भर्खरै :

रोटरी पुस्तक प्रदर्शनी २०८३ सम्पन्न

रोटरी पुस्तक प्रदर्शनी २०८३ सम्पन्न

भक्तपुर, १५ कार्तिक । रोटरी क्लब अफ भक्तपुरको आयोजनामा भएको तीनदिने रोटरी पुस्तक प्रदर्शनी २०८३ आइतबार सम्पन्न भयो ।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर अफ रोटरीका डीजी विष्णुबहादुर कार्कीले भक्तपुर रोटरी क्लबको पुस्तक प्रदर्शनी विशेष, नौलो र सिर्जनात्मक कार्यक्रम भएको बताउँदै रोटरीको इतिहासमै पुस्तक प्रदर्शनी पहिलो र सफल कार्यक्रम भएको जानकारी दिनुभयो ।
दुई दिन मौसमले साथ नदिए पनि पुस्तकप्रेमीहरूले देखाएको विश्वास, सद्भाव, उदारता र सहयोगले कार्यक्रम सफल बनाउन सम्भव भएको उहाँले बताउनुभयो ।
पुस्तक ज्ञानको स्रोत मात्र नभई समाज परिवर्तन र सभ्य भविष्य निर्माणको आधारसमेत भएको धारणा राख्दै उहाँले पुस्तक प्रदर्शनीमार्फत पठन संस्कृतिको विकास, नयाँ पुस्तामा पुस्तकप्रतिको रूचि अभिवृद्धि तथा भक्तपुरको कला, संस्कृति र साहित्यको प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले बीस वर्षअघि भक्तपुरमा आयोजित पुस्तक प्रदर्शनीको स्मरण गर्दै पुस्तक प्रदर्शनीले विद्यार्थी तथा सिक्नेहरूलाई थप अध्ययन गर्न प्रेरणा दिने बताउनुभयो ।
उहाँले रोटरी क्लबको निःस्वार्थ सेवा, शिक्षा, स्वास्थ्य र विश्व शान्तिका लागि कार्यरत रहने उद्देश्य तथा अभियानको सराहना गर्नुभयो ।
उहाँले सन् २००० मा सिङ्गापुरमा गरेको शैक्षिक अध्ययन भ्रमणको अनुभव सुनाउँदै भन्नुभयो, “सिङ्गापुरका चारै कुनामा क्षेत्रीय पुस्तकालयको व्यवस्था गरिएको तथा सुपरमार्केटनजिकै पुस्तकालय स्थापना गरेर पठन संस्कृतिको विकासका लागि सरकारले गरेको प्रयास सराहनीय छ । आजका दिनमा पनि सिङ्गापुर सरकारले पठन संस्कृतिको विकासका लागि नयाँ नयाँ कार्यक्रम ल्याइरहेको छ ।”
कार्यक्रमका सभापति तथा रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिले धेरै साथीहरूको सहयोगमा पुस्तक प्रदर्शनी सफल भएको बताउनुभयो ।
आयोजकका अनुसार तीन दिनसम्मको झरीका बाबजुद पुस्तक मेलामा चौथो दिनसम्ममा आठ हजारभन्दा बढी पाठक सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *