भर्खरै :

सावधान ! किशोरीहरू

डा.अरुणा उप्रेती
विराटनगरकी १५ वर्षीया किशोरीले ७ साताको गर्भपतन गराउन औषधि खाइन् । एक सातापछि पेट दुखेर उनी बेहोस भइन् । अस्पताल लगेर सोनोग्राम गर्दा थाहा भयो, उनको गर्भ गर्भनलीमा रहेछ । त्यो फुटेर आन्तरिक रक्तस्राव हुनाले ज्यानकै खतरा आइलाग्यो । धन्य, शल्यक्रिया गरिएपछि ज्यान बच्यो ।
उनीसँग शारीरिक सम्बन्ध राखेका किशोरले त्यसपछि नचिनेझैं गरे । इज्जत जाला भनेर परिवारले प्रहरीमा रिपोर्ट पनि गरेन ।
किशोर अहिले काठमाडौंमा उच्च शिक्षा पढ्दै छन् । किशोरी मानसिक रोगको औषधि खाएर घर बसेकी छन् । उनको पढाइ छुटेको छ । ‘किशोर–किशोरीलाई गर्भपतन अधिकारबारे भन्यौं, तर उनीहरूलाई आफ्नो शरीरप्रतिको जिम्मेवारी सिकाउन सकेनौं’, ती किशोरीका स्कूल शिक्षकको टिप्पणी थियो ।
किशोर–किशोरीले राम्रो मार्गदर्शन नपाएकाले सहजै यौन सम्पर्क राख्ने र कुनै क्लिनिकमा गर्भपतन गराउने प्रवृत्ति बढेको छ । म बेला–बेला विभिन्न स्वास्थ्य चौकी र अस्पताल पुग्दा सुरक्षित गर्भपतन गर्न कति महिला आउँछन्, कस्ता चुनौती छन्, असुरक्षित गर्भपतन गर्ने महिला बिरामी भएर आउँछन् कि आउँदैनन् भनेर छलफल गर्छु । छलफलबाट थाहा हुन्छ– सुरक्षित गर्भपतन कानुन र सेवा भएपछि मृत्युदर कम भएको छ । अनिच्छित गर्भ वा बलात्कार वा हाडनाता करणीका कारण रहेको गर्भपतन गर्न सजिलो भएको छ । यसले महिलाको स्वास्थ्यमा सुधार गरेको छ ।
नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिलाउन ३२ वर्ष अगाडि हामीले आवाज उठाउँदा प्रायशः कमैले मात्र माग पूरा हुने विश्वास गरेका थिए । यो विषयमा बोल्दा विभिन्न व्यक्तिले हामीलाई होच्याउँथे । ‘नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिलाउन आवाज उठाएर कतै गल्ती त गरिएको छैन’ भन्ने पनि लाग्थ्यो । तर सन् २००२ मा गरिएको गर्भपतनको कानुनी मान्यता महिलाको स्वास्थ्य राम्रो पार्न महत्वपूर्ण कदम बन्न पुगेको छ ।
इलाममा ९ कक्षाकी १७ वर्षीया किशोरीको १८ वर्षीय किशोरसँग यौनसम्पर्क भएपछि गर्भ रहेछ । दुवैजना झापाको निजी औषधि पसलमा पुगेर गर्भपतन गराउन खोजेछन् । अति रक्तस्राव भएर किशोरीलाई अस्पताल लानुपरेछ । किशोरले किशोरीको घरमा खबर गरिदिएछ । घरका मानिस अस्पताल नपुग्दै किशोर भारततिर भागेछ । किशोरीको ज्यानचाहिं बच्यो । परिवारले बेइज्जत हुने डरले कसैलाई भनेन । निको भएर घर गएपछि परिवारले ती किशोरीको विवाह गराइदिएछ ।
शिक्षकहरू भन्ने गर्छन्– अहिलेका किशोर–किशोरी स्कूलमै प्रेम गर्न थाल्छन् र शारीरिक सम्पर्क राखिहाल्छन् । किशोरी गर्भवती भएपछि किशोर भागिहाल्छ । शारीरिक र मानसिक पीडाचाहिं किशोरीले भोग्नुपर्छ ।
तीज र आजका महिला
तीजका गीत बज्न सुरु भइसकेका छन् । अब विभिन्न ठाउँमा तीजका लागि भनेर विशेष पसल खोलिनेछन्, महिलाले किनमेल पनि थालेका छन् । अब आपसमा भेटघाट गरेर मीठो–मीठो पकाएर खानेछन्, रमाइलो नाचगान गर्नेछन् ।
त्यसपछि फेसबुक र आम सञ्चारमाध्यममा महिलाले पार्टी गरे, पार्टी प्यालेसमा रमाइलो गरेर पैसा खर्च गरे, श्रीमानले कमाएको पैसा उडाए, तीजको महत्व घटाए भनेर लेखिनेछन् । पहिले तीजमा महिलाले दुःखका गीत गाउँथे, अब त आधुनिक गीत गाउँछन् भनेर व्यङ्ग्य गर्दै लेख लेखिनेछन् ।
अहिले जमाना बदलिइसकेको छ, महिला पनि बदलिएका छन् भन्ने कुराचाहिं किन कसैले ध्यान नदिएको होला ?
देशको राजनीतिक र सामाजिक परिस्थितिसँगै महिलाको विचार, भावना, आर्थिक अवस्था पनि फरक भइसकेको छ । अब महिलाले पहिलेको जस्तै केवल दुःखका गीत गाउँदैनन्, अहिले त आफ्नो अधिकारको गीत पनि गाउँछन्, देश–विदेश जाने र पढ्न पाउने अधिकार, सम्पत्तिको अधिकार र राजनीतिक अधिकारका गीत पनि गाउँछन् । अहिले महिलाले तीजमा नयाँ लुगा र सुनका गहनामात्र किन्दैनन्, जीवनलाई सहज बनाउन चाहिने मालसामान किन्छन्, नयाँ–नयाँ किताब किन्छन्, कम्प्युटर र मोबाइल, स्कुटर पनि किन्छन् । गाउँ–गाउँमा महिलाको हातमा मोबाइल पुगेकाले महिलाले पनि फेसबुक खोलेका छन् भन्ने बिर्सेर, महिलाले संस्कृति बिर्से भनी हल्ला मच्चाउँछन् । पुराना रीतिरिवाजमा आधुनिकता ल्याउन सकिन्छ भनी किन बिर्सेको होला समाजले ?
अहिले महिलाको हातमा पैसा छ, विभिन्न काम गरेर, दुःखसुख गरेर, आफ्नै व्यवसाय गरेर आफ्नो सन्तान (छोरा–छोरी) लाई पढाएका छन् । विदेश गएर पनि काम गरेका छन्, त्यो पैसाले घरगृहस्थी चलाएका छन् । महिलाले मिहिनेतले पैसा कमाएर तीजमा मनोरञ्जन गरे, दिदी–बहिनी, साथीसँग भेटघाट गरेर, रमाइलो गरे भने किन सामाजिक सञ्जालमा आलोचना हुनु, बुझिनसक्नु छ ।
‘क्यासिनोमा गएर लाखौं रुपैयाँ हारेर कुनै पुरुषले घरबार खत्तम गर्छ, त्यो बेला सामाजिक सञ्जालमा यस्तो विवेकहीन कामको कसैले आलोचना गर्दैन, जब भट्टीमा गएर टिल्ल रक्सी खाएर ढलमलिँदै घर आउँछ, एउटा लोग्ने, एउटा बाबु, त्यो बेला सामाजिक सञ्जालमा यसको कहाँ विरोध हुन्छ र ? अनि महिलाले बडो विवेकशील तरिकाले मनोरञ्जन गर्दा किन टाउको दुखाउनु ?
उवाको पाउरोटी
केही महिनाअघि मेरी एक पत्रकार शर्मा थरकी साथी फिनल्यान्ड गएकी थिइन् । दस दिनको बसाइँपछि उनी काठमाडौं फर्केर भेटेपछि मैले सोधें,‘मलाई के ल्याइदिऊँ त फिनल्यान्डबाट उपहार ?’ ‘तिमीलाई पाउरोटी ल्याइदिएकी छु’, उनको भनाइले मनै अमिलो भयो । ‘त्यति टाढाबाट जाबो पाउरोटी । त्यो त म यहीं पाउँथें नि !’ मनमनै सोचें । उनले पाउरोटी दिएपछि पो आनन्द लाग्यो । यो त काठमाडौंमा पाउने मैदाले भनेको सेतो पत्रु पाउरोटी होइन, उवाले बनेको अति स्वस्थकर पाउरोटी पो रहेछ ।
‘फिनल्यान्डमा त सेतो पाउरोटी खाँदैनन् । सरकारले त्यहाँका जनताको स्वास्थ्य राम्रो होस् भनेर पत्रु खानामा बढी कर लगाएको छ । स्वस्थ्यकर खाना खान प्रेरित गर्छ’, म आफैं ८ वर्षअघि फिनल्यान्ड जाँदा एक नर्सले भनेको कुरा याद आयो । अनि पो मेरी साथीले ल्याइदिएको उपहार खुसी भएर लिएँ, त्यो उपहार पाएपछि मलाई मनमा झल्यास्य भयो, यस्तो राम्रो र पौष्टिक उवा त नेपालको मुस्ताङ, मनाङ, कर्णालीमा त पर्याप्त पाइन्छ तर ‘नजिकको तीर्थ हेला’ भनेझैं, त्यो उवाको महत्व नजानेरै होला, उवा अहिले कर्णालीमै अपहेलित छ । काठमाडांैका मानिसलाई त उवाको बारेमा कुराकानी ग¥यो भने कतिले त ‘खुवा’ भनेर सुन्दारहेछन् । कतिले चाहिं ‘यस्तो आधुनिक जमानामा पनि के यस्तो पुरानो जमानाको मान्छेजस्तै कुरा गरेर, कर्णालीको उवाको कुरा गरेर हिंडेको । अहिले त कर्णालीमा उवा होइन सेतो भातको चलन छ । तिमी काठमाडौंमा बसे त लपक्क मीठो सेतो भात खाने । अनि उवाको कुरा गर्ने ।’ भनेर मलाई हपार्ने पनि गरेका छन् ।
कतिलाई चाहिं उवा भनेको अचम्मैको अन्न हो भन्ने लाग्दोरहेछ । तर, वास्तवमा उवा भनेको जौ नै हो । स्थानीय भाषामा उवा भनेपछि बुझिन्छ । हावापानी ठाउँअनुसार उवाको पौष्टिक तत्व केही फरक होलान् तर उवा आफैंमा ऊर्जा, सूक्ष्म पोषक तत्व, रेसादार पदार्थले भरिपूर्ण भोजन हो ।
पहिले पहिले मुस्ताङतिरको यात्रा गर्दा भरियाले उवाले बनेको चम्पा (जौ भुटेको पीठो) आफूसँग लैजान्थे । भोक लागे त्यही पानीमा घोलेर खान्थे । ६–७ घण्टा हिंड्न ऊर्जा सँगाल्थे । अहिले बाटो गएपछि त चाउचाउ र चिसो खान्छन् । अनि पैसा दिएर मुटुको रोग किन्छन् । उवा, किनुवा, चिनो आदि जस्तो अन्नलाई बिर्सेर चामलको स्वाद खोज्नेहरूलाई थाहा छैन कि यसो गरिरहँदा उनीहरूले कस्तुरी मृगझंै नाभीमा भएको सुगन्ध थाहा नपाएर, सुगन्ध खोज्न कताकता हिंडिरहेछन् । सायद फिनल्यान्डका पढे–लेखेका डाक्टर, सरकारी कर्मचारी, बालबालिकाले उवाबाट बनेको पाउरोटी खान्छन् भन्ने बुझे भने कर्णालीका बासिन्दाले उवालाई सम्मान गर्न सिकेर फेरि फलाउने प्रयत्न गर्थे कि ? अहिले त उवाको पिठो त्यहाँ दुर्लभ भएको छ ।
‘जता हे¥यो उतै नजरमा, राम प्यारा छन्’ भन्ने एउटा भक्ति गजल छ । त्यो गाउँदा म सम्झिन्छु, ‘नेपालमा जता हे¥यो, उतै फोहोर सारा छन् ।’ म अचम्ममा पर्छु, किन मैलेमात्रै नेपालको सौन्दर्य देख्न सक्दिन, वर्णन गर्न सक्दिन ? सायद मेरो आँखा नै फोहोरी हो कि ?
नेसनल जोग्राफीमा नेपालका अति सुन्दर घुम्नैपर्ने दस ठाउँको फोटो आयो । सबै खुुसी भए, तर त्यो बेला म सम्झिरहेको थिएँ– थापाथलीको पुलमा हिंड्दा गनाउने बागमती, विभिन्न ठूलठूला बसपार्कमा फ्याँकिएका कागज र फोहोरका थुप्रा जो वर्षातसँगै हिलोमा परिणत हुन्छन् । त्यो बेला म सम्झिरहेको थिएँ– भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा थुप्रिएका फोहोर ।
लोन्ली प्लानेटले २०१७ सालमा घुम्नुपर्ने देशहरूमध्ये नेपाललाई पनि राखेको देखेर सबै खुसी नै भयौं होला, पर्यटकहरूको घुइँचो बढ्नेछ भनेर । यसै बीचमा रारामा आन्तरिक पर्यटकहरू गएर त्यहाँको सौन्दर्य अवलोकन गरेको समाचार सुनेर पनि खुसी भयौं । तराईका मन्दिरहरूको दर्शन गरेर त्यहाँको प्रसाद लगाएर फोटो खिच्नेहरूको भिड हेर्दा नेपाल त कति आधुनिक देश रहेछ भनेर गुन्न करै लाग्छ ।
फेवाताल र राराको अगाडि सेल्फी खिचेर माछापुच्छ्र्रेको फोटो खिचेर फेसबुकमा राख्दा हामी ‘आहा ! नेपाल त स्वीट्जरल्यान्ड जस्तै छ’ पनि भन्छौं । तर यी सबै ठाउँमा फोहोर फैलिरहेको किन बिर्सने ? हामी सबै भन्छौं, ‘नेपाल राम्रो छ, हिमाल राम्रो छ ।’ तर त्यो सुन्दरताको वरिपरि मानिसले थुपारेको फोहोरलाई चाहिं वास्तै गर्दैनौं । पशुपतिनाथ परिसरको हालत पनि यस्तै छ ।
डोटीको शैलेश्वरी जाँदा होस् वा मनकामना जाँदा बाटोमा फोहोरका डङ्गुर फ्याँकेको हुन्छ । तर आध्यात्मिकताको नशाले गर्दा त्यो फोहोरले नेपालीलाई त पटक्कै छुँदैन । तर लोन्ली प्लानेट पढेर कोही पर्यटक यी तीर्थस्थलमा गए भने तिनले के विचार गर्लान् त ? के नेपालीहरूलाई फोहोरी हुने रोग नै लागेको छ त ? यसो हुँदो हो त ५ तारे होटल, निजी स्कूलहरू पनि त फोहोर नै हुनुपर्ने हो । सैनिक र प्रहरीका गुल्म पनि फोहोर नै हुनुपर्ने हो, ठूलठूला व्यापारीका घरहरू पनि फोहोर नै हुनुपर्ने हो । तर यी सबै ठाउँ सफा छन् ।
तर सरकारी कार्यालय, शौचालय, मैदानचाहिं किन फोहोर भएका होलान् ? कुनै पनि सरकारी कार्यालयमा जाँदा सचिव, सहसचिवको कोठा कुन हो भनेर सोध्नुपर्छ । तर शौचालय कहाँ छ भनेर त सोध्नै पर्दैन । किनकि शौचालयबाट आएको ‘बास्ना’ले स्वतः देखाउँछ, बाटो शौचालयको । यदि नेसनल जोग्राफीले यस्ता ठाउँहरूलाई फोटो खिचेर देखायो भने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *