के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
आजबाट नेपाल पर्यटन बोर्डमा युवा वैज्ञानिक नरेश कुसी र गेराल्डिन वेर्हानको ‘हुम्ला लुकेको सांग्रिलाको यात्रा शीर्षकमा तीन दिने तस्वीर प्रदर्शन हुँदैछ । विशेषतः हिमाली जिल्ला हुम्लामा आफ्नो अध्ययनको लागि लामो समय बस्ने क्रममा खिचिएका तस्वीर प्रदर्शनमा राखिएका छन् । पर्यावरणीय फोटोग्राफीको लागि केही पुरस्कारसमेत जितेका फोटोग्राफर कुसीसँग प्रदर्शनको विषयमा गरिएको संवाद प्रस्तुत छ ः
तस्वीर प्रदर्शनी गर्दै हुनुहुन्छ, प्रदर्शनीमा के छ विशेष ?
-प्रदर्शनीमा २०१४ र २०१५ मा उपल्लो हुम्लामा वन्यजन्तु अनुसन्धान गर्न जाँदा खिचिएकामध्येका छानिएका तस्बिरहरु छन्, हुम्लाको प्रकृति, वन्यजन्तु र त्यहाँको संस्कृतिलाई फोटोमार्फत प्रस्तुत गर्न खोजेका छौँ ।
तस्वीर किन खिच्न थाल्नुभयो ?
– म घुमफिर गर्न निक्कै रुचाउने मान्छे, घुमघाम गर्दा देखिने र भोगिने पलहरुलाई दिर्घकालिन सम्झनामा राखिरहन तस्बिरहरु खिच्न थालें ।
तस्वीर यात्रा कहिलेबाट कसरी शुरु भयो ?
– मैले नेपालको हिमाली भेगमा यात्राको सुरुवात करिब ८ वर्ष अगाडि गरेको थिएँ, सुरु-सुरुमा सामान्य डिजिटल क्यामेराबाट फोटो खिच्ने गर्थें, राम्रो र स्तरीय क्यामेराको चाहना हुँदा-हुँदै प्रयोग गर्न पाइएको थिएन, २०१३ मा पहिलो पटक लांगतांग राष्ट्रिय निकुन्जमा १ महिने अनुसन्धान कार्यमा संलग्न भएपछि बचेको पैसामा दाईसँग थप मागेर राम्रो क्यामेरा किन्न सकें, त्यसपछि सुरु भएको हो यो यात्रा ।
तस्वीर खिच्दा कुनै विशेष अनुभव ?
-२०१४ मा सुरुमा उपल्लो हुम्लाको लिमी गाविस जाँदा हामी स्थानीय गाउँलेहरुसंगै गएका थियौं, बैसाखको महिनामा पनि घुंडासम्म आउने हिउँ थियो, यारी भन्ने गाउँबाट नारा भन्ज्यांग काटेर हिल्सा जाँदै थियौं, जाँदा-जाँदै बिचमै बाटो सकियो, लिमेलहरु आफ्नो आफ्नो झोलाहरुबाट औजारहरु निकालेर हिउँमा बाटो खन्न थाले, उनीहरु बाटो खन्दै गर्दा मैले खनिएको बाटोमा सबैजना लहरै हिडेको फोटो खिच्ने सोच बनाएँ र एकलै पछाडी बसें, सबैजना हिड्दै गर्दा सोचेअनुसारको फोटो त खिचें, तर उनीहरु सबै अगाडि गैसकेकाले म एक्लै पछाडी रहें, माथि-तल भिरालो हिउँको बाटोमा त्यसपछि करिब १५ मिनेट एक्लै हिड्न पर्यो, निक्कै डर लागेको थियो त्यो बेला ।
कस्तो रहेछ उपल्लो नेपाल ?
– ८ वर्षमा म नेपालका प्राय: हिमाली भूभागहरु पुगेको छु, त्यो भू-परिधि स्वर्गीय लाग्छ, जति गए पनि धित नमर्ने ।
क्यामेरा बोक्नुको गन्तव्य कहाँ हो?
-म एकजना साधारण अनुसन्धानकर्ता र प्रकृतिप्रेमी यात्री हुँ, क्यामेरामा तिनै अनुसन्धानकार्यका महत्वपूर्ण पलहरु र प्रकृतिका अनुपम रचनाहरु कैद गर्छु ।
एक जना साधारण आर्थिक अवस्थाको मान्छे, धेरैले सोख बनाएको फोटोग्राफीमा कति समय अडिने हो ?
– मेरा लागि फोटोग्राफी सोखभन्दा पनि आवस्यकता हो, वन्यजन्तु अनुसन्धानका लागि मैले रोजेको भू-परिधिमा जति बेला मन लाग्यो पुग्न सकिदैन-पैसा र मौसमको कारणले, जति बेला पुगे पनि आखाँले देखेका आफुलाई महत्वपूर्ण लाग्ने कुरा खिच्ने हो, अनुसन्धानकार्य र यात्रा जारी रहुन्जेल फोटो खिचिरहने हो ।
कोही प्रेरक व्यक्तित्व तपाईको फोटोग्राफीको नेपथ्यमा ?
– प्रकृति र वन्यजन्तुका फोटो जो-कोहिले खिचेको भए पनि मनमोहक लाग्छन्, सबै वन्यजन्तु अनुसन्धानकर्ताहरु र यात्रीहरु मेरा लागि प्रेरक लाग्छन् ।
अन्त्यमा केही छ कि बाँकी ?
-यात्राले जिन्दगीप्रतिको धारणा निक्कै फराकिलो पार्छ, यात्रा गर्न मन पराउनेहरुका लागि नेपाल निक्कै उत्तम देश हो, नेपाल घुम्नुस्, समय रहँदै मनग्गे सम्झनाहरु संगाल्नुस्-तस्बीरमा र कापीका पाना दुबैमा ।
मेरा केहि कुराहरु राख्ने अवसर दिनु भएकोमा धन्यवाद ।
Leave a Reply