भर्खरै :

भ्रष्टाचारी र अपराधीहरूलाई हदैसम्मको कारबाहीको कानुनी प्रावधान राख्नुपर्ने

भ्रष्टाचारी र अपराधीहरूलाई हदैसम्मको कारबाहीको कानुनी प्रावधान राख्नुपर्ने

काठमाडौँ, १६ कार्तिक । नेपाल संवत् ११४६ न्हू दँको अवसरमा नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँ महानगरको आयोजनामा भिन्तुनाको शभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले हरेक वर्षको आरम्भमा गएको वर्षको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै ३५ वर्षसम्म सरकारमा गएर आलोपालो सत्ता चलाउने शासक दलहरूको कारण अहिलेको परिस्थिति आएको बताउनुभयो ।
उहाँले भ्रष्टाचार, बेथिति, अनियमितताको विषयमा नेमकिपाले बारम्बार सतर्क गराइरहेको उल्लेख गर्दै भ्रष्टाचारी र अपराधीहरूलाई हदैसम्मको कारबाहीको कानुनी प्रावधान राख्नुपर्ने बताउनुभयो । भदौ २३ र २४ गतेको नयाँ पुस्ताको आन्दोलनको प्रसङ्ग उठाउँदै उहाँले सरकार सुरक्षाको मामलामा चुकेको र गुप्तचर विभागको सूचनालाई बेवास्ता गर्दा देशको ऐतिहसिक सम्पत्तिमा तोडफोड र आगजनी बेहोर्नुपरेको बताउनुभयो ।
उहाँले देशमा सन्तुलित विकास गरी जनतालाई आफ्नै जिल्लामा बस्ने उचित वातावरण बनाउनुपर्ने विचार व्यक्त गर्दै जनता सचेत र सङ्गठित भई समाजवादी व्यवस्था स्थापनाका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले नेमकिपाले स्थापना कालदेखि नै देश र जनताको सेवा गर्दै आएको बताउनुभयो । उहाँले जनताको वास्तविक प्रजातन्त्र र समाजवादी गणतन्त्र प्राप्तिको लागि गोलबन्द हुन आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले देशमा भएको विभिन्न आन्दोलनको चर्चा गर्दै जेन–जी आन्दोलनमा विदेशी शक्ति घुसपैठ भएको कुरा राख्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँ महानगरका राजु कपालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा दामोदर कारंजित र सैलेश डंगोलले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *