भर्खरै :

नियमन होइन प्रवद्र्धन र स्वायत्तता सहकारीको मूल मर्म

नियमन होइन प्रवद्र्धन र स्वायत्तता सहकारीको मूल मर्म

भक्तपुर , १४ कार्तिक । केदार नाथ बचत तथा ऋण सहकारी संस्था लि. को १४ औँ साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका ७ नं वडाध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यमा थापा पार्टी प्यालेस सूर्यविनायकमा शनिबार सम्पन्न भयो ।
अतिथि उकेश कवांले सुशासनको निम्ति आएको सरकारले तिहार चाडपर्व मनाउने तिथि मिति विवादित बनाएको बताउँदै भनपाबाट सरोकारवालाहरूको बैठक राखी कार्तिक २२, २३ र २४ गते गर्ने निर्णय गरेको बताउनुभयो ।
उहाँले नेपाल संवत् मान्न नलगाउने षड्यन्त्र भएको आशङ्का व्यक्त गर्दै पृथ्वीमा तापक्रम वृद्धिसँगै हिमालमा परेको असरले हाइड्रोपावरमा लगानी अनिश्चित हुने र अर्थतन्त्रमा प्रभाव पर्ने बताउनुभयो ।
उहाँले नाफाको निम्ति पँुजीवादी व्यवस्थामा जे पनि गर्ने बताउँदै अमेरिकाले भेनेजुयलाका राष्ट्रपति अपहरण गरेको बताउँदै युध्दको पक्षपोषण गर्ने अनि तेल अभावको कुरा उठाउने दोहोरो चरित्र हो भन्नुभयो । उहाँले नेपाली जनताको थाप्लोमा ३० खर्ब ऋण पुगिसकेको बताउँदै सरकारले नागरिकमाथि कर थोपर्ने र ५ वर्षमा ६० खर्ब ऋण पुग्ने अनुमान गर्नुभयो ।
उहाँले सहकारीको सहयोगले अक्सिजन फ्रि वितरण गरिरहेको बताउँदै स्वास्थ्यलाई राम्रो बनाउन वडा वडामा स्वास्थ्य केन्द्र खोल्ने कार्य भएको उल्लेख गर्नुभयो । नाफामा भन्दा समुदायमा आधारित सहकारीमा राज्यको एक पैसा पनि लगानी नभएकोले यसलाई बचाउने दायित्व हामी सबैको हो भन्नुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी सङ्घका उपाध्यक्ष जगन्नाथ प्रजापतिले साधारणसभामा शेयर सदस्यहरू सबै उपस्थित हुनुपर्ने र सचेत भई सहाकारीले के के राम्रो काम गरेको छ छैन भनी छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीको नियमन होइन प्रवद्र्धन र स्वायत्तता सहकारीको मूल मर्म भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय प्राधिकरण मार्फत ३२,००० सहकारी संस्थामध्ये १२,००० मात्र दर्ता गरेको बताउँदै अधिकार प्रत्यायोजन स्थानीय सरकारमा गर्नुपर्ने, सदस्य र जनताको हित नहुने कानुन र निर्देशन कागजको खोस्ता साबित हुने बताउनुभयो ।
सल्लाहकार रामकृष्ण प्रजापतिले सम्मानित जेष्ठ सदस्य, असल बचत र असल ऋणी, शैक्षिक क्षेत्रबाट सम्मानितहरूलाई बधाई दिँदै साधारणसभाको पूर्ण सफलताको कामना गर्नुभयो । उहाँले सहकारी संस्था सञ्चालक समितिको मात्र होइन, यो सम्पूर्ण सदस्यहरूको साझा संस्था हो† यसको संरक्षण गर्ने जिम्मेवारी सञ्चालक, कर्मचारी र सदस्यहरू सबैको हो भन्नुभयो ।
उहाँले सहकारीको वास्तविक पुँजी पैसा मात्र होइन† सदस्यहरूको विश्वास पनि हो† विश्वास जोगाउन पारदर्शिता, आर्थिक अनुशासन र सुशासन अनिवार्य भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी सङ्घका सुलोचना दुवालले बचत सुरक्षित र आपसी सहयोगी हुनुपर्ने बताउनुभयो ।
सल्लाहकार एवं मोडर्न माविका संस्थापक बाबुकाजी कसपालले कुशल नेतृत्व र इमानदार कार्यशैली आजको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै व्यवस्थापक दयाराम तजलेले ७५९ बाल बचत समेत गरी ४ हजारभन्दा बढी सदस्य बनाउन सफल भई ५७ करोड रकमको कारोबार भएको बताउनुभयो ।
कार्यक्रमका संस्थाका अध्यक्ष राजभाइ तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष साजन कसपालले प्रस्तुत गर्नुभयो भने उद्घोषण ऋषि श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *