‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
–प्रभात महर्जन
देशको मुख्य तरकारी थोक बजार कालिमाटी तरकारी तथा फलफूल बजारमा व्यवसायीले अनियमितता गरेको आरोपमा सरकारी टोलीले सोमबार बिहान अनुगमन ग¥यो । वर्षाैंपछि सरकारी टोलीले गरेको अनुगमनलाई त्यहाँका थोक व्यापारी वा बिचौलियाहरूले अवरोध गरे । अनुगमन टोलीका सदस्यहरूलाई केही घण्टा आफ्नो नियन्त्रणमा समेत राखे । पछि प्रहरी गएर उनीहरूलाई छुटाइयो । अनुगमनमा अवरोध गर्ने कालिमाटी तरकारी तथा फलफूल व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडा र व्यवसायी विमल ढुङ्गानालाई पक्राउ ग¥यो । उनीहरूलाई पक्राउ गरिएको विरोधमा मङ्गलबारदेखि व्यवसायीले कालिमाटी बजार बन्द गरेका छन् । आन्दोलनका नाममा व्यवसायीहरूले गरेको बन्दका क्रममा उनीहरूको घुत्याइँ छर्लङ्ग भएको छ । ती बिचौलियाहरूले थोक बजार बन्द गरेका छन् तर खुद्रा बजार भने खुलाएका छन् । राती नै थोक तरकारी बिक्री गरिसकेपछि दिउँसो आन्दोलनका नाममा बन्द गरेर तरकारी र फलफूलको भाउ अझै महँगो बनाइएको छ ।
तरकारीका बिचौलिया र व्यापारीहरूले अभावको मौकामा तरकारीमा मनलाग्दी मूल्य बढाएर उपभोक्तालाई ठगिरहेको घामजत्तिकै छर्लङ्गै कुरा हो । उत्पादक किसानसित उत्पादन लागत पनि नउठ्ने गरी सस्तोमा उठाएर ल्याएर तेब्बर–चौब्बरभन्दा बढी मूल्य लिने गरेको भुक्ताभोगी किसानहरू बताउँछन् । त्यसैले तरकारी उत्पादक किसान सधैं जहाँको तहीँ अर्थात् ऋणमा डुबेका छन् भने तरकारी व्यापारी वा बिचौलियाहरू महलमा बस्न भ्याएका छन् । बिचौलियाले गर्ने गरेको अनुचित मूल्य वृद्धिको अनुगमन र नियन्त्रण सरकारले धेरै पहिलेदेखि गर्नुपर्दथ्यो । तर त्यसो हुन नसक्दा बिचौलिया र व्यापारीहरूको मनोमानी बढेको हो । बिचौलियाहरूको कथित आन्दोलनदेखि तर्सेर सरकार पछाडि फक्र्याे भने बजारको नाममा बिचौलियाहरूको मनोमानी चल्दै जानेछ । उत्पादन लागत, प्रारम्भिक मूल्य, ढुवानी खर्च, उचित नाफाका आधारमा तरकारीको बजार मूल्य निर्धारण गर्ने संयन्त्र बनाई उचित मूल्य निर्धारण गर्ने व्यवस्था गर्नैपर्छ । बिचौलियाहरूको मनोमानी तोड्नैपर्दछ ।
Leave a Reply