नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
चाडपर्व र संस्कृति कुनै पनि समाजका जीवन्त पहिचान हुन् । नेपालजस्तो सांस्कृतिक विविधतायुक्त देशमा हाम्रा हरेक पर्व, संस्कार र रीतिरिवाज पछाडि गहिरो वैज्ञानिक, वातावरणीय र सामाजिक आधार जोडिएका छन् । तर, पछिल्लो समय प्रविधिको विकास, तीव्र बजारीकरण र अन्धो देखासिकीका कारण हाम्रा मौलिक चाडपर्वहरू आफ्ना मूल मर्मबाट तीव्र गतिमा टाढिँदै गएका छन् । कुनै बेला पवित्रता, सादगी र आत्मीयताका पर्याय मानिने यी पर्वहरू आज तडकभडक, अत्यधिक उपभोगवाद र आयातित सामग्रीको व्यापारिक प्रदर्शन गर्ने माध्यम बन्न पुगेका छन् ।
हाम्रा परम्परागत कर्महरूमा प्रयोग हुने अति सामान्य वस्तुहरूमा समेत हामी कतिसम्म परनिर्भर हुँदै गएका छौँ भन्ने कुराको गतिलो उदाहरण जनै र पूजामा चाहिने दुनाटपरा हुन् । जनै मुख्यतया सुती (कपास) को धागोबाट बनाइन्छ । नेपालमा पर्याप्त कपास खेतीको सम्भावना हुँदाहुँदै पनि व्यावसायिक उत्पादन र प्रशोधन उद्योगको कमीका कारण हामीले बर्सेनि करोडौँ रूपैयाँ बराबरको सुती धागो, तयारी जनै र धागोका गुच्छा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । चीन र भारतबाट आउने सस्ता धागो तथा तयारी जनैले नेपाली बजार ओगटेको छ । मौलिक रूपमा मन्त्रिएर बाँधिने डोरो र जनैसमेत तयारी बजारिया सामग्रीमा निर्भर हुनुले हाम्रो आत्मनिर्भरता र परम्परागत सादगीमाथि गम्भीर प्रश्न उठाएको छ । त्यस्तै, नेपालका तराई तथा मध्यपहाडी क्षेत्रमा साल (सखुवा) का वनहरू प्रशस्त हुँदाहुँदै पनि पूजाका लागि चाहिने दुना–टपरा आजकल चीन वा बाहिरबाट आयात हुने गरेका छन् । आधुनिक बजारमा उपलब्ध हुने प्लास्टिक लेमिनेसन गरिएका वा मेसिनले बनाइएका तयारी दुना–टपराले स्थानीय स्तरमा हातले बन्ने शुद्ध उत्पादनलाई विस्थापित गरेका छन्, जुन वातावरणीय र सांस्कृतिक दुवै दृष्टिकोणले चिन्ताजनक छ ।
यसैगरी, हाम्रा धार्मिक आस्थाका तौरतरिका पनि बजारिया कृत्रिमता र देखासिकीको सिक्रीमा जकडिएका छन् । परम्परागत रूपमा लक्ष्मीपूजाको दिन घरको आँगनदेखि ढुकुटीसम्म रातो माटो, गोबर र चामलको पिठो (अल्पना/रङ्गोली) ले लक्ष्मीका पाइताला बनाइन्थ्यो, जसले घरको शुद्धीकरण र प्राकृतिक स्वच्छता झल्काउँथ्यो । तर आज बजारमा प्लास्टिक, सिन्थेटिक तथा रासायनिक स्टिकरहरू छ्याप्छ्याप्ती पाइन्छन् । धनकी देवी लक्ष्मीलाई स्वागत गर्ने नाममा प्रयोग गरिने यी प्लास्टिकका पाइतालाहरू अशुद्ध मात्र होइनन्, नसड्ने भएकाले वातावरणीय प्रदूषणका प्रमुख कारक पनि हुन् । अर्कोतर्फ, कात्तिक कृष्ण त्रयोदशीका दिन वैदिक आयुर्वेदका प्रवर्तक, आरोग्यका देवता धन्वन्तरीको उत्पत्ति भएको मानिन्छ । परम्परागत रूपमा यो दिन आरोग्य, स्वास्थ्य र जडीबुटी विज्ञानको सम्मान गर्ने दिन हो । तर, आधुनिक बजारिया विज्ञापन र सिनेम्याटिक प्रभावका कारण नेपाली समाजमा यसलाई ‘धन्तेरस’ का रूपमा धातुका नयाँ भाँडाकुँडा र सुन–चाँदी थुपार्ने ‘बाध्यकारी’ पर्व बनाइएको छ । आवश्यकताबिना प्रदर्शनका लागि धातु थुपार्नु केवल आर्थिक भार र खोक्रो देखासिकीको पराकाष्ठा हो ।
यस्ता आयातित र बजारमुखी विकृतिहरू यी केही उदाहरणमा मात्र सीमित छैनन्, यसले हाम्रा हरेक पर्वलाई ग्रसित बनाउँदै लगेको छ । हरितालिका तीज महिलाहरूको व्रत, उपासना र भगिनी सम्बन्धको पर्व हो । तर, अचेल तीज आउनुभन्दा महिना दिनअघिदेखि नै महँगा रिसोर्ट र होटलहरूमा तडकभडकपूर्ण ‘दर कार्यक्रम’ आयोजना गर्ने र गरगहना तथा महँगा पहिरनको प्रदर्शन गर्ने होड चलेको देखिएकै छ । यसले मध्यम तथा विपन्न वर्गका परिवारमा मानसिक र आर्थिक तनाव सिर्जना गरेको छ । अझ अचम्मको कुरा त के छ भने, पितृको सम्झना र श्रद्धामा लीन हुनुपर्ने ‘सोह्रश्राद्ध’ सुरु हुनासाथ सामाजिक सञ्जाल र बजारमा दसैँ, तिहार र छठका शुभकामनाका चाङ लाग्न थाल्छन् । तर, महिना दिन अघिदेखि शुभकामनाका ओइरो पोख्ने हाम्रो बानी–बेहोरा र आचरणमा भने कुनै सुधारको प्रयास देखिँदैन ।
त्यसैगरी, तिहार नआउँदै सुरु हुने कानै फुटाउने रकेट र पटाकाको आतङ्क अर्को डरलाग्दो विकृति बनेको छ । उज्यालो र आत्मीयताको पर्वका नाममा भित्रिएका यी गैरकानुनी र आयातित पटाकाहरूले हावा र वातावरणमा विषालु धुवाँ भर्ने मात्र होइन, वृद्धवृद्धा, रोगी र बालबालिकाको कान बहिरो पारिदिने अवस्था ल्याउँछन् भने स्वच्छन्दरूपमा आकाशमा उड्ने चराचुरुङ्गीसमेतलाई त्रसित र विस्थापित बनाउँछन् । त्यस्तै, मूलतः सादगी र प्राकृतिक शुद्धताको पर्व मानिने छठमा घाट सजावटमा लाखौँ खर्च गर्ने प्रवृत्ति बढेको छ भने भाइटीकामा दिइने उपहारहरूमा विदेशी महँगा ब्रान्डका चकलेट र मदिरा समावेश गर्ने चलन सामान्य बन्दै गएको छ । रङहरूको पर्व फागुमा पहिला प्राकृतिक रङ, अबिर प्रयोग हुन्थे भने अचेल गाढा रासायनिक रङ, मोबिल र टक्सिक केमिकल प्रयोग गरेर अरूलाई दुःख दिने विकृति मौलाएको छ । त्यसमाथि, चाडपर्वका नाममा जुवातास खेल्ने र अत्यधिक मदिरा सेवन गर्ने प्रवृत्तिले कैयौँ परिवारमा अशान्ति र बर्बादी ल्याएको छ ।
यी सबै विकृति र विसङ्गतिहरूको परिणामस्वरूप हाम्रो आर्थिक परनिर्भरता दिनानुदिन बढेको छ भने प्लास्टिक, रसायन र पटाकाको धुवाँका कारण पर्यावरणमा गम्भीर असर परेको छ । चाडपर्वका पछाडि रहेका गहिरो आध्यात्मिक, वैज्ञानिक र सामाजिक मूल्य–मान्यताहरू ओझेलमा पर्दै गएका छन् । तसर्थ, आफ्ना चाडपर्वलाई मौलिक, स्वच्छ र अर्थपूर्ण बनाउन हामी प्रत्येक नागरिकले सचेत बन्नै पर्छ । पूजाहरूमा स्थानीय रूपमा बनाइएका दुना–टपरा, सुतीका धागो, माटाका पालाहरू र प्राकृतिक फूल–मालाको प्रयोग गरौँ । देखावटी शुभकामना कार्यक्रम आयोजना गर्नु र पठाउनुअघि आफ्नो बानी र व्यवहारमा सुधार ल्याऔँ । वातावरणीय शान्ति भङ्ग गर्ने ‘पटाखे संस्कृति’लाई पूर्णतः बहिष्कार गरौँ । छिमेकी वा साथीभाइको देखासिकीमा तडकभडक र अनावश्यक किनमेल नगरी आफ्नो क्षमताअनुसार सादगीपूर्ण रूपमा पर्व मनाउने बानी बसालौँ । धन्तेरसमा धातुका भाँडा थुपार्नुभन्दा धन्वन्तरि जयन्तीको मर्म बुझेर आफ्नो स्वास्थ्य, खानपान र आयुर्वेद पद्धतिको सम्मान गरौँ । घर–आँगन सजाउँदा प्लास्टिकका पाइताला वा स्टिकरको सट्टा रातो माटो, चामलको पिठो र प्राकृतिक फूलको प्रयोग गरौँ । संस्कृति जोगाउने नाममा विकृति भित्याउने परिपाटी अन्त्य गरौँ† स्वदेशी, प्राकृतिक र सादगीपूर्ण जीवनशैली अपनाएर हाम्रा चाडपर्वको वास्तविक मौलिकता सदाका लागि जगेर्ना गरौँ ।
Leave a Reply