भर्खरै :

सन्दर्भ ः श्रृङ्खलाबद्ध इन्काउन्टर- किन बढ्दै छ जघन्य आपराधिक घटना ?

राजन
नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले अन्तिम पटक श्वास फेर्न सङ्घर्ष गर्दै गर्दा मेरो घरमा चोरले ढोका फोर्ने अन्तिम सङ्घर्ष गर्दै थियो । आफ्नै बलबुत्ताले जेनतेन कमाई र साथीभाइ आफन्तको सानातिना सहयोगमा भुइँतले घर ठड्याएर बसेको मात्र ४ महिना भएको थियो, चोरले केही जिन्सी र केही नगद हात पा¥यो । बिहान थाहा पाउनेबित्तिकै तीन सय मिटरको दूरीमा रहेको प्रहरी कार्यालयमा खबर गरें । केही समयपछि प्रहरी टोली आइपुग्यो । चोरी भएको दराज र अन्य सामानको निरीक्षणपछि प्रहरीले हाम्रो गल्ती औल्याउँदै भने, “तपाईंले यी कुनै पनि सामान छुन नहुने, यसले गर्दा चोरको फिङ्गर प्रिन्ट मेटिने भयो जसको कारण चोर पक्रन गा¥हो हुने भयो ।” हामीले चोरी भएको थाहा हुनेबित्तिकै चोरी भएको कोठामा सबै वस्तु ओल्टाई पल्टाई हेरेका थियौं । त्यसो गरेकोले चोर पक्रन नसक्ने भयो भनेर हामीलाई पछुतो लाग्यो । सबै मुचुल्का उठाएर प्रहरी चोर पक्र्न सक्दो सहयोग गर्ने आश्वासन दिँदै फर्के ।
दिउँसो कौसीतिर जाँदा फलामे बारमा पाँच औंलाको डाम प्रस्ट देखें । बिहान प्रहरीले “फिङ्गर प्रिन्ट मेटिएकोले चोर समात्न गा¥हो हुने” भनेको कुरा सम्झना भयो । अब भने चोर पक्रिने पक्का भएको आशामा प्रहरी कार्यालय पुगेर चोरको फिङ्गर प्रिन्ट भेटिएको कुरा प्रहरीलाई जानकारी गराएँ । थोरै अल्छी पारा देखाउँदै “एकछिनमा हामी आउँछौं, तपाईं जान्दै गर्नू” भनेर प्रहरीनजवानले भन्यो । हराएको सामान फिर्ता पाउने मनको लड्ढा खेलाउँदै घर फर्कें । प्रहरीको बाटो हेर्दै गर्दा पनि आँखाअगाडि भने हराएका सामान आइरह्यो । फिङ्गर प्रिन्ट उतार्न प्रयोग गरिने सामान लिएर प्रहरी आइपुगे । मानौं, मेरो लागि चोर नै पक्रेर ल्याएजस्तो ¤ फिङ्गर प्रिन्ट लिने आवश्यक प्रक्रिया पु¥याए पनि कागजमा एक शब्द पनि नलेखी प्रहरी फर्किदा फिङ्गर प्रिन्टको प्रक्रिया लतरपतरको पारामा सिध्याएजस्तै लाग्यो । चोर पक्रिने मनमा पलाएको उत्साह धेरै बेर रहेन । लामो समयसम्म प्रहरीबाट कुनै खबर आएन । केही पटक प्रहरी कार्यालयमा गएर चोरको बारेमा सोधपुछ त गरें तर कुनै सकारात्मक जवाफ आएन । एकपटक प्रहरी कार्यालयमा यही घटनाबारे प्रहरीसँग भलाकुसारी गर्दै गर्दा एकजना प्रहरीले भनेको कुरा अनौठो लाग्यो, “म पनि सुतिरहँदा चोर झ्यालबाट छिर्न खोज्दा मैले खुकुरीले प्रहार गर्ने प्रयास गर्दामात्र चोर भाग्यो । त्यसबेलादेखि म खुकुरी सिरानमुनि राखेर सुत्छु ।” प्रहरीले गफ सुनाए । मलाई पनि सिरानीमूनि खुकुरी राखेर सुत्न सल्लाह पो दिएको हो कि जस्तो लाग्यो । सायद उनीहरूलाई म तारन्तार प्रहरी कार्यालय आएको मन नपरेर यस्तो अनौठो कुरा गरेको पो हो कि ? या म पटक–पटक यस्ता सानातिना चोरीको कुरा लिएर प्रहरी कार्यालय नआओस् पो भनेको हो ? मजस्ता सोझासिधा सर्वसाधारण जनताले सुत्दा खुकुरी सिरानमुनि राख्नुपर्छ भने मैले आफ्नो आम्दानीको केही अंश करको रूपमा राज्यलाई बुझाएको अर्थ के ? शान्ति सुरक्षाको लागि प्रहरी प्रशासनको निम्ति राज्यले खर्च गरेको त्यत्रो रकमको अर्थ के ? वास्तवमा कानुन हातमा लिन खोज्नेलाई रोक्नुपर्ने प्रहरीले उल्टै कानुन हातमा लिन उक्साएजस्तै भयो ।
हामीकहाँ प्रहरीको लापरबाही भनेकै सानातिना चोरी र लुटपाटका आपराधिक घटनालाई बडो हलुका ढङ्गले लिनु हो । त्यसमाथि सर्वसाधारण जनता या प्रहरी प्रशासनसम्म कुनै पहुँच नहुनेले त प्रहरी कार्यालयमा यस्ता चोरीसम्बन्धी उजुरी लिएर जानु नै बेकारजस्तै लाग्छ । चोरी भइसकेपछि थुप्रै शुभचिन्तकहरूले “चोरी भएको सामान फेला प¥यो कि ?” भनेर मसँग जिज्ञासा राखे । “छैन” भन्दा उनीहरू भन्थे,“पहुँच भएको मान्छेलाई भन्न लाउनुपर्छ, त्यतिकै कहाँ प्रहरीले वास्ता गर्छ ?” यस्तै–यस्तै गफ भइरह्यो, प्रहरीका बारेमा सर्वसाधारण जनताबीच । यसबाट के प्रस्ट हुन्छ भने सर्वसाधारण जनताले प्रहरीबाट अपनत्व व्यवहार पाउन सकेकै छैनन् । मेरो घरमा चोरी भएको केही समयपछि नै होला, तात्कालीन डीआइजी विश्वराज सिंहको घरमा चोरी भएको थियो । सायद चोरलाई थाहा नभएर हो कि उनीहरूले प्रहरी प्रमुखकै घरमा चोरी गरेछन् । तर घटना भएको तीन दिनमा चोर पक्रियो । समाचार सुनेपछि मेरो मनमा प्रश्न उब्जियो, यदि प्रहरी प्रमुखको घर नभई अरू कसैको घर भए चोर पक्रिन सक्थे होला त ? के “कानुन सबैको लागि बराबर” भन्ने भनाइ आदर्श वाक्यमात्र हो ?
ठूल–ठूला आपराधिक घटनामा संलग्न कुनै पनि व्यक्तिहरूको पृष्ठभूमि हेर्ने हो भने अपवादबाहेक सुरूमा स–साना आपराधिक घटनामा संलग्न भएकै हुन्छन् । त्यसमा सफल भएपछि विस्तारै ठूल–ठूला आपराधिक घटनामा संलग्न भएको पाइन्छ । हो, यहींबाट जन्मिन्छन् ठूल–ठूला अपराधी । ठूलै आपराधिक घटना घटिसकेपछि प्रहरीको तदारूकता बढ्छ र अन्तमा चरी, घैटेजस्ता अपराधीहरूको अन्त्य हुन्छ । ‘वातावरणले नै जन्माउँछ, वातावरणले नै मार्छ अपराधीलाई’ भनेको यही हो । यसबाट यो निष्कर्ष निकाल्न सकिन्छ कि असल वा खराब व्यक्ति जन्मिनुमा वातावरणले ठूलो भूमिका खेलेको हुन्छ । त्यसैले प्रहरीले सानातिना चोरी वा लुटपाटका घटना भनेर आवश्यक जाँच पडताललाई फितलो नबनाई समयमै यसलाई नियन्त्रण गर्नुपर्छ । मान्छे जन्मेदेखि अपराधी हुँदैन । तर के यथार्थ हो भने कोही–कोही धेरै–थोरै हिंस्रक स्वभावका हुन्छन् । अनुशासित वातावरण र कडा कानुनको कार्यान्वयन भए तिनीहरूलाई पनि सुधार्न सकिन्छ ।
प्रहरीले तदारूकता देखायो भने ठूल–ठूला आपराधिक घटनालाई पनि सजिलै सल्ट्याउन सकिन्छ भन्ने कुरा थुप्रै घटनाबाट पुष्टि हुन्छ । चरी, घैटे, मनोज पुनलगायत हालै बालक अपहरण गर्ने तामाङद्वयको आपराधिक घटनामा प्रहरीले तदारूकता देखाएकै हो । तर यहाँ प्रहरीले जर्मनीको एउटा भनाइ पछ्याएजस्तै छ, ‘तीतो औषधि चपाएर खाइँदैन, सिधै निल्नुपर्छ ।’ धर्मभिरू श्रीनिवास प्रकरणमा पनि “प्रहरीले जबरजस्ती आफंै गोली हान्न लगाएको बयान गराएको” भन्ने उनका शिष्यहरूले आरोप लगाए पनि प्रहरीको अनुसन्धानमा सत्यता भएको महसुस हुन्छ ।
धेरै पहिलेको कहींकतै सुनेको घटना हो, महाराजगञ्जमा हातखुट्टा र टाउको नभएको शव भेटियो । शरीरको अरू भाग पनि काठमाडौंका विभिन्न ठाउँमा भेटिए । तर अनुहार चिन्न नसकेपछि प्रहरी अनुसन्धान अगाडि बढाउन गा¥हो भयो । शरीरको सबै भाग जोडेर एउटा आकृति बनाइयो । देशभरका प्रहरी कार्यालयमा मानिस हराएको उजुरी परेको छ कि भनेर खोजतलास गरियो । तर कहींबाट उजुरी परेको जानकारी आएन । यत्तिकैमा भारतीय नागरिक काठमाडौंबाट हराएको रिपोर्ट वीरगञ्जबाट आयो । तुरन्तै छानबिन सुरू भयो । शरीरका विभिन्न भागहरूको गहन अध्ययन हुँदा शरीर टुक्रा पार्ने व्यक्ति सिपालु मासु व्यवसायी हुनुपर्ने निष्कर्षमा प्रहरी पुग्यो । नभन्दै हत्यामा मासु व्यवसाय गर्ने व्यक्ति नै संलग्न भएको पत्ता लाग्यो र लास पनि त्यही भारतीयको रहेको पुष्टि भयो । यसरी प्रहरीले इमानदारीपूर्वक खोजबिन गर्ने हो भने सा¥है जटिल खालका आपराधिक घटनालाई पनि सल्टाउन सकिन्छ भन्ने कुरा यो घटनाले देखाएको छ ।
अपराध अनुसन्धानको निम्ति चाहिने आधुनिक प्रविधिलगायत नेपाल प्रहरीमा अनुसन्धान गर्न सक्ने जनशक्ति नभएको पनि होइन । तर खास पदमा पुग्न नेताको कृपा पाउनुपर्ने, नेतासम्म पहुँच हुनैपर्ने अहिलेको अवस्थामा प्रहरी नेताप्रति नै जवाफदेही हुनुपर्ने देखिन्छ । यति नै बेला राजनीतिक पार्टीहरूले गुण्डाहरूसमेत भागबण्डा गर्ने संस्कार विकसित हुँदा नेताको नजिकैको मान्छे आपराधिक गतिविधिमा संलग्न हुँदा प्रहरीले खुलेर अनुसन्धान गर्नै सक्दैन । अर्को कुरा वातावरण नै यसरी विकास हुँदैछ कि इमानदार प्रहरीको पनि यस्तै अपराधीसँग साँठगाँठ हुँदै गयो । जबसम्म नेताले गुण्डालाई काखी च्यापी आफ्नो राजनीतिक वैतरणी तर्ने काम गर्छन्, त्यतिबेलासम्म यस्तो आपराधिक घटना समय सयममा सुनी नै रहनुपर्नेछ ।
जघन्य अपराधीहरू सखाप पार्नु सुरक्षाको दृष्टिले सकारात्मक कुरा भए पनि कहीं न कहीं राजनीतिक दाउपेच पनि यसैमा लुकेको छ कि भन्ने जनतामा आशड्ढा हुनुको कारण नेताहरू खुलमखुला गुण्डालाई काखी च्यापी हिंड्नुले हो । सर्वसाधारण जनताको लागि अपराधी किन मारियो भन्ने चासोको विषय हुँदैन । शान्ति अमनचैन चाहने जनताको लागि त कुनै पनि अपराधी मुक्त नहोस् भन्नु नै हो । हाम्रो चासोको विषय भनेको अपराधमुक्त र सुशासनयुक्त समाज बन्नुपर्छ भन्ने हो । त्यसको लागि साना होस् या ठूला सबैखाले आपराधिक गतिविधिलाई समयमै सल्टाउनुपर्छ ता कि त्यसैको कारणले ठूला आपराधिक घटना नघटोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *