अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
विवाह विश्वव्यापी प्रक्रिया हो । विवाह भनेको स्त्री र पुरुषले पारिवारिक जीवन प्रवेश गर्ने माध्यम हो । विवाह परिवारको प्रस्थानबिन्दु हो । परिवार निर्माण गर्न विवाह एकमात्र वैध मार्ग हो । विवाहबिनाको परिवारलाई समाजले स्वीकार गर्दैन । विवाहले विवाहिता जोडीलाई समाजको मान्यता र मूल्य अनुसारको कर्तव्य र जिम्मेवारी दिएको हुन्छ । देशको कानुनले पनि दाम्पत्य दायित्व निर्धारण गरेको हुन्छ । २०७५ साल भदौ १ देखि लागू हुने नयाँ कानुन मुलुकी देवानीसंहिता ऐन, २०७४ को भाग ३ पारिवारिक कानुनअन्तर्गतको परिच्छेद १ र २ मा विवाह र विवाहको परिणामसम्बन्धी कानुनी व्यवस्था गरेको छ ।
संहिताले विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन हुनेछ भनी नयाँ कानुनले विवाहलाई मान्यता दिएको छ । नेपाली समाजमा बढ्दो सम्बन्ध विच्छेदलाई रोक्न आपसी मेलमिलाप गर्न एक वर्षको समय तोकेर सम्बन्ध विच्छेदलाई निरुत्साहित बनाएको छ । विवाहको कानुनी विशेषताको रुपमै यसलाई स्थायी र अनतिक्रम्य र पवित्र मानेको छ । विवाह बदर भएमा, विवाह बदर गराएमा, पति वा पत्नीले अर्काे विवाह गरेमा तथा दम्पत्तीबीच सम्बन्ध विच्छेद भएमा बाहेक अन्य अवस्थामा वैवाहिक बन्धन कायम भएको मानिन्छ । हरेक व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुनेछ । यस व्यवस्थाले नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूलाई नेपालको कानुनमा समाहित गर्ने प्रयत्न गरेको छ । नेपाली समाजमा विवाह भन्ने बित्तिकै सबैको मनमा स्वतः मागी विवाह आउँछ । मागी विवाह नेपाली प्रचलित विवाह हो । विवाह हाम्रो समाजमा परिवारद्वारा निर्धारण गरिने कुरा हो । विवाहमा सन्तानको भन्दा परिवारको बढी भूमिका हुन्छ । किनकि विवाहमा परिवारको इज्जत, कुल, हैसियत विषय जोडिएको हुन्छ । यस्ता विषयलाई किनारा राखी यस संहिताले विवाहलाई व्यक्ति छनोट र स्वतन्त्रताको रुपमा स्वीकार गरेको छ ।
विवाह चाहे मागी होेस् या भागी, पे्रम होस् या अन्य कुनै किसिमले जे जसरी भए तापनि त्यस्तो विवाह सार्वजनिक गर्नु गराउनुपर्छ । राणाकालमा दरबारिया र भातरदारहरूको भित्रिनी र बाहिरी श्रीमती राख्नुलाई सौख र मर्दको रुपमा लिइन्थ्यो । त्यस्तो कुरीतिलाई अहिलेसम्म पनि केटा मान्छे मर्द जात हो भनी एकभन्दा बढी पत्नी देखिने वा नदेखिने गरी राख्नेहरूको कमी छैन । मुलुकी ऐनबमोजिम सार्वजजिक नगरी राखेको श्रीमती वा तिनका सन्तानले आफ्नो लोग्ने वा बाबुको मृत्युपछि सम्पत्तिमा दाबी गर्न पाउँदैन । त्यसैले यस संहितामा विवाह सार्वजनिक गर्नुपर्ने प्रावधान राखेको पाइन्छ । यस संहिताले विवाह हुन चाहिने योग्यताको पनि प्रस्ट व्यवस्था गरेको छ । यसमा एकअर्काको मञ्जुरी, २० उमेर हद पार गरेको, हातानातामा नपरेको, पहिला नै विवाह नभएको हुनुपर्ने अवस्था विद्यमान हुनुपर्छ । यस संहिताले परम्परागत कानुनलाई मान्यता दिई आफ्नो जातीय समुदाय वा कुलमा चली आएको चलनअनुसार विवाह गर्न हुने नाता सम्बन्ध वा हाडनाता सम्बन्धमा विवाह गर्न वा गराउन यस संहिताले बाधा पुग्दैन । नेपालका केही समुदाय र जातिहरूमा अहिलेसम्म पनि मामा–चेली फुपु–चेली विवाहको प्रचलन रहेको पाइन्छ । तामाङ जातिमा मामा–चेला र फुपू–चेलामा विवाह गर्ने प्रचलन छ । त्यस्तै मगर जातिमा पनि मामा–चेला, फुपु–चेला विवाह हुने र केटाकेटीको अभाव भएमा मात्र अन्यत्र विवाह हुन्छ । थकाली, गुरुङ आदि जातिमा फुपु–चेला र मामा–चेलीमा हक लाग्ने प्रथा छन् ।
कसैले पनि झुक्याई महिला र पुरुषबीच विवाह गराउनु हुँदैन । यदि झुक्याई विवाह गराएमा त्यस्तो विवाह गराउनेबाट पीडित पक्षले मनासिव क्षतिपूर्ति भराई लिनसक्छ । कसैले पनि होस ठेगानमा नरहेको, विवाह भइसकेको, गर्भवती भएको, फौजदारी मुद्दामा कसूर गरेको ठहरी अदालतबाट सजाय पाएको, पूर्ण रुपमा बोल्न, सुन्न, हेर्न नसक्ने भएको, सन्तान उत्पादन गर्न क्षमता भएको पुष्टि भएको र एच.आई.भी वा हेपाटाइटिस बी जस्ता प्राणघातक रोग वा यस्तै निको नहुने कडा रोग लागेकासँग कुनै पुरुष वा महिलाको विवाह झुक्याई गराउनु हुँदैन । त्यस्तो कार्यबाट मर्का पर्ने व्यक्तिले सो विवाहलाई बदर गराउन सक्छ ।
यसरी कसैको झुक्याई विवाह गराएमा सो विवाह बदर गराउन सक्छ भने महिला वा पुरुषको मञ्जुरी नभई भएको विवाह र नातासम्बन्ध रहेको व्यक्तिबीच विवाह भएमा त्यस्तो विवाह स्वतः बदर हुन्छ । बदर गराउन सक्ने विवाह अर्थात् कोही पत्नी वा पति हुनबाट मुक्त हुनसक्ने अवस्था जस्तै झुक्याई विवाह गराएको वा २० वर्ष उमेर पूरा नभएको अवस्थामा विवाह गराएको भए तापनि विवाहको परिणामस्वरुप कुनै महिला गर्भवती भएमा वा निजबाट शिशु जन्मिएमा निजको मञ्जुरी भएमा मात्र विवाह बदर हुनसक्छ । यस्तोमा पुरुषले चाहँदैमा विवाह बदर गराउन सक्दैन । यस व्यवस्थाले हरेक व्यक्तिलाई आफूले गर्दै गरेको कार्यमा होस पु¥याउनुपर्ने, समयमै सचेत हुनुपर्ने कुरामा जोड दिएको छ । आफूले गरेको कार्यको परिणाम स्वयम्ले बहन गर्नुपर्ने विषयलाई इंगित गरेको छ ।
यस संहिताले विवाहसम्बन्धी नयाँ अवधारणा स्थापित गर्न खोजेको देखिन्छ । कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मान्ने व्यवस्था गरेको छ । आधुनिकताको आडमा अहिले सहरी क्षेत्रमा युवा पुस्ता जोडी बनाई सँगै घुम्ने, बस्ने गर्छ अर्थात् लिभिङ टुगेडरको पाश्चात्य संस्कृतिले नेपालले स्थान पाएको छ । साथै सोझा महिला वा पुरुषलाई विभिन्न प्रलोभनमा पारी गोप्य सम्बन्ध बनाई पछि छोड्ने घटनाको सङ्ख्या बढेको कारण नयाँ संहिताले स्थान दिएको भान हुन्छ । तर जबरजस्ती करणीको कारणले महिलाले गर्भधारण गरी शिशु जन्माएमा वा नजिकको नाता पर्ने व्यक्ति वा हाडनाता करणीमा सजाय पाउने पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएमा स्वतः विवाह भएको मानिंदैन । तर यस कानुनी व्यवस्थाले केही व्यावहारिक समस्या उत्पन्न हुने भन्दै यस व्यवस्थालगायत अन्यमा नेपालको कानुनी इतिहासमै सम्भवतः कार्यान्वयन नै नहँुदै नयाँ बनेका पाँच वटा संहितामा संशोधन गर्न संसदमा पेश गर्ने भएको छ । यसमा विवाह भइसकेको पुरुषबाट कोही महिलाले गर्भधारण गरी शिशुको जन्म दिए स्वतः उक्त महिला पनि पत्नी हुने हुँदा पुरुषको बहुविवाह हुन जान्छ । जुन कानुनतः गैरकानुनी हुन्छ । त्यसैले यो कानुनी व्यवस्थालाई संशोधन प्रस्तावबाट हटाउने गरी संशोधन पेश गरेको छ ।
बदर गर्न सकिने विवाह र बदर हुने विवाह पति वा पत्नी कसैले बदर गराए पनि सो विवाहको परिणामस्वरुप जन्मेको शिशुको कानुनी हकमा कुनै असर पर्दैन । यसको अर्थ निज शिशुले पछि उनीहरूबाट मातृत्व पितृत्व पाउने, उनकै नामबाट नागरिकता पाउने र निजहरूबाट सम्पतिको हक पाउने नै छ ।
विद्यमान समयको प्रचलित विवाह हो–कानुनी विवाह अर्थात् दर्ता विवाह । पति–पत्नी दुवै वा कुनै एक जनाले विवाह दर्ता गराउन तोकिएको अधिकारीसमक्ष निवेदन दिनसक्छ । नेपाल बाहिर भए सो मुलुकमा रहेको नेपालको राजदूतावास वा महावाणिज्य दूतावासमा विवाह दर्ताको लागि निवेदन दिनसक्छ । विवाह दर्ताको लागि निवेदन परेको १५ दिनभित्र सम्बन्धित अधिकारीले आफ्नो विवाहको अभिलेखमा विवाह दर्ता गरी सोको प्रमाणपत्र दिनुपर्छ । त्यसरी निवेदन परेकोमा विवाह दर्ता गर्न नहुने भए कारण खुलाई ७ दिनभित्र निवेदकलाई जानकारी दिनुपर्छ । कुनै एक पक्ष अनुपस्थित भए निजलाई बुझी विवाह दर्ता गर्नुपर्छ । यदि एक जनाको असहमति जनाए अधिकारीले विवाह दर्ता नगरी अदालतबाट निर्णय भएबमोजिम हुने सूचना निवेदकलाई दिनुपर्छ । यस्तो अवस्थामा मर्का परेको पक्षले विवाह कायम गर्न सम्बन्धित जिल्ला अदालतमा गई नाता कायमको मुद्दा हाल्नुपर्छ । तर विवाह दर्ता भएकै कारणले मात्र पति पत्नीको विवाहले कानुनी मान्यता पाउँदैन भन्ने हँुदैन । अन्य तरिकाले विवाह भएकोलाई पनि कानुनी मान्यता दिएकै छ ।
यसअघि विवाह दर्ता गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयलाई दिएको उक्त अधिकार यस संहिताले सम्बन्धित जिल्ला अदालत र अदालतले तोकिएको अधिकारीलाई दर्ता विवाह गर्ने गरी क्षेत्राधिकार तोकेको छ । कुनै पुरुष र महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा आफ्नो नाम, थर, उमेर, ठेगाना, पेशा, बाबु, आमा, बाजे ,बज्यैको नाम, अघि विवाह भए वा नभएको र विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा तथा कम्तीमा दुई जना साक्षीको नामसमेत खुलाई नेपालभित्र सम्बन्धित जिल्ला अदालत र नेपाल बाहिर भए नेपालको राजदूतावास वा महावाणिज्य दूतावाससमक्ष निवेदन दिनुपर्छ । यसरी निवेदन दिने भए दुवै निवेदक जिल्ला अदालत रहेको जिल्लामा कम्तीमा पन्ध्र दिनदेखि रहेको बसेको हुनुपर्छ । सम्बन्धित अधिकारीले निवेदन परेमा निवेदन सम्बन्धमा आवश्यक छानबिन गरी निवेदन परेको मितिले सात दिनभित्र विवाह हुने नहुने निक्र्याेल गरी निर्णय दिनुपर्छ । यसरी विवाह हुने भएमा विवाह गर्ने पक्षहरू कानुनबमोजिम एक अर्कालाई पति–पत्नीको रुपमा स्वीकार गर्न मञ्जुर भएको व्यहोरासमेत खुलाई विवाहको सहमतिपत्र तयार गरी आफनो रोहवरमा निजहरू तथा उपस्थित साक्षीहरूको सहीछाप गराई त्यस्तो सहमतिपत्रमा अधिकारीको सहीछाप गर्नुपर्छ ।
सहमति पत्र तयारी भइसकेपछि विवाह दर्ता किताबमा दुवै पक्षको सहीछाप गरी नेपाल सरकारले तोकेको विवाह दर्ता प्रमाणपत्र दिनुपर्छ । यसरी विवाह दर्ता कार्य सम्पन्न हुन्छ ।
यस संहिताले विवाह भएको महिलाले आफ्नो पतिको थर प्रयोग नगरी आफूलाई जन्म दिने बाबुआमाको थर प्रयोग गर्नसक्ने गरी कानुनमै विवाहिता महिलाले विवाहपछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिले थर वा दुवै थर प्रयोग गर्नसक्छ भनी व्यवस्था गरेको छ । त्यस्तै यस देवानीसंहिताले पुनः विवाह गर्नसक्ने शर्तहरू पनि तोकेको छ । कानुनबमोजिम पति–पत्नीको सम्बन्धविच्छेद भएमा, पति वा पत्नीको मृत्यु भएमा, पति वा पत्नीले कानुनबमोजिम अंशवण्डा गरी भिन्न भएमा पति वा पत्नीले पुनः अर्काे विवाह गर्न सक्ने व्यवस्था गरेको छ । यसरी नेपालको कानुनले निश्चित अवस्थामा मात्र अर्काे विवाह गर्न पाउने व्यवस्था गरेको छ । पुनः विवाह भनेको एउटा वैवाहिक सम्बन्ध समाप्त भएपछि गरिने अर्काे विवाह हो भने बहुविवाह भनेको एउटा बैवाहिक सम्बन्ध कायम रहँदै अर्काे वैवाहिक सम्बन्ध कायम गर्नु हो, जुन गैरकानुनी र दण्डनीय छ । तर पुनः विवाह कानुनसम्मत छ । यसरी परिच्छेद १ बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र उजुर गर्नुपर्छ अन्यथा पीडित पक्षले कानुनी उपचार पाउन असमर्थ हुन्छ ।
विवाहको परिणामसम्बन्धी व्यवस्था गरिएको परिच्छेद २ मा पति र पत्नीको सम्बन्ध र दायित्व र बासस्थान के कस्तो हुने भनी व्यवस्था गरेको छ । कानुनी रुपमै विवाह अन्त नभएसम्म विवाहित जोडीको सम्बन्ध पति–पत्नी रहेको मानिन्छ । त्यसैले कोही कसैले श्रीमान् वा श्रीमती हुन नचाहेमा छुटी भिन्न बस्दैमा वैवाहिक सम्बन्ध अन्त्य हुँदैन, कानुनबमोजिम विवाह सम्बन्ध अन्त्य गर्नुपर्छ अर्थात् सम्बन्ध विच्छेद गर्नुपर्छ ।
श्रीमान्–श्रीमतीको सम्बन्ध पे्रम, समझदारी र आपसी सहयोगमा निर्भर रहन्छ । यसर्थ, संहिताले पनि पति र पत्नीबीच आपसी प्रेम, सद्भाव, समझदारी तथा एकअर्काले सहयोग, सम्मान र संरक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाली समाजमा विवाह हुँदा छोरी अन्माउने चलन भएकोले विवाहपछि पत्नीको घर पति रहेको घर कायम हुन्छ तर दुवैले आपसी सहमतिमा छुट्टै घरको पनि निर्धारण गर्नसक्छ अर्थात् छुट्टै नयाँ घरमा बस्न सक्छन् । सामान्य दैनिक घर व्यवहारको काममा पति वा पत्नी एक अर्काको प्रतिनिधि रहेको मान्ने व्यवस्था छ । यसरी घरव्यवहारको काममा एकले अर्काको जिम्मेवारी बहन गर्नुपर्छ । श्रीमान्–श्रीमतीले एकअर्कालाई आफनो इज्जत र क्षमताअनुसार खान लगाउन तथा स्वास्थ्योपचारको बन्दोबस्त गर्नुपर्छ । साथै आफ्नो सम्पत्ति, आयस्रोत तथा आर्थिक र सामाजिक हैसियतअनुरुप आपसी सहमतिको आधारमा घर व्यवहार गर्नुपर्छ ।
जतिसुकै पढेलेखे, जानेबुझेको बुहारी भए पनि बुहारी भनेको घर व्यवहार हेर्ने आईमाई जात हो भन्ने पुरानो सोच, मानसिकता र सोअनुसारको व्यवहार गरिने हाम्रो जस्तो सामन्ती सोच र कुसंस्कारले जेलिएको नेपाली समाजमा अद्यापि सक्षम बुहारीहरू भान्सा चुलो र कुचोमा दिन बिताउन बाध्य छन् । यी र यस्तै मान्यतालाई तोड्न यस संहिताले पति वा पत्नी वा परिवारका कुनै सदस्यले एक अर्कालाई निजको सीप, योग्यता वा क्षमताअनुसारको पेशा, व्यवसाय वा काम गर्न रोक्न हुँदैन भन्ने व्यवस्था गरेको छ । परिच्छेद २ को व्यवस्थामा गरेको कानुनी कुरामा मर्का पर्ने पक्ष श्रीमान् वा श्रीमतीले त्यस्तो मर्का पर्ने काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र उजुर गर्नसक्छ ।
हरेक कुराको सुरु भएजस्तै त्यसको अन्त्य पनि हुन्छ । परिवारको प्रस्थान विन्दु विवाहबाट हुन्छ भन्ने विवाहको अन्त्य सम्बन्ध विच्छेदबाट हुन्छ । पे्रम, विश्वास र आपसी समझदारी विवाहको आधार हो भन्ने आपसी मनमुटाव, घरायसी मनोमालिन्य, अनैतिक सम्बन्ध, अविश्वास, असमझदारी, आर्थिक कारण आदि कारणले पति पत्नीबीच सम्बन्ध विच्छेद हुने गर्दछ । यसरी विवाह अन्त्य सम्बन्ध विच्छेदबाट हुन्छ । साथै मञ्जुरी बेगर, झुक्याई भएको विवाह बदर गरेमा र पत्नीले अर्काे विवाह गरेमा पनि वैवाहिक सम्बन्ध अन्त्य हुन्छ । अतः विवाह र सम्बन्ध विच्छेद परस्परविरोधी विषय हो । विवाह र सम्बन्धविच्छेद एकै समयमा रहँदैन । यसरी यस संहिताले घर व्यवहारमा दुवै श्रीमान्–श्रीमतीको समान भूमिका हुने, दर्ता विवाह जिल्ला अदालतमा गर्नुपर्ने, पुनः विवाह हुने अवस्था, विवाहित महिलाको थर प्रयोगको व्यवस्था, पेशा, व्यवसाय वा काम गर्न रोक्न नहुने आदि विवाहसम्बन्धी नयाँ कानुनी व्यवस्था गरेको छ ।
Leave a Reply