प्रमहरूको ‘दिव्य ज्ञान’ !?
- मंसिर ९, २०८३
(भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी अपदस्थ प्रधानमन्त्रीका समर्थकहरूले उनको फिर्र्ती अस्वीकार गरिएको विरोधमा प्रदर्शन गरेका छन् ।)
पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकहरूले उनी स्वदेश फर्कने योजनालाई सरकारले अस्वीकार गरेको विरोधमा प्रदर्शन गरेपछि भड्किएको हिंसाको लहरलाई नियन्त्रण गर्न बङ्गलादेशले अर्धसैनिक बल परिचालन गरेको छ ।
एक साता लामो हिंसात्मक घटनाक्रममा कम्तीमा चार जनाको ज्यान गएको छ भने प्रहरी चौकी, बैङ्क र पूर्व अन्तरिम सरकार प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको पुख्र्यौली घरमा समेत आक्रमण भएको छ ।
हसिनाको हाल प्रतिबन्धित अवामी लिग पार्टीका समर्थकहरू सडकमा उत्रिएपछि हिंसा भड्किएको थियो । यो घटना एक साता लामो विरोध प्रदर्शनको हिस्सा थियो, जुन पूर्व नेतृ हसिनालाई गत वर्ष मृत्युदण्डको सजाय सुनाइएको वार्षिकीकै समयमा परेको थियो । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले सन् २०२४ को विद्यार्थी नेतृत्वमा भएको आन्दोलनसँग सम्बन्धित मानवताविरुद्धको अपराधको लागि हसिनालाई अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो ।
यस महिनाको प्रारम्भमा, हसिनाले बङ्गलादेश फर्कन पाउँ भनी नयाँ राहदानी र परिचयपत्रका लागि अनुरोध गरिन् । सन् २०२४ को जुलाईमा विद्यार्थीको नेतृत्वमा भएको विद्रोहको क्रममा देश छोडेर भागेपछि उनी भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छिन् ।
तर, प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा रहेको बङ्गलादेश सरकारको भनाइ छ कि उनी एक दोषी अपराधी हुन् र उनी भारतसँगको सुपुर्दगी सन्धिअन्तर्गत मात्र स्वदेश फर्कन सक्छिन् ।
रहमानले यस अशान्तिका लागि भारतलाई दोष दिएका छन् । “यति मात्र होइन† उनीहरूले बङ्गलादेश र यहाँका जनताको हितलाई हेरेका छैनन् । यसैबिच, सीमापारि जुन देशमा उनीहरू भागेर गएका छन्, त्यही देश नै उनीहरूको मालिक हो… तिनै मालिकहरूलाई खुसी पार्न उनीहरूले फेरि बङ्गलादेश र यहाँका जनताविरुद्ध षड्यन्त्र गर्न थालेका छन्,” शुक्रबार संसदमा बोल्दै रहमानले भने ।
त्यसो भए हसिना अझै पनि किन स्वदेश फर्कन चाहन्छिन् ? अनि, हालैका विरोध प्रदर्शनहरू स्वतःस्फूर्त हुन् वा प्रायोजित ?
यी घातक विरोध प्रदर्शनहरूबारे हामीलाई के थाहा छ ?
नोभेम्बरको मध्यदेखि बङ्गलादेशका २८ जिल्लामा आगजनीका घटना र हिंसाका खबरहरू आएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, नोभेम्बर १४ यता भएका राजनीतिक हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ । यसमा तीन जना राजनीतिक कार्यकर्ता र बसमा आगजनी हुँदा ज्यान गुमाएका कर्मचारी एक बस कर्मचारी समावेश छन् ।
एएफपी समाचार संस्थाका अनुसार, नराइल जिल्लामा सत्तारुढ बङ्गलादेश नेसनलिस्ट पार्टी (BNP) का दुई जनाको हत्या भएको छ । यसको बदलामा, बीएनपीका समर्थकहरूले सोही जिल्लामा अवामी लिगका समर्थकहरूका एक दर्जनभन्दा बढी घरहरूमा आगो लगाइदिएका छन् ।
नराइलका एक बासिन्दाले, जसले प्रतिशोधको डरले आफ्नो परिचय नखुलाउन आग्रह गरे, जिल्लामा ५० वटासम्म घरमा क्षति पुगेको बताए ।
“हामी यी झडपहरूबाट निकै त्रसित छौँ,” उनले एएफपीलाई भने । “हामीले हाम्रा महिला र बालबालिकाहरूलाई अत्यन्तै आवश्यक नपरेसम्म घरभित्रै बस्न भनेका छौँ ।”
बुधबार अबेर, प्रहरीले बन्दरगाह सहर चटगाउँमा युनुसको पुख्र्यौली घरमा आगजनी गरिएको जनाएको छ । आगो लगाउने काम कसले गरेको हो, त्यो तत्काल स्पष्ट हुन सकेको छैन ।
“अपराधीहरूले घरको पूर्वी भागमा आगो लगाइदिए । उक्त भाग भण्डार कोठाका रूपमा प्रयोग भइरहेको थियो ।” चटगाउँ महानगर प्रहरीका प्रवक्ता अमिनुर रसिदले भने । उनले यस घटनामा कुनै मानवीय क्षति नभएको पनि जानकारी दिए ।
हसिनाको शासनकालमा निशानामा परेका युनुसले उनका समर्थकहरूबाट शत्रुतापूर्ण व्यवहारको सामना गरेका छन् । युनुसद्वारा स्थापित ग्रामीण बैङ्कले आफ्ना २२ वटा शाखामा आगजनीका घटना भएको जनाएको छ ।
सरकारी समाचार संस्था बीएसएस (BSS) ले जनाएअनुसार, अर्धसैनिक बल ‘बोर्डर गार्ड बङ्गलादेश’ (BGB) का थप ९० प्लाटुनहरू देशभर परिचालन गरिएको छ ।
राष्ट्रिय प्रहरी प्रमुख मोहम्मद अली हुसेन फकिरले बीएसएसलाई बताएअनुसार, हसिनाको गृह जिल्ला तथा उहाँको दलको लामो समयदेखिको गढ मानिने गोपालगञ्जमा सुरक्षा व्यवस्था पुनः स्थपित गरिएको छ ।
“म यस क्षेत्रका शान्तिप्रेमी जनतालाई तोडफोड र अराजकता गर्नेहरूको विरुद्धमा उभिन आग्रह गर्दछु,” उनले थपे ।
इन्डिपेन्डेन्ट युनिभर्सिटी, बङ्गलादेश (IUB) मा ग्लोबल स्टडीज एन्ड गभर्नेन्सका प्राध्यापक र संयुक्त राज्य अमेरिकाको रक्षासम्बन्धी थिङ्क ट्याङ्क जेम्सटाउन फाउन्डेसनका विश्लेषक खन्दकार तहमित रेजवानले अल जजिरालाई बताएअनुसार, यी विरोध प्रदर्शनहरू पूर्ण रूपमा स्वतःस्फूर्त देखिएका छैनन् ।
“यदि यी प्रदर्शनहरू साँच्चै नै स्वतःस्फूर्त र स्वाभाविक थिए भने, देशका विभिन्न भागहरूमा अझ व्यापक जनपरिचालन र सहभागिता देखिने अपेक्षा गर्न सकिन्थ्यो । यसको सट्टा, हामीले गोपालगञ्ज, फरिदपुर र मदारिपुरजस्ता क्षेत्रहरूमा विरोध गतिविधिहरू केन्द्रित भएको देखिरहेका छौँ, जुन परम्परागत रूपमा अवामी लिगको समर्थन आधारका गढ रहँदै आएका छन्,” उनले भने ।
उनले उल्लेख गरे कि देशका अन्य भागहरूमा पनि छिटपुट विरोध प्रदर्शनहरू भएका खबरहरू आएका छन् तर कम्तीमा हालसम्मको अवस्था हेर्दा, तिनको व्यापकता र भौगोलिक विस्तारले देशभरि फैलिएको आन्दोलनभन्दा पनि स्थानीय स्तरको अशान्तिलाई सङ्केत गर्छ ।
“यद्यपि यी घटनाहरू सार्वजनिक व्यवस्था र राजनीतिक स्थिरताको दृष्टिकोणबाट चिन्ताजनक छन् तर हाल देखिएको परिचालनको ढाँचाले देशभरि यस्तो स्तरको लहर सिर्जना भएको सङ्केत गर्दैन जसले वर्तमान सरकारको स्थितिलाई नै गम्भीर चुनौती दिन सकोस्,” उनले थपे ।
हिंसाको कारण के थियो ?
नोभेम्बर ९ मा सरकारले हसिनाको राहदानी र परिचयपत्रसम्बन्धी अनुरोध अस्वीकार गरेलगत्तै हालैका विरोध प्रदर्शनहरू सुरु भए । हसिनाले सन् १९९६ देखि २००१ सम्म र पुनः २००९ देखि २०२४ सम्म प्रधानमन्त्रीको रूपमा काम गरिन् तर उनको करिब १५ वर्षको कठोर शासनको मानव अधिकारवादी संस्थाहरूले कडा आलोचना गरेका छन् ।
सन् २०२४ मा विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनहरूमाथि उनले गरेको घातक दमनका कारण, मानवताविरुद्धको अपराधमा उनलाई उनी अनुपस्थित अवस्थामै मृत्युदण्डको सजाय सुनाइएको थियो । संयुक्त राष्ट्र सङ्घको अनुमानअनुसार, त्यस हिंसामा करिब १,४०० जनासम्म मानिसको ज्यान गएको हुनसक्छ ।
तर, हसिनाले यी आरोपहरू अस्वीकार गरेकी छिन् र नोभेम्बर ९ मा रोयटर्स समाचार संस्थालाई बताएअनुसार, उनी बङ्गलादेश फर्केर अदालतसमक्ष आत्मसमर्पण गर्ने योजनामा छिन् । उनका सहयोगीहरूले विभिन्न औपचारिकताहरू पूरा भएपछि उनी फर्किने मिति घोषणा गरिने बताए ।
तर, उनको अनुरोधलाई वर्तमान सरकारले अस्वीकार गरेको छ ।
“हजारौँ मानिसको हत्या गरेर भाग्ने आतङ्कवादीहरूलाई बङ्गलादेशले राहदानी दिँदैन । भारतसँगको विद्यमान सुपुर्दगी व्यवस्थाअन्तर्गत, आतङ्कवादी हसिनालाई खोज्न र सुपुर्दगी गराउन काम गर्नेछ,” परराष्ट्र राज्यमन्त्री हुमायुन कबिरले यसै महिनाको सुरुमा बताए ।
ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा हसिनाका लागि मृत्युदण्डको सजाय सुनिश्चित गराएका बङ्गलादेशी अभियोजक मोहम्मद अमिनुल इस्लामले, यदि उनी स्वदेश फर्किइन् भने उनलाई मृत्युदण्ड दिइने बताएका छन् ।
“शेख हसिनासँग फैसलाको कार्यान्वयनको सामना गर्नुबाहेक अर्को कुनै विकल्प छैन,” इस्लामले पत्रकारहरूलाई भने ।
प्रदर्शनकारीहरूले हसिनाको दलमाथि लगाइएको प्रतिबन्ध हटाउन तथा उक्त दलका पक्राउ परेका नेता र समर्थकहरूलाई जेलबाट रिहा गर्न पनि माग गरिरहेका छन् ।
हसिना किन बङ्गलादेश फर्कन चाहन्छिन् ?
जनसङ्ख्याको एउटा हिस्सामा हसिनाको समर्थन अझै कायम छ, जबकि अन्य धेरै मानिसहरू उनलाई फाँसी दिइएको हेर्न चाहन्छन् ।
सन् २०२४ को विद्रोहको दुई वर्षपछि प्रधानमन्त्री रहमानको सरकारले स्थिरता पुनस्र्थापना गर्ने प्रयास गरिरहेको बेला, उनको फिर्तीले राजनीतिक तनावलाई अझ बढाउन पनि सक्छ ।
तर, उनी किन फर्कन चाहन्छिन् भन्ने कुराको पछाडिको उनको योजना स्पष्ट छैन ।
केही विश्लेषकहरूले हसिनाले कानुनको सामना गर्न साँच्चै फर्कन चाहेको भन्नेमा प्रश्न गरेका छन् ।
भारतमा स्वेच्छाले निर्वासित जीवन बिताइरहेकी हसिनाले आफ्नो राजनीतिक भविष्य पुनर्जीवित गर्नका लागि यो आश्वासनको प्रयोग गरिरहेकी हुन कि होइनन् भन्ने प्रश्न अरुले उठाएका छन् । सन् २०२४ को अगस्टमा ढाकाबाट भागेयता, दशकौँदेखि उनकी निकट सहयोगी रहँदै आएको नयाँ दिल्लीले उनलाई आश्रय दिँदै आएको छ । तर, उनको निरन्तर उपस्थिति दुई देशबिच विवादको विषय बनेको छ ।
बङ्गलादेश फर्कनेमा हसिनाको नयाँ जोडको पछाडि धेरै अन्तरसम्बन्धित कारकहरू रहेको रेजवान विश्वास गर्छन् ।
“पहिलो कुरा, यहाँको आन्तरिक राजनीतिक परिवेशलाई हेरौँ । वर्तमान सरकारले सत्ता सम्हालेको करिब १० महिना भइसकेको छ । यस अवधिमा सरकारले मूल्यवृद्धिको चाप, आर्थिक शिथिलता तथा इन्धन सङ्कटलगायत विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ । यी कठिनाइहरू पूर्ण रूपमा आन्तरिक कारणले मात्र सिर्जित होइनन्, बरु धेरै हदसम्म बृहत् भू–राजनीतिक तथा विश्वव्यापी आर्थिक घटनाक्रमहरूसँग जोडिएका छन् । तैपनि, यस्ता जटिलताहरूलाई आम जनतालाई बुझाउन भने अझै कठिन छ । तिनका दैनिक परिणामहरूले अपरिहार्य रूपमा जनमनोबल र सरकारप्रतिको विश्वासलाई असर पार्छन्,” उनले भने ।
“दोस्रो कुरा, अवामी लिगमाथि लगाइएको प्रतिबन्ध कायमै राख्ने कि उसलाई आफ्ना राजनीतिक गतिविधि पुनः सुरु गर्न दिने भन्ने विषयमा राजनीतिक बहस चलिरहेको छ,” उनले थपे ।
उनले उल्लेख गरेअनुसार, विभिन्न अन्तर्राष्ट्रिय पक्षहरू तथा नागरिक समाजका आवाजहरूले उक्त अस्थायी प्रतिबन्ध हटाउन र सो दललाई मूलधारको राजनीतिमा फर्कन दिनुपर्ने वकालत गरेका छन् । यद्यपि, यसअघि सन् २०२४ को जुलाई महिनाको विद्रोहका क्रममा भएका अत्याचारहरूका लागि जिम्मेवार व्यक्तिहरूमाथि अभियोजन र सजाय भने हुनुपर्ने देखिन्छ ।
“तेस्रो कुरा, भारतको भूमिका छ, जसलाई पूर्ण रूपमा बेवास्ता गर्न सकिँदैन । सन् २०२४ को अगस्टमा आफ्नो सरकार ढलेपछि बङ्गलादेशबाट भागेकी शेख हसिना तथा अवामी लिगका धेरै नेता र कार्यकर्ताहरूले भारतबाट विभिन्न किसिमको सहयोग पाइरहनुभएको बताइएको छ । नयाँ दिल्लीले हसिनाको बङ्गलादेशमा सुरक्षित फिर्तीका लागि वार्ता गर्ने सम्भावनाहरू खोजिरहेको छ कि छैन भन्नेबारे पनि छलफल र अड्कलबाजीहरू भएका छन्; यसमा बङ्गलादेशी सेनाको संरक्षणमा रहने लगायतका त्यस्ता व्यवस्थाहरू समावेश हुन सक्छन् जसले उनको सुरक्षा सुनिश्चित गरोस्,” उनले थपे ।
बङ्गलादेशका वरिष्ठ कूटनीतिज्ञ मुशफिकुल फजल अन्सारीले हसिना आफ्नो सजाय भोग्नका लागि फर्किने मनसायमा नरहेको बताएका छन् । “मेरो बुझाइमा, उनको पुनरागमनको कुरा आफ्ना समर्थकहरूलाई एकजुट पार्न र बङ्गलादेशलाई अस्थिर बनाउनका लागि गरिएको हो,” उनले अल जजिरालाई बताए ।
अन्सारीका अनुसार, यो हिंसा विदेशसम्म फैलिएको छ; पूर्वी लन्डनको रोमफोर्डमा अवामी लिगका समर्थकहरूले नाहिद इस्लामको टोलीमाथि आक्रमण गरेको खबर छ । विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनमा सहभागी नाहिद इस्लाम हाल संसद् सदस्य हुन् ।
“आगजनी, हत्या र धम्कीलाई राजनीतिक विरोधका रूपमा प्रस्तुत गर्न सकिँदैन । छिमेकी देश भारतले आफ्नो भूमि बङ्गलादेशविरुद्ध हिंसा फैलाउन वा भड्काउन प्रयोग हुन नदिने कुरा सुनिश्चित गर्नुपर्छ ।”
अवामी लिगका विरोध प्रदर्शनहरूका राजनीतिक परिणामहरू के हुन् ?
विरोध प्रदर्शनहरूलाई नियन्त्रण गर्न प्रहरी बल परिचालन गर्नुका साथै, एकता कायम गर्ने प्रयासस्वरूप प्रधानमन्त्री रहमानले विपक्षी दल जमात–ए–इस्लामीका नेता शफिकुर रहमानसँग वार्ता गरेका छन् ।
जमातका महासचिव मिया गुलाम पोरवारले बङ्गलादेशी पत्रिका ‘द डेली स्टार’ लाई भनेअनुसार, दुवै नेताले भेटलाई सकारात्मक रूपमा हेरेकोे र यसले मुलुकमा लोकतन्त्रलाई सुदृढ पार्ने आशा व्यक्त गरेको बताए ।
“यदि यो पहल सबैलाई समेटेर अघि बढ्ने उद्देश्यका साथ चालिएको हो भने, यो राम्रो हुनेछ । हामी यसलाई सकारात्मक रूपमा हेर्न चाहन्छौँ । यदि यो पहलको मनसाय साँच्चै राम्रो छ भने, हामी चाहन्छौँ कि यो सफल होस्,” उनले आइतबार भने ।
बङ्गलादेशको इन्डिपेन्डेन्ट युनिभर्सिटीका रेजवानका अनुसार, अवामी लिगको दृष्टिकोणबाट हेर्दा, सबैभन्दा प्रतिकूल राजनीतिक घटनाक्रममध्ये एक, बीएनपी (BNP) र जमात–ए–इस्लामीबिच राजनीतिक स्वार्थको सम्भावित मिलन हुनसक्छ । विशेष गरी, यदि अवामी लिगलाई पुनः राजनीतिक आधार प्राप्त गर्नबाट रोक्ने उद्देश्यले उनीहरूका आफ्ना विद्यमान राजनीतिक मतभेदहरूलाई पन्छाए भने ।
“अवामी लिगबाहेक, जमात–ए–इस्लामी बङ्गलादेशका ती थोरै राजनीतिक सङ्गठनहरूमध्ये एक हो, जसको तल्लो तहसम्म स्थापित साङ्गठनिक संरचना, तुलनात्मक रूपमा अनुशासित कार्यकर्ता पङ्क्ति र राजनीतिक परिचालनको व्यापक सञ्जाल रहेको छ । यसले उक्त दललाई अवामी लिगका जरा गाडिसकेका राजनीतिक सञ्जाल र तल्लो तहसम्मको परिचालनलाई चुनौती दिनसक्ने महत्वपूर्ण साङ्गठनिक क्षमता प्रदान गर्दछ,” उनले भने ।
उनले अर्को महत्वपूर्ण पक्ष भनेको अवामी लिगप्रति अझै कायम रहेको जनसमर्थनको मात्रा हो भन्ने कुरामा जोड दिए ।
“यदि शेख हसिना बङ्गलादेश फर्किइन् भने, राजनीतिक रूपमा निष्क्रिय तर वैचारिक रूपमा उनीप्रति सहानुभूति राख्ने जनसङ्ख्याका तप्काहरूले कस्तो प्रतिक्रिया जनाउँला ? के उनको फिर्तीले अवामी लिगको तल्लो तहका समर्थकहरूलाई पुनः सक्रिय बनाउला ? वा दलको राजनीतिक एक्लोपन र साङ्गठनिक कमजोरीहरूले गर्दा उनीहरूलाई परिचालन गर्ने क्षमता सीमित हुनेछ ?” उनले भने ।
“अन्त्यमा, अवामी लिगको राजनीतिक पुनरागमनलाई रोक्ने उद्देश्यले बीएनपी र जमातबिच राजनीतिक समझदारीको दिगोपन र प्रभावकारिता उच्च नेतृत्व तहको वार्तामा मात्र होइन, बरु आफ्ना परस्परविरोधी राजनीतिक स्वार्थहरूलाई व्यवस्थापन गर्न तथा आम मतदातामा विकसित हुँदै गएका भावनाहरूप्रति प्रतिक्रिया जनाउन दुवै दल कति सक्षम छन् भन्ने कुरामा निर्भर रहनेछ, ” उनले थपे ।
स्रोत : अल जजीरा
Leave a Reply