भर्खरै :

टर्कीको ढाडमा वाशिङ्टनको छुरा

संरा अमेरिका र टर्कीबीच गएको शुक्रबारबाट एउटा नयाँ समस्याको सुरुआत भएको छ । आफ्नो ट्वीटर पोस्टमा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमाथि थप आयात कर लगाउन सहमति दिएको घोषणा गरे । आल्मुनियमको लागि अब २० प्रतिशत र स्पातको ५० प्रतिशत कर लाग्नेछ । टर्कीको मुद्रा लिरा ‘हाम्रो निकै शक्तिशाली डलरभन्दा तीव्र रुपमा ओरालो लागिरहेको छ ।’, ट्रम्पले भने । उनले अझै खह«ो भाषामा थपे, ‘टर्कीसँग यतिबेला हाम्रो सम्बन्ध राम्रो छैन !’
ट्रम्पको सो ट्वीट भएलगत्तै टर्कीको लिरा १८ प्रतिशतले घट्यो । सन् २००१ मा टर्कीमा फैलिएको वित्तीय सड्ढटयता एकै दिनमा भएको यो सबभन्दा ठूलो आर्थिक गिरावट हो । टर्कीका राष्ट्रपति रिसिप तायिप इर्डोगनले आक्रोशित भएर टर्कीलाई ‘आर्थिक युद्धको निशाना’ बनाएको दाबी गरे । इर्डोगनले अझ अघि भने, ‘हामी यो स्वाधीनता र भविष्यको सङ्घर्ष लड्नेछौं ।’
टर्की मध्यपूर्वमा संरा अमेरिकाको महत्वपूर्ण सहयोगी देश हो । साथै नाटोमा संलग्न एकमात्र इस्लामिक देश हो । युरोप र एसिया दुवै महादेशसँग जोडिएको युरेसियाली देश भएकाले टर्कीले श्याम सागर र भूमध्यसागरबीचको सामुद्रिक मार्गमाथि नियन्त्रण कायम राखेको छ । टर्की मध्यपूर्वकै सबभन्दा बढी औद्योगिक र धर्मनिरपेक्ष मुसलमान बाहुल्य देश हो । कोही पनि रणनीतिज्ञले संरा अमेरिकाले टर्कीलाई छोड्नुको कुनै कारण पहिल्याउन सकेका छैनन् ।
तर यतिबेला श्याम काका (संरा अमेरिका) ‘अमेरिका प्रथम’ को नारा भत्याइरहेको छ । उसले आफ्नो पहिलेको तरिका परिवर्तन गरेको छ । उसले आफ्नै सहयोगी टर्कीलाई पिठ्युमा छुराले घोचेको छ । यसले अड्ढारालाई पीडा भएको छ ।
शीतयुद्धकालीन ढाँचामा परिवर्तन भइरहेको छ । सहकार्यको मूल्यमान्यतामा परिवर्तन भइरहेको छ । वाशिङ्टनले एकातिर आफ्नो सहयोगी मोर्चालाई जोगाउन चाहिरहेको छ भने अर्कोतिर पहिले संरा अमेरिका स्वयंले आर्थिक सहयोग गर्दै आएका सहयोद्धाहरूबाट उसले पैसा थुत्न खोजिरहेको छ । संरा अमेरिकाको मध्यपूर्व नीतिको आधारमा वाशिङ्टन पहिलेको ढाँचाबाट यतिबेला बहकिएको छ । परिणामतः आपसी सहकार्य र साझा हितको सन्दर्भमा संरा अमेरिका र टर्कीबीच यतिबेला एउटै कित्तामा छैनन् । उनीहरू एक आपसबाट टाढा भइरहेका छन् ।
आक्रामक वाशिङ्टनले मध्यपूर्वमा टर्कीको भूमिकालाई उपेक्षा गर्न सकेको थिएन । तर अहिले ह्वाइट हाउस टर्कीलाई सौहाद्र व्यवहार गर्न तयार छैन । शीतयुद्धकालमा संरा अमेरिकाको नजिकको मित्र टर्कीलाई अब ऊ कोर्रा लगाउन खोजिरहेको छ ।
कुनै समयमा ‘मोर्चा’ भन्नुको अर्थ कुनै पनि खतराविरुद्ध साझा प्रतिरक्षा भन्ने अर्थ हुन्थ्यो । तर वाशिङ्टनले हालसालै धेरै पटक संरा अमेरिकाले सुरक्षा प्रदान गरेबापत उसका सहयोगी देशहरूले आफूलाई पैसा दिनुपर्ने माग गरिरहेको छ । जहाँसम्म वाशिङ्टनको कुरा छ, आफ्ना सहयोद्धासँग केही बढी पैसाको माग गर्नु कुनै गुनासो गर्नुपर्ने कुरा होइन । संरा अमेरिकी सेनाको लागि उनीहरूसँग पैसा तिराउने ? हो, हुनुपर्ने त्यस्तै हो । संरा अमेरिकाले संसारलाई आफ्नो तखतमा राख्नसक्ने गरी शक्तिशाली बन्न अहिले अन्तरिक्ष सेना बनाउने योजना बनाइरहेको छ । त्यसो गर्न सके संरा अमेरिकाका सहयोद्धालाई ऊसँगै टासिएर बस्नुको अर्को विकल्प हुनेछैन ।
टर्कीमाथि कर थोपर्नुको दुई वटा सन्देश छन्, पहिलो अङ्कारालाई पाठ पढाउनु र अर्को संरा अमेरिकाका अरु सहयोद्धालाई पनि सचेत बनाउनु । आफ्ना सहयोद्धा देशहरूलाई वाशिङ्टन संरा अमेरिकाको हितभन्दा माथि अरु केही कुरा हुनसक्दैन भन्ने सन्देश दिन चाहन्छ ।
आफ्ना सहयोद्धाहरूप्रतिको स्वार्थी र निर्दयी संरा अमेरिकी रणनीतिका कारण अर्थतन्त्र र सुरक्षाको सन्दर्भमा वाशिङ्टनमाथि विश्वास गर्नु खतरनाक कुरा हो ।
टर्की भौगोलिक रुपमा युरोपसँग नजिक देश हो । त्यसकारण पश्चिमसँग टर्की आर्थिक र राजनीतिक रुपमा नजिकबाट जोडिएको देश हो । टर्कीले रुससँग आफ्नो सम्बन्ध सुधार्दै छ । इरानसँग टर्की नजिकिंदै छ । चीनको बेल्ट एण्ड रोड कार्यक्रमप्रति टर्की सकारात्मक बन्दैछ । यस्तो परिस्थितिमा टर्कीले आफ्नो रणनीतिक कसरी अनुकूल बनाउनेछ भन्ने कुराले संसारको राजनीतिमा ठूलो अर्थ राख्नेछ ।
ग्लोबल टाइम्स
नेपाली अनुवादः सुदर्शना श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *