भर्खरै :

प्राकृतिक विपत्ति रोकथामको पूर्वतयारी किन गरिंदैन ?

नेपालमा जब जब हिउँद आउँछ शितलहरलगागत चिसोका कारण गरिबहरू कठ्याङ्ग्रिएर मरेका समाचार आउँछन् । अनि जब जब वर्षात् आउँछ बाढी र पहिरोका कारण ठाउँठाउँमा मानिस मरेका समाचार ता–तातो खबर बन्छन् । बाढी –पहिरोजस्ता प्राकृतिक विपत्का कारण पछिल्लो चार महिनाभित्र ५ सय २९ जनाको ज्यान गएको तथ्याङ्कले हामी प्राकृतिक विपत्तिप्रति संवेदनशील नरहेको र कुनै पूर्वतयारी नगरेको प्रस्टयाउँछ ।
गृह मन्त्रालयका अनुसार भारी वर्षा, बाढी र पहिरोका कारण झण्डै रु. २ करोड बराबर धनमालको क्षति भएको छ । प्राकृतिक विपत्ति कतिपय बेलामा अनुमानै नगरेजस्तै पनि आउन सक्छ तर भारी वर्षा हुने बेलामा बाढी आउने र पहिरोको जोखिम क्षेत्र पहिचान गर्नु धेरै जटिल विषय पक्कै होइन । तरै पनि विपत् र विपत्को रोकथाम कार्यमा नेपाल सरकार र सम्बन्धित कुनै निकायको पनि ध्यान गएको लाग्दैन ।
प्राकृतिक विपत्का कारण प्रत्येक वर्ष ३ देखि ४ अर्बको धनमाल क्षति हुने गरेको छ । प्राकृतिक विपत्तिको रोकथाम वा पूर्वतयारीमा हाम्रो देश निकै पछाडि छ । त्यस्ता पूर्वतयारीका कार्यक्रमहरू औपचारिकतामा सीमित छन्, बजेट सकाउने हिसाबले मात्र कार्यक्रम हुन्छ । प्राकृतिक विपत्बाट धनजनको क्षति हुनबाट जोगाउने कुरामा वास्तवमै ध्यान दिएको पाइँदैन । त्यस्ता पूर्वतयारीका कार्यक्रम वा तालिम विपतग्रस्त क्षेत्रका मानिसहरूलाई संलग्न गराएको पाइँदैन ।
अत्यन्त सुरक्षित क्षेत्रमा सुरक्षित आवासमा बस्नेहरूका निम्ति पहाड र तराईका गाउँमा आउने प्राकृतिक विपत्ति र हुने धनजनको क्षतिले पिरोल्ने कुरा पनि भएन । हरेक वर्ष प्राकृतिक विपत्ति आउने गर्छ, धनजनको ठूलो क्षति हुने गर्छ तर सम्बन्धित निकाय, अधिकारीहरू र सिङ्गो सरकारलाई कुनै प्रभाव पर्दैन । मिडियासामु एकैक्षण गम्भीर चासो राखेर, दुःख व्यक्त गरेर गोहीको आँसु चुहाइन्छ र पुनः हिजोकै प्रवृत्ति दोहोरिन्छ । फलतः प्राकृतिक विपत्ति नेपालमा नियमित आकस्मिकता बनेको छ । पीडित र संवेदनशील जनता प्रश्न गरिरहेका छन्– प्राकृतिक विपत्ति रोकथामको पूर्वतयारी कहिलेबाट ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *