस तथा अन्य विश्वविद्यालयहरूमा नपढाइने विषयहरूबारे पनि विज्ञहरूबाट स्रोताहरू प्रशिक्षित हुन्छन् । यस्तो महत्वपूर्ण बृहत् कार्यक्रम अझ बढी प्रभावकारी र व्यवस्थित होस् भन्ने ध्येयले व्यवस्थापनबारे केही सुझावहरू प्रस्तुत गर्न चाहन्छु ।
१. नेपालभाषा साहित्य तःमुंज्याको दबुमा विभिन्न विषयका विज्ञहरूबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिलगायतका विषयमा मन्तव्य दिनुका साथै इतिहासकार, पत्रकार, सीमाविद्, अर्थशास्त्री, डाक्टरहरूको साहित्य वाचन सुन्न नेवारहरू मात्र होइन गैरनेवारहरू पनि तःमुंज्याको कार्यक्रम हेर्न आउने गर्छन् । ती गैरनेवारहरूले नेपालभाषाबाट प्रस्तुत हुने कथा, कविता, गीत र विज्ञहरूको भाषण बुझाइदिने साथीहरूको बन्दोबस्त मिलाइदिए गैरनेवार स्रोताहरू अझ बढी प्रभावित हुने पुरानो अनुभव छ ।
२. काठमाडौँको टोखा, पाँगा, बलम्बु र काभ्रेको बनेपाबाट सांस्कृतिक टोलीहरू तःमुंज्यामा आउने गर्थे र भक्तपुरको बोडेसहित ठिमी र छालिङलगायत विभिन्न गाउँ ठाउँबाट सयौँ स्रोताहरू आउने गर्थे । भक्तपुर जिल्लाबाहिरबाट आएका साथीहरूलाई दिउँसोको खाजा र नाचगान टोलीलाई रातिको खानाको लागि सम्बन्धित क्षेत्रमा कार्यरत साथीहरूलाई जिम्मा दिइन्थ्यो । काठमाडौँका विभिन्न ठाउँका सांस्कृतिक टोलीहरू मात्र सहभागी नभएको होइन, दिउँसोको कार्यक्रममा समेत सीमित साथीहरू आएको देखिन्छ । त्यस्तै बोडे, ठिमी, कटुञ्जे, ताथली छालिङलगायतका साथीहरू पनि सांस्कृतिक कार्यक्रममा सहभागी हुने कुरा त के दिउँसोको कार्यक्रममा समेत कम सङ्ख्यामा मात्र आएको देखिन्छ । यसबारे समीक्षा गर्नु आवश्यक छ ।
३. साहित्यकार, पत्रकार, प्राध्यापक, वकिल र राजनैतिक व्यक्तित्वहरूलाई निमन्त्रणा दिन जाने र तःमुंज्याको दिन आउने अतिथिहरूलाई अतिथि सत्कारको लागि एउटा टीम बनाएर जिम्मा लगाइन्थ्यो ।
४. तःमुंज्याको दिउँसो र रात्रिको सांस्कृतिक कार्यक्रममा सहभागीहरूको लागि कतै असुविधा र अप्ठ्यारो महसुस हुन नपाओस् र सकेसम्म सबै सहभागीहरूलाई असजिलो महसुस गर्न नदिन स्वयम्सेवक टोली गठन गरी तालिम दिने गथ्र्यो ।
५. नेपालभाषा साहित्य तःमुंज्याको मुःगुठीमा भेगीय सदस्यहरू पनि हुने हुनाले चारै भेगका साथीहरूको उपस्थिति बाक्लो हुन्थ्यो ।
६. सांस्कृतिक कार्यक्रममा प्रस्तुत हुने विभिन्न विधामा अहिले जस्तो पुरस्कारको व्यवस्था नभएको बेलामा पनि पाँगा, टोखा, बोडे, कटुञ्जे, गुण्डु, छालिङ, ताथलीलगायतका ठाउँहरूबाट सांस्कृतिक विधाहरू देखाउन ल्याउँथ्यो । हरेक ठाउँमा सयौँको सङ्ख्यामा निमन्त्रण कार्डका साथै चन्दा पाय्ड पनि पठाउँथ्यो । यसले गर्दा सबै क्षेत्रका साथीहरूमा तःमुंज्याप्रति अपनत्वको भावना भएको देखिन्थ्यो ।
माथि उल्लेखित सुझावहरू कुनै नयाँ होइन । तःमुंज्याको स्थापनाकालदेखि मुः गुठी र ग्वसाखलका साथीहरूबिच छलफल गरी पुरानो रेकर्डमा केही नयाँ साथीहरूसमेतको टीम बनाई जिम्मेवारी दिने गथ्र्यो । अब हुने तःमुंज्यामा माथिका सुझावहरू कार्यान्वयन भएमा सबैको अपनत्वको भावना फेरि जाग्नेछ र सुनमाथि सुगन्ध हुनेछ ।
– बी.एन., एक शुभचिन्तक
Leave a Reply