भर्खरै :

रास्वपा सरकारको भारत भ्रमणमा सीमा स्तम्भ मर्मत र ऊर्जामा देशघात !

रास्वपा सरकारको भारत भ्रमणमा सीमा स्तम्भ मर्मत र ऊर्जामा देशघात !

रास्वपा सरकार प्रमुखको यही मङ्सिर ६ र ७ गतेको भारतको ‘राजकीय भ्रमण’ बारे नेपालका अधिकांश सञ्चारमाध्यममा समाचार छापियो । रास्वपा सरकार र मोदी सरकारबिच वार्तापछि २४ बुँदाको संयुक्त प्रेस विज्ञप्ति प्रकाशित भयो । दुई सरकारबिच ८ बुँदाको समझदारी पत्र पनि सार्वजनिक भयो । संयुक्त वक्तव्यको सुरूमा भारतले नेपाललाई ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने उल्लेख गरियो ।
यो अनुदान र ऋणबारे ‘नयाँ पत्रिका’ दैनिकमा प्रकाशित भयो – ‘नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहायता घोषणा ।’, ‘कान्तिपुर’ दैनिकमा प्रकाशित भयो – ‘कसरी आउँछ भारतले दिने २ खर्ब ४० अर्ब सहयोग ।’, ‘नागरिक’ दैनिकमा प्रकाशित भयो –‘५६ अर्ब अनुदान, १ खर्ब ८४ अर्ब ऋण सहयोग ।’, ‘राजधानी’ दैनिकमा प्रकाशित भयो –‘२ खर्ब ४० अर्बको सहायता ।’, ‘समाचारपत्र’ दैनिकमा प्रकाशित भयो –‘२ खर्ब ४० अर्बको भारतीय सहयोग घोषणा ।’, ‘अन्नपूर्ण’ दैनिकमा प्रकाशित भयो –‘भारतले २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग घोषणा गरेको उपलब्धि हो ।’
रास्वपा सरकारका प्रमुख र मोदीले ‘विकसित भारत र समुन्नत नेपाल’ को संयुक्त दृष्टिकोण अङ्गीकार गरेको विज्ञप्तिमा उल्लेख छ । ‘संयुक्त दृष्टिकोण’ को अर्थ के हो ? के भारत सरकारको दृष्टिकोणलाई रास्वपा सरकारको समर्थन हो ? जहानियाँ राणा शासनका अन्तिम प्रधानमन्त्री मोहनशमशेरले सन् १९५० मा नेपाल–भारत शान्ति र मैत्री सम्झौता गरेका थिए । सो सम्झौताकै कारण नेपालको सुरक्षा मामिला भारतको छातामा प¥यो† नेपालले आफूलाई आवश्यक सामान तेस्रो देशसँग सोझै किन्न नपाउने बरू भारतमार्फत किन्नुपर्ने भयो । रास्वपाको यो संयुक्त वक्तव्यमा उल्लेख ‘संयुक्त दृष्टिकोण’ पनि नेपालको समुन्नति भारतको जिम्मामा राखेको किन होइन ?
संयुक्त वक्तव्यमा काण्डला, गुजरातको दिनदयाल बन्दरगाह नेपालको पारवहन व्यापारको लागि नयाँ सम्पर्क मार्गको घोषणा गरियो भने ओदिसाको पारादीप बन्दरगाह पनि उपलब्ध गराइने उल्लेख छ । भूपरिवेष्ठित देश नेपालको समुद्रसम्म पुग्ने नजिकको पारवहन मार्ग पाउने अधिकार हो । टाढाको पारवहन मार्ग नेपाललाई ठेग्न कठिन हुनेछ ।
संयुक्त वक्तव्यमा पेट्रोलियम पाइपलाइन निर्माण र सम्पर्क सञ्जाल सुदृढ पार्ने उल्लेख छ । समय हरित ऊर्जाको हो । नेपाल सरकारले नेपालका नदीनालाबाट जलविद्युत् उत्पादनमा जोड दिनु जरूरी छ । पेट्रोलियम पाइपलाइन निर्माणको लागि गरिएको खर्च अन्ततः खेर जानेछ ।
संयुक्त वक्तव्यमा रामायण सर्किटको प्रवद्र्धन गर्ने तथा बौद्ध र शिवशक्ति पर्यटन सर्किट खोजी गर्ने उल्लेख छ । भारतका पुरातत्व अनुसन्धान गरेकाहरूले रामायण र महाभारत साहित्यमात्र भएको पुष्टि गरिसकेका छन् । नेपालको लुम्बिनीमा जन्मेका बुद्धले दिएको बौद्ध दर्शनअनुसार बौद्ध पर्यटन सर्किट विकास र विस्तार गर्नु उपयुक्त हुनेछ । बौद्ध पर्यटन सर्किट खोजीको विषयमा पर्दैन । यसका आधार र प्रमाण प्रशस्त छन् ।
नेपाल–भारतबिच राणाकालीन ठुला सीमा स्तम्भ (जङ्गेपिलर) समेत नेपालतर्फ सारिएका धेरै स्थानहरू छन् । दुई ठुला सीमा स्तम्भबिच बनाइएका साना सीमा स्तम्भहरू पनि नेपालीले भोग चलन गर्दै आएका र नापनक्सा भई नेपाल सरकारबाट पुर्जा प्राप्त जग्गासमेत भारतमा पर्ने गरी ‘सीमा नक्सा’ तयार गरियो । यी सीमा नक्सा तयार गरिँदा माओवादीले नेपाली कर्मचारीलाई भारततर्फ खेदेर नक्सा बनाउन बाध्य पारेको त्यतिबेलै सार्वजनिक भएको हो । यसकारण, ठुला सीमा स्तम्भ पनि यथास्थानमा मर्मत गर्नुपर्ने र नेपालको जग्गा भारतमा पर्ने गरी बनाइएको ‘सीमा स्तम्भ’ खारेज गरी नेपालीको जग्गा नेपालमै पर्ने गरी नयाँ ‘सीमा नक्सा’ तयार गर्नु आवश्यक छ । यो विषय रास्वपा सरकार र मोदी सरकारको संयुक्त वक्तव्यमा उल्लेख छैन ।
संयुक्त वक्तव्यमा ‘ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण’ पनि नेपालको जल सम्पदामाथि भारतको अधिकार स्वीकार गर्नु हो । यसरी रास्वपा सरकारको भारत भ्रमणमा केही अर्ब रुपैयाँ नेपाललाई अनुदान र ऋणको विषय देखाएर नेपालको जल र जमिन कब्जा गराउने देशघाती काम भएको हुँदा नेपाली जनताले विरोध गर्नु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *