भर्खरै :

होमस्टे चलाउन सीप सिक्दै थारु समुदाय

रत्ननगर, ३ भदौ । दक्षिण चितवनको माडी थारू समुदाय सामुदायिक होमस्टे (घरबास) सञ्चालनको लागि सीप सिक्न थालेको छ । माडी नगरपालिका–३ बघौडामा होमस्टे सञ्चालनको लागि उनीहरूले विभिन्न क्षेत्रका होमस्टेको स्थलगत अध्ययन थालेका छन् । बघौडा सामुदायिक होमस्टेका संयोजक ओमप्रकाश महतोले नवलपुरको अमलटारीमा रहेको नमुना होमस्टे, देवचुली नगरपालिकामा रहेको पिपरा र बरौली होमस्टे तथा कावासोतीको अमलटारी होमस्टेको भ्रमण गरेर जानकारी लिएको बताउनुभयो ।
“साह्रै राम्रो लाग्यो, थारू संस्कृति जोगाउन, जीविकोपार्जन गर्न होमस्टेले फाइदा नै गर्नेरहेछ,” उहाँले भन्नुभयो, “निम्नस्तरकालाई आम्दानी गर्न निकै सहयोगी हुने रहेछ ।” उहाँले छिट्टै माडी नगरपालिका–३ बघौडामा होमस्टे खोल्ने सोच बनाएको बताउनुभयो । उहाँसँगै बघौडाका अन्य थारू समुदाय पनि होमस्टे सञ्चालनको बारेमा जानकारी लिन विभिन्न क्षेत्रका होमस्टेको भ्रमण गर्न थालेका छन् । माडी नगरपालिकालगायत विभिन्न सङ्घ संस्थाको सहयोगमा माडीमा पर्यापर्यटनको विकासका लागि होमस्टे थप्ने निर्णय भएपछि यहाँका थारू समुदायहरूको सक्रियता बढेको हो ।
माडी पर्यटन विकास समितिका सचिव गोविन्द न्यौपानेले होमस्टेको बारेमा जानकारी नभएकोले उहाँहरूलाई भ्रमण गराएको बताउनुभयो । माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोको संयोजकत्वमा माडीका थारू समुदायसहितको सहभागितामा शनिबार ४९ जनाको टोलीले होमस्टेको अवलोकन भ्रमण गरेको छ ।
कृषि र इको पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा पर्यटन विकासको लागि थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकाल बताउनुहुन्छ । यस वर्ष माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा बढी होमस्टे निर्माण गर्ने नगरपालिकाको योजना छ । मुख्यगरी थारू, बोटे र राईका होमस्टे थपिने ढकालले बताउनुभयो ।
माडीको नगरसभाले होमस्टे बनाउन रू.७५ लाख छुट्याएको छ । माडी नगरपालिका–८ शिवद्धारमा विगत केही वर्षदेखि मगर समुदायको होमस्टे सञ्चालनमा छ । स्थानीय रहनसहन संस्कृतिका साथै मौलिक खाना पाइने र घरायसी वातावरणमा रम्न सकिने गरी होमस्टे निर्माण हुनेछन् । यस वर्ष माडी नगरपालिका–१ वनकट्टामा बोटे समुदायकोे १५, वडा नं ३ बघौडामा १० थारू होमस्टे र वडा नं ९ को राईटोलमा ८ राई होमस्टे निर्माण गर्ने योजना नगरपालिकाको छ । यस्तै शिवद्धारमा रहेको ११ होमस्टेको स्तरोन्नतिसहित ९ थपेर २० पु¥याउने लक्ष्य राखिएको छ । चितवन निकुञ्जसँगै जोडिएको छ माडी विभिन्न धार्मिक कुण्ड तथा क्षेत्रले धार्मिक पर्यटनका हिसाबले अब्बल छ । यहाँ भारतबाट समेत पर्यटक आएर पूजा गर्ने परशुराम कुण्ड, पाँच पाण्डवलगायत धार्मिक क्षेत्र छ । जङ्गलमा आश्रित समुदायलाई होमस्टेमार्फत् वैकल्पिक आयआर्जनमा सहभागी गराउन सके वन्यजन्तुबाट हुने मानवीय क्षति कम गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *