‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
प्रहरी कानुनका रक्षक हुन् । समाजमा अमनचयनको लागि बनेको कानुनको पालना भए नभएको निगरानी गर्ने र कानुनको पालना नगर्नेलाई कानुनबमोजिम नै कारबाही गर्नु नै प्रहरीको कर्तव्य हो । प्रहरीलाई कानुनले आफ्नो रक्षाको लागि कानुनबमोजिम धेरै अधिकार प्रत्यायोजन गरेको हुन्छ । तर जब प्रहरीले त्यो अधिकार प्रयोगमा विवेक र मानवीय भावनालाई उपेक्षा गर्न पुग्छ, तब प्रहरी कानुनी संरक्षण प्राप्त अपराधी बन्न पुग्छ । राज्य र कानुनले प्रहरीलाई कानुन रक्षाको लागि दिएको हतियार र अधिकार गलत तरिकाबाट प्रयोग भए कानुनको रक्षा होइन, कानुनको विरोध गरेको हुने गर्दछ ।
बालक अपहरणको नाममा दुई जना युवकलाई इन्काउन्टरको नाममा भक्तपुरको सूर्यविनायक नपामा हत्या गरेको समाचार सेलाउन नपाउ“दै कञ्चनपुरमा निर्मलाको बलात्कार तथा हत्याकाण्ड घटेको २६ दिनपछि नक्कली दोषी उभ्याएर प्रहरीले वास्तविक दोषीलाई लुकाउन खोजेको समाचार व्यापक बनेको छ । प्रहरीले निर्मलाको हत्यारा भनेर एक जना व्यक्तिलाई गिरफ्तार गरेको छ । तिनकै विरुद्ध किटानी जाहेरी दिन प्रहरीले निर्मलाका मातापितालाई दबाब दिइरहेका छन् । तर आफूले कहिल्यै नभेटेको र नचिनेको व्यक्तिविरुद्ध किटानी जाहेरी दिन निर्मलाका मातापिता तयार भएका छैनन् । प्रहरीले गिरफ्तार गरिएको व्यक्तिलाई समेत उनीहरूस“ग भेट्न दिइरहेको छैन ।
जनताको विश्वास प्राप्त प्रहरी नै सही अर्थमा कानुनको रक्षक बन्न सक्दछ । जनता आफैं प्रहरीप्रति विश्वास गर्दैन भने त्यो प्रहरी शासक वर्गको डण्डा बन्न सक्छ । तर कानुनको रक्षक बन्न सक्दैन । प्रहरी आफैं अपराधीको रक्षक र निर्दोषको दण्ड दिने काममा लाग्ने अवस्थामा प्रहरीप्रति जनताको कहिल्यै विश्वास हुनसक्दैन । प्रहरीले अपराधीलाई लुकाउन नक्कली दोषी देखाउनु भनेको जनताको आ“खामा धुलोछ्याप्नु हो ।
प्रहरीलाई कानुनले केही विशेष अधिकार दिएको हुन्छ । तर त्यो कानुन रक्षाको लागि दिइएको अधिकार हो । कानुनले दिएका ती विशेष अधिकारको छिद्रबाट दुरुपयोग गर्छ भने जनताले प्रहरीप्रति अविश्वास गर्नु स्वाभाविक हो । ‘सत्य, सेवा, सुरक्षणम्’ भन्ने नारा तब कार्यान्वयन हुन्छ, जब प्रहरी आफैं सत्यको खोजीको अग्रदस्ता बन्दछ । प्रहरीले आफ्नै सङ्गठनभित्रै पनि अपराधी लुकेको अवस्था छ भने उसलाई कानुनबमोजिम कारबाही गर्नसक्नुपर्दछ । प्रहरीले आफूभित्रका रोगलाई पालेर बस्नु उसैको लागि हानिकारक हुनेछ । प्रहरीबाट हुने गरेका कमजोरीलाई प्रहरीले सार्वजनिक गर्नुले प्रहरीको विश्वसनीयता घट्ने नभई अझ बढ्ने हो ।
आजको समय हिजोको भन्दा धेरैअघि बढिसकेको छ । सञ्चार प्रविधिमा आज भएको विकासले कुनै पनि कुरा प्रहरीले लुकाउन सजिलो छैन । प्रहरीले हिजोको बन्दोबस्तमा जस्तै जनतामाथि शासन चलाउने सोचबाट अघि बढे त्यसले प्रहरीप्रति अविश्वास नै जन्माउनेछ ।
दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा कुनै विमति छैन । तर प्रहरीले कानुनभन्दा माथि गएर कसैमाथि कारबाहीको डण्डा चलाउने अधिकार राख्दैन । प्रहरीबाटै कानुनको दुरुपयोग भए समाजमा कानुनी अराजकता पाउनेमा विवाद छैन ।
दबाए समाज चल्ने कुरा संसारको इतिहासले प्रमाणित गरिसकेको छ । प्रहरी नागरिकलाई दबाउने हतियार बन्ने समय आजको होइन । त्यो इतिहासको विषय बनिसकेको छ । प्रहरीले नागरिकप्रति र कानुनप्रति जिम्मेवार भएर व्यवहार गर्दा राज्य र सरकारप्रति जनताको भर हुनेछ ।
Leave a Reply