भर्खरै :

वर्गसङ्घर्ष नगरी परिवर्तन कसरी हुन्छ ?

समाजवाद स्थापनाको लागि सङ्घर्षरत दलको आँखा चिम्ली विरोध गर्ने दलका नेता तथा कार्यकर्ताहरूले बेलाबखत समाजवाद र समाजवादउन्मुखको चर्चा गर्नु सकारात्मक पक्ष नै मान्नुपर्छ । तर तिनीहरू जनताको मन जित्न, मत पाउन समाजवादको कुरा गर्छन्, समाजवादी व्यवस्था ल्याउन होइन । समाजवादको बखान गरेर आफूलाई कम्युनिष्ट भनी चिनाउन ती दलका नेताहरू समाजवादको खोल ओढेर पुँजीवादी राजनीति गर्छन् र पुँजीपति वर्गको पक्षपोषण गर्छन् । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्टको आचरण र गुण नभएको पार्टी हो ।
माओवादी केन्द्र वर्गीय राजनीति छोडेर जातीय राजनीति गर्ने दल हो । त्यसकारण राजनीतिक विश्लेषकहरू वर्गविहीन समाजको स्थापनामात्र होइन जातीय राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिन्छन् । जातीय राजनीति गर्न नहुने नेमकिपाको जोड हो । सुरूदेखि नै समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्ष गर्दै आएको दल नेमकिपा हो । सदन र सडकमा समाजवादी सिद्धान्तको प्रचार प्रसार गर्ने, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्ने दलमा नेमकिपा अगाडि छ । नेपाली भूमि मिच्दा, नेपाल–भारत सीमामा भारतीय पक्षले बाँध तथा तटबन्ध बनाउँदा विरोध गरेर देशभक्तको परिचय दिने दल नेमकिपा हो । भारतले नेपाली भूमि सुस्तामा अतिक्रमण गर्दा २०२५ मै नेमकिपाले अतिक्रमित भूमिविरूद्ध विरोध प्रदर्शन गरेको थियो ।
पुँजीवाद र समाजवादको भेदबारे जनतालाई सुसूचित पार्ने दल नेमकिपा नै हो । प्राकृतिक स्रोत र साधनको आधारमा प्रदेश विभाजन गर्नुपर्ने, प्रदेश विभाजनमा हिमाल, पहाड र तराईको भाग समेटिनुपर्छ भन्ने विचार राख्ने दल पनि नेमकिपा नै हो । जातीय प्रदेशको सट्टा भूगोलको आधारमा प्रदेशको नामकरण राख्नुपर्छ भन्ने मान्यता नेमकिपाको हो । नेमकिपाको त्यही अवधारणाअनुसार अहिले प्रदेशको नाम कर्णाली, गण्डकी आदि राख्न थालेको छ । यो स्वागतयोग्य कदम हो । समाजवादउन्मुख र समाजवादको चर्चा परिचर्चा हुनुमा नेमकिपाले निर्वाह गरेको भूमिकालाई कदापि बिर्सन्न सकिन्न । यसैले राजनीतिक विश्लेषकहरू नेमकिपा कम्युनिष्ट र कम्युनिष्ट आन्दोलनको प्रकाशस्तम्भ रहेको बताउँछन् ।
देशमा बहुमत जनताको हितमा समाजवाद स्थापना गर्ने हो भने नेमकिपाले अङ्गालेको सिद्धान्त र विचारको पथमा अरू कम्युनिष्ट पार्टीहरू हिंड्नैपर्छ । कम्युनिष्ट पार्टीको पथप्रदर्शक माक्र्सवाद र लेनिनवादलाई व्यवहारमा लागू गर्न सच्चा कम्युनिष्ट पार्टीहरू अघि बढ्नुपर्छ । समाजवादी सिद्धान्त र विचारको नारामात्र फलाकेर पुग्दैन । जनताको घर–आँगनमा प्रचार प्रसार गर्नुपर्छ । जनतालाई राजनीतिक रूपमा सचेत नहुँदै ‘जनयुद्ध’ छेडेको कारण त्यो युद्ध असफल भएको हो, बलिदानमा टुङ्गिएको हो । सत्तामा रहेरै शान्तिपूर्ण र प्रतिस्पर्धाबाट समाजवाद स्थापना गर्ने वर्तमान सरकारको मान्यताले हिजोको ‘जनयुद्ध’ बेकार भएको प्रस्ट पार्छ । त्यो असफल ‘युद्ध’को माओवादीले क्षमा माग्नैपर्छ । अतः आमूल परिवर्तन गरेर श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने सरकार स्थापना गर्न वर्गसङ्घर्ष नगरी सुखै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *