भर्खरै :

भक्तपुरको ख्वप अस्पतालबाट सिक्नुपर्ने पाठ

  • कार्तिक १८, २०८३
  • जे.पी. तिमिल्सिना
  • विचार
भक्तपुरको ख्वप अस्पतालबाट सिक्नुपर्ने पाठ

विकासका लागि स्रोतसाधन मात्र पर्याप्त हुँदैनन्; त्यसलाई सही दिशामा परिचालन गर्ने दूरदृष्टि, दृढ इच्छाशक्ति, इमानदार नेतृत्व र जनताप्रतिको उत्तरदायित्व पनि उत्तिकै आवश्यक हुन्छ । स्थानीय सरकारले आफ्नो भूगोल, स्रोतसाधन र अधिकारको प्रभावकारी उपयोग गर्न सके नागरिकको जीवनमा कस्तो सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने कुराको एउटा प्रेरणादायी उदाहरण भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको अवलोकनबाट अनुभव गर्ने अवसर प्राप्त भयो ।
भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका सकारात्मक प्रयासबारे जानकारी लिने, अवलोकन गर्ने र अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्तिक १६ गते हाम्रो टोली ख्वप अस्पताल पुगेको थियो । टोलीमा चार जना सहभागी थियौँ । बिहान करिब १० बजे अस्पताल परिसरमा पुग्दा भ्रमणको उद्देश्यसँगै केही आत्मीय र अविस्मरणीय क्षणहरू पनि जोडिन पुगे ।
अस्पतालको प्रवेशद्वारमै मेरा आत्मीय मित्र सरोजराज गोसाईसँग भेट भयो । लामो समयको अन्तरालपछि भएको भेटले पुराना सम्झना र आत्मीय सम्बन्धलाई पुनः ताजा बनायो । धेरै वर्षको विछोडपछि पुनर्मिलन भएजस्तै आत्मीयतापूर्वक भलाकुसारी र विचार आदानप्रदान ग¥यौँ । वास्तवमा भ्रमण र यात्राको सुन्दर पक्षमध्ये एउटा पक्ष यस्ता आत्मीय सम्बन्धको पुनर्ताजगी पनि रहेछ ।
त्यसै क्रममा ख्वप अस्पतालमा उपचाररत हामी सबैका आदर्श, प्रेरणास्रोत एवम् आदरणीय नेता बुद्धिकुमार गोसाईको स्वास्थ्य अवस्थाबारे चासो राख्यौँ । उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लियौँ, भेटघाट ग¥यौँ र शीघ्र स्वास्थ्यलाभको कामना ग¥यौँ । विचार, सिद्धान्त, निष्ठा र समर्पणबाट समाजलाई मार्गदर्शन गर्ने अग्रज व्यक्तित्वप्रतिको सम्मान र आत्मीयता व्यक्त गर्ने त्यो क्षण पनि हाम्रो लागि विशेष रह्यो ।
त्यसपछि अस्पतालको सेवा प्रवाह, भौतिक संरचना, व्यवस्थापन र उपचार प्रणालीबारे जानकारी लिने तथा अवलोकन गर्ने क्रम अघि बढ्यो । अस्पतालमा कार्यरत डा. सुनिता आचार्य र शङ्कर आचार्यसँग भेटघाट तथा भलाकुसारी गर्ने अवसर मिल्यो । उहाँहरूसँगको संवादबाट अस्पतालको स्थापना, सञ्चालन, सेवा व्यवस्थापन र स्वास्थ्य सेवाका विभिन्न पक्षबारे थप जानकारी प्राप्त भयो ।
अस्पतालकै भोजनालयमा भोजन गर्ने अवसर मिल्यो । अस्पतालभित्रै उपचार, सेवा र भोजनको व्यवस्थापनलाई नजिकबाट अनुभव गर्दा स्वास्थ्य संस्थाको समग्र व्यवस्थापनमा साना देखिने पक्षहरूको समेत कति महत्व हुँदोरहेछ भन्ने अनुभूति भयो ।
ख्वप अस्पताल : स्थानीय सरकारको दूरदृष्टि र जनसेवाको अनुकरणीय उदाहरण
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शय्याको स्वीकृतिसहितको ख्वप अस्पताल उपचार गर्ने स्वास्थ्य संस्था मात्र होइन† यो स्थानीय सरकारको दूरदृष्टि, जनसेवाप्रतिको प्रतिबद्धता, संस्थागत इच्छाशक्ति र कार्यान्वयन क्षमताको जीवन्त उदाहरणको रूपमा देखिन्छ ।
विशेषज्ञ स्वास्थ्य सेवा, आधुनिक उपचार प्रविधि, दक्ष स्वास्थ्य जनशक्ति, विपन्न नागरिकलाई उपचारमा सहयोग, नगरवासीका लागि निःशुल्क रगत तथा अक्सिजनको व्यवस्था र नागरिकमैत्री सेवा प्रवाहले अस्पताललाई विशिष्ट बनाएको छ । स्वास्थ्य सेवालाई नागरिकको पहुँच र आवश्यकतासँग जोड्ने, आर्थिक अवस्थाका कारण कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने भावनालाई व्यवहारमा उतार्ने तथा स्थानीय सरकारले आफ्नै पहलमा स्वास्थ्य सेवाको विकास र विस्तार गर्न सक्ने उदाहरण प्रस्तुत गर्नु यसको महत्वपूर्ण पक्ष हो । भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवामार्फत स्वास्थ्य सेवालाई नागरिकको घरसम्म पु¥याउने प्रयास गरेको छ । अस्पतालसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अशक्त तथा स्वास्थ्य सेवाको थप आवश्यकता भएका व्यक्तिलाई लक्षित यस्ता कार्यक्रमले स्वास्थ्य सेवाको अवधारणालाई अझ मानवीय र नागरिकमैत्री बनाएका छन् ।
अवलोकन, सोधपुछ र अन्तरङ्ग छलफलबाट हामीले एउटा महत्वपूर्ण कुरा बुझ्ने अवसर पायौँ – स्वास्थ्य सेवा कुनै सामान्य प्रशासनिक कार्यक्रम मात्र होइन, नागरिकको जीवन, सम्मान र मौलिक आवश्यकतासँग प्रत्यक्ष जोडिएको विषय हो । स्थानीय सरकारले अस्पताल सञ्चालनदेखि आधारभूत स्वास्थ्य सेवा, विशेषज्ञ परामर्श, रोगको रोकथाम, घरदैलो स्वास्थ्य सेवा र आर्थिक रूपमा कमजोर नागरिकको उपचारमा सहयोग पु¥याउनेसम्म प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । यसका लागि स्पष्ट नीति, योजनाबद्ध लगानी, दक्ष जनशक्ति, पारदर्शी व्यवस्थापन र निरन्तर अनुगमन आवश्यक हुन्छ ।
भक्तपुरबाट प्राप्त एउटा गहिरो सिकाइ
भक्तपुरको यो अभ्यासले विकासका सम्बन्धमा एउटा महत्वपूर्ण सत्य पुनः स्मरण गराएको छ – विकासका लागि स्रोतसाधन मात्र पर्याप्त हुँदैनन् । त्यसलाई सही दिशामा परिचालन गर्ने नेतृत्व, स्पष्ट दृष्टिकोण, इमानदारी, लगनशीलता, संस्थागत प्रतिबद्धता र जनताप्रतिको उत्तरदायित्व पनि उत्तिकै आवश्यक हुन्छ । देशका ७५३ वटै स्थानीय तहले भक्तपुरको हुबहु अनुकरण गर्नुपर्छ भन्ने छैन । हरेक स्थानीय तहको भूगोल, जनसङ्ख्या, आर्थिक अवस्था, आवश्यकता र प्राथमिकता फरक छन् । तर, भक्तपुरको सेवाभाव, व्यवस्थापकीय क्षमता, जनमुखी सोच, संस्थागत निरन्तरता र परिणाममुखी कार्यशैलीबाट सबैले अवश्य सिक्न सक्छन् । कुनै स्थानीय तहले विशेषज्ञ चिकित्सकको नियमित सेवा विस्तार गर्न सक्छ, कुनैले स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउन सक्छ, कुनैले प्रयोगशाला, औषधि, एम्बुलेन्स र आकस्मिक सेवालाई प्रभावकारी बनाउन सक्छ । कतै घरदैलो स्वास्थ्य सेवा र विपन्न नागरिकको उपचारलाई प्राथमिकता दिन सकिन्छ । मुख्य कुरा आफ्नो आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्नु हो ।
आफ्नै ठाउँमा पनि सम्भव छ सकारात्मक परिवर्तन
यो भ्रमणले मलाई विशेष गरी आफ्नै गाउँठाउँ, चामुण्डा विन्द्रासैनी नगरपालिका र समग्र कर्णाली प्रदेशको विकास सम्भावनाबारे थप सोच्न प्रेरित गरेको छ । हामीसँग भौगोलिक विकटता, सीमित आर्थिक स्रोत, दक्ष जनशक्तिको अभाव र पूर्वाधारका चुनौती हुन सक्छन्† तर सम्भावनाको अभाव छैन । आवश्यकता छ – समस्यालाई बहाना होइन, समाधान खोज्ने अवसरका रूपमा लिने नेतृत्वको; योजनालाई कागजमा सीमित नराखी व्यवहारमा उतार्ने प्रतिबद्धताको र जनताको आवश्यकतालाई विकासको केन्द्रमा राख्ने कार्यसंस्कृतिको ।
हाम्रो आफ्नै ठाउँमा पनि स्थानीय स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउने, आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, विशेषज्ञ चिकित्सकको सेवा विस्तार गर्ने, नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने, ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई प्राथमिकता दिने र घरदैलो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने काम क्रमशः गर्न सकिन्छ ।
यसका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी, नागरिक समाज, निजी क्षेत्र र समुदायबिच सहकार्य आवश्यक हुन्छ । विकास कुनै एक व्यक्ति वा संस्थाको एकल प्रयासबाट मात्र सम्भव हुँदैन† साझा उद्देश्य, जिम्मेवारी र सामूहिक प्रयासबाट दिगो उपलब्धि हासिल गर्न सकिन्छ ।
शिक्षा क्षेत्रमा ३५ वर्षको यात्राले मलाई एउटा कुरा सिकाएको छ – कुनै पनि समाजको रूपान्तरण शिक्षा, स्वास्थ्य, सुशासन र नागरिक चेतनाको एकीकृत विकासबाट मात्र सम्भव हुन्छ । विद्यालय राम्रो भएर मात्र समाज समुन्नत हुँदैन, स्वास्थ्य सेवा सहज भएर मात्र नागरिकको जीवनस्तर उकासिँदैन । यी सबै क्षेत्रलाई एउटै विकास दृष्टिकोणमा जोड्न सक्ने नेतृत्व र कार्यसंस्कृति आवश्यक हुन्छ ।
भ्रमणको वास्तविक उपलब्धि हामीले कति ठाउँ घुम्यौँ भन्नेमा होइन, कति नयाँ कुरा सिक्यौँ, आफ्नो सोचमा कति परिवर्तन ल्यायौँ र फर्किएपछि त्यसलाई व्यवहारमा कति उतार्न सक्यौँ भन्नेमा निहित हुन्छ ।
आजको यस भ्रमणले मेरो विश्वास अझ बलियो बनाएको छ – विकासको लागि भूगोल बाधक हुन सक्छ, स्रोतसाधन सीमित हुन सक्छ, चुनौतीहरू अनेक हुन सक्छन्† तर दूरदर्शी नेतृत्व, दृढ इच्छाशक्ति, इमानदार प्रयास र सामूहिक प्रतिबद्धता भए असम्भव ठानिएका कामसमेत सम्भव बनाउन सकिन्छ । नेतृत्वको वास्तविक परिचय भाषण, पद र प्रतिष्ठामा होइन, उसले जनताको जीवनमा ल्याएको सकारात्मक परिवर्तनमा देखिन्छ । विकासको सफलता ठुला भवन र संरचनामा मात्र होइन, नागरिकले प्राप्त गर्ने सहज सेवा, अनुभूत गर्ने सम्मान र मुहारमा देखिने सन्तुष्टिमा प्रतिबिम्बित हुन्छ ।
भक्तपुरले सम्भावनाको एउटा सुन्दर उदाहरण प्रस्तुत गरेको छ । अब हामीले पनि आफ्नै माटो, आफ्नै स्रोत र आफ्नै सामथ्र्यमा विश्वास गर्दै सम्भावनालाई परिणाममा बदल्ने सङ्कल्प गर्नुपर्छ ।
अरूको सफलताबाट प्रेरणा लिऔँ, आफ्नै ठाउँमा सम्भावना खोजौँ र परिवर्तनको सुरुआत आफैँबाट गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *