भर्खरै :

समसामयिक सन्दर्भबारे केही टिप्पणी

–क्रिश्चिना
देशको विकास निर्माणमा रकम खर्च नभएको होइन, तर मुलुकको विकास नहुनुमा शासक दल, प्राविधिक, ठेकेदारहरु र कर्मचारीतन्त्र दोषी भएकोमा शङ्का छैन । अब खुट्याउनुपर्ने विषय हो– कसको सरकारको पालामा र प्रधानमन्त्री को थिए, कति रकम कमिसनको लेनदेन गरे, ठेकेदारहरु को को हुन्, तिनीहरुले कुन कुन योजना ठेक्का लिएका थिए र तिनीहरुको सम्पत्ति कति छन् र कहाँ कहाँ छन् । जनताले थाहा पाउने अधिकार राख्छन् । त्यस्तै योजना हेर्ने मुख्य मुख्य कर्मचारी को को हुन् ? तिनीहरुको सम्पत्ति विवरण परिवारका सदस्यहरु कुन कुन देशमा के के काम गर्दैछन् ? जनताले जान्ने अधिकार राख्छन् ।
२५ औं अर्ब लगानी हुने बबइ सिंचाइ योजनाबारे बर्दियाको समाचारको शीर्षक हो– बबईको मूल नहर असुरक्षित, बर्सेनि करोडौं लगानी खेर ।’ हचुवाको भरमा गरिएको डिजाइन र मापदण्डविपरीत नहर निर्माण भएकोले बर्सेनि भत्किने गरेको स्थानीय बताउँछन् । (नागरिक, २५ साउन २०७५) ।
यस्तो ठूलो योजनामा नेका र सम्भवतः शेरबहादुर देउवा नै यस दुर्भाग्यको कारनीमध्ये एकजना भएकोबारे स्थानीय जनतामा गाइँगुइँ सुनिन्छ । अरु नेताहरुमध्ये कति मरे कति जिउँदै छन् ।
खानेपानी र सरसफाइमा भ्रष्टाचार ?
काभ्रे जिल्लाको समाचारको शीर्षक छ– ‘शौचालयको प्यान र साइफनको मूल्य दोब्बर’, ‘सप्लायर्सको सेटिङमा करोडौं भ्रष्टाचार’, कमिसनवापत आएको करोडौं रुपैयाँले सम्बन्धित निकायमा सेटिङ मिलाएपछि कसले छानबिन गर्ने ?’
मन्त्रालय र विभागबाटै आएका कार्यालय प्रमुख काफ्ले, इञ्जिनियर शङ्करनाथ खनाल, भूषणकृष्ण मल्ल र राजेन्द्रप्रसाद श्रेष्ठ अनियमितताका ‘बहादुरहरु’ हुन् । समाचारपत्र, २५ साउन २०७५) । छानबिनमा अब कुन कुन मन्त्रालयका कुन सचिव र विभागका निर्देशकहरु कुन कुन राजनैतिक दल र मन्त्री वा नेताको पैरवीबाट आएका हुन् भन्नेबारे पनि ध्यान दिनुपर्छ । अनि भ्रष्टाचारका स्रोतहरु खुल्नेछन् । भ्रष्टाचारीहरुकै मूलमा पुगेपछि मात्रै देशलाई ध्वस्त बनाउनेहरु देशी वा विदेशी को हुन् प्रस्ट हुनेछ ।
बालुवा तस्करीबारे
दोलालघाटको एक समाचार छ– ‘बालुवा तस्करी रोक्नै मान्दैन प्रहरी ।’ यस्तो समाचार पहिले काठमाडौं उपत्यकामा मात्रै सुनिन्थ्यो, अब बाहिरी फेरामा पनि यो कुरा व्यापक हुँदैछ । भारतीय तस्करहरुसमेत नेपाली तस्कर र माथिल्ला शासक वर्गसँग पनि मिलिमतो भएको हल्ला वर्षौं अघिदेखि चलेकै हो ।
यस्तो घटनामा साधारण प्रहरी वा ‘मूली’ प्रहरीको मात्रै के दोष ? अमुक प्रधानमन्त्रीले ठूला प्रहरीको नियुक्तिमै करोड–करोड घूस खाएपछि के गर्ने भन्ने गाइँगुइँ जनता र प्रहरीबीच पनि व्यापक छ ।
ट्रिपर रोकिंदा समस्यै समस्या ?
यो काभ्रेकै समाचार हो । ट्रिपर आतङ्कको कारण दिउँसो ट्रिपरलाई उपत्यकामा रोक लगाउँदा व्यवसायीहरुलाई मर्का प¥यो भनी बैठक, पत्रकार भेटघाट र माथिमाथि उपहार र ब्रिफकेशको खेल भएको चर्चा व्यापक छ ।
चिया पसल, गल्ली र पाटीमा जनता छलफल गर्दैछन् – ट्रिपर त ट्रिपर मालिकले नै चलाउँदा दुर्घटना हुँदैन होला वा दुर्घटना भएमा मालिक नै दोषी ठहरिने कानुन बनेमा जनताले दुःख पाउने छैनन् ।
नेपालको जनसङ्ख्या घटाउन नै भारतीय कम्पनीले त्रुटीपूर्ण ट्रिपर नेपाल पठाएको हो ? कुरो त्यही भने ट्रिपरका ‘दलाल’ मृत्युका व्यापारी हुन् ? जनप्रतिनिधिले मुत्युको व्यापार गर्न पाइन्न भन्ने जनगुनासो छ । व्यवसायीको नाफाको निम्ति जनताका छोराछोरीको हत्या गर्ने छुट दिनुहुन्न भन्ने व्यापक चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *