भर्खरै :

नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारी र सही समाधानका उपायहरू – ४

  • कार्तिक १५, २०८३
  • नारायणमान बिजुक्छेँ (रोहित)
  • विचार विशेष
नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारी र सही समाधानका उपायहरू – ४

(हाल रास्वपा सरकारका जिम्मेवार व्यक्तिहरू तथा मन्त्रीहरूले बिनाअध्ययन र जानकारी नेपाल–भारत सम्बन्धका बारेमा गलत अवधारणा र अभिव्यक्ति दिँदै आएको हुँदा सबै पाठकको लागि नेपाल–भारत सम्बन्धका गलत समझदारीहरू र सही समाधानका उपायहरूको लागि
नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘नेपाल–भारत सम्बन्ध र भारत’ पुस्तकको खण्ड १ को अध्याय ३ लाई साभार
गरिएको छ –सं.)
श्रीमन नारायणले नेपाल र नेपाली जनतालाई बुझ्न सक्नुभएन वा उहाँको हरेक हेराइ र अध्ययन नकारात्मक हुने गर्छ अथवा उहाँले जानाजान बुझपचाउनुभएको छ भन्ने कुरो हाम्रो छलफलले नै प्रस्ट गर्नेछ । २७–२८ वर्षअघि नेपाल कम्युनिस्ट पार्टीका ती वल्ड गार्डहरू (पुराना कम्युनिस्टहरू) मध्ये कतिले बेलायती उपनिवेशवादविरोधी भारतीय जनताको आजादीको आन्दोलनमा भाग लिएका समर्थकहरू थिए । भारतीय ‘कामरेडहरू’ र भारतीय जनतासँगै मिलेर साम्राज्यवाद–उपनिवेशवाद र फासीवादको विरोधमा आवाज उठाएका थिए, त्यसैबेला नेपाली कम्युनिस्टहरू एक अर्थमा ‘माओवादी’ वा ‘चीन समर्थक’ थिए । त्यो विचारधारा नेपाली कम्युनिस्टहरूले नेपालको उत्तरी सीमाबाट वा चिनियाँ राजदूतावासबाट होइन, भारतीय माटोमै प्राप्त गरेका थिए । (नेपाल र चीनको राजदूतस्तरीय कूटनैतिक सम्बन्ध १९६० मा मात्रै भएको थियो ।) जे होस्, नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुनुमा भारतीय कम्युनिस्टहरू र भारतीय जनताको कम योगदान छैन । नेपाली कम्युनिस्टहरूले सुरुमा भारतमै बसेर माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा अध्ययन गरेका थिए, त्यो पनि चिनियाँ भाषामा होइन, बरु अङ्ग्रेजी, हिन्दी र बङ्गाली भाषामा (१९६० सम्म नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्तरका एकजना पनि कम्युनिस्ट नेतालाई चिनियाँ भाषा आउँदैनथ्यो ।) साथै १९५८ सम्ममा नेपालका सबैजसो जिल्लाका मुख्य–मुख्य सहर, बजार र गाउँ–गाउँमा कम्युनिस्ट सेलहरूमात्रै बनिसकेका होइनन्, बरु अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मान्यता प्राप्त एक केन्द्रीय समिति पनि बनिसकेको थियो । जसको धेरै विदेशी कम्युनिस्ट पार्टीहरूसँग सबभन्दा नजिकको सम्बन्ध थियो । नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकाल अर्थात् १९४९ देखि नै नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनता भारतको नेपाल नीतिको विरोधमा संसारको डबलीमा उभिसकेका थिए । सन् १९५९ को नेपालको पहिलो आम चुनावमा नेपाली काङ्ग्रेस सत्तामा आयो र भारतीय एकाधिकार पुँजीको दबाबमा उसले नेपालको अस्तित्वमै खतरा आउने सम्झौताहरू ग¥यो । यसकारण, नेपाली जनतामा भारतीय एकाधिकार पुँजीविरोधी भावना माथिल्लो अवस्थामा पुग्यो । ‘डाल्डाविरोधी प्रदर्शन’, गण्डक र कोसी सम्झौताको विरोधमा गरिएको ‘कालो दिवस’ त्यसका उदाहरणहरू हुन् । नेपाली जनतामा भारतको नेपाल नीतिप्रति व्यापक विरोध र नेपाल कम्युनिस्ट पार्टी एक राष्ट्रिय पार्टीको रूपमा विकास भइसक्दासम्म काठमाडौँमा चिनियाँ दूतावास खुलिसकेको थिएन । यसकारण, चिनियाँ दूतावासले मजदुर, किसान र विद्यार्थीहरूको बिचमा सेलहरू खोल्यो भन्ने कुरा श्रीमन नारायणको भनाइ साम्राज्यवादविरोधी नेपालीको वामपन्थी आन्दोलनलाई धमिलो पार्ने एक दुष्प्रयासमात्रै गर्नुभएको हो । उहाँको त्यस खोटो ठम्याइले नेपाली जनताको देशभक्तिपूर्ण प्रगतिशील आन्दोलनमा भारतीय जनताको योगदानलाई समेत हलुका पार्न खाजेको छ ।

सन् १९५९ को नेपालको पहिलो आम चुनावमा नेपाली काङ्ग्रेस सत्तामा आयो र भारतीय एकाधिकार पुँजीको दबाबमा उसले नेपालको अस्तित्वमै खतरा आउने सम्झौताहरू ग¥यो । यसकारण, नेपाली जनतामा भारतीय एकाधिकार पुँजीविरोधी भावना माथिल्लो अवस्थामा पुग्यो । ‘डाल्डाविरोधी प्रदर्शन’, गण्डक र कोसी सम्झौताको विरोधमा गरिएको ‘कालो दिवस’ त्यसका उदाहरणहरू हुन् ।

तर, जहाँसम्म चिनियाँ राजदूतावासले माओवादी साहित्यको वितरण र प्रचार गरेको कुरो हो, सबै देशका राजदूतावासहरू र मिसनहरूले आ–आफ्नो देश र सरकारको साहित्य प्रचार गर्छन्, जस्तो भारतीय राजदूतावासले गान्धी, नेहरू, संसदीय प्रजातन्त्र, रामायण, महाभारत, गीता र विनोवा भावेको साहित्यको वितरण र प्रचार गर्छ । यो त दुई देशबिचको कूटनैतिक सम्बन्ध र सांस्कृतिक सम्बन्धभित्रै पर्ने कुरा हुन् । चिनियाँ राजदूतावासले ‘पैसा’ वितरण गरेर ‘सेलहरू’ बनाएको कुरा त पूरै झूटमात्रै होइन, बरु यो श्रीमन नारायणको नेपाली जनताको क्रान्तिकारी आन्दोलनलाई बदनाम गर्ने एक कुचेष्टामात्रै हो । यस कुरालाई श्रीमन नारायणले हृदयदेखि अनुभव नगरेसम्म नेपाली जनताको मनमा पारेको त्यो घाउ आलै रहनेछ । अप्रत्यक्षरूपले उहाँ नेपाली राष्ट्रलाई नै चिनियाँ पैसामा बिक्ने ठानेर नेपाली जनतालाई ठुलो अपमान गर्नुहुन्छ । परराष्ट्र नीति र कूटनैतिक सम्बन्धबारे अलि कति पनि जानकारी राख्ने हरेक व्यक्तिलाई थाहा हुने कुरो हो कि हरेक राजदूतावासको खर्च सम्बन्धित दुवै देशका सरकारलाई थाहा हुने गर्छ । त्यसको अर्को जानकारी मुद्रा बजार र बैङ्कहरूलाई थाहा हुने गर्छ । चिनियाँ मुद्रा नेपाली बजारमा कहिल्यै प्रचलनमा आएको छैन । तर, ठीक उल्टो भारतको मुद्राबारे छ । हिजोसम्म नेपाली बजारमा भारतीय मुद्रा खुलारूपले चल्थ्यो । आज पनि व्यापारिक क्षेत्रमा व्यवहारिकरूपले त्यसको निषेध भएको छैन र बैङ्कको हिसाबले देखाउँछ कि भारतीय मुद्राको ठीक–ठीक हिसाब राख्न नेपाल अझ पनि असमर्थ छ । त्यसको मुख्य कारण ९० प्रतिशत नेपालको व्यापार भारतसँगै हुनु, खुला सीमा व्यवस्था र नेपाली र भारतीय जनताको सामाजिक र सांस्कृतिक सम्बन्ध हुनु हो । यसकारण, भारतीय राजदूतावासको अवैध रकमको हिसाब नेपाल सरकार राख्न सक्दैन । विज्ञापनको आधारमा अखबारहरूलाई पैसा दिनु कुनै नौलो कुरो होइन न त भारतीय दूतावास नै यस काममा चीन, उत्तर कोरिया, रुस र अरू देशको दाँजोमा पछाडि छ । त्यतिमात्रै होइन– भारतीय राजदूतावासमार्फत रामायण, महाभारत र अरू विषयका सिनेमा, डकुमेन्ट्री, सांस्कृतिक कार्यक्रम र प्रदर्शनीहरू गर्ने कुरामा, स्थानीय धार्मिक गतिविधिहरूमा, विभिन्न भारतीय संस्थाहरूबाट प्रत्यक्ष र अप्रत्यक्षरूपले दिने गरेको सहयोग र सहायतामा, नेपाली लेखक र कविहरूको एक निश्चित सङ्ख्यामा किताब किनी दिएर नेपाली साहित्यको विकासमा ‘योगदान’ गर्ने काममा (यस सहायतामा नेपालका केही पुराना प्रगतिशील र ‘माओवादी’ लेखक र कविहरूका रचनाहरू पनि समावेश छन्), स्कूल, कलेज, विश्वविद्यालय र पुस्तकालयजस्ता शिक्षण–संस्थाहरूलाई भवन निर्माण, किताब, पत्रपत्रिका र अरू सामान दिनमा, गरिब वा राम्रा छात्र–छात्राहरूलाई छात्रवृत्ति दिनमा नैतिक र भौतिकरूपले भारतीय दूतावास नेपालस्थित अरू सबै राजदूतावासभन्दा अगाडि छ । यसमा भारतीय दूतावासको तुलनामा अरूले मुस्किलले एक प्रतिशत गरेको होला । यस्ता सांस्कृतिक गतिविधिमा चाख नलिएकोमा काठमाडौँका केही माथिल्ला सर्कल (मण्डली) हरूमा चिनियाँ राजदूतावासको ‘निष्कृयतालाई बोधोपना’ को संज्ञा दिएका थिए । तर, त्यसले चिनियाँ दूतावासको शैलीमा कुनै फरक आएन । तर, भारतीय दूतावासको सांस्कृतिक गतिविधिमा कहिलेकाहीँ खास राजनैतिक उद्देश्य लिएर स्कूलको भवन निर्माण र पिउने पानीको निम्ति बोरिङ गर्न क्रस चेकसमेत प्रदान गरेर नेपाल सरकारलाई समेत अप्ठ्यारोमा पारेको थियो । नेपाल र भारतको पुरानो मित्रताले गर्दा भारतीय राजदूतावासबाट बरोबर तेस्र्याउने अप्ठ्याराहरू नेपाल सरकारले पचाउँदै आएको देखिन्छ र नेपाली जनताको निम्ति यो नौलो र गुप्त कुरो पनि होइन । यसलाई नेपाली जनताले भारतीय दूतावासको ‘खुला’ कूटनीतिकै रूपमा लिइसकेको छ । तर, श्रीमन नारायणजीमा नेपाल–चीन सम्बन्धबारे ‘अरूको आङमा जुम्रा देख्ने, आफ्नो आङमा भैसी नदेख्ने’ दृष्टिदोष देखिन्छ ।
भियतनामी जनता एसियाका बहादुर र स्वतन्त्रताप्रेमी जनता हुन् । हजार वर्षभन्दा पहिलेदेखि भियतनामी जनता विदेशी हस्तक्षेप र साम्राज्यवादी आक्रमणको विरोधमा सङ्घर्ष गर्दै आएको इतिहास छ । यस शताब्दीको तेस्रो दशकदेखि भियतनामी जनता आफ्ना महान् नेता हो चि मिन्हको नेतृत्वमा फ्रान्स, जापान, संरा अमेरिका र अरू विभिन्न साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूको आक्रमण र हस्तक्षेपको विरोधमा जीवनमरणको सङ्घर्ष गर्दै आफ्नो राष्ट्रिय स्वाधीनता र मुक्तिलाई प्राप्त गरे । भियतनामी जनताको त्यस देशभक्तिपूर्ण सङ्ग्रामले ठूलो र बलियो देशको विरोधमा स–साना र निर्बलिया राष्ट्रहरूले पनि आफ्नो स्वतन्त्रता कायम गर्न सक्छ भन्ने एक ज्वलन्त उदाहरण संसारका जनताको अगाडि देखाइदियो । त्यो युद्ध भियतनामी जनताको देशभक्ति र चेतनाको विकासको एक अभिव्यक्ति हो । भियतनामी जनताको त्यस्तो महान् देशभक्तिपूर्ण सङ्घर्षलाई श्रीमन नारायणले चिनियाँहरूले फसाएको ‘अन्तहीन गुरिल्ला युद्ध’ सम्झनु भियतनामी जनताको आफ्नै देशभक्तिपूर्ण सङ्घर्षलाई हिलोछ्याप्नु हो । उहाँको त्यस ठम्याइबाट उहाँले सरासर संरा अमेरिकी साम्राज्यवाद र सैगोनको प्रतिक्रियावादी सरकारको सेवा गर्नुभयो । तर, भियतनामी जनता यसकारणले बडो भाग्यशाली छन् कि चिनियाँ जनताले जस्तै भारतीय जनताबाट पनि आफ्नो देश र जनताको न्यायोचित सङ्घर्षमा समर्थन पाए । तर, भारतकै श्रीमन नारायणजस्ता एक जिम्मेवार व्यक्तिको आँखामा त्यो युद्ध ‘चिनियाँ कम्युनिस्टहरूले’ गरेको ‘सार्वभौमिकतालाई छिन्नभिन्न पार्ने’ एक कोसिसमात्रै रह्यो । यस मानेमा उहाँले भारत र भारतीय जनताको साम्राज्यवादविरोधी भावनालाई प्रतिनिधित्व गर्न सक्नुभएन । लाखौँ–लाख भियतनामी जनताको त्याग, तपस्या र बलिदानले विजय प्राप्त गर्दै गएको रक्तरञ्जित क्रान्तिलाई चीनको ‘उक्साइ’ मात्र सम्झनु एकातिर भियतनामी जनताको अपमान थियो भने अर्कोतिर भारतीय जनताको साम्राज्यवादविरोधी परम्परामा एक कलङ्क थियो । तर, खुसीको कुरो छ, हाम्रो युग प्रगति उन्मुख छ, भारत सरकारको भियतनाम नीति श्रीमन नारायणको रायविपरीत गयो, भियतनामी जनता मुक्त भए, भारतीय जनताको समर्थन खेर गएन । यसले थाहा हुन्छ कि स्वतन्त्रता र मुक्ति आन्दोलनबारे श्रीमन नारायणको दृष्टिकोण उपनिवेशवादी छ, सम्भवतः उहाँमा यो दृष्टिकोण बेलायती उपनिवेशवादकै प्रभाव हुनुपर्छ, स्वतन्त्र भारतको होइन ।
त्यस्तै ‘सानो र सैनिकरूपले निर्बलियो’ नेपालले कोसित डराउनुपर्नेरहेछ भन्ने कुरो समयमै बङ्गलादेश र सिक्किमले नेपाली जनतालाई देखाइदियो । नेपाली जनताले कहिलेकाहीँ आफ्ना मित्रहरूबाट नकारात्मक वा उल्टो शिक्षा र सल्लाह पाउने गर्छन् । यो एक उदाहरण हो ।
स्रोत : नेपाल–भारत सम्बन्ध र भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *