भर्खरै :

नक्कली कम्युनिस्टहरू घोषित पुँजीवादीहरूभन्दा झन् खतरनाक हुने

नक्कली कम्युनिस्टहरू घोषित पुँजीवादीहरूभन्दा झन् खतरनाक हुने

धनुषा, १८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेमकिपा मधेश प्रदेश समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा मधेश प्रदेश समितिको बैठक मङ्गलबार धनुषाको सदरमुकाम जनकपुरमा सम्पन्न भयो ।
मधेश प्रदेश समितिको उक्त बैठकले २०८२ पुस महिनामा विश्व सर्वहारा वर्गका नेताहरू जेभी स्तालिन र माओ त्सेतुङको जन्म दिवसको अवसरमा अध्ययन गोष्ठी र अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्ने, माघ महिनामा नेमकिपाको ५३ औँ स्थापना दिवसको अवसरमा प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गर्यो ।
जनवर्गीय र पेसागत सङ्गठनहरू जिल्ला जिल्लामा गठन गर्ने र युवा विद्यार्थीहरूको भेला गरी सङ्गठन विस्तार गर्ने निर्णय गर्यो ।
बैठकमा केन्द्रीय सदस्य प्रजापतिले मधेश प्रदेशको सदरमुकाम जनकपुरको ऐतिहासिक र राजनैतिक पृष्ठभूमिमाथि प्रकाश पार्दै मधेस प्रदेशका जिल्ला जिल्ला र गाउँ गाउँमा सङ्गठन विस्तारमा कार्यकर्ताहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।
निर्वाचनको घोषणापत्र अक्षरशः पालना गरी जनताको सेवामा इमानदारीपूर्वक काम गर्न नेमकिपाका जनप्रतिनिधिहरूले गरिरहेको काम सबैको लागि अनुकरणीय बन्दै गएको बताउँदै उहाँले नेमकिपा सैद्धान्तिक र वैचारिक रूपले देशको शक्तिशाली पार्टी हो भन्नुभयो ।
नेपाली काङ्ग्रेस, एमाले, माओवादीहरूले राज्य सञ्चालनको क्रममा गरेको भ्रष्टाचार, अनियमितता र अनैतिक गतिविधिहरूको विरोधस्वरुप युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनले देश नयाँ राजनैतिक अवस्थामा धकेलिएको बताउनुभयो ।
भ्रष्टाचार र शोषणरहित समाजको अन्त्य समाजवादी व्यवस्थामा मात्र सम्भव हुने उल्लेख गर्दै प्रजापतिले कम्युनिस्ट पार्टीप्रति वितृष्णा जगाउने काम शासक दलहरूबाटै भएको बताउनुभयो । उहाँले नक्कली कम्युनिस्टहरू घोषित पुँजीवादीहरूभन्दा झन् खतरनाक हुने विचार पनि सो क्रममा व्यक्त गर्नुभयो ।
समाजवादको नारा दिएर पुँजीवादलाई बलियो बनाउने एमाले र माओवादीको कारण कम्युनिस्ट पार्टी बद्नाम भएका छन् भन्दै उहाँले देशलाई अराजकताबाट जोगाउन निर्वाचन उपयुक्त विकल्प भएकोले सबै राजनैतिक दलहरू निर्वाचनको तयारीमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारका विभिन्न देशमाथि थिचोमिचो, आक्रमण र हस्तक्षेपको लागि निर्देशन दिइरहेको सन्दर्भ जोड्दै ट्रम्पले अन्य देशहरू आफ्नो निर्देशनअनुसार चल्नुपर्छ भन्ने मान्यतामा जथाभावी व्यवहारहरू प्रस्तुत गर्दै आएको स्पष्ट पार्नुभयो ।
देशका सार्वजनिक संस्थानहरू निजीकरण गर्ने नीतिले देश टाटपल्टिने अवस्थामा पुग्ने बताउँदै उहाँले उद्योग तथा कलकारखानाहरूको विकास भएको देशको अर्थतन्त्र पनि बलियो हुने हुँदा देशका उद्योग कलकारखानाहरू सार्वजनिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्यालेस्टिनी जनताबाट देशभक्तिपूर्ण पाठ नेपाली जनताले सिक्नुपर्ने आजको आवश्यकता हो भन्दै उहाँले जस्तोसुकै सङ्कटलाई डटेर सामना गर्दै इजरायलविरुद्ध लडेर प्यालेस्टिनले संसारका जनतालाई देशभक्तिपूर्ण भावनाको उदाहरण प्रस्तुत गरिरहेको बताउनुभयो ।
बैठकमा नेमकिपाका केन्द्रीय सदस्य तथा मधेश प्रदेश समितिका सदस्य सरोज साहले मधेश प्रदेश समितिले पार्टी स्थापनाको उद्देश्यलाई आत्मसात गर्दै सङ्गठन विस्तार र कार्यकर्ताहरूलाई राजनैतिक रूपले प्रशिक्षित गर्ने कार्य गर्दै आएको बताउनुभयो । उहाँले राजनीतिक पार्टीहरू आफ्नो सिद्धान्त र विचारमा अडिग भएर जनताको सेवामा लाग्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा समितिका सदस्य मुक्तिप्रसाद यादवले नेमकिपाले गरेको इमानदारीपूर्ण कामले पार्टीको पहिचान र गौरवपूर्ण इतिहासलाई अझ उँचो बनाउने काम भएको बताउनुभयो । नेपालमा भइरहेको वैदेशिक हस्तक्षेप जेन–जी आन्दोलनका गतिविधिबाट प्रस्ट भएको बताउँदै उहाँले देश र जनताको इमानदारीपूर्वक काम गर्ने देशभक्त पार्टी नेमकिपा हो भन्नुभयो ।
कार्यक्रममा मधेश प्रदेश समितिका सदस्य प्रकाश थुसा, दिनेशप्रसाद साहलगायतका सदस्यहरूले पनि आ–आफ्ना धारणाहरू राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *