भर्खरै :

सहिद निर्मल–पुष्प स्मृति वाचनालयको तीनमहिने सङ्गीत प्रशिक्षण सम्पन्न

सहिद निर्मल–पुष्प स्मृति वाचनालयको तीनमहिने सङ्गीत प्रशिक्षण सम्पन्न

भक्तपुर, ८ मङ्सिर । सहिद निर्मल–पुष्प स्मृति वाचनालयको आयोजनामा २०८३ वैशाखदेखि असारसम्म सञ्चालित तीनमहिने गितार, किबोर्ड तथा गायन प्रशिक्षणको समापन तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहिदहरूको स्मृतिमा स्थापना भएको वाचनालयले नयाँ पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्नु सराहनीय कदम भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले सहिदहरूले देश र जनताको हितका लागि गरेको योगदान नयाँ पुस्ताले सधैँ स्मरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाले सकिमाङा पुन्हीको सांस्कृतिक महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरेको जानकारी दिँदै उहाँले भक्तपुरका मौलिक चाडपर्वको महत्व विद्यार्थीलाई बुझाउन स्थानीय पाठ्यक्रममार्फत अध्ययन–अध्यापनको व्यवस्था गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणलाई विशेष महत्व दिँदै काम गर्दै आएको उल्लेख गर्दै उहाँले जनताको साथ र सहयोगमा सम्पन्न सम्पदा पुनर्निर्माणले भक्तपुरको मौलिक पहिचान जोगाउन महत्वपूर्ण योगदान पु¥याएको छ भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “प्रधानमन्त्रीको हालैको भारत भ्रमणको क्रममा नेपालको सीमा अतिक्रमणको विषयमा आवाज उठाइएन । राष्ट्रिय सार्वभौमिकता र सीमासम्बन्धी विषयमा सरकार गम्भीर हुनु जरुरी छ ।”
भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्योँमिखाले वाचनालयको निरन्तर सञ्चालन चुनौतीपूर्ण भए पनि यसको उद्देश्यअनुरूप गतिविधि अघि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले वडामा भइरहेका विकास निर्माणका कार्यका साथै मुलाँला सडक निर्माण तथा मर्मतसम्भारबारे पनि जानकारी दिनुभयो ।
वाचनालयका संस्थापक अध्यक्ष तथा पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले वाचनालय स्थापनाको उद्देश्यबारे स्पष्ट पार्दै विशेष कारणले यसको सञ्चालन बन्द भएको र अब पुनः सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी वडा नं. १० का पार्टी इन्चार्ज लक्ष्मीप्रसाद चवालले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिका साथै तेक्वान्दो प्रदर्शनसमेत गरिएको थियो । कर्यक्रममा प्रमुख प्रजापतिले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *